रोयल्टीमा रडाको

शनिबार, १४ असार २०७६, ०१ : ०४ भोला अधिकारी
रोयल्टीमा रडाको

रोयल्टी संकलन गरेर स्रष्टाहरुलाई उपलब्ध गराउने जिम्मेवारी पाएको संगीत रोयल्टी संकलक समाज नेपाल आफैँ अनियमितताको भुमरीमा फसेको छ।

३० स्थानबाट नियमित करोडौं रोयल्टी संकलन गरे पनि दिनुपर्ने स्रष्टालाई समेत नदिएको र संस्थाको वार्षिक आर्थिक प्रतिवेदनमा उल्टो ऋण देखाएपछि समाज आर्थिक अनियमितताको भुमरीमा फसेको हो।

संस्थाका पूर्व अधिकारीहरुले रोयल्टी समाजका पदाधिकारीहरुले उठाएको रकम आफूखुसी खर्च गरेर अनियमितता गरेको आरोप लगाइरहेका छन्। अघिल्लो र अहिलेको कार्यसमितिका अधिकारीले अनियमितता गरेको आरोप लागिरहँदा निवर्तमान अध्यक्ष सुरेश अधिकारी यसबारे बोल्नै चाहदैनन्। अहिलेका अध्यक्ष महेश खड्का श्रीमती लिएर समाजको कार्यक्रममा सहभागी हुन विदेश हिँडेका छन्। वर्तमान कार्यसमितिकै उपाध्यक्ष सुवास रेग्मी उठेको रोयल्टी र आएको अनुदान रकम अनियमित रुपमा खर्च भएको स्वीकार्छन्।

रोयल्टी रकममा अनियमितता भएको भन्दै विवाद बढ्दै गएपछि रजिस्टारको कार्यालयमा उजुरी परेको छ। वर्तमान कार्य समितिले छानविन गर्न भन्दै समिति गठन गरेको छ। समिति गठन गरेको दाबी गरेका उपाध्यक्ष सुवास समितिका संयोजकको नाम भने भन्न चाहँदैनन्।

यसरी शुरु भयो रडाको
जेठ ५ मा  प्रज्ञा प्रतिष्ठानमा समाजको साधारण सभा भएको थियो। सभामा पेश गरिएको आर्थिक प्रतिवेदन हेरेपछि समाजका पूर्व अधिकारी र सदस्यहरु आक्रोशित भए। साधारण सभामा पेश भएको आर्थिक प्रतिवेदनमा समाजले १ करोड, १५ लाख ३५ हजार रकम तिर्न बाँकी देखाइएको थियो। जसमा रोयल्टी दिनुपर्ने रकम नै १ करोड, १४ लाख ४७ हजार थियो।

समाजले ३० स्थानबाट रोयल्टी संकलन गर्दै आएको छ। उसलाई नर्वेको नरकोड नामक संस्थाले अनुदानसमेत दिन्छ भने कानुनअनुसार रोयल्टीबाट उठेको रकममध्ये २५ प्रतिशत कार्यालय प्रयोजनमा खर्च गर्न सकिन्छ। रजिष्ट्रारको कार्यालयले कार्यालय प्रयोजनका लागि वार्षिक ३ लाख रुपैयाँ दिन्छ।

अनुदानको रकम त कता हो कता, रोयल्टीबाट उठेको रकमसमेत संस्थाको खातामा नदेखिएपछि पूर्व अधिकारी र वर्तमान सदस्यहरु आक्रोशित भएका थिए।

समाजका पूर्व अध्यक्ष गीतकार राजेन्द्र थापाले स्रष्टाहरुलाई उठेको रोयल्टीको रकम दिनुको साटो स्रष्टाको पैसामा समाजका अध्यक्ष र जिएम विदेश भ्रमणमा हिँडेको भन्दै आलोचना गरे। समाजका अध्यक्ष खड्का हुन् भने समाजकोे कार्यकारी प्रमुख उनकै श्रीमती मीनाक्षी कोइराला खड्का छिन्।

समाजले देशका ३० ठाउँमा कार्यालय राखेर रोयल्टी संकलन गर्दै आएको छ। उपाध्यक्ष रेग्मीको भनाइ पत्याउने हो भने डेढ वर्षदेखि रोयल्टी नै उठेको छैन। रोयल्टी नउठेको भए एक करोड १४ लाख रकम स्रष्टालाई कुन आधारमा दिन बाँकी बस्यो ? साधारण सभामा संस्थाका पूर्व कोषाध्यक्ष लक्ष्मण शेषको टिमले समानान्तर आर्थिक प्रतिवेदन पेश गरेका थिए। यी दुवै प्रतिवेदनमा निकै भिन्नता थियो। सभा कक्षमै शेषले अर्को प्रतिवेदन झूटो रहेको दाबी गरेका थिए। उनले झूटो दाबी गरेको प्रतिवेदन सिएमए डिपि दाहाल एन्ड कम्पनीले तयार पारेको थियो।

शेषको प्रतिवेदनअनुसार समाजको २०७४–०७५ को लेखा परिक्षण प्रतिवेदनअनुसार ८ लाख ९२ हजार रुपैयाँ मौज्दात थियो। समाजले कम्प्युटर, सफ्टवेयर लगायतको सामान खरिदमा ११ लाख, ४२ हजार खर्चियो। यही हिसाबमा समेत करिब तीन लाखको फरक देखियो।

‘मनलाग्दी खर्च गर्दा उठिसकेको रोयल्टीसमेत स्रष्टालाई दिनसक्ने अवस्था छैन।’ लक्ष्मण शेष

प्रतिवेदनका अनुसार २०७५ पुस १६ सम्म ४६ लाख १८ हजार रुपैयाँ रोयल्टी जम्मा भएको देखिन्छ। खर्च भने ८२ लाख २४ हजार खर्च देखिन्छ। पूर्व कोषाध्यक्ष शेष उठेको रोयल्टीबाट २५ प्रतिशत मात्रै समाजले कार्यालय प्रयोजनमा खर्च गर्न पाउने भए पनि स्रष्टाको नाममा उठेको रकम खर्च गर्ने गरेको दाबी गरे।

‘विगतका आर्थिक विवरणबारे कार्बाहीको लागि रजिस्ट्रारको कार्यालयमा पठाइसकेका छौं,।’ सुवास रेग्मी

‘जति रुपैयाँ घाटा देखिएको छ, यी सबै रकम स्रष्टाको गीतसंगीतबाट उठेको रोयल्टीको तिर्नुपर्ने रकम हो,’ शेषले भने, ‘मनलाग्दी खर्च गर्दा उठिसकेको रोयल्टीसमेत स्रष्टालाई दिनसक्ने अवस्था छैन।’ वार्षिक आर्थिक प्रतिवेदनमा आम्दानीभन्दा खर्च बढी देखाइएको तर ती रकम कहाँ के आधारमा खर्च गरिएको हो भन्ने उल्लेखै नभएको शेषको दाबी छ। उनले ५० लाखभन्दा बढी पैसाको लेखाजोखा नै नरहेको दाबी गरे।

‘मैले त चेक दिने हो, चेकको रकम कहाँ–कहाँ खर्च हुन्थो र कति फिर्ता आयो मलाई थाहा हुँदैन। कार्यक्रममा कति रकम खर्च भयो, के भयो फिर्ता आएको छैन।’ लोकराज अधिकारी

२०७४–०७५ को कार्यसमितिका कोषाध्यक्ष लोकराज अधिकारीले समेत आर्थिक लेखा पारदर्शी रहेको भन्न सकेनन्। उनले पनि केही रकम तलमाथि भएको स्वीकारे। ‘मैले त चेक दिने हो,’ उनले भने, ‘चेकको रकम कहाँ–कहाँ खर्च हुन्थो र कति फिर्ता आयो मलाई थाहा हुँदैन। कार्यक्रममा कति रकम खर्च भयो,  के भयो फिर्ता आएको छैन।’

यता निवर्तमान अध्यक्ष सुरेश अधिकारी यसबारे अहिले केही बोल्दिनँ भन्दै पन्छिए। वर्तमान उपाध्यक्ष रेग्मीले आर्थिक चलखेल भएको हुन सक्ने बताए। रकम हिनामिना भएको सुनिएपछि संस्थाको एघाराैं साधारण सभाले छानबिन समिति बनाइसकेको र सो संस्थाले अहिले छानबिन गरिरहेको उनले बताए। ‘विगतका आर्थिक विवरणबारे कार्बाहीको लागि रजिस्ट्रारको कार्यालयमा पठाइसकेका छौं,’ रेग्मीले भने।

कहाँबाट आउँछ रोयल्टी
विमानस्थल, दोहोरी, डान्सबार, गजलबार, केवल नेटवर्क, यातायात, सञ्चार माध्यम, इन्टरनेट, डिजिटल मिडिया, फन पार्क, नाइट क्लब लगायतका स्थानमा बजाइने गीत संगीतबाट समाजले रोयल्टी संकलन गर्ने गरेको छ। समाजका अनुसार सबैभन्दा धेरै रोयल्टी यातायात क्षेत्रबाट आउने गरेको छ। यातायात क्षेत्रबाट गएको माघसम्ममा दुई करोड रुपैयाँ बढी रोयल्टी उठेको थियो। रेडियो र टेलिभिजनबाट पनि रोयल्टी उठिरहेको छ।

नर्वेको नरकोड भन्ने संस्थाले सुरुमा वार्षिक ३८ लाख रुपैयाँसम्म समाजलाई दिने गरेको थियो। अहिले वार्षिक ६ लाखसम्म दिन्छ। अनुदान घट्नुको कारण अविश्वसनीय खर्च रहेको समाजकै सदस्यहरु बताउँछन्। सरकारी मातहतमा रहेको रजिस्टारको कार्यलयबाट वार्षिक ३ लाख आउँछ।

कुन स्रष्टाको कति रोयल्टी
गत वैशाख ५ मा समाजले स्रष्टालाई केही रोयल्टी बाँडेको थियो। बाँडिएको रकम भने एनसेलको पिआरबिटी डाउनलोड भएको बताइएको छ। उसले एक सय २२ जनालाई रोयल्टी दिएको थियो। अन्यत्रबाट आएको हिसाब भने देखाइएको छैन। सन् २०१६ देखि २०१८ सम्मको पिआरबिटीको रोयल्टी बाँड्दा सबैभन्दा धेरै संगीतकार सन्तोष केसीले एक लाख पैँतालिस हजार पाए। संगीतकार कस्तुप पन्तले एक लाख बाइस हजार पाए। गीतकार सहदेव कोइरालाले एक लाख पाँच हजार, संगीतकार कालीप्रसाद बास्कोटाले एक लाख दुई हजार रोयल्टी पाए।

रोयल्टीमा सबैभन्दा कम रकम पाउनेमा गीतकार अमर लामा थिए। उनले पाँच सय पाए। यातायात र अन्य क्षेत्रबाट आएको रोयल्टी अझै बाँडिएको छैन।

Leave A Comment