दरवार बाहिरकाे सामुहिक हत्याकाण्ड : आत्तिरहन्छिन् सीता

आइतबार, १९ जेठ २०७६, १२ : २४ गिरिराज बाँस्कोटा
दरवार बाहिरकाे सामुहिक हत्याकाण्ड : आत्तिरहन्छिन् सीता

पाँचथरमा शैतान चढेको ‘हत्यारा’बाट परिवारका नौ जना मारिँदा भाग्यले १२ वर्षीया सीता खजुम जोगिइन् । उनी अहिले दमकको लाइफ लाइन अस्पतालमा उपचारत छिन् । घटना भएको एक साता नाघिसक्यो तर उनी सामान्य हुन सकेकी छैनन् । 

उनको हात भाँच्चिएको छ, अन्य शारीरिक चोट छैन तर आँखै अगाडि परिवारका सदस्य खुकुरीको धारबाट छ्यापछ्यापी काटिएको दृश्य देखेकी उनलाई मानसिक चोटले शान्त रहन दिएको छैन ।

अस्पताल स्रोतका अनुसार उनी गहिरो गरी अझै निदाउन सकेकी छैनन् । अस्पतालको बेडमा उनी अझै आत्तिरहन्छिन्, छट्पटाइरहन्छिन् । यसरी आफ्नाहरु मार्ने व्यक्ति साना बा भएको सुनेपछि उनी बर्बराइरहन्छिन् । 

प्रहरीले उनलाई सुरक्षा घेरामा राखेर उपचार गराइरहेको छ । अलिअलि बोल्ने अवस्थामा रहेकी उनले मुखमा मास्क लगाएको व्यक्तिले खुकुरी हानेको भने पनि विस्तृत रुपमा अझै केही बताउन सकेकी छैनन् ।
मूल घर धनकुटा भए पनि आमा अर्कै केटासँग हिँडेपछि उनी घरमा बस्न सकिनन् । बाबुले कान्छी श्रीमती ल्याएपछि उनी मामा घरमा बस्न थालिन् र नजिकैको आरुबोटे माध्यमिक विद्यालयमा पढ्न थालिन् । उनी अहिले कक्षा नौमा पढ्दै छिन् ।

घटनाको दिन हत्यारा उनीसम्म आइपुग्नु अगाडि सुइँको पाएर भाग्न भ्याउँदा उनको ज्यान जोगियो । घटनामा जो आरोपित देखिएका छन्, नाताले उनका साना बा हुन्, उनी छोरी तर घटनाको प्रकृति हेर्दा भाग्न नभ्याएको भए उनी पनि पक्कै ज्युँदै रहने थिइनन् । धन्न मकैबारी नै मकैबारी भागेर छिमेकीको घरमा पुग्न सक्दा ज्यान जोगिन पुग्यो ।

तर बमबहादुर फियाक, उनकै श्रीमती पुर्सिमाया फियाक, छोरी मनकुमारी फियाक र नातिनी (साइँली छोरीकी छोरी) १० वर्षीया आशिका खजुम एकै चिहान भएका थिए, आफ्नै घरमा । धनराज शेर्माको घरमा शेर्मासहित श्रीमती जस्मिता फिया, १२ वर्षीया छोरी युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा र भतिजी ८ वर्षीया इच्छा शेर्माको समेतको ज्यान जोगिन सकेन ।

‘उनी अलिअलि बोल्छिन्, घटनाबारे विस्तृत सोध्न सकिएको छैन,’ स्रोतले भन्यो, ‘पटक पटक म अब गाउँ जान्न भन्छिन् ।’

आतंकमा आरुबोटे
घटनाको एक सातापछि पाँचथरको दक्षिणी मिक्लाजुङ–३ को आरुबोटे पुग्दा अवस्था उस्तै आतंकित देखियो । शान्त पहाडी बस्ती त्रासमै थियो । गाउँले सामान्य जीवनमा फर्कन सकेका छैनन् अझै ।  रगतको आहाल बनेको घरको मूलढोका स्थानीयको आँखाबाट हट्न सकेको छैन । हत्या भएको दुई घरवरिपरि गाउँले साँझ–बिहान जानै डराउँछन् । 

स्थानीय प्रशासन गाउँको अवस्था सामान्य बनाउने कसरतमा त लागेको छ तर सफल हुन सकेको छैन । प्रहरी बस्दा अलिकति सुरक्षाको भाव त बढाएको छ तर उनीहरुको मानसिक त्रास उस्तै देखियो । 
‘कसरी जानु त्यो घर नजिक ?’ स्थानीय डुजन फियाकले भने, ‘गाउँकै शान्ति भत्कियो ।’

शंका ज्वाइँमा 
घटना रहस्यमै रहेको बेला मिक्लाजुङ–७ का ३१ वर्षीय मनबहादुर माखिम घटनाभन्दा झण्डै २५ किलोमिटर टाढा झुण्डिएको अवस्थामा फेला परे । उनी बमबहादुर फियाकका कान्छा ज्वाइँ (मनकुमारीका श्रीमान्) हुन् । 

स्थानीयले ज्वाइँ र ससुरालीको सम्बन्ध राम्रो नभएको सूचना दिए । उनको शव जहाँ झुण्डिएको थियो त्यहीँ रगत लागेको खुकुरी र टिसर्ट फेला परेको छ । यसैलाई आधार मान्दै घटनाको पहिलो शंकास्पद व्यक्ति उनी हुन पुगेको देखियो ।

‘हालसम्मको अनुसन्धानले हत्यामा माखिमनै संलग्न भएको पाइएको छ,’ पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले भने, ‘फरेन्सिक परीक्षणको रिपोर्ट आउन बाँकी छ । उनले अरुको पनि सहयोग लिए कि एक्लै हत्या गरे भन्ने खोजिरहेका छौँ ।’

उनलाई घटनाको दोषी देखाउने प्रमुख कारण हो, उनी र उनकी पत्नी बीचको सम्बन्ध । दुवैको सम्बन्धमा दरार आएको थियो । श्रीमती मनकुमारी माइत आएर बसेकी थिइन् । उनी डिभोर्स दिने पक्षमा थिइन् भने बमबहादुर सकेसम्म सँगै बस्ने प्रयासमा थिए । 

मृतक परिवारसँग अन्य कसैको दुश्मनी नदेखिनु, लुटपाट या अन्य उद्देश्यले घटना घटाएको संकेत नभेटिनुले घटनाको कारण पारिवारिक किचलो भएको निष्कर्ष निकाल्दै प्रहरी अहिले पनि अनुसन्धानको केन्द्रमा उनैलाई राखेर हेरिरहेको छ । 

‘घरबार पनि भएन, पैसा पनि कमाइएन भन्दै गाँउलेसँग कुरा गर्ने गरेको आफन्त तथा छिमेकीले बताएका छन्,’ कुँवरले भने, ‘यस हिसाबले उनमा मानसिक विक्षिप्तता देखिन्छ । आपसी सम्बन्ध बिग्रिएर सम्बन्ध विच्छेदको प्रक्रियासम्म पुगेको रहेछ । मनबहादुर मानसिक रुपमा विक्षिप्त बनेको पाइएको छ ।’

आधार के के ?
स्थानीयका अनुसार मानबहादुर र मनकुमारीको विवाह सात वर्ष अगाडि सामाजिक परम्पराअनुसार भएको थियो । विवाहको एक वर्ष अगाडि उनी रोजगारीका लागि मलेसिया गएका थिए । विवाहपछि जुम्ल्याहा सन्तान जन्मे तर बाँचेनन् । त्यसपछि मानबहादुर पूनः वैदेशिक रोजगारीमा मलेसिया उडे ।
मलेसियामा सोचेजस्तो आम्दानी भएन । फर्किए । मलेसिया जान ससुरालीसँग पैसा लिएका थिए जसको सय कडा १० प्रतिशत ब्याज तिर्थे । यसले घरमा खटपट शुरु गरायो । मनकुमारी माइती आएर बस्न थालिन् । उनी सँगै बस्न खोजे तर मनकुमारीले मानिनन् ।

श्रीमती लिन ससुराली जाँदा जेठी सासुले चप्पलै चप्पलले पिटिन्, सासुले गाली गरिन् । गत असारमा बजार आएको बेलामा उठाएर घर लगे श्रीमतीलाई । एक दिन बसेर माइत आएकी श्रीमतीले सुन लुटेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि सुन फिर्ता दिने सर्तमा कुरा मिल्यो । घर आउलिन् भनेको श्रीमतीले त्यसको एक महिनापछि जिल्ला अदालत पाँचथरमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि दुवैको सम्बन्धमा चिरा पर्यो ।

घटनामा मानबहादुरको संलग्नताको पहिलो आधार यही बनाएको देखियो प्रहरीले । जुन भावनात्मक मात्र हो । 

जो शंकामा परेका थिए उही व्यक्ति घटनापछि आत्महत्या गरेको अवस्थामा फेला पर्नु उनीमाथि शंका बढाउने दोस्रो आधार देखियो । घटनानजिकै हत्यामा प्रयोग भएको हुनसक्ने खुकुरी र रगत लागेको टिसर्ट घटनाको अर्को प्रमाण हुन् । 

घटनाको दिन भाईसँग मानबहादुरले ‘ससुरालीले दुख दिए, श्रीमतीले पनि मुद्धा हालिन् अब उनीहरुलाई मार्छु, आफु पनि मर्छु’ भनेका थिए । भाईले सम्झाए पनि बेलुका ६ वजेतिर उनी घरबाट निस्किएकाले घटनाको उनी नै संलग्न हुनुपर्ने प्रहरीको निष्कर्ष देखियो ।

प्रहरीले अनुमान गरेको घटनाको समयपछि उनले गाउँमा मोटरसाइकल भएका २ ब्यक्तिलाई फोन गरेको तर फोन नउठेको पुष्टी भएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । यसलाई प्रहरीले भाग्न मोटरसाइकल खोजेको उनीहरुको निष्कर्ष छ । 

एक अनुसन्धान अधिकारीका अनुसार डिजिटल अनुसन्धानको आधारमा घटना भएको दिन बेलुकाको समय उनले प्रयोग गरेको मोबाइलको लोकेसन घटनास्थल आसपास देखिएको छ । 

घटनाको समयमा मानबहादुरले बोकेको मोबाइलको लोकेसनलाई प्रहरीले अर्को प्रमाणको रुपमा हेरेको देखियो । उनको कल लोकेसन हेर्दा १२ बजेसम्म शेर्माको घरमा रहेको लोकेसन त्यसपछि एक किलोमिटरको दुरीमा रहेको अर्को घर गएका थिए । कल लोकेसनअनुसार त्यसपछि उनी आफ्नो घर पुगेर केही समयपछि उनको शव फेला परेको स्थानमा पुगेको कल लोकेसनमा देखिएको अनुसन्धान अधिकारीको दाबी छ । उनको शव फेला परेको स्थानमा उनी ३ बजेतिर पुगेको र त्यसपछि मोबाइलको लोकेसन परिर्वतन भएको छैन ।

यो अनुसन्धानलाई मानबहादुरतिर केन्द्रित गराउने बलियो प्रमाण भए पनि पहाडमा ट्वाक्कै मोबाइल रहेको लोकेसन देखाउन कठिन हुन्छ । हेर्ने आधार उनको मोबाइलले कताको टावर टिपेको छ भन्ने हो । 
केहीले बाँचेकी किशोरीले एक जना मास्क लगाएर आएको व्यक्तिले खुकुरी हानेको भनेको दाबी गरे पनि उनको स्वास्थ्य अवस्था सहज बनिसकेको छैन अझै । उनले भनेको दाबी गरिएको संख्या पनि यकिन छैन । घटनाको तेस्रो दिनको सरकारी छापामाध्यम गोरखापत्रमा उनै किशोरीको जानकारी भनेर ‘केही व्यक्ति’ उल्लेख गरिएको छ ।

त्यसमा पनि उनी घटनापछि अहिलेसम्म ट्रमाको अवस्थामा छिन् । 

अर्कोतिर मानबहादुरको मानसिक अवस्था पनि ठीक नभएको भन्ने सूचना आइरहेको छ ।
यी घटनाक्रमले उनीतिर शंकाको सुई बढाउने काम गर्छ तर यति मात्र उनी दोषी हुने अकाट्य प्रमाण भने हैन ।

तापनि प्रहरी उनीबाहेक अन्यतिर लागेको छैन । किन होला ?

‘प्रारम्भिक अनुसन्धानमा अहिलेसम्म मानवबहादुरबाहेक दोस्रो ब्यक्तिबारे केही प्रमाण र सूचना आएको छैन,’ केन्द्रीय अनुसन्धान ब्युरोकोतर्फबाट घटनाको अनुसन्धान टोलीमा सहभागी एसपी उमाप्रसाद चर्तुवेदीले शुक्रवारसँग भने‘ यो प्रारम्भिक अनुसन्धान हो । फरेन्सिक रिर्पोट र अनुसन्धानमा अन्य सूचना आए त्यतातिर पनि प्रहरीले अनुसन्धान गर्छ ।’

तर, शंकारहित छैन घटना

घटनाको प्रकृति र मानबहादुरको शारीरिक अवस्थाले उनी एक्लैले त्यत्रो व्यक्तिको हत्या गरेका हुन् भन्नेमा शंका भने गराउँछ । उनी बस्ने स्थानबाट घटना भएको २ वटा घर रहेको स्थानको दुरी र उनले आत्महत्या गरेको स्थानको दुरीको आधारमा पनि तत्काल घटनामा उनी नै संलग्न थिए भन्न सकिने आधार देखिदैन । 

तर मृतक परिवारको पृष्ठभूमि, आर्थिक अवस्था र घटनापछिको घटनाक्रमले तत्काल मानबहादुरबाहेक दोस्रो व्यक्तितिर शंकाको सुई जान सकेको छैन ।

‘मोबाइल लोकेसन, पारिवारिक किचलो, मानसिक अवस्था तथा हत्यामा भएको सामग्रीको प्रयोग लगायतको विस्तृत अध्ययन गर्दा उनी मुख्य शंकाको घेरामा परेका हुन्,’ डिएसपी कुँवरले भने ।
केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले घटनाको प्रकृतिले शंकास्पद नै घटनामा संलग्न हुन् भन्ने देखाएकाले अहिले प्रहरी फरेन्सिक प्रतिवेदन कुरेर बसेको बताए । प्रतिवेदनको नतिजा फरक आएमा अन्य कोणबाट अनुसन्धान हुने उनले शुक्रवारलाई जानकारी दिए ।
कुन समयमा भयो होला घटना ?

जेठ २ गते सोमबार बेलुकाको घटना मंगलबार बिहान मात्रै सार्वजनिक भएको थियो । घटनाको प्रत्यक्षदर्शी किशोरी घटनाबारे जानकारी दिनसक्ने अवस्थामा छैनन् । घटनाको समय अनुमान गर्न स्थानीयबाट आएको जानकारी र उनको मोबाइलको लोकेसन र समय नै मुख्य आधार हुन् ।

स्थानीयका अनुसार घटना भएको दिन बेलुका ११ बजेसम्म सेर्माको घरमा धामी बसेको थियो । अर्को सूचनाअनुसार बिहान ३ बजेतिर मानबहादुरले साथी नेलकम माखिमलाई फोन गरेर ६ हजार मागेका थिए तर उनी लिन गएनन् । बिहान उनले कल गरेको समयको आधारमा उनी सो समयसम्म जीवितै रहेको देखिन्छ । यसले घटना बेलुका ११ बजेपछि र बिहान ३ बजे अगाडि भएको देखाउँछ ।

‘प्रहरीको अनुसन्धानमा घटना १२ बजेपछि भएको देखाउँछ,’ केन्द्रीय प्रहरी प्रवक्ता पोखरेलले भने, ‘जुन ठाउँमा उनको शव फेला परेको छ, त्यहाँको लोकेसन हेर्दा ३ बजे पुगेको देखिन्छ ।’

कसरी हुनसक्छ पुष्टि ?
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युुरोका अधिकारी, प्रदेश प्रहरी कार्यालय र जिल्लाका प्रहरी अधिकृतहरु खटिएका छन् । सबै टोली घटनामा मानबहादुरको संलग्नताको प्रमाण संकलनमै खटिएका छन् । 

घटनाको एक मात्र प्रत्यक्षदर्शी किशोरी नै हुन्, जसले घटनामा मास्क लगाएको कति जना व्यक्ति थिए भनेर भन्न सक्छिन् । अहिले दाबी गरिएझैँ एक्लो व्यक्ति हो भने मानबहादुर माथिको शंकाको आधार बलियो हुन्छ नै ।

हत्या भएको पहिलो र दोस्रो घरमा एकै प्रकृतिको पाइलाको छाप रहेको दाबी आइरहेका छन् । निर्मला पन्त हत्या र बलात्कार घटनाको प्रमाण संकलनमा भएको त्रुटि र त्यसले निम्त्याएको अविश्वास अझै झेलिरहेको प्रहरीले पक्कै दुवै घरमा देखिएको पैतालाको छाप र आत्महत्या गरेका मानबहादुरको पैतालाको नाम लियो नै होला । यी दुवैका आधारमा घरमा रगतले बनेको पैतालाको छाप मानबहादुरको हो हैन भन्ने खुट्याउन सकिन्छ । 

पैतालाको छापको आधारमा समेत आरोपीको पहिचान गर्न सकिन्छ । ललितपुरमा धेरै अगाडि भएको फादर ग्याफ्नेको हत्यामा संलग्नको पहिचानमा मुख्य प्रमाण घटनास्थलमा फेला परेको पैतालाको छाप नै थियो । 

प्रहरीले घटनास्थलमा फेला पारेको खुकुरी घटनामा प्रयोग भएको हो भने त्यसमा खुकुरी प्रयोगकर्ताको औँठाको छाप पक्कै हुने नै छ । मानबहादुरको औँठाको छाप र सो खुकुरीमा फेला पर्ने औँठाको छापको आधारमा समेत घटनामा उनको संलग्नता निक्र्योल गर्न सकिन्छ ।

घटनास्थलको रगत, खुकुरीको रगत र बरामद कपडाको रगतको परीक्षणबाट समेत यी दुई सामग्रीको घटनासँग सम्बन्ध छ या छैन खुट्याउन सकिन्छ । प्रहरीले बरामद गरेका सामग्रीहरु अहिले फरेन्सिक परीक्षणमा पठाएको छ तर परीक्षण प्रतिवेदन आइसकेको छैन ।


‘कोल्ड ब्लडेड मर्डर हो’
डिआइजी विश्वराज पोखरेल, केन्द्रीय प्रवक्ता, नेपाल प्रहरी
पाँचथरको घटना पारिवारिक बेमेल र विचलनको कारण परिवारको सदस्यको मनमा उत्पन्न डिप्रेसनका कारण भएको घटना हो । प्रारम्भिक अनुसन्धानअनुसार श्रीमान् श्रीमतीको बिग्रिएको सम्बन्ध र सम्बन्ध सुधार्न भन्दा बिगार्न परिवारले खेलेको भूमिकाका कारण भावनामा चोट पुग्दाको आक्रोशमा भएको अपराध देखिन्छ ।
घटनाको प्रकृति हेर्दा मानबहादुरसँग प्रतिकार गर्न सक्ने भन्दा पनि कि वृद्ध कि बालबालिका मारिएका छन् । साना बालबालिकासँग कुनै रिसइवी नभए पनि हत्या भएको छ । यसले हत्यामा संलग्न व्यक्तिको मनमा सो परिवारका सदस्यप्रति कति आक्रोश रहेछ भन्ने पनि देखाउँछ ।
आत्मसम्मानमा चोट पुगेपछि व्यक्ति निकै निर्दयी बन्छ । निर्दयी व्यक्तिमा दया, माया र करुणा भन्ने हुन्न र कोल्ड ब्लडेड मर्डरको अवस्था आउँछ । पाँचथरको घटनाले पनि यस्तै देखाउँछ । यो प्रारम्भिक चरणको अनुसन्धानको निष्कर्ष हो । 
प्रारम्भिक चरणको अनुसन्धान यसैतिर केन्द्रित छ । मानबहादुर केन्द्रित अनुसन्धानका कारण छन् । घटनास्थलमा फेला परेको रगत लागेको खुकुरी र कपडा र घटनास्थलको रगत मिल्छ मिल्दैन परीक्षण भइरहेको छ । अहिले प्रहरी रिपोर्टको पर्खाइमा छ ।
(कुराकानीमा आधारित )

Leave A Comment