हाम्रोमा रिडिङ कल्चर छैन

शुक्रबार, २० असार २०७६, ११ : ५४ शुक्रवार
हाम्रोमा रिडिङ कल्चर छैन

राम लोहनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्। भाषा विज्ञानमा स्नातकोत्तर गरेका लोहनी समसामयिक तथा विभिन्न विषयमा लगातार लेखिरहन्छन्। उनै लोहनीसँग कसरी पढ्ने, के पढ्ने, पढ्ने संस्कारको विकास कसरी गर्ने, उनको पढ्ने बानी कसरी लाग्यो लगायतका विषयमा शुक्रबारकर्मी प्रजु पन्तले गरेको कुराकानीः

अहिले के पढिरहनुभएको छ ?
भर्खरै हेमराज शर्माले लेख्नुभएको प्रा. दिनेशराज पन्तले सम्पादन गर्नुभएको विश्वयुद्धको वणर्न पढेँ। यो पुस्तक सय वर्ष अघि लेखिएको हो। प्रथम विश्वयुद्धमा नेपाली सेना कसरी सामेल भए भनेर विस्तृतमा लेखिएको छ। त्यतिबेलाको भाषा प्रयोग गरिएको हुँदा पढ्न रमाइलो छ।

अहिले पढिरहेको दुई वटा पुस्तक ‘दार्जिलिङ  रिकन्सिडरिङ’ भन्ने पुस्तक हो। जसमा औपनिवेशीकरण पछि र अघिको राजनीतिक–सामाजीक वातावरणीय ढंगले मिहिन तरिकाबाट केलाइएको छ। अर्काे पुस्तक भनेको ‘माओइज्म एन्ड इन्टरनेसनल हिस्ट्री’ हो। यो पुस्तककमा माओको सांस्कृतिक क्रान्तिको विश्वव्यापी रुपमा पारेको प्रभावबारे राम्रोसँग उल्लेख गरिएको छ।

तपाईंंको रुचिमा कस्ता पुस्तक पर्छन् ?
धेरै थरिका पुस्तकले मलाई तानिरहेको हुन्छ। अन्तर्राष्ट्रिय इतिहास, राजनीति, सामाजिक विषयवस्तु समेटिएका पुस्तकहरु भइनै हाले। सँगैमा न्युरोलोजिकल विशेष गरी पपुलर साइन्स हिस्ट्री, ह्युमन सोसाइटीमा नलेजको विकास, टेक्नोलोजीको विकास र यसका प्रभावबारे लेखिएका पुस्तकहरु। साइन्टिफिक डेभलपमेन्टको सोसियोलोजिकल कोणबाट लेखिएका बढी मन पर्छन्। पछिल्लो समय राम्रा मान्छेहरुको बायोग्राफीले पनि तानिरहेको छ।

तपाईंको अध्ययनको सुरुवाती बानी कसरी विकास भयो ?
स्कुल पढ्दा पाठ्य पुस्तकबाहेक अरु पनि पुस्तक हुन्छ भन्ने नै थाहा थिएन। उपन्यास पढ्न हुन्न भन्ने थियो। एसएलसी दिएपछि काठमाडौँ आएँ। यता आएपछि पुस्तकालयको बास भयो। हिन्दी–नेपाली साहित्य खोजी–खोजी पढ्न थालेँ। के मन पर्छ भन्ने नै थाहा थिएन। सुरुवाती चरणमा भेटे जतिका पुस्तक पढ्थेँ। पछि भने रोज्न थालियो। जब आइएस्सी पढेँ, पपुलर साइन्सतर्फ ध्यान जान थाल्यो।

हाम्रो हात पुस्तकमा हैन, मोबाइल भयो। रिडिङ कल्चरको विकास नभइकननै मोबाइल टेक्नोलोजीको विकास भयो र यसैले खाइदियो। हाम्रो समाज कन्जरभेटिभ सोसाइटी हो। नलेजको कुरा त केही थिएन। सहरी सभ्यता नआएपछि विकास हुने कुरा पनि भएन।

हिजोआज अधिकांश विद्यार्थीको गुनासोे क्याम्पसको पढाइले गर्दा अरु पढ्न भ्याइँदैन भन्ने छ। तपाईं आफू विद्यार्थी हुँदा कसरी व्यवस्थापन गर्नुहुन्थ्यो ?
साइन्ससँगै ह्युमानिटिज पनि पढेको हुँ। ब्याचलर पढ्दा बिहान स्कुल पढाउँथे। दिउँसो कलेज पढ्न जान्थेँ। सिंगो रात त आफ्नै हो नि ! ५/६ घण्टा सुतेपछि बाँकी रहेको समय त रिभाइज गर्न र अन्य पुस्तक पढ्न प्रशस्त समय हुन्थ्यो। बाहिरी किताबका कारण केही साइड ह्याम्पर त ग-यो जस्तो कि सोचेजस्तो माक्र्स आएन, ठीकैको आयो। क्लासमा ध्यान दिने हो भने घरमा थोरै पढे पनि हुन्छ। विद्यार्थीको लागि त पढ्ने समय यथेस्ट छ।

धेरैको भनाइ भनेकै पढ्न भ्याइँदैन भन्ने छ नि !
नेपाली दिमागहरु धेरै छरिएको छ। कन्सट्रेसन छैन। अस्थिर राजनीति, अस्थिर सामाजिक व्यवस्थाले पढ्ने वातावरण नै सिर्जना गर्न सकेको छैन। विद्यार्थी आफैँले के पढ्ने, आफ्नो चासो के हो, छुट्ट्याउन सकेका छैनन्। आफ्नो पढ्ने विषय छुट्ट्याउन सक्नुप-यो। हाम्रोमा पढ्ने संस्कार नै छैन। रिडिङ कल्चर भएको भए पढिन्थ्यो होला। त्यो देखिन्न। प्रत्येकको घरमा रामायण महाभारतजस्ता केही पुस्तक त हुन्छन् तर उमेर समूहअनुसारका पुस्तक नै छैनन्। बानी नै नपरेको कारण पनि नपढिएको हो, नभ्याइएको हैन।

आफ्नो रुचि कसरी छुट्ट्याउने त ?
मलाई पनि सुरुमा मेरो रुचि के हो भन्ने थाहा थिएन। ब्याचलर पढ्दा भेटे जति पुस्तक पढ्थेँ। पछि थाहा हुँदै गयो। अर्काे प्रभाव पार्ने कुरा संगत पनि हो। आफ्नो वरपर कस्ता व्यक्तिसँग संगत हुन्छ भन्नेले पनि पढाइमा प्रभाव पार्छ। दुई वर्ष भेटे जति पुस्तक पढ्ने हो भने आफ्नो रुचि थाहा भइहाल्छ।

एने फ्याङ्कको ‘डायरी अफ योङ गर्ल’ पढ्दा त्यो उमेरमा नै दर्शन, साहित्य तथा विभिन्न विधाका पुस्तकहरु पढेको थाहा हुन्छ। हाम्रोमा अहिले पनि फुर्सदको बेला पढ्ने भन्ने कल्चर छैन। यसको पछाडिको कारण के होला ?
पश्चिमा देशतिर कतै बसाईँ सर्ने भए भने पहिलो तनाव उनीहरुको पुस्तकालय सार्ने हुन्छ। पुस्तक कसरी राख्ने ? उमेरअनुसार के पढ्ने नपढ्ने छुट्ट्याएका हुन्छन्। उनीहरुको टोलटोलमा लाइब्रेरी हुन्छ। त्यतिबेला नै थिए। हाम्रोमा आजसम्म छैन। उनीहरुको र हाम्रो तुलाना गर्नै मिल्दैन। हाम्रोमा पहिले पूर्वीय दर्शनको विकास नभएको हैन तर बीचमा कसले पढ्न हुने र नहुने भनेर छुट्ट्याएर कुरा बिग्रियो।

पश्चिमाहरुका बाबुआमा नै पुस्तक समातेर बसिरहेका हुन्छन्। हाम्रोमा यो छैन। वास्तवमा भन्ने हो भने नेपालीमा पढ्न लायक पुस्तक नै छैन भन्दा हुन्छ। अंग्रेजीमा सबैको पहुँच छैन। पुस्तक किन्ने हाम्रो हैसियत पनि छैन। पुस्तकालयको त के कुरा गर्नु र ? अनि कसरी बस्छ रिडिङ कल्चर ? उनीहरुकोमा महिलाहरु साहित्य इतिहासमा विशेष दख्खल राख्ने हुन्। घरमा बस्दा उनीहरु पढ्ने भए। बच्चाले त्यही देख्ने भयो। जबकि ७० वर्षअघिसम्म राज्यले औपचारिक शिक्षा नै दिँदैनथ्यो। झन् महिलाले पढ्ने अवसर त निकै पछि आएको हो।

पठन संस्कृति किन नबढेको होला ?
पश्चिमाहरुमा १८ औँ शतााब्दीमा नै रिडिङ कल्चरको विकास भयो। हामीकहाँ इन्डिभ्युजअल रिडिङ कल्चर त आयो तर त्यो सँगै टेक्नोलोजी पनि आयो। नेपालमा मात्रै हैन विश्वमा नै अहिले गम्भीर अध्ययन कम भएको छ भनिएको छ। हाम्रो हात पुस्तकमा हैन, मोबाइल भयो। रिडिङ कल्चरको विकास नभइकननै मोबाइल टेक्नोलोजीको विकास भयो र यसैले खाइदियो। हाम्रो समाज कन्जरभेटिभ सोसाइटी हो। नलेजको कुरा त केही थिएन। सहरी सभ्यता नआएपछि विकास हुने कुरा पनि भएन।

अर्काे गम्भीर समस्या भनेकोे घोकन्ते विद्या हो। निजी स्कुलमा यो विधिबाट पढाइने हुँदा कुरा बिग्रेको छ। विद्यालयमा सिक्ने भन्दा पनि रटाउने र प्रतिशत देखाउने प्रचलन छ। एकाध विद्यालयबाहेक राम्रो पुस्तकालय भएका विद्यालय छैनन्। विश्वविद्यालयले पनि चासो देखाउँदैन।

हाम्रोमा प्रविधिले अधिकांशको समय खाइदिइसक्यो। देशमा पढ्ने वातावरण छैन तर पनि यो संकटलाई कसरी चिरेर पढ्न सकिएला ?
पहिलो कुरा समय छुट्टाउने हो। पेशागत रुपमा सक्रिय व्यक्तिले पनि समय छुट्ट्याउने रातको या बिहानको। ४/५ जना आफ्नो कोर ग्रुप बनाउने। फरक फरक पुस्तक किन्ने र साटासाट गर्ने। अहिले त इन्टरनेटमा प्रशस्तै पुस्तक पाइन्छ। जसरी पढ्दा पनि भयो। दिनको २ घण्टा मात्रै छुट्ट्याइयो भने आफ्नो विषयमा दक्ष भइन्छ।

पेसागत रुपमा आबद्ध व्यक्ति पनि आफ्नो विषयमा एक्सपर्ट हुन सकेका छैनन नि ?
केहीबाहेक हरेक क्षेत्रमा कसैले पनि पढ्ने आवश्यकता नै महसुस गर्दैन। हौवामा दौडने हो सबै। प्राध्यापक आफैँलाई अपडेट राख्न आवश्यक ठान्दैन, पत्रकार आफ्नो बिटको सबै कुरा पढ्दैन। कर्मचारी आफ्नो काम राम्ररी गर्दैन। सबैले सतही पोलिटिकल कमेन्ट गरेर बस्ने विषयगत दक्षता हासिल गरेका छन्। त्यसैले रुचि नै नराखेपछि कसरी हुन्छ एक्सपर्ट ? धन्न सबै क्षेत्रका केही न केही व्यक्ति अध्ययनशील छन् र संस्थाहरु चलायमान भएका छन्।

Leave A Comment