अरूकै गाएर हिट

शुक्रबार, १७ जेठ २०७६, ०५ : ०३ रीना माेक्तान
अरूकै गाएर हिट

‘तिम्रो मायाले बाँधेर राख, मेरो सिरानी होस् तिम्रो काख,

जान नदेऊ मलाई अब टाढा, माया यो होस् अझै अझै गाढा’

यतिखेर बजारमा भाइरल छ यो गीत । झापा, बिर्तामोडकी एलिना चौहानले कभर बनाएर गाएपछि तीन वर्षअघि रिलिज भएको यो गीत यतिखेर भाइरल भएको हो ।  शिक्षण पेशामा आबद्ध चौहानले बनाएको कभर भिडियो अहिलेसम्म युट्युबमा ६७ लाख बढीले हेरिसकेका छन् ।

यो गीतका ओरिजिनल गायक हुन्, श्याम कार्की । तीन वर्षअघि उनले यो रिलिज गर्दा अपेक्षित प्रतिक्रिया आएको थिएन। न सोचेजस्तो चर्चा नै पाएको थियो । अहिले भने एलिनाले गाएपछि गीत सर्वत्र बजिरहेको छ । दिनैपिच्छे यही गीतमाथि कभर बनाउनेहरुको लर्को उस्तै छ । यही गीतमाथि टिकटकमा अभिनय गर्नेहरुको भिड पनि कम छैन ।

कसरी भयो भाइरल ?

‘तिम्रो मायाले बाँधेर’का वास्तविक गायक श्याम अहिले विदेशमा छन् । ओरिजिनल गीत रिलिजताका एलिनाले पनि यो गीत सुनेकी थिइनन् ।

एकदिन आफूले पढाउने विद्यालयको कार्यक्रममा यो गीत अचानक गुञ्जियो । गीतका शब्दले अचानक उनको मन पनि तानिहाल्यो । बाटैभरि गीत गुन्गुनाइन् । घर पुग्नेबित्तिकै युट्युबमा गीत खोजिन् । त्यसपछि उनले गीत गाएर टिकटकमा एक मिनेटको भिडियो हालिन् । भ्यु अप्रत्याशित रुपमा बढ्यो । २० हजार बढीको लाइक ओइरियो । सबैले पूरा गीत गाउन आग्रहसहितको कमेन्ट गर्न थाले । त्यही हौसलाले उनलाई कभर बनाउन प्रेरित ग¥यो ।

कभर बनाउनुअघि एलिनाले यसका वास्तविक गायक श्यामलाई अनुमति माग्न खोजिन् । कारण, कपिराइटको डर । यसअघि उनले गाएको  ‘इन्स्टाको फोटो’बोलको गीतमा कपिराइटको विवाद चुलिएपछि उनमा त्यस्तो डर पैदा भएको रहेछ । श्यामलाई सम्पर्क गर्न खोज्दा थाहा भयो, उनी विदेशमा रहेछन् । त्यसपछि गीतका गीतकार रवि मल्लसँग अनुमति मागिन् । ‘अनि गाएँ यो गीत,’ गीत हिट भएपछि अहिले उनी फुरुङ्ग छिन् ।

स्थानीय रेकर्डिङ स्टुडियोका सञ्चालकले नै उनको भिडियो बनाइदिएका हुन् । गीतको भिडियोमा सामान्य सम्पादन मात्रै गरिएको छ । त्यसमा ओरिजिनल कुनै बाजागाजा प्रयोग गरिएको छैन । ‘यसरी अपलोड गरिएको गीत सार्वजनिक गरेको एक दिनमै युट्युबको ५० नम्बर ट्रेन्डिङमा आएको थियो,’ एलिनाले सम्झिइन् ।

एलिनाले युट्युबमा यसको ओरिजिनल गीत हेर्दा त्यतिखेर यसको भ्युज जम्मा ८ लाख थियो । उनले कभर गाएपछि भने ओरिजिनल भिडियोको भ्यु पनि अचानक बढ्यो । अहिले ओरिजिनल भिडियोको भ्यु ३१ लाख कटिसकेको छ ।

तीन वर्षअघि सार्वजनिक गरेको गीत अहिले भाइरल हुँदा यसका गायक श्याम पनि खुशीले गद्गद् छन् । उनी स्वयं पनि एलिनाको स्वरको तारिफ गर्छन् । ‘रिलिजताका यसको उचित प्रमोसन पुगेको थिएन, त्यसैले कम चर्चा पायो,’ उनले भने, ‘गीत आफैँमा सुमधुर छ । टिकटक र कभर भिडियोको सपोर्टले ढिलै भए पनि गीतले पाएको लोकप्रियतामा खुशी छु । तर, गीत त राम्रो शब्द र संगीतको बलमै चलेकोजस्तो लाग्छ ।’

कभर गायिका एलिना पनि गीतका शब्दहरु मीठो भएकै कारण दर्शकले कभरलाई रुचाइदिएको ठान्छिन् । ‘यो गानाको शब्द नै राम्रो छ,’ उनले भनिन्, ‘खुशी लाग्छ, मेरो कभर सङले पछाडि परेको यस्तो राम्रो गीत नोटिसमा प¥यो ।’

शब्द कोर्ने गीतकार रवि मल्ल भने यो गीतलाई कभरभन्दा अघि टिकटकमै रचाइएको दाबी गर्छन् । कभर बन्नुअघि टिकटकमा २२ हजारले यो गीत प्रयोग गरिसकेको उनी बताउँछन् । ‘टिकटकले पनि हो यो गीत हिट बनाएको हो,’ उनले भने, ‘केही हदसम्म कभर गीतले पनि प्रभाव पारेको पक्कै हो । कभर गीत आउनुअघि वेडिङका भिडियोहरुमा निकै प्रयोग भइरहेको थियो । टिकटकले चर्चामा ल्यायो । कभर गीतले झनै लोकप्रिय बनायो ।’

एक्कासि गीत चर्चामा आउँदा पनि रविलाई यसले खासै प्रभाव पारेको भने रहेनछ । आफूले बुनेका शब्दको शक्तिबारे उनी पहिल्यै जानकार रहेको बताउँछन् । ‘संसार नै जिते जस्तो खुशी छैन,’ उनले टिप्पणी गरे, ‘यस्तो रोमान्टिक गीतहरुमा अझ बढी फिमेल भर्सनमा रुचाउँछन् भनेर मलाई थाहा थियो । त्यसैले हामीले आफैँ पनि यो गीत भर्खरै फिमेल भर्सनमा ल्याएका छौँ । फिमेल भर्सन अस्मिता अधिकारीले गाउनुभएको छ ।’

हिट भएपछि विद्यालयबाट निकालियो

एउटा कभर गीत गाएपछि सानैदेखि गायनमा रुचि राख्ने एलिनाको अहिले करिअर नै बद्लिएको छ । गायनका लागि नै आर्थिक जोहो गर्न उनी विद्यालयमा पढाउन थालेकी थिइन् । १८ वर्षको उमेरदेखि उनी शिक्षण पेशामा संलग्न थिइन् । त्यसैले उनले आफ्नो प्रतिभा कभर भिडियोमार्फत् प्रस्तुत गर्थिन् । ‘तिम्रो मायाले’ले को कभर गाएपछि उनी एक्कासि भाइरल भइन् । युट्युब र मिडियाहरु अन्तरवार्ताका लागि खोजीखोजी विद्यालयसम्मै पुग्न थाले ।

अन्तर्वार्ता लिन आउनेको भीड बढेपछि विद्यालय प्रशासन चिढिन थाल्यो । अनि, उनलाई विद्यालयबाट निकालियो । ‘म गायन र शिक्षण दुवैलाई मिलाएर लाने विचारमा थिएँ तर विद्यालयले दुईमध्ये एउटा छनोट गर्नु भनेपछि म गायन रोज्न बाध्य भएँ,’ एलिनाले सुनाइन् ।

२० वर्षीया उनको करिअर अहिले चम्किने क्रममा छ । उनको स्वरलाई मन पराएर अहिले गीतको अफर गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै छ । काठमाडौं आएर चार वटा गीत रेकर्ड नै गराइसकिन् ।

‘काठमाडौं बसियो भने योभन्दा धेरै रेकर्ड गराउनुपर्ला भनेर म झापा फर्किहालेँ,’ उनले भनिन्, ‘एकैचोटी धेरै काम गर्ने मन छैन । थोरै गर्ने तर राम्रो गर्ने सोचमा छु । चर्चामा आएको बेला त जसले नै खोज्छ, त्यसैले सचेत भएर काम गर्न खोजेकी हुँ ।’

०००

‘तिम्रो मायाले बाँधेर राख’ त एउटा ताजा उदाहरण मात्रै हो तर यसरी ओझेलमा परेका गीत पछि अरुले गाइदिएर हिट भएका उदाहरण हिजोआज बढ्न थालेको छ । खासगरी युट्युब र रियालिटी शोमा अरुले गाइदिएर चर्चामा आएका उदाहरण प्रशस्तै भेटिन्छन् ।

पहिले हिट हुन नसकेको गीत पछि अरुले गाइदिएपछि किन हिट हुन्छ त ? गायक एवं संगीतकार दीप श्रेष्ठको जवाफ छ, ‘ओरिजिनल गायक÷गायिकाले मिलाएर नगाउँदा ती गीतहरु ओझेलमा पर्ने गरेका छन् । अनि, त्यस्तो अवस्थामा पछि त्यही गीतमाथि अरुले न्याय दिएर गाइदियो भने त्यो चर्चामा आउने गरेको देखिन्छ । यो ट्रेन्ड एक किसिमले राम्रो हो तर साह्रै राम्रो भने होइन । कभर गर्नुअघि ओरिजिनललाई सोध्दा राम्रो हुन्छ ।’

रियालिटी सोमा गाएर हिट

गायक पुष्पन प्रधानको ‘पन्छी’ पनि यस्तै एउटा उदाहरण हो । उनले यो गीत सिर्जना गरेको १२ वर्षपछि विश्वभर अप्रत्याशित चर्चामा आयो । चर्चामा ल्याउन सहयोग पु¥याएको थियो, नेपाल आइडल सिजन–२ ले । धन्यवादका पात्र थिए, अमित बराल । उनले यो गीत नेपाल आइडलमा गाएपछि एकाएक दर्शक तथा श्रोताको नजरमा परेको थियो ।

स्टेजमा गीत गुञ्जँदा त्यतिखेर गायन रियालिटी सोका निर्णायकहरु भावुक भएका थिए । निर्णायक बनेकी इन्दिरा जोशीको त आँखाबाट आँशु नै झरेको थियो । गीत चर्चामा आएपछि दर्शकमाझ ओरिजिनल गायकबारे चासो बढ्यो । यसअघि पुष्पनले ‘कृपा अनप्लग’मा उक्त गीतको प्रस्तुति दिएका थिए तर अमितको स्टेज पर्फमेन्सले ठूलो दर्शकमाझ पु¥यायो ।

भारतको डुअर्समै संगीतमा संघर्षरत पुष्पनलाई पछि रियालिटी सोले अतिथिका रुपमा नेपाल आइडलको स्टेजमै उतारेको थियो । स्टेजबाटै पुष्पनले अमित बराल आफ्नो जीवनमा विधाता बनेर आएको बताएका थिए । उनले भनेका थिए, ‘मेरो जिन्दगीमा एक जना विधाता बनेर आयो, अमित बराल । पन्छी जति हिट हुनुपथ्र्यो भएन । सायद, मभित्र केही कमी थियो होला । यो गीतलाई अमितले टपक्क टिपेर यो मञ्चमा ल्याइदियो । त्यसैले आज म यो मञ्चमा छु ।’

गीत हिट भएपछि अमित मात्र होइन, पुष्पन पनि धेरै समय मिडियामा छाइरहे । काठमाडौंमा उनलाई अन्तरवार्ता दिन भ्याई–नभ्याई भयो । गीतका लागि अफर गर्ने घुइँचो उस्तै । अहिले पनि उनी पाश्र्व संगीतमा सक्रिय छन् ।

नेपाल आइडलको दोस्रो सिजनमा मात्र होइन, पहिलो सिजनमा पनि एउटा गीत यसरी नै दर्शकको नजरमा परेको थियो । सीमित लोकगीतका श्रोतामाझ पहिल्यै हिट भइसकेको अञ्जान बाबु र संगीत श्रोताको ‘चरी लैजा समाचार’ नेपाल आइडलको पहिलो सिजनको स्टेजमा गायक प्रताप दास, सुरज थापा र सागर आलेले गाइदिएपछि विश्वभर छरिएका नेपालीमाझ चर्चा चुलिएको थियो । निश्चित समूहमा मात्र चर्चित यो गीतले उक्त स्टेजबाट मास अडियन्सको प्रेम पाएको थियो । यो गीतले हिट्स एफएमबाट सर्वोत्कृष्ट लोकगीतको अवार्डसमेत पाएको थियो । बाढी पहिरोको दर्दनाक पीडालाई सम्बोधन गरेको यो गीत हिजोआज जहाँ बाढीपहिरो जान्छ, गीत बज्न थालिहाल्छ ।

गीत हिट बनाउन कभरको भर

पछिल्लो समय नेपाली फिल्मका गीतमाथि पनि थुप्रै कभर गीतहरु बनिन थालेका छन् । कभरले गीतलाई ओरिजिनल गीतलाई थप चर्चामा ल्याउन मद्दत पु¥याइरहेको पनि छ । कति गायक र गायिका त कभर गायनबाटै चिनिनेमा पर्न थालेका पनि छन् ।  

त्यसैले होला पछिल्लो समय अन्य आधुनिक, पप विधाका गीत मात्र होइन, फिल्मी गीतमाथि पनि कभर गायन प्रतियोगिता आयोजना गराइन थालिएको छ । कभर गायन प्रतियोगिता फिल्म प्रचारको अस्त्र पनि बनिरहेको छ । चर्चा बटुल्न एकसेएक र बढीभन्दा बढी पुरस्कारको राशिसमेत तोक्ने प्रवृत्ति बढेर गएको छ ।

गीत हिट बनाउन ‘प्रेमगीत २’, ‘जानी नजानी’, ‘ग्याङ्स्टार ब्लुज’ लगायतका फिल्मले प्रतियोगिता नै आयोजन गरेका थिए ।

चलेकै गीतमा कभर

चलेका गीतमाथि कभर बनाउने ट्रेन्ड अहिले पनि व्याप्त छ । चलेका फिल्मका गीत अनि म्युजिक भिडियोका गीतमा अहिले पनि कभर भिडियो बनाउनेहरु धेरै छन् । रिमेक गीतले पनि कति पुराना गीतलाई नयाँ युगका दर्शक समक्ष पुर्याएको छ ।

‘लेकाली चोयाको डोको’, ‘ए कान्छा’, ‘डाली डाली’, ‘गैरी खेतको’, ‘माया त माया हो’,  ‘सुन भनन’, ‘कुसुमे रुमाल’, ‘सम्झना बिर्सना’,  ‘इशाराले बोलाउनु पर्दैन’, ‘कान्छी हे कान्छी’ बोलका चलेका गीतमा थुप्रै कभर गीत बनेका छन् । यी कभर गीतले नयाँ पुस्तालाई पुरानो गीत सुन्ने मोह पनि बढाएको छ । यस्ता कभर गाएरै पनि कतिपय नयाँ गायक÷गायिका स्थापित बन्न पुगेका छन् । स्वप्न सुमन, त्रिशला गुरुङ, छेवाङ लामा लगायतका कभर गीतबाटै उदाएका संगीतकर्मीमा पर्छन् ।

बिगारेर गाइदिने बढे

गायक दीप श्रेष्ठ भने कभरको पक्षमा देखिँदैनन् । कारण, वास्तविक गीतलाई बिगारेर कभर गाउनेहरु बढ्नु ।  उनी कभर गीत गायनमा सिस्टम लागू हुनुपर्ने बताउँछन्। ‘कभर सङ नगर्नु भनेको होइन, गर्नु तर अनुमति मागेर न्याय दिएर गर्नु,’ उनको भनाइ छ, ‘ओर्जिनालिटी हराउनु भएन ।’

त्यस्तै संगीतकार शम्भुजित बास्कोटाले पनि कतिपय कभर गीतले ओरिजिनल गीतको मर्म मारिदिएको बताउँछन् ।

‘अरुले गाइदिएर हिट हुने भन्ने कुरा जीवनमा हामीले कहिल्यै अनुभव गर्नु परेन,’ उनले भने, ‘हाम्रो हिट गीतमै बरु कभर गीतहरु बने । प्रविधिले यस्तो कार्य बढाएको हो । कभर गीत गाउँदा, कुन स्केलमा गाइरहेको थाह नभई गाउँछन्। मुख बङ्ग्याएर गाएर फेसबुकमा त्यस्ता गीत राख्छन् । त्यसरी गाउँदा कतिपय राम्रा गीतको मर्म नै मारिएको छ । त्यसैले गाए पनि ओरिजिनल गीतको मर्म जानेर र बुझेर गाए हुन्थ्यो ।’

Leave A Comment