‘तीनजना मिलेर गोदे’

मङ्गलबार, १७ असार २०७६, ११ : ०० शुक्रवार
‘तीनजना मिलेर गोदे’ नाइट ट्याक्सी चालक कृष्ण बस्नेत।

नाइट ट्याक्सी, बा२ज १५७६, चालकः कृष्ण बस्नेत

ट्याक्सी चलाउन थालेको कति भयो?
तीन चार वर्ष भयो। वैदेशिक रोजगारीको सिलसिलामा कतार गएँ। त्यहाँ मैले झाडु लगाउने कामबाहेक केही गर्न सकिनँ। तीन वर्ष कतारमा काम गरेपछि नेपाल फर्किएँ। नेपाल आएपछि आफूलाई ट्याक्सी पेसा नै ठिक होलाजस्तो लागेर ट्याक्सी चलाउन थालेँ।

ट्याक्सी चालकले प्यासेन्जर ठगेको हल्ला आइरहन्छ ? खासमा के हो कुरा?
ट्याक्सी चालकले लुट्यो भनेर खै कसरी भन्नु। आफू यही मिटरमा हिँडिरहेको हुन्छु। एघार हजारभन्दा बढी ट्याक्सी छन्। यसमध्ये एक दुईवटा ट्याक्सीले ठग्यो भने सबै ट्याक्सी चालकलाई मुछेको देख्दा अचम्म लाग्छ। जसले ठगेकोे उसलाई कारबाही गर्नुप-यो नि। ट्याक्सीले यसरी ठग्यो, उसरी ठग्यो भन्नुभन्दा पनि किन ठग्यो भनेर सोच्नुपर्छ। सबै ट्याक्सी चालकलाई ठग भन्न भने पाइँदैन।

यो पेशामा जोखिम छ?
उस्तै परे विनाकसुर मै हुँ भनेर थर्काउनेहरुबाट कुटाइ पनि खानुपर्छ।

कुटाइ खाइएको छ कि छैन त?
खाइयो नि। यो घटना भएको एक महिना जति भयो। साँझ साढे आठ नौ बजेको थियो। गौशाला चोकबाट तीनजना केटा आएर  थानकोट जाऊँ दाइ हामी पाँच सय दिन्छु भने। थानकोट चेक पोष्ट जानलाई त्यतिले भ्याउँदैन भनेको त किन भ्याउँदैन भनेर झ्यामकी झ्याम हान्न थाले। मेरो ट्याक्सीमा क्षति पु-याए। मैले हार गुहार माग्दा गौशाला पुलिस चौकीले तिनीहरुलाई समायो। उनीहरु मातेर पूरै झ्यापमा थिए। पुलिसले चौकीमा एक रात थुनेर गाडी बनाउने सर्तमा मिलापत्र गरेर छोडिदियो।  मलाई पनि एकरात थुन्यो।  यसमा उनीहरुले पनि पिटे, मैले पनि पिटेँ तर अलिक बढी उनीहरू तीनजना भएकोले मलाई ठोके।

वाइकवालाले कुट्न पाएनन्?
मोटर साइकलवालाको त कुरै नगरौँ। कतै जामसाम प-यो भने ट्याक्सीमै लेगाड अड्याएर बसेका हुन्छन्। कुदाउँदा पनि ट्याक्सीलाई बजाइदेलान् जस्तो तरिकाले दौडाउँछन्। यसरी दौडाउँदा मेरो ट्याक्सीमा छुवाउँदै कोरेर भागेका पनि छन्। छोयो भनेर कति त वाइकबाट ओर्लेरैैैै निउँ खोज्छन्। केही समय अगाडि पाटनढोका नपुग्दै ओरालोमा मेरै साइडमा ट्याक्सी हिँडाइरहेका थिए। उताबाट दुईजना विपरीत दिशाबाट बाइकमा रन्किएर आए।  मेरो ट्याक्सीमा छोएर गए। वाइक छोयो भनेर मलाई कुट्न ओर्लिएर आएर झगडा गर्न थाले। मलाई कुट्न धम्की र दप्की गर्न थाले। मलाई कुट्छन् जस्तै लागेको थियो। तर धन्न प्यासेन्जरले ती वाइकवालालाई हप्काएर पठाइदिए। यी त सानातिना घटना हुन्।
प्रस्तुति : भोला अधिकारी  


 
 

Leave A Comment