शंकामा ‘समाजसेवी’

आइतबार, १५ असार २०७६, ०८ : ०३ प्रजु पन्त
शंकामा ‘समाजसेवी’

सय रुपैयाँमा शिक्षा, सय रुपैयाँमै उपचारको अभियान चलाइरहेका उत्तम सञ्जेलको संस्था अहिले आफ्नै कामदारको हत्या जस्तो संगीन अभियोगमा तानिएको छ । उनकी पत्नी कला अधिकारी सञ्जेल, कामदार संगीता केसी र तीर्थकुमारी श्रेष्ठ कर्तव्य ज्यानको अभियोगमा प्रहरी हिरासतमा छन् । 

एक दिन हिरासत बसेका उत्तम अहिले हिरासतबाहिर छन् तर महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार उनी अनुसन्धानबाहिर भने छैनन् ।

‘उत्तम सञ्जेल समता अस्पतालका सञ्चालक भएकाले,’ उनले भने, ‘उहाँ अनुसन्धानको घेराभन्दा बाहिर हुनुहुन्न ।’

सुलभ शिक्षा र स्वास्थ्य अभियानमा लागेका उत्तम विवादमा तानिएको यो पहिलो घटना हैन, ठूलो घटना भने हो । यस अगाडि उनले चलाएको विद्यालयका शिक्षकको श्रम शोषण गरेको, संस्था अपारदर्शी रुपमा चलाएको, दर्तै नगरी विद्यालय सञ्चालन गरेको जस्ता विवादमा पर्दै आएका थिए ।

उनका जे जति बदमासी सार्वजनिक भए पनि कार्बाहीको दायरामा भने आएको थिएन । यसपालि अस्पतालभित्रै, आस्पतालकै कर्मचारीको रहस्यमय मृत्युको घटना ढाकछोप भने हुन सकेन । उनको हातमा हत्कडी पनि लाग्यो । एक दिन हिरासतमा पनि बसे ।

बिमलाका आफन्त उत्तमलाई पनि हिरासतमा राखेर अनुसन्धान हुनुपर्ने माग राख्दै आन्दोलनरत छन् । प्रहरीले भने तत्काल प्रमाण नभएको भन्दै उनलाई हिरासतमा राखेको छैन । 

बिमला प्रकरणबारे उनको धारणा जान्न शुक्रवारकर्मीले फोन सम्पर्क गर्दा उनले भने, ‘म अहिले प्रहरीको निगरानीमा छु, अहिले त के कुरा गर्ने र ? एक हप्तापछि कुराकानी गरौँला ।’
०००
उत्तम र उनले चलएको समता अस्पताललाई शंकामा ल्याएको असार ३ को घटनाले हो । त्यो दिन उनको अस्पतालकी सफाई कर्मचारी बिमला तामाङको शव झुण्डिएको अवस्थामा अस्पतालको कोठा नम्बर १८ मा फेला परेको थियो । 

अघिल्लो दिनबाटै हराएकी उनको खोजी भएको थियो तर फेला परिनन् । असार २ गते बेलुका जुन कोठामा ताल्चा लागेको थियो भोलिपल्ट त्यही कोठामा झुण्डिएको अवस्थामा बिमलाको शव फेला परेपछि शंका बढायो । बिमलाको परिवार र अस्पताल वरपरका स्थानीय समेत आन्दोलित भए ।

बिमलाको कुर्ताको गोजीमा एउटा चिट पनि फेला पर्यो, जसमा लेखिएको थियो, ‘तीर्था दिदीलाई समाउनुस्, रिसेप्सनको संगीतालाई समाउनुस्, म्यामलाई समाउनुस् ।’

उत्तमकी पत्नीसहित तीन जना प्रहरी हिरासतमा पुग्नुको मुख्य कारण त्यही चिट हो । प्रहरीले चिटमा लेखिएको अक्षर मृतक बिमलाको हो या हैन ल्याब परिक्षणसमेत गरिसक्यो । डिएसपी बोगटीका अनुसार अक्षर लगभग मिलेको छ ।

कोइलाखानीमा टुसाएको प्रेम
आठ वर्षअघि भारतको मेघालयस्थित सिलङको कोइलाखानीमा बिमला र बुद्धिको भेट भएको थियो । दुवैको परिवार भारतमा मजदुरी गरेर खाने नै थियो । बुद्धिको पुख्र्यौली थलो रामेछाप भए पनि धेरै वर्षअघि उनी भारत पुगेका थिए । 

भारतमा उनी कोइलाखानीमा काम गर्थे । त्यही कोइलाखानीमा नै भेटे बिमलालाई ।  कोइलाखानीमा टुसाएको प्रेम केही समयपछि नै विवाहमा परिणत भयो । अहिले उनीहरुको छोरा नै ७ वर्षका छन् । भारतको कोइलाखानीमा काम गरिरहेका उनीहरुको आम्दानी ठीकै थियो । मजदुरी गर्ने भएपछि जता गरे पनि भयो भनेर दुई महिनाअघि काठमाडौँ आएका थिए ।  

काठमाडौँ थानकोटमा मजदुरी गर्ने काम पाए बुद्धिले । डेरा नजिकैको समता अस्पतालमा सफाई कर्मचारी चाहिएको बुद्धिले थाहा पाए । अस्पताल गएर कुराकानी गरेपछि बिमलाले काम पाइन् । उनी बिहान ७ बजे अस्पताल जान्थिन्, बेलुकी ६ बजे डेरामा आउँथिन् ।

निम्न आर्थिक स्रोत भएकाहरुलाई सहयोग गर्न सय रुपैयाँमा खुलेको दाबी गर्ने अस्पताल सञ्चालक उत्तमले ११ घण्टा काम गरेबापत बिमलालाई मासिक ८ हजार पारिश्रमिक दिने तोकेका थिए । उनको परिवारको दाबीअनुसार त्यो तलब पनि २ महिनादेखि दिइएकै थिएन ।

शंका बढाउने पहिलो दिन

(सुसाइड नाेट)

बिमलाको पोस्टमार्टमले उनको मृत्युको कारण ‘डेथ ड्यू टु दि ह्याङिङ’ (झुण्डिएकाले मृत्यु) उल्लेख छ । बिमला हराएको समयदेखि भोलिपल्ट बिहानसम्म समता अस्पतालका कर्मचारी, उत्तमकी श्रीमती कला र उत्तम आफैंले जे जस्ता गतिविधि देखाए, त्यसैले शंका बढाउने काम गरेको थियो ।

२ महिनाअगाडि मात्र बिमला सफाई कर्मचारीको रुपमा समता अस्पतालसँग जोडिएकी थिइन् । नियमित तलब नपाएपछि उनी छाड्ने योजनामा थिइन् । यसैबीच उनको शंकास्पद मृत्यु भयो । घटनाको दिन जसरी बिमलाको परिवारलाई समता अस्पतालका कर्मचारीले व्यवहार गरे, त्यसले पनि शंका बढाउने काम गर्यो ।

असार २ साँझ ७ बजे बिमलाका श्रीमान् बुद्धिराज योञ्जनलाई बिमलाको मोबाइलबाट मिस कल आएको थियो । उनले कलब्याक गर्दा फोन उठेन । केही बेरपछि योञ्जनको मोबाइलमा समता अस्पतालको ल्यान्डलाइनबाट फोन आएको थियो । 

फोनमा रिसेप्सनको व्यक्तिले ‘तपाईंको मान्छे दिउँसैदेखि हराएको छ, खोजी गर्नुहोला’ भनेपछि उनी डराएका रहेछन् । 

‘विवाह भएको ७ वर्षमा उनी जहाँ जाँदा पनि भनेर जान्थिन्,’ उनले भने, ‘त्यो दिन केही पनि भनिनन् । मोबाइलबाट मिसकल आयो । फर्काउँदा नउठेपछि मनमा शंका लाग्यो ।’

भाइलाई छोराको जिम्मा लगाएर उनी नजिकै रहेको समता अस्पताल पुगेका थिए । अस्पतालमा बिमला थिइनन् । उनको मोबाइल र बिहान खाना खान लगेको टिफिनको भाँडो अस्पतालको सह–सञ्चालक कला अधिकारी सञ्जेलले दिइन् । उनका अनुसार सेक्युरीटी गार्डसहित अस्पतालको सबैतिर खोज्दा श्रीमती फेला परिनन् ।

कतै अस्पतालबाट बाहिर गइन् कि भनेर अस्पतालको गेटमा रहेको क्लोज सर्किट टेलिभिजनमा हेर्दा उनी बिहान छोरा लिएर अस्पताल प्रवेश गरेको देखियो तर बाहिरिएको देखिएन । फेरि अस्पताल भित्रै खोज्न थाले ।

१८ नम्बरको कोठा

(समता अस्पतालकाे रिसेप्सन र मृतक बिमला )

सबैतिर हेर्दा पनि भेटेनन् । त्यही बेला उनले एउटा कोठामा ताल्चा लागेको देखे । कोठा नम्बर १८ थियो त्यो । बुद्धिले त्यो कोठाको चाबी खोल्न भने । सुरक्षा गार्डले आफूसँग चाबी छैन भने । गार्डले त्यो बेला दिएको जानकारीअनुसार त्यो कोठामा १५ दिनअगाडि देखि ताल्चा लागेको थियो र चाबी उत्तम सञ्जेलकी श्रीमतीको साथमा थियो ।

बुद्धिले जति भने पनि कोठा नखोलेपछि उनी भौँतारिँदै आफन्तको डेरामा पुगे र उनीहरुलाई लिएर फेरि अस्पताल फर्किए । जतिभन्दा पनि त्यो कोठाको ताल्चा नखुलेपछि उनीहरुले प्रहरीलाई खबर गरे । गस्तीमा रहेको प्रहरी टोली आयो । प्रहरीले चाबी माग्दा गार्डले म्यामसँग छ भन्यो । भोलि बिहान ६ वजे भेटौं भनेर प्रहरी टोली हिँड्यो । उनीहरु महानगरीय प्रहरी वृत्त बौद्ध पनि पुगे । ड्युटीमा रहेका प्रहरीले भोलि बिहान आउनुस्, डिएसपी सा’पसँग पनि भेट हुन्छ भनेपछि उनीहरु डेरातिर लागे ।

‘रातभर निन्द्रै लागेन,’ बुद्धिले शुक्रवारसँग भने, ‘छोराले मामु खोई भनेर सोधेको सोध्यै गर्यो । त्यो १८ नम्बरको कोठाभित्र केही छ भन्ने लागिरह्यो ।’

भोलिपल्ट बिहानै उनी केही परिवारका सदस्य र आफन्तसहित अस्पताल पुगे । प्रहरी पनि आइपुग्यो । १८ नम्बर कोठाको चाबी पनि आइपुग्यो । चाबी खोलेर भित्र हेर्दा एट्याच बाथरुममा बिमलाको शव झुण्डिएको अवस्थामा फेला पर्यो । 

घटना थाहा पाएर स्थानीय अस्पतालमा भेला भए । प्रहरी बल थपियो । बल प्रयोग गरेर उत्तम सञ्जेलसहित ४ जनालाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त गौशाला ल्यायो । एक रातको थुनापछि भोलिपल्ट उत्तम छुटे । उनको श्रीमतीसहित ३ जना अझै हिरासतमै छन् ।

परिवारले जाहेरी दर्ता गर्न खोज्दा प्रारम्भमा प्रहरीले मानेन । गौशाला वृत्तअगाडि विरोध प्रदर्शन भयो । रामेछापका केही सांसदहरु समन्वयका लागि आए । जाहेरी दर्ता नहुनुको कारण भने घटनामा उत्तमको अस्पताल र उनकी पत्नीको नाम थियो । छलफलपछि कर्तव्य ज्यानमा किटानी जाहेरी दर्ता भयो ।

मृतकका देबर बाबु तामाङका अनुसार जाहेरीको पहिलो नम्बरमै उत्तमको नाम थियो तर प्रहरीले त्यो जाहेरी लिन नमानेपछि अन्तिममा उनको नाम राखिएको छ । तर विश्वस्त स्रोतका अनुसार किटानी जाहेरीमा बिमलाको साथमा फेला परेको कागजको टुक्रामा रहेका तीन जनाको नाम मात्र छ । जाहेरीको घटना विवरणमा ‘उत्तम सञ्जेलसहित सो अस्पतालका अन्य कर्मचारीमाथि समेत अनुसन्धान होस्’ भन्ने उल्लेख छ ।

के भन्छ प्रहरी ?
 

( बिमलाले अात्महत्या नगरी हत्या भएकाे दावी गर्दै उत्तम सञ्जेलसहितलाइ कारवाहीकाे माग गर्दै भएकाे विराेध प्रदर्शन)

दर्ता भएको जाहेरीमा उत्तमको नाम भए पनि उनी हिरासतबाहिर छन् । बाँकी तीन जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 

‘हामीले कागजको टुक्रामा नाम लेखिएका तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ,’ महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले भने, ‘प्रारम्भिक पोस्टमार्टमको रिपोर्टले झुण्डिएर मरेको भन्ने जनाएको छ । हामीले आत्महत्या गरेको हो भने कारण के हो भनेर अनुसन्धान गरिरहेका छौँ ।’

महानगरीय प्रहरी परिसरका प्रवक्ता बोगटी मृतक तामाङको कुर्तामा भेटिएको कागजमा उल्लेख भएको नाम तीर्था, संगीता र म्याम (कला)लाई हिरासतमा राखिएको छ । बोगटीले तीनै जनालाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको पुष्टि गरे । 

उनले अस्पतालका संस्थापक उत्तम सञ्जेललाई अभियुक्त नबनाए पनि उनी पनि अनुसन्धानको दायरामा रहेको दाबी गरे । 

अनुसन्धानरत प्रहरीको दाबीअनुसार घटनाको प्रकृति र अहिलेसम्मको अनुसन्धानमा हत्या भन्दा सो घटना आत्महत्या नै बढी देखिन्छ तर किन आत्महत्या भयो सो भने खुलेको छैन । फेला परेको चिट र घटनाक्रमका आधारमा प्रहरी बिमलाले आत्महत्या किन गरिन् भन्ने कोणबाटै अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न स्रोतको दाबीअनुसार परिवारको दबाबका कारण मात्रै कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको हो । अनुसन्धान र प्रमाणले त्यो पुष्टि हुने सम्भावना झिनो छ ।

घटना हत्या पुष्टि हुन नसके पनि विमलाको साथमा फेला परेको चिटको आधारमा आत्महत्या गर्न प्रेरित गरेको पुष्टि हुनसक्ने सम्भावना बलियो छ । केस त्यतातिर मोडिए कर्तव्य ज्यानको मागदाबी कमजोर हुनेछ । 

अहिले सक्रिय रहेको मुलुकी अपराध संहिताले आत्महत्या गर्न बाध्य पार्ने, प्रोत्साहन गर्ने कामलाई समेत अपराधको सूचीमा राख्दै पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था गरेको छ । बिमलाको केस कर्तव्य ज्यानमा मात्र जाहेरी परेकाले भोलि केस आत्महत्या गर्न प्रोत्साहन गरेकोमा मोडिन सक्छ त ?

‘अहिले अनुसन्धानकै चरणमा रहेको र सरकारी वकिलको कार्यालयमा अन्तिम राय सुझाव नपुगेकाले परिवार सहमत भए अभियोग परिर्वतन हुनसक्छ,’ अनुसन्धारत स्रोतले भन्यो, ‘अदालतले प्राप्त प्रमाणको आधारमा मागदाबी गरिएको कानुन आकर्षित नभई अन्य कानुन आकर्षित देखे, सोही अनुसारको मागदाबी ल्याउन आदेश दिन पनि सक्छ ।’

किन भयो घटना शंकास्पद ?
–  
 अस्पतालबाट बाहिर ननिस्कीएकी बिमला हराएको भन्दै अस्पतालकै कर्मचारीले फोन गर्नु, मोबाइल र टिफिन अस्पतालमै भेटिनु ।
–    पोस्टमार्टम रिपोर्टअनुसार बिमलाको मृत्यु दिउँसो २ देखि ६ को बीचमा भएको देखिनु तर बिमलाको मोबाइलबाट उनको श्रीमान्लाई बेलुका सात बजे मिस कल जानु ।
–    १५ दिनदेखि ताल्चा लागेको कोठामा बिमलाको शव फेला पर्नु । उनको शव फेला पर्नु अगाडिसम्म पनि कोठामा ताल्चै लागेको थियो । ताल्चा लागेको कोठाभित्र बिमला कसरी गइन् ?
–    अघिल्लो दिन नै बिमलाका आफन्तले ढोका खोल्न आग्रह गर्दा चाबी छैन भन्दै ताल्चा नखोल्नु । भोलिपल्ट त्यही कोठामा बिमलाको शव फेला पर्नु ।
–    मृतकको गोजीमा तीन जनालाई पक्राउ गर्न आग्रह गरिएको चिट ।
–    आत्महत्या गर्नुपर्ने कारण नखुल्नु ।

 

भिक्षुणीको खातामा १८ करोड कालो धन
बुद्धका महावाणी मिसिएका शब्दलाई मीठो स्वरले संसारमाझ शान्तिको सन्देश फैलाउन सक्रिय आनी छोइङ डोल्माले सांगीतिक यात्रामा आफ्नो अलग्गै छवि त बनाइन् नै समाजसेवामा समेत उनी अग्रणी भूमिकामा थिइन् । 

आर्य तारा स्कुलमार्फत् अनाथ बालबालिकाको शिक्षामा समर्पित उनी आरोग्य फाउन्डेसन, आर्य तारा प्रि स्कुल, रिबिल्डिङ स्कुल र स्टार अफ होप परियोजनामा प्रत्यक्ष संलग्न थिइन् ।

तिब्बती शरणार्थी परिवारको सदस्य रहेकी उनी बाबुको शारीरिक शोषण सहन नसकी १३ वर्षको उमेरमै नागी गुम्बामा पुगेर भिक्षुणी भएकी थिइन् । उनको समाजसेवालाई संगीतले बनाएको उच्च छविले निकै सघाएको थियो । बौद्ध दर्शनमा आधारित सांगीतिक कन्सर्टका लागि उनी विश्व यात्रा गरिरहन्थिन् । 

नेपाली सांगीतिक क्षेत्रमा उदाएकी प्रतिभावान् श्रष्टा, जो लोकप्रिय कोक स्टुडियोमा एआर रहमानको संगीतमा फिचर्ड मात्रै भइनन्, बलिउडका प्रख्यात साहित्यकार गुलजारले आफूलाई मन परेका विश्वभरका ५४ जनाको बारेमा कविता लेखेर पुस्तकमा समेत पर्न सफल भएकी थिइन् ।

उनी भन्थिन्, ‘सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, बुद्धको अनुयायी भएपछि जीवन सार्थक बनाउने प्रयास हो । धेरै गरेँ वा थोरै गरेँ भन्ने हिसाब किताबमा लागेको छैन तर जति गर्न सकेकी छु, त्यो मेरो सौभाग्य हो ।’
विडम्बना,

स्वच्छ हृदय र कोमल मनकी धनी जसको मनमा सेवाभावबाहेक केही छैन भन्ने छविकी तिनै आनी अहिले विदेशबाट गैरकानुनी रुपमा अवैध सम्पत्ति नेपाल भित्र्याएको केसमा अनुसन्धानको दायरामा तानिएकी छन् । त्यो पनि सामान्य रकम हैन, १८ करोड ३१ लाख रुपैयाँ ।

एक पटक रकम आएको भए त कतै दाताले झुक्याएर फँसायो कि भन्नु ! उनले एकै महिनामा तीन पटक गरेर हङकङबाट यो रकम आफ्नो खातामा झिकाइन् ।

छानविनमा हङकङका नागरिक लियाङ चुङ हाङ र जियोरीले उनको मेगा बैंकमा रहेको खातामा २०७५ वैशाख २६, वैशाख २७ र २८ गते पैसा पठाएका थिए । आफ्नो बैंकको एक खातामा स्रोत नखुलेको टन्न पैसा आउन थालेपछि मेगा बैंक प्रशासनले खाताको रकमबारे राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्ने निकाय ‘वित्तीय जानकारी एकाई’लाई जानकारी दियो । 

विदेशबाट रकम नेपाल भित्र्याउन पूर्वस्वीकृति लिनुपर्नेमा सो खाता सञ्चालक आनीले स्वीकृति नलिएको देखिएपछि इकाईले थप अनुसन्धान अगाडि बढायो । घटना एक वर्षसम्म गुपचुपै राखियो । आनी पटक–पटक बयान दिन इकाई पुगिन् । जति गरे पनि अनुसन्धान रोकिने लक्षण नदेखिएपछि अहिले उनी विदेशतिर छिन् । 

आनीले नेपाल भित्र्याएको रकम प्रारम्भकै अवैध देखियो किनभने विदेशबाट रकम भित्र्याउन अपनाउनुपर्ने प्रक्रिया पूरा नगरी नै उनले रकम भित्र्याएकी थिइन् । उनले नेपाल भित्र्याएको रकमको प्रयोजनसमेत खुल्न सकेको छैन । यसले उनका विगतका गतिविधिलाई समेत शंकाको घेरामा पारेको छ ।

केही अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म समाजसेवा मागेर हैन आफैँ कमाएर गर्न चाहन्छु । गाएरै मैले करोडौँ रकम आर्जन गर्न सकेकी छु । कमाउने र समाजलाई दिने । उकुसमुकुस हुनेगरी मलाई धन कमाउनु छैन ।’

उसो भए, उनको खातामा आएको त्यो रकम उनकै कमाई हो या कालो धन ?

आनी छोइङकाे खातामा आएकाे रकम शंकास्पद रहेकाे भन्दै अनुसन्धान शुरू भएकाे समाचार बाहिरिदा माैन बसेकी उनले शुक्रवार साप्ताहिककाे प्रिन्टमा समाचार प्रकाशित भएपछि साे रकम अाफूले गायनबाट अार्जन गरेकाे प्रतिष्ठाकाे माध्यमबाट नेपाल तथा संसारभर रहेका प्रशंसक तथा शुभचिन्तक मार्फत चन्दा तथा सहयाेग संकलन गरी अार्थिक सहयाेग जुटाइरहेकाे उल्लेख छ । 

उनले सरकारले छानविन गरिरहेकाे १८ कराेड रकमबारे प्रष्ट उल्लेख गरेकी छैनन् । उनले समाज सेवाकाे कार्यमा भएकाे लगानीकाे स्राेत नेपाल राष्ट्र बैंक र नेपाल सरकारकाे सम्बन्धित विभागबाट बैधानिक स्राेतकाे रूपमा पुष्टी हुने अाशा ब्यक्त गरेकी छिन् ।

Leave A Comment