हलेदोवाद

सोमबार, २७ जेठ २०७६, ०९ : २७ अच्युत काेइराला
हलेदोवाद

गएको जेठ १२ गते काठमाडौँका दुई स्थानमा बम विष्फोट भयो । विष्फोटमा चारको तत्काल मृत्यु भयो भने अन्य छ जना घाइते भए । तीमध्ये एक जना ऋण काडेर स्वास्थ्यकर्मी बन्ने सपनाका साथ कर्णालीबाट काठमाडौँ छिरेका विद्यार्थी प्रज्ज्वल शाही रहेको खबर आयो । जब मृतक युवाका अभिभावकको हृदय चिरिने गरी ऋणका खबर सार्वजनिक भए, धेरैको हृदयबाट ‘आह !’ निस्कियो । 

हुन त एउटा आहान नै छ, ‘जवानीमा कम्युनिस्ट नहुने मान्छे मान्छे बन्दैन ।’ युवावस्थामा संसार बदल्ने सपना नपाल्ने आखिर को होला ? र, त्यस्ता धारणालाई कम्युनिस्टजस्तो समानतामा विश्वास गर्ने विचारधाराले जत्तिको कसलाई नपगाल्ला ! तर जब यो सपना अलि अघि बढेर शास्त्रीय सशस्त्र द्वन्द्वमा छिर्छ, त्यसपछि यो मुर्खताको कुनै जवाफ छैन भन्ने बुझे हुन्छ । 

तर नेपाल सबैजसो मुर्खता फलिफाप हुने ठाउँ हो । जब देशमा नीति, नियम, कर्तव्य भन्ने पनि केही चिज हुन्छ भन्नेमा कसैलाई विश्वास लाग्दैन, त्यसपछि हुने भनेको युवाहरुको स्वाहा नै हो । विप्लव समूहको यो आन्दोलन सही हो कि गलत त्यसबारे चर्चा गर्न देशका विद्वानहरु छँदैछन् । हामी भने बिल एडीले अतिवादी राजनीतिज्ञका बारेमा गरेको गज्जबको विश्लेषणबारे चर्चा गर्नेछौँ ।

एडीले ‘ह्वाई वि इलेक्ट नार्सिसिस्ट एन्ड सोसियोपाथ एन्ड हाउ वि क्यान स्टप’ पुस्तकमा रोचक तरिकाले फटाहा राजनीतिज्ञले कसरी तारणहारका रुपमा आफूलाई उभ्याउँँछन् वा तिनीहरु वास्तविक तारणहारका रुपमा देखिन्छन् अनि सर्वसाधारण कसरी पुतलीहरु आगोमा भष्म भए झै भष्म हुन पुग्छन् भन्नेबारे लेखेका छन् ।

२१ औँ शताब्दीमा जब कसैले हिंसालाई जायज ठह¥याउँछ भने त्यो त्यो मानसिक रुपमा जायज होइन । त्यस्ता व्यक्तिलाई कुनै पनि वैध कुरामा रुचि हुँदैन । अवैध कुरामार्फत् उसलाई जे जस्तो तरिकाले काम फत्ते गराउनु छ, गराउँछ । उनीहरु कसैप्रति वफादार हुँदैनन् । उनीहरुले सबै शक्ति आफूमा केन्द्रित गर्छन् । उनीहरु भन्छन्, ‘कि त तिमी मेरो मित्र हौ कि दुश्मन । के बन्न चाहन्छौ, छनोट तिम्रो !’

यस्तो अतिवादी धारणा राख्ने कम्युनिस्ट मात्र हुन्छन् भन्ने छैन । सबैजसो अधिनायकवादी सोच राख्ने पार्टीमा यिनलाई फेला पार्न सकिन्छ । तिनले नक्कली दुस्मन उभ्याउँछन् । आफू ठूलो युद्धमा निस्केको र तिनलाई तह लगाउने आफू मात्र रहेको भ्रम फैलाउँछन् । यस्ता अगुवामा समस्या सुल्झाउने कुनै योजना भने हुँदैन । योजना वा क्षमताको अभावका कारण अरुको ध्यान भड्काउन अनेक अवाञ्छित कुरालाई जोड दिइरहन्छन् ।

सन् १९५० मा अमेरिकी सिनेटर जो म्याक्कार्थी अमेरिकाको सबैभन्दा ठूलो दुस्मन अमेरिकी कम्युनिस्ट रहेको हौवा फैलाएर सर्वसाधारणलाई यति धेरै दुःख दिए कि यसमा उनको पागलपन नै देखिन्थ्यो । पछि उनलाई नराम्रोसँग अमेरिकी जनताले चुनावमा पराजित गरे । तीन वर्षपछि म्याक्कार्थीको मृत्यु भयो ।

डोनाल्ड ट्रम्पले आप्रवासीको हौवा सिर्जना गरेर सत्तामा गए । भारतमा नरेन्द्र मोदीले पनि आफूले मात्र भारतमाथि हुने अनेकन बाहिरी तथा भित्री आक्रमणबाट बचाउन सक्ने कथ्यलाई विश्वासिलो बनाएर पुनः सत्तामा पुगे । यस्तो अधिनायक सोच भएका व्यक्तिमा आत्ममुग्धता बढी नै हुन्छ । उनीहरु जत्तिको बुद्धिमता भएका, क्षमतावान्, जनताप्रति प्रतिबद्ध कोही हुँदैन भन्ने भ्रम सिर्जना गर्न सफल हुन्छन् ।
उसो भए यस्ता नेता र अगुवालाई कसरी चिन्ने त ? बिल एडीले चार वटा कुरामा ध्यान दिन सके तिनलाई चिनिने बताउँछन् । 

पहिलो, अरुका दोषलाई बढाइचढाइ प्रस्तुत गर्ने । दोस्रो, उसले तपाईंलाई कि त प्रशस्त सम्भावनाको ठाउँ देखाउँछ कि त केही पनि नभएको निराशाजनक कुरा बताउँछ । जस्तो कि, पाइयो भने स्वर्गको राज, नपाए चपरीमुनिको बासजस्ता कुराले तपाईंलाई आकर्षित गर्छ । 

तेस्रो, भावनाको तीव्रता । ऊ जुनसुकै बेला पनि उत्तेजक अवस्थामा रहन्छ । कुरा गर्दा सामान्य अवस्थामा रहँदैन । अव्यवस्थित देखिन्छ । चौथो, गज्जबका सोचले चाँडै प्रभाव पार्न सफल हुन्छ । त्यो सोच जतिसुकै वाहियात लागे पनि तपाईं उसका कुरामा प्रभावित नभइरहन सक्नुहुन्न ।

यस्ता व्यक्तिले ‘गोप्य योजना’ भएको बताइरहन्छन् । ‘तिमी छक्क पर्छौ’ भनिरहन्छन् । तिनमा पछुतो भन्ने कुनै कुरा हुँदैन । यस्ता मान्छे लगातार बोलेको बोल्यै गर्छन्, कुरा कम सुन्छन् । सुनेजस्तो गरे पनि तिमीलाई केही थाहा छैन स्टाइलमा आफ्ना फेरि थोपर्न थालिहाल्छन् । तर तत्कालै ‘हामी दुईबीच कति धेरै समानता छ’ भन्दै आत्मियता प्रकट गर्न चुक्दैनन् । खासगरी चरम शोषण, गरिबीजस्ता कुराले श्रोताको ध्यान आकर्षित गरिरहन्छन् ।

यिनले मानिसको डर र असुरक्षालाई सबैभन्दा बढी दोहन गरिरहेका हुन्छन् । मिडियामार्फत् त्यही कुरा पस्कन्छन् । मानिसलाई जस्ता कुरामा चाख हुन्छ, तिनै कुरा छनोट गर्छन् । यस्तो भएपछि मिडियाले पनि तिनै कुरालाई बढाइचढाइ प्रस्तुत गरिहाल्छन् ।

बिल एडीको धारणामा कतिपय समस्या त जायज नै हुन्छन् । ती जायज समस्यामाथि तिनले खेल्ने ठाउँ धेरै पाउँछन् । यस्तो अवस्थामा जुन समस्या देखिएको हुन्छ, त्यसलाई ठूलो ‘क्राइसिस’का रुपमा उनीहरुले व्याख्या गर्छन् । यस्तोमा उनीहरुले एउटा खलपात्र उभ्याउँछन् । ती पात्र कुनै व्यक्ति पनि हुनसक्छन् या समूह पनि रहन सक्छन् । माओवादीले पहिले राजसंस्थालाई सबैभन्दा खलनायक देख्थे, पछि कांग्रेस देखे । बीचमा भारत ‘मालिक’ भएको खुलेरै बताए । यस्तो अवस्थामा उनीहरुलाई ‘हिरो’ चाहिन्छ र त्यो नायक आफू भएको प्रस्तुत गर्छन् ।

यस्ता व्यक्तिलाई सबैले रुचाउँछन् भन्ने छैन । ४० प्रतिशत जनता जहिल्यै यसको विरोधमा हुन्छन् । बाँकी दोधारमा हुन्छन् र केही समर्थनमा । बिल एडीले यस्ता समूहलाई चार भागमा बाँड्छन् । 

पहिलो, केहीलाई यस्ता ‘नायक’ समाजमा चाहिएको भन्दै सुरुमै विश्वास गर्छन् । यिनलाई अन्धभक्त भन्न सकिन्छ । दोस्रोमा, यस्ता नेता देशको समस्या हुन् भन्ने पहिल्यै जानकार हुन्छ । यिनलाई अन्ध विरोधी भन्न सकिन्छ । 

तेस्रो किसिमका पेन्डुलम हुन् । यिनीहरु कुनै ठूलो घटना नघटी पक्ष वा विपक्षमा आउँदैनन् । चौथो चाहिँ भगुवा हुन् । यिनीहरुको नजरमा नायक र खलनायक उस्तै हुन्छन् ।

यो बम विष्फोट र शाहीको ‘आत्मबलिदानी’पछि तपाईंले आफूलाई कुन कित्तामा छु भन्ने पर्गेलिसक्नु भयो होला । म चौथो नम्बरमा पर्छु । मेरा लागि अहिलेको समयका नायक र खलनायकमा कुनै फरक छैन । मेरा लागि जति अहिलेका पार्टी नालायक छन्, उति नै नालायकी चन्द समूहले देखाइरहेका छन् । 

अहिलेको युग नार्सिसिस्टको युग हो । आत्मरति, आत्ममुग्धता र आफूबाहेक अरु केही र कोही नदेख्ने युगमा हामी बाँचिरहेका छौँ । हरकोहीलाई लाइक र लभमा बानी परिसकेको छ । जसले लाइक ठोक्छ, ऊ मित्र र लाइक नठोक्ने सबै विरोधी कित्ताको भनी निक्र्यौल ठोक्ने समयमा हामी उभिएका छौँ । 

यस्तो अवस्थामा बिल एडीको पुस्तकको के अर्थ छ ? अर्थ छ । जब हामीले हलेदो हो भन्ने जानिसकेपछि कोट्याउने कि नकोट्याउने भन्ने छनोट गर्न सक्छौँ । जब कोट्याउन थाल्छौँ, हामी जत्तिको मूर्ख को होला !
 

Leave A Comment