सक्कली गायकको नक्कली काम

शुक्रबार, २४ जेठ २०७६, ०४ : ४७ रीना माेक्तान
सक्कली गायकको नक्कली काम

अनुमति दिएको गीतमा कपी राइट 

बजारमा भाइरल ‘तिम्रो मायाले बाँधेर राख’ बोलको गीत यतिखेर विवादमा तानिएको छ । यसै गीतमाथि एलिना चौहानले बनाएको कभर भिडियोमा गीतका ओरिजनल गायक श्याम कार्कीले कपी राइट क्लेम गरेसँगै यसको विवाद चर्किएको हो । 

यतिखेर सर्जक र कभर गायिकाको पक्ष विपक्षमा दर्शक उत्रिएका छन् । अधिकांश दर्शक कभर गायिकाकै पक्षमा उभिएका छन् । एलिनाका फ्यानले सामाजिक सञ्जालमा कभर भिडियो धमाधम सेयर गर्न थालेका छन् । कारण, सर्जकले कपीराइट क्लेम गरेसँगै ७८ लाख भ्यूजसहितको कभर गीत युट्युबबाट हटाइएको छ । 

किन कपिराइट ? 
गायक श्यामले कभर गायिका एलिनाले ओरिजनल सर्जकलाई अपमान गरेको आरोप लगाउँदै गीतका ओरिजनल कभर भिडियोमा कपीराइट क्लेम गरेका हुन् । 

श्यामले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपश्चात् गीतमाथि कपीराइट क्लेम गरेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मेरो निजी स्वार्थ भन्दा पनि भविष्यमा स्रष्टाहरुको भावनालाई मध्यनजर राखेर यो निष्कर्षमा पुगेको छु । कभर सोधेर गरेको हो । मेरो मेसेन्जरमा सम्पूर्ण म्यासेज छन्,’ श्यामले फेसबुकमा लेखेका थिए, ‘मैले पनि अन्य स्रष्टाहरुको कभर गीत गाएको छु । कसैको गीतलाई आफूले गाएर फाइदा लिने, नचलेका गीत गाएर हिट बनाइदिएँ वा पुरानो गीतको भ्युज यति थियो, मैले गाएर यति पुग्यो भन्ने कुरा मिडियाले बढावा दिइरहँदा गीतसँग सम्बन्धित स्रष्टाको अपमान भएको महसुस गरेको छु ।’

कभर बनाउनुअघि गायिका एलिनाले गायक श्याम कार्कीसँग अनुमति मागेकी थिइन् । त्यतिखेर उनी सकरात्मक थिए तर जसै कभर गीतले सर्वाधिक चर्चा बटुल्न थाल्यो, उनले कपीराइट क्लेम गरे । उनले कपीराइटको पछाडि युट्युबबाट आउने रकमको कारणसमेत देखाएका छन् । एलिना भने श्यामले युट्युबको आम्दानी हटाउन अनुरोध गरेसँगै हटाइएको दाबी गरेकी छन् । 

‘भिडियोको मनिटाइज (युट्युबले भ्युजबापत दिने रकम) को कुरा उहिल्यैको हो,’ एलिनाले भनिन्, ‘भिडियोमा २० लाख भ्यु हुँदै मैले मनिटाइज अफ गरेकी थिएँ । मनिटाइज अन भएको भए पनि उनीहरुले मलाई पैसा दिने होइन । गुगलले दिने हो । उहाँहरुले पैसाको लागि एलिना मरिहत्ते गर्छे भनेर देखाउन खोज्नु भएको होला तर मैले पहिल्यै हटाइसकेकी थिएँ ।’

तीन वर्षअघि रिलिज भएको यो गीत एलिनाको आवाजमा सार्वजनिक भएसँगै भाइरल भएको थियो । यद्यपि सर्जकहरु यो सत्य स्वीकार्दैनन् । उनीहरु टिकटक भिडियो र वेडिङ भिडियोका कारण तीन वर्षपछि यो गीत चर्चामा आएको मान्छन् । तर, गीत एलिनाको आवाजले भाइरल भएको अधिकांश दर्शकले दाबी गरिरहेका छन् । हुन त एलिनाले टिकटक भिडियो हुँदै यस गीतमा कभर बनाएकी हुन् । टिकटकमा यो गीत गाएर सानो क्लिप राख्दा सबैले उनलाई कभर गाउन प्रोत्साहन दिएका थिए । त्यसपछि भने उनले कभर गाएको शुक्रवारलाई बताएकी छन् । 

युट्युबमा अपलोड गरिएको उनको आवाजमा ‘तिम्रो मायाले बाँधेर’ कभर रातारात हिट भयो । गीत भाइरल भएसँगै गीतका वास्तविक गायक र गीतकारको खोजी भयो । 

श्याम कार्की गीतका शुरु गायक हुन् भने रवि मल्ल यसका गीतकार । कभर गायनपछि शुरुगीतलाई पनि दर्शकले युट्युबमा खोजेर हेर्ने गरेका छन् । ओरिजनल गीतको भिडियोमा आएका पछिल्ला कमेन्टले नै यो प्रस्ट पार्छ । कभर गीतले गर्दा नै ओरिजनल भिडियोको भ्यु पनि बढायो । कभर गायनले ओझेलमा परेको यो गीत चर्चामा आयो तर यसै गीतमाथि कपीराइट क्लेम किन गरियो ? यो अहिले सबै एलिनाका फ्यानले गायक श्याममाथि गरिरहेको प्रश्न हो ।

सुरुमा अनुमति दिएर पछि कपी राइट क्लेम गरेका कारण श्यामविरुद्ध अहिले दर्शक खनिएका छन् । उनले फेसबुक स्टाटसमा कपीराइट क्लेम गरेसँगै आफ्नाविरुद्ध दर्शक नकारात्मक हुने अनुमान लगाएका थिए, अहिले त्यही भएको छ । कपीराइट क्लेम गरेकै कारण एलिनाका फ्यानबाट श्यामले चर्को आलोचना खेप्नु परेको छ । ओरिजनल गायकलाई कपीराइटमा समर्थन दिएका गीतकार रवि मल्ल भने विवादबाट परै देखिन्छन् । यद्यपि उनले श्यामको फेसबुक स्टाटस सेयर गर्दै आफ्नो समर्थन पहिल्यै जनाएका थिए । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘गीत कभर गर्नुअघि सोध्ने, अनि चरित्र हत्या गर्नुअघि चैँ सोध्नु पर्दैन ? ‘तिम्रो मायाले बाँधेर राख’ गीतको मालिक गायक श्याम कार्कीको भनाइ राम्ररी पढेर, मनन् गरेर आफ्नो प्रतिक्रिया दिनुहोला ।’
अहिले उनी यस विषयमा मौन रहन रुचाउँछन् । 

हाल विदेशमा रहेका ओरिजनल गायक श्यामले गीतबारे अन्तिम स्टाटस लेखेका छन्, ‘कभर गर्नुस् तर स्रष्टालाई नै कभर गरेर कभर नगर्नुस् ।’ उनको स्टाटसको आशय थियो, कभर गीतले ओरिजनल गायक छायाँमा पार्यो । ओरिजनल स्रष्टाको सम्मान भएन । 

तर कभर गायिका एलिना भने आफूले सधैँ ओरिजनल गायकलाई क्रेडिड दिँदै आएको दाबी गर्छिन् । उनले गत हप्ता शुक्रवारले कभर गायनसम्बन्धी समेटेको स्टोरीमा यसै गीतबारे भनेकी थिइन्, ‘यो गानाको शब्द नै मीठो छ, खुशी लाग्छ मेरो कभर सङले पछि परेको यो गीत नोटिसमा पा¥यो ।’

दुःखी एलिना
एलिना पहिल्यैदेखि गीतका स्रष्टाको सम्मान गर्दै आएको बताउँछिन् । ओरिजनल गायकले भनेझैं उनले आफ्नो भिडियोमा फेरबदल गरेका थिए । ओरिजनल गायकले मनिटाइजेसन हटाउन अनुरोध गरे । त्यसपछि उनले मनिटाइजेसन हटाइदिइन् । उनी सुरुमा मनिटाइज हटाउन तयार थिइनन् तर गायकको सम्मान गर्दै उनले त्यसमा तयार भइन् । पछि श्यामले भिडियोमा राखिएको नाममा आपत्ति जनाए । 

कभर भिडियोमा एलिनालाई श्याम कार्कीको नाम अगाडि राख्न आदेश दिए । श्यामले भनेअनुसार नै उनले ‘श्याम कार्की अनि मात्र कभर बाई एलिना चौहान’ मिलाइन् तर पनि गीतलाई युट्युबबाट हटाउन नै जरुरी ठाने यसका सर्जकहरुले । कपीराइट क्लेम गरेसँगै एलिनासँगै अन्य व्यक्ति पनि तनावमा छन् । किनभने उनैको युट्युब च्यानलबाट एलिनाले कभर गीत सार्वजनिक गरेकी थिइन् । उनी हुन्, देव लावर । अहिले उनको युट्युब च्यानल नै गायब भएको छ । कपिराइट क्लेमपछि उनको अकाउन्ट नै हटेको छ ।

एलिना भन्छिन्, ‘सर्जकले भनेको सबै कुरा गरिसकेर कुरा शान्त भइसकेको थियो । दुई वटा अन्तर्वार्ता हेरेर उहाँहरुले कपीराइट क्लेमको निर्णय लिनुभयो । मिडिया त बहाना मात्र हो । मैले कुन प्रश्नमा कस्तो जवाफ दिएको छु, पूरा हेर्नुभएन उहाँहरुले ।’ 

अहिले उनी ओरिजनल सर्जकले गरेको व्यवहारबाट दुःखी छन् । अहिले भने उनी यी सबै तनावबाट मुक्त हुन चाहन्छिन् र विवादमुक्त पनि । यतिबेला उनी आफ्नै गीत सार्वजनिक गर्ने तयारीमा छिन् । 

सुरुमा अनुमति दिएर कपी राइट गर्न कत्तिको मिल्छ ? 
गायक एवं संगीतकार शम्भुजित बासकोटा सर्जक र कभर गायक-गायिकबीच अनुमति दिने बेलामै यसको टुङ्गो हुनुपर्ने बताउँछन् । उनले शुक्रवारलाई भने, ‘अनुमति दिने बखत नै यो कुरा क्लियर हुनुपर्छ । चाहे त्यो कभर गीत या अन्य सवालमा होस् । कभरको अनुमति दिइसकेपछि चलेन भने वास्तै नगर्ने अनि चल्यो भने रोयल्टी माग्ने कुरा ग¥यो भने त्यो बाझिन आउँछ । पहिलो चरणमा कसैले रिमेक, सिनेमा या कभरका लागि गीत माग्दा नै स्रष्टाप्रति प्रस्ट हुनुपर्छ । सुरुमै दुवैबीच कुरा क्लियर हुनुप¥यो ।’ 
 
फिमेल भर्सन हिट
कपीराइट क्लेम गर्नुअघि गीतका स्रष्टा गायक श्याम कार्की र गीतकार रवि मल्लले नेपाल आइडलको थर्ड रनर अप अस्मिता अधिकारीको आवाजमा फिमेल भर्सन निकालेका छन् । गीतको भिडियोमा अस्मिता आफैँ फिचर्ड छिन् । फिमेल भर्सनको भिडियोमा पनि एलिनाका फ्यानले सर्जकमाथि खनिएका देखिन्छन् । अस्मिताको आवाज रहेको फिमेल भर्सनको यो गीतलाई युट्युबमा १२ लाख धेरैले हेरिसकेका छन् । फिमेल भर्सनलाई दर्शकले रुचाएका छन् । 
 

Leave A Comment