एक्लो सन्तानको सम्पत्ति हक

आइतबार, २६ जेठ २०७६, ०७ : ३७ स्वीकृति बराल
एक्लो सन्तानको सम्पत्ति हक

आमाबुबाको मृत्युपश्चात् सम्पत्ति स्वतः एक मात्र सन्तान विवाहिता छोरीको नाममा जान्छ कि भाइ–भतिजाको हक लाग्छ ? शेषपछि छोरीले स्वतः पाउने कानुनी प्रावधान के हुनसक्छ ? 
 

उत्तर : अंशबण्डासम्बन्धी व्यवस्थाको दफा २०५ अनुसार सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनका लागि अंशबण्डासम्बन्धी अन्य दफाको अधिनमा रही पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिने छन् । 
तपाईँको प्रश्नअनुसार तपाईँको बुबाआमा दुवै स्वर्गीय भइसक्नुभएको र बुबाआमाको सन्तान तपाईँ एक जना मात्र भएको अवस्थामा अंशमा तपाईँको मात्र हक लाग्छ । भतिजाहरुको लाग्दैन । तर बुवा स्वयंको अंश सगोलमै छ र बण्डा भएको छैन भने तपाईँका भाइभतिजाको पनि अंशमा हक लाग्छ । तपाईँले पाउने भनेको आफ्नो बुबाको अंश भागबाट मात्रै हो ।

बुबा–आमाको मृत्यु हुनुअगाडि नै अंश लिइसकेको अवस्था हो भने त्यस्तो अवस्थामा मृतकको धन मात्र होइन, ऋणसम्बन्धी दायित्व र अधिकार कानुनबमोजिम हकवालामा सर्ने कार्यलाई अपुताली भनिन्छ । कुनै व्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिन्छ । अपुताली सधैँ मृतकको नजिकको हकवालाले पाउँछन् । 

अपुताली पाउने पहिलो हकदार मृत्यु हुने मान्छेको पति वा पत्नी हो । पतिको निधन भए पत्नी र पत्नीको निधन भएमा अपुतालीको हक पतिलाई जान्छ । पति वा पत्नीमा एक जनाको मृत्यु पहिले नै भएको अवस्था भएमा अपुतालीको हक सगोलको छोरा, छोरी वा विधवा बुहारीमा जान्छ । 

त्यसैगरी सगोलको छोरा, छोरी, विधवा बुहारी नभएमा सगोलका आमा, बाबु, सौतेनी आमा, छोरा, छोरी तर्फका नाति, नातिनी, नातिनी बुहारीमा अपुतालीको हक जान्छ । सगोलका कोही नभए भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमामा अपुतालीको हक जान्छ  । 

क्रमैअनुसार भिन्न भएका छोरा तर्फका नाति, नातिनी, भिन्न भएका बाजे, बज्यै, सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइबुहारी, सगोलका काका, काकी, भतिजा, भतिजी र अन्त्यमा भिन्न भएका दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइबुहारीमा अपुतालीको हक जान्छ । तर अपुताली पाउनका लागि नजिकको नातेदार हुनु मात्र काफी हुँदैन । 

कानुनले अपुताली पाउने हकवालाले पालन गर्नुपर्ने दायित्व र कर्तव्य पनि निर्धारण गरिदिएको छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा २४६ ले अपुताली पाउने व्यक्तिको दायित्व र अधिकारबारे स्पष्ट रुपमा उल्लेख गरेको छ । अपुताली पाउने व्यक्तिले मृतकको सम्पत्ति मात्र नभएर मृतकले लिएको ऋण पनि साहुलाई तिर्नुपर्ने हुन्छ तर त्यसो भन्दैमा मृतकको सम्पत्तिभन्दा बढीको ऋण तथा दायित्व अपुताली पाउने व्यक्ति तिर्न बाध्य हुँदैन । केही कारणवश मृत्यु हुने मान्छेको सद्गत अपुताली खाने व्यक्तिले अन्य व्यक्तिमार्फत् गराउन लगाएको रहेछ भने त्यसरी सद्गत गर्नेलाई किरिया खर्च मात्र दिए पुग्छ । 

परिच्छेद ११ को दफा २४० अनुसार कुनै व्यक्ति आफ्नो नजिकको हकवालासँग नबसेर आफ्नो अंश लिएर टाढाको हकवालासँग बसेको अवस्थामा निजको मृत्यु भई अपुताली खुला भएमा त्यस्तो व्यक्तिको अपुताली सँगै बस्ने व्यक्तिले पाउँछ । यसको अर्थ के हो भने अपुताली नजिकको हकवाला भन्दा पनि मृतकलाई स्याहार सुसार गर्ने व्यक्तिको अधिकारको विषय हो । सगोलको हकवालाले स्याहार सम्भार नगरी कुनै व्यक्ति आफ्नो अंश लिई भिन्न बसेको हकवालासँग बस्न गएमा त्यस्तो अपुताली भिन्न भएको हकवालाले नै पाउँछ । 
 

Leave A Comment