एक्लोपनको उपचार

शुक्रबार, १३ असार २०७६, ०१ : ४३ प्रकाश जंग थापा
एक्लोपनको उपचार

एक्लोपन महसुस हुनु सामान्य अवस्था हो। व्यक्तित्व विकास कार्यमा संलग्न हुँदा होस्, आत्मनिर्माण वा आध्यात्मिक कार्यमा सक्रिय हुँदा होस्, एक्लोपन उत्पन्न हुन्छ नै। आखिर के–के कारण हुन सक्छन् ? व्यक्तित्व विकास वा आध्यात्मिक कार्यमा सत्यको खोजी गरिन्छ। वास्तविकता बुझ्ने भोक हुन्छ। नयाँ आनीबानी विकासमा सक्रिय भइन्छ। स्वस्थ खानामा जोड दिइन्छ। जागरुक रहन विभिन्न ध्यान गरिन्छ। साधना अनुशरण गरिन्छ। मानौँ, तपाईं गम्भीरतापूर्वक व्यक्तित्व विकास एवं आध्यात्मिक कार्यमा लाग्नु भयो। जसै तपाईंलाई त्यस कार्यमा केही सफलता प्राप्त हुन्छ, तपाईं र अरु मानिसमा आकाश जमिनको फरक भेट्न सकिन्छ। तपाईंको मूल्य मान्यता सँगै स्वभाव परिवर्तन हुन्छ। जसकारण तपाईं र तपाईंको वरिपरि रहने मानिससँग स्तर मिल्दैन। स्वाभाविक रुपमा दुरी पैदा हुन्छ। सम्पर्क टुट्न थाल्छ।

अधिकांश मानिस यस्तो परिस्थितिमा एक्लो महसुस गर्छन्। उदास हुन थाल्छन्। अजिबको खालीपनले घर गर्छ र व्यक्तित्व विकास कार्यलाई पूर्णता दिन सक्दैनन्। बीचमै रोकी दिन्छन्। अरुले जे गर्दै आएका छन्, त्यही गतिविधि गर्न थाल्छन्। त्यसैगरी एक्लोपन महसुस हुनुको अर्को कारण हो, आफ्नो अस्तित्व नभेट्नु। आफ्नो वास्तविक आत्मसँग साक्षात्कार गर्न नसक्नु।

एक्लोपनको सामना
प्रायः चल्तीका गुरु, स्रोत व्यक्तिले एक्लोपनका लागि निम्न समाधान पस्कने गर्छन्ः

 #आफ्नो काममा केन्द्रित हुनु, दायाँ बायाँ ध्यान नदिनु

 #नयाँ सोख विकास गर्नु, रुचिको काममा हात हाल्नु

 #नयाँ जीवन सुरुवात गर्नु

 #अनलाइन डेटिङ गर्नु

 #पैसा र सफलताको पछाडि लाग्नु

 #साथीभाइसँग रमाइलो गर्नु आदि

यी सबै सतही समाधान हुन्। कागजमा राम्रो देखिए पनि यसको प्रयोगमार्फत् केही परिवर्तन हुनेवाला छैन। यो गतिविधिमा सरिक हुनु भनेको एक्लोपनबाट भाग्नु हो। दीर्घकालीन समाधानका लागि एक्लोपनको सामना गर्नुको विकल्प छैन। यस कुरामा प्रबुद्ध गुरुहरु सहमत छन्। चाहे सद्गुरु हुन् वा एकार्ट टोले। ओशो हुन् वा जे कृष्णमूर्ति। उनीहरु भन्छन्, ‘एक्लोपन अनुभूत हुनु आध्यात्मको सुरुवाती चरण हो।’

एक्लोपनबाट जतिसुकै भागे पनि एकदिन सामना गर्नुपर्छ नै। केही उदाहरण लिऊँ। तपाईं जतिसुकै धनी हुनोस्, जतिसुकै मानिसले तपाईंलाई आदर्श मानून्।

परिवारमा जति नै प्रेमभाव होस्। तपाईंले मृत्यु भने एक्लै सामना गर्नुपर्छ। चाहे तपाईंसामु सयौँ शुभचिन्तक किन नहुन् ! त्यसैगरी जब तपाईं जटिलभन्दा जटिल अवस्थामा हुनुहुन्छ, जब तपाईं पीडित हुनुहुन्छ, जब तपाईं भ्रममा हुनुहुन्छ, जब तपाईं निकै डराएको हुनुहुन्छ, त्यतिबेला पनि तपाईंले एक्लोपनको सामना एक्लै गर्नुपर्ने हुन्छ। कोही कसैसँग भावनात्मक उल्झन बाँड्न सक्नुहुन्न। त्यसैगरी जब तपाईं आध्यात्मिक उचाइ प्राप्त गर्नुहुन्छ, जब तपाईंले जीवनको रहस्य, सुन्दरता र अर्थ पत्ता लगाउनु हुन्छ, त्यतिबेला पनि तपाईं एक्लै हुनुहुन्छ। जीवनको अपरिभाषित सुन्दरता यति सुन्दर हुन्छ कि तपाईं अरु कसैलाई बुझाउन सक्नुहुन्न। हरेक परिस्थितिको सामना तपाईं एक्लै गर्नुपर्छ। त्यसैले तपाईंको जीवनको नायक तपाईं आफैँ हो।

उच्च स्तरीय समाधान
नायक बन्नु, दूरदर्शी सोच राख्नु, नेतृत्व दिनु वा साधु सन्त बन्ने लक्ष्य समाउनुको अर्थ हो, बेचल्तीको बाटो हिँड्नु। यसमा सामूहिक शक्ति लाग्दैन। एक्लै खटिनुपर्ने हुन्छ। यसर्थ एक्लोपन महसुस हुन्छ। यसका लागि केही उच्चस्तरीय समाधान पहिल्याउन सक्नुपर्छ। जस्तो आत्मनिर्माण, व्यक्तित्व विकास कार्यमा प्रतिबद्ध रहने। यस कार्यमार्फत् आफूलाई बुझ्न सकिन्छ। आफ्नो साँचो परिचय थाहा पाउन सकिन्छ। हरेक रहस्यमयी प्रश्नको जवाफ भेटिन्छ। अर्को स्तरीय समाधान हो, आफ्नो उद्देश्य पत्ता लगाउनु। जीवनको एउटै मात्र उद्देश्य के हो, त्यस विषयमा स्पष्ट रहने। प्रायःजसो मानिस आफ्नो जीवनको उद्देश्यबारे अनभिज्ञ रहन्छन्। अनि जीवनको अन्तिम घडीमा पछुताउने गर्छन्। उद्देश्य जतिसक्दो चाँडो पत्ता लगाउने कोसिस गर्नोस्। त्यस्तै, अर्को स्तरीय समाधान हो प्रकृतिसँग सम्बन्ध राख्नु।

प्रकृतिसँग इगो हुँदैन। मानव निर्मित पूर्वाधार इगो, भ्रम, छलकपट आदिले भरिपूर्ण हुन्छ। त्यसैले प्रकृतिप्रेमी हुनु, प्रकृतिको सामुन्ने रहनु, प्रकृतिमा हराउनु, सम्भव भएसम्म मिनिमालिस्ट लाइफ बाँच्नु। तडकभडक पन्छाउँदै जानु।

कार्यान्वयन विधि
भिडमा हराउनुभन्दा एक्लै रहनु फलप्रद रहन्छ। जीवनको रहस्य बुझ्न एक्लोपन चाहिन्छ। एक्लोपनसँग लड्न सक्नुपर्छ। एक्लोपनदेखि भागेर उपलब्धि हुँदैन। एकाग्रता आत्मसात गर्नुपर्छ। यसलाई कार्यान्वयनमा ल्याउन विभिन्न विधि अपनाउन सकिन्छ। पहिलो, एकल दश दिने रिट्रिट। यस रिट्रिटको मूल उद्देश्य भनेको दश दिनसम्म समाजबाट सम्पर्कविहीन हुनु हो। पारिवारिक, सामाजिक साथ साथै व्यावसायिक जिम्मेवारीबाट टाढा रहनु हो। एकान्तमा बसेर ध्यान गर्नु हो। आफूलाई चिन्ने कोसिस गर्नु हो। यसका लागि कुनै एक प्राकृतिक स्थान रोज्नुस्। भरसक एकान्त ठाँउमा जान सके राम्रो। रिट्रिटबारे आफ्नो साथीभाइ तथा परिवारलाई पूर्वजानकारी दिनोस्। यसो गर्दा तपाईंको अनावश्यक खोजी हुने छैन। गतिरोध उत्पन्न हुने छैन। रिट्रिटका बेला फोन, इमेल, इन्टरनेट, सोसल मिडिया, टिभी लगायत कुनै पनि मनोरञ्जनात्मक उपकरण तथा गतिविधि मुक्त रहनुस्। केही दिन निकै कष्टकर हुन सक्छ। सधैँ गर्दै आएको दैनिकी त्याग्नु सजिलो काम होइन। छटपटी हुनु स्वाभाविक हो। जब सातौँ, आठौँ दिन पार गर्नुहुन्छ, त्यसपछि तपाईंमा जागरणको स्तर बढ्छ। वर्षभर ध्यान गरेर प्राप्त हुन नसकेको फल दश दिने रिट्रिटमा उपलब्ध हुन्छ। यस विधिलाई हलुका लिने गल्ती नगर्नोस्। वर्षेनी एउटा वा दुईवटा रिट्रिटमा भाग लिएर त हेर्नोस् !

दोस्रो, एकल यात्रा। जो कोहीलाई एक्लै यात्रा गर्ने भनेपछि मरेतुल्य हुन्छ। कति त डराउने गर्छन्, असहज मान्छन्। समूहमा नै यात्रा गर्नुपर्छ भन्ने आम धारणा छ। एकल यात्राले दिने अनुभूति सङ्कलन गर्ने सायदै होलान्। अब त्यसो होइन। तपाईं एक पटकको लागि, परिक्षणै सही एकल यात्री हुनोस्। यसका लागि नयाँ शहरमा जान सकिन्छ। जहाँ तपाईंलाई चिन्ने कोही नहोस्। तपाईंलाई घुमफिरमा सहयोग गर्ने कोही नहोऊन्। तपाईं स्वयं एकल प्रयासमा शहरको कुना कुना अवलोकन गर्नोस्। त्यसैमा रमाउनोस्। एकल यात्राकै लागि सगरमाथाको बेसक्याम्पमा एक्लै पुग्ने लक्ष्य पनि लिन सकिन्छ। त्यो पनि पैदल। पैदल यात्रा गर्दा कयौँ खोलानाला तर्नुपर्ने हुन्छ। जङ्गलको बाटो छिचोल्दै कयौँ पहाड पार गर्नुपर्ने हुन्छ। आफ्नो सुरक्षाको पनि ख्याल गर्नुपर्ने हुन्छ। यस यात्राले तपाईंलाई एकान्तमा जीउन मद्दत गर्छ। एक्लोपन माथि विजयी हुन सकाउँछ। त्यसैले एक्लोपनसँग नडराउनुस्, एक्लोपनलाई जित्नुहोस्।

तेस्रो, गुणस्तरीय पुस्तक र गुरु निकट रहने। एक्लोपनको आभास हुँदा पुस्तकलाई साथी बनाउनुस्। अध्ययन गर्नोस्। यसो भन्दैमा जुन पायो त्यही पुस्तक उठाउने होइन। रसरङ्ग पढेर घाटा नै हुन्छ। पुस्तक तपाईंको जागृति बढाउने खालको होस्। तपाईंलाई सचेत बनाउन सामर्थ राखोस्। पुस्तक सिफारिसको लागि गुरुको सहयोग लिन सकिन्छ। केही नबुझेको खण्डमा वा जटिलता बढे गुरुको विश्लेषण सुन्न सकिन्छ।

एक्लोपन भावना बढ्नु नराम्रो होइन। यो त आध्यात्मिक मार्गको सुरुवाती विन्दु हो। यस विन्दुमा टेकेर जीवन अगाडि बढाउने कि नबढाउने? एक्लोपनको परम आनन्द लिने कि डराएर भाग्ने?

Leave A Comment