इक्यान शैक्षिक मेला असार तेस्रो सातामा

शुक्रबार, ०६ असार २०७६, ०६ : ३५ शुक्रवार
इक्यान शैक्षिक मेला असार तेस्रो सातामा

नेपाल शैक्षिक परामर्श संघले बृहत् शैक्षिक मेलाको १३ औं संस्करण आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा  असार २६ देखि २९ सम्म शैक्षिक मेला आयोजना गरिने संघले जानकारी दिएको छ । शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी र परामर्श पाउने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

१३ आंै इक्यान शैक्षिक मेलामा एक लाखभन्दा बढी आगन्तुक आउने आयोजकको अनुमान छ । मेलामा सहभागी हुन विभिन्न देशका राजदूतावास तथा कुटनीतिक नियोगहरुलाई समेत आग्रह गरिएको र मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायी, स्वदेशी तथा विदेशी शैक्षिक संस्था तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रसलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुनेछन् ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवं अवसरहरुजस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्था, विश्वविद्यालय र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचका लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको उद्देश्य रहेको आयोजकले बताएका छन् । 

मेलामा करिब ४ सय स्टल रहने प्रदर्शनी गृह पुर्णतया डस्टफ्रि जोन हुने आयोजकको दाबी छ । प्रदर्शन क्षेत्रभरि फ्री वाइफाइ, लाइभ टक सो को व्यवस्था र मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क बससेवाको व्यवस्था हुने आयोजकले जानकारी दिएका छन् ।
 
 

Leave A Comment