नमागी न्याय पाइँदैन : स्वीकृति बराल,अधिवक्ता

मङ्गलबार, १७ असार २०७६, १२ : २६ शुक्रवार
नमागी न्याय पाइँदैन : स्वीकृति बराल,अधिवक्ता

विवाह भएको दुई वर्ष भयो। विवाह भएको दिनबाटै घरमा गाली गर्ने, होच्याएर कुरा गर्ने, मानसिक र शारीरिक तनाव दिने काम हुन थाल्यो। म आजसम्म सहेर बसेकी छु। मैले न्याय पाउन के गर्नुपर्ला ?

मुलुकी देवानी संहिता, २०७४ को विवाहको परिणामसम्बन्धी व्यवस्थाअनुसार पति र पत्नीबीच आपसी प्रेम र सद्भाव हुनु पर्नेछ। पतिपत्नीले एकअर्कालाई सहयोग, संरक्षण र सम्मान गर्नुपर्ने उल्लेख छ। दफा ८९ मा पति वा पत्नीले एकअर्कालाई आफ्नो इज्जत र क्षमताअनुसार खान, लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था गराउनु पर्ने कानुनी व्यवस्था छ।

दफा ९१ मा पति वा पत्नी वा परिवारका कुनै सदस्यले एकअर्कालाई निजको सीप, योग्यता वा क्षमता अनुसारको पेशा, व्यवसाय वा काम गर्न रोक्न नहुने प्रस्टै उल्लेख छ। यी सबै कानुनी अधिकार तपाईँले आफ्नो पतिबाट पाउनु भएको छैन र सम्बन्धबाट खुशी हुनुहुन्न भने सम्बन्ध विच्छेद गर्न सकिन्छ।

कानुनी प्रावधानअनुसार पति र पत्नीबीच आपसी प्रेम र सद्भाव नभए वा पति–पत्नीले एकअर्कालाई सहयोग र संरक्षण नगरे वा पति–पत्नीले एक अर्कालाई इज्जत र क्षमताअनुसार खान लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था नगरे वा अन्य कुनै किसिमको मनमुटाव भए पति÷पत्नीलाई एकअर्काबाट छुट्कारा दिलाउन सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्थासमेत छ।

शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलोज गर्ने, झूटा बात लगाउने, घरबाट निकाला गर्ने वा मानसिक चोट पुग्न सक्ने काम गर्ने गराउने गरेमा त्यस्तो कामलाई मानसिक यातना दिने काम सम्झनुपर्छ।

सकेसम्म घरभित्रको समस्या घर भित्रैको सल्लाहले सुल्झाउँदा राम्रो हुन्छ तर सल्लाहले समाधान निक्लदैन भने कानुनी बाटो रोज्दा नै राम्रो हुन्छ। सम्बन्ध विच्छेद गर्न चाहनु हुन्न तर आफूमाथि भएको अन्यायको कानुनी उपचार चाहनु हुन्छ भने न्यायको पहल आवश्यक छ।

कानुनले तब मात्र न्याय गर्न सक्छ जब स्वयं आफ्नो हक र अधिकारको लागि सजग होइन्छ। प्रत्येक व्यक्तिको सम्मानजनक र सुरक्षित तवरले बाँच्न पाउने अधिकारको सम्मान गर्दै घर परिवारभित्र वा घर परिवारसँग गाँसिएर हुने हिंसाजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्य नियन्त्रण गर्न तथा घरेलु हिंसाबाट पीडित व्यक्तिलाई संरक्षण गरी न्याय प्रदान गर्नका लागि घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ कार्यान्वयनमा छ।

यो ऐन घरभित्रै हिंसामा परेकाहरुलाई संरक्षण गर्नका लागि बनाइएको हो। घरेलु हिंसा ऐन, २०६६ को दफा ३  मा कसैले पनि घरेलु हिंसा गर्न गराउन वा सो कुराको उद्योग गर्न वा घरेलु हिंसाको निमित्त कसैलाई दुरुत्साहन गर्न नहुने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ।

घरेलु हिंसा भन्नाले कसैले शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना दिने कुरालाई सम्झनु पर्छ। तपाईँलाई कसैले गाली गर्ने वा भावनात्मक चोट पु-याउने काम गरेको छ भने पनि त्यस्तो कार्यलाई घरेलु हिंसा मानिन्छ।

शारीरिक यातना भन्नाले प्रचलित कानुन बमोजिम अंगभंग ठहर्नेबाहेक कुटपिट गर्ने, गैरकानुनी थुनामा राख्ने, शारीरिक चोट पु-याउने वा त्यस्तै अन्य कुनै काम गर्ने वा गराउने कार्यलाई सम्झनुपर्छ। त्यसैगरी यदि कसैले तपाईँलाई शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलोज गर्ने, झूटा बात लगाउने, घरबाट निकाला गर्ने वा मानसिक चोट पुग्न सक्ने काम गर्ने गराउने गरेमा त्यस्तो कामलाई मानसिक यातना दिने काम सम्झनुपर्छ।

यौनजन्य यातना भनेको यौनजन्य प्रकृतिको दुव्र्यवहार, अपमान, हतोत्साह वा आत्मसम्मानमा चोट पु-याउने वा सुरक्षित यौन स्वास्थ्यमा आघात पुग्ने काम गर्नु गराउनु हो। तपाईँ आफूमाथि भएको हिंसाको उजुरी घरेलु हिंसा ऐन, २०६६ अन्तर्गत पनि दिन सक्नु हुन्छ।

श्रीमानसँग बस्नै नसक्ने अवस्थामा हो भने श्रीमान्सँग आफ्नो भागको अंश माग गरेर पनि छुट्टै बस्न सकिन्छ। अंश भाग मागसँगै सम्बन्ध विच्छेद पनि माग गर्न सकिन्छ। पीडितलाई पीडाबाट बाहिर निकाल्न र उपचारको व्यवस्था गर्न कानुन छ। अन्याय गर्नु मात्र हैन अन्याय सहनु पनि अपराध हो। त्यसैले जिन्दगी पीडामै बिताउनु भन्दा कानुनमा व्यवस्था भएको आफूलाई मिल्दो उपचार खोजेर कानुनी प्रक्रियामा अगाडि बढ्दा राम्रो हुन्छ किनभने नमागी न्याय पाइँदैन।

Leave A Comment