कलाकारलाई लाग्यो चुनाव

शुक्रबार, २४ जेठ २०७६, ०४ : ५७ भोला अधिकारी
कलाकारलाई लाग्यो चुनाव

अध्यक्षको प्रत्यासी रहेकी अभिनेत्री सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उनी गैरकलाकार रहेको उजुरी परेपछि रोकिएको चलचित्र कलाकार संघको चुनाव जेठ २५ मा हुँदैछ । चुनाव हुने निश्चित भएसँगै अहिले कलाकार चुनावी रङमा रंगिएका छन् ।

सरिताविरुद्ध लागेको आरोप पुष्टि नभएपछि उनी अध्यक्षको उम्मेदवार बनेकी छन् । उनलाई अध्यक्ष पदमा उम्मेदवार हुनबाट रोक्न ठूलै चलखेल हुँदाहुँदै धन्न उनले उम्मेदवारी दर्ता गर्न सकिन् । 

उनीविरुद्ध कलाकार लय संग्रौला प्रतिद्वन्द्वी बन्ने तयारीमा थिए तर एकाएक उम्मेदवार बद्लिएका छन् । यतिबेला लामिछानेविरुद्ध अभिनेता रवीन्द्र खड्का मैदानमा उत्रिएका छन् । 

अध्यक्ष पदमा उम्मेद्वारी दिनेमध्ये लामिछाने वर्तमान कार्यसमितिको महासचिव रहेकी छन् भने खड्का नेपाल कलाकार संघको एक कार्यकाल अध्यक्ष भैसकेका छन् । 

सात जनाको कार्यसमिति सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्तासँगै कलाकारहरु आ–आफ्नो गुटमा बाँडिएका छन् ।

संघको उपाध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेती, मनोज केसी, सानुकुमार ताम्राकार, विनोद भट्टराईको उम्मेदवारी परेको छ भने महासचिवमा चेतबहादुर सिंह र सञ्जय खतिवडा भिड्दै छन् । 
सचिवमा अभिनेत्री पनाह अधिकारी, कविता शर्मा गेलाल र अभिनेता राजकुमार शाहले उम्मेदवारी दिएका छन् । 

कोषाध्यक्ष पदमा सुनिल कटवालको एक्लो उम्मेद्वारी परेको छ । सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्य र डिबी बमजनले उम्मेदवारी दिए । 

नामाङ्कनमै कुटाकुट
उम्मेदवारी दर्ता भएसँगै कलाकारहरु एक–अर्काविरुद्ध उत्रिएका छन् । सबैभन्दा धेरै आक्रमणको सामना गरिरहेकी छन्, अध्यक्षकी उम्मेदवार लामिछानेले । अन्य उम्मेदवारको तुलनामा लामिछानेविरुद्ध संगठित आक्रमण भइरहेको देखिन्छ । मनोनयमा समेत त्यस्तै देखियो ।

शनिबार संघको ज्ञानेश्वरमा रहेको कार्यालयमा चुनावको मनोनयन दर्ता कार्यक्रम थियो । दर्ता गर्ने समय सकिँदै लाग्दा त्यहाँ कलाकार संघका साधारण सदस्य रामेश्वर बुर्लाकोटी लगायतको एउटा समूह मनोनयन दर्ता भइरहेको स्थानमा पुग्यो । 

सरिता लगायत थुप्रै सदस्यविरुद्ध गैरकलाकारको आरोप लगाउँदै तयार पारिएको उजुरी लिएर पुगेका उनीहरुले उजुरी दर्ता गर्न, उजुरीउपर छानबिन गर्न र मनोनयन तत्कालका लागि रोक्न दबाब दिए । 
निर्वाचन कमिटीका संयोजक नीर शाहले त्यो असम्भव रहेको अड्डी कसे । त्यसपछि संघका कार्यलय सचिव राजलाई उजुरी दर्ता गर्न दबाब दिइयो । ‘आज बिदा हो, आइतबार आउनू’ भनेपछि उनीविरुद्ध बुर्लाकोटी खनिए । हातपातसम्म गरे । सहकोषाध्याक्षका उम्मेद्वारी डिबी बम्जनले घटना देखिहाले । छुट्ट्याउन पुग्दा दुवै पक्षबीच हात हालाहाल भयो । 

पाँच मिनेटमै कार्यालयमा प्रहरी आइपुग्यो । ‘प्रहरीलाई पूर्व जानकारी गराएरै बुर्लाकोटी निहुँ खोज्न आएकोजस्तो देखिएको थियो,’ घटनास्थलका प्रत्यक्षदर्शी एक कलाकारले भने । घटना महानगरीय प्रहरी वृत्त कमलपोखरीसम्म पुग्यो । 

‘केही मान्छेहरु चुनाव नहोस् भन्ने मानसिकता बोकेका कारण चुनाव भत्काउन लागि परेका छन्,’ हालका लागि जिल्ला प्रशासन कार्यालयले चलचित्र कलाकार संघ तदर्थ समितिको संयोजक तोकेको नीर शाहले भने । 

अध्यक्ष पदकी उमेदवार लामिछानेले पत्रकार सम्मेलन गर्दै  चुनाव नजिकिदै गर्दा आफू असुरक्षित भएको दाबी गरिन् ।

‘मैले उम्मेद्वारी दिएपछि केही मान्छेले अनेक बहानामा मलाई तर्साउन खोजिरहेका छन्,’ उनले भनिन्, ‘राम्रो एजेन्डा ल्याएका कारण पटक–पटक ममाथि गाली–बेइज्जती गरिएको छ ।’ अभिनेत्री गौरी मल्ल, करिश्मा मानन्धर, रेखा थापा सरिताको समर्थनमा प्रेस मिटमा सहभागी थिए । 

‘चुनाव कुनै हालतमा रोकिन्न’
चलचित्र कलाकार संघका सदस्यबीच नै अझै चुनाव रोकिने शंका छ । यस विषयमा निर्वाचन कमिटीका संयोजक शाहलाई प्रश्न गर्दा उनले कुनै पनि हालतमा चुनाव नरोकिने बताए । ‘मिति नै तोकिसकिएको र मनोनय समेत दर्ता भइसकेको छ,’ उनले भने, ‘अहिले कसैको विरोध नआएको कारण चलचित्र कलाकार संघको चुनाव हुुनेमा म ढुक्क छु ।’

तीन महिनाअघि हुने तय भएको चुनाव कलाकार बीचको लफडाका कारण रोकिएको थियो । अभिनेत्री सरिता लामिछानेको सदस्यता योग्यता नपुगेको भन्दै अभिनेता सुरज आरडीले जिल्ला प्रसाशन कार्यलयमा उजुरी दिएपछि जिल्ला प्रशासनको आदेशमा चुनाव रोकिएको थियो । 

अध्यक्ष पदका लागि आवश्यक फिल्म नखेलेको र चलचित्र कलाकार संघको विधानअनुसार गैर कलाकार भएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । सदस्य योग्यता पुग्छ÷पुग्दैन भनेर छानविन गर्न वरिष्ठ चलचित्रकर्मी  शाहको संयोजकमा पाँच जनाको छानविन समिति नै गठन भएको थियो । 
छानविन समितिले सरिताको विधानअनुसार योग्यता पुगेको निष्कर्ष निकालेपछि जिल्ला प्रशासन कार्यालयले चुनाव गर्ने आदेश दिएको हो ।  
 

Leave A Comment