ट्याक्सी चलाएर बाँच्न गाह्रो

सोमबार, २३ असार २०७६, १० : ०५ शुक्रवार
ट्याक्सी चलाएर बाँच्न गाह्रो

नाइट ट्याक्सी चालकः देवबहादुर मगर, बा २ ज ४३१९

ट्याक्सी चलाउन थालेको डेढ वर्ष भयो। त्योभन्दा अगाडि विदेशमा गाडी चलाउँथेँ। उता कमाएको पैसाले एउटा ट्याक्सी किनेँ तर किनेको ३, ४ महिना नहुँदै ट्याक्सी बेचेँ। के–के घरायसी कुरा र समय नमिलेका कारण विदेश जान नपाएको हो। साथमै पासपोर्ट बोकेर हिँडेको छु।

फेरि विदेश जाने प्रोसेसमा छु। हेर्नोस् जहाँ राम्रो कामको अफर आउँछ त्यहीँ जाने हो। नेपालमा ट्याक्सी चालक भएर बाँच्न गाह्रो रहेछ।

ट्याक्सी पेसा नै मन पर्न छोड्यो
मैले विदेशमा ४ वर्षभन्दा धेरै समय गाडी चलाएँ। त्यहाँका प्रहरी र कतारमा हामी कहिलेकाहीँ ट्याक्सी चढ्दा तपाईं हजुर भनेर बोलाउनु प-थ्यो। इज्जत मानसम्मानका साथ ट्याक्सी चढेर आफूले भनेको ठाउँमा सस्तो दरमै पुगिन्थ्यो। नेपालमा त के को मानसम्मान एकैचोटी ओए ट्याक्सी यता आइज भन्ने गर्छन्। विदेशमा जस्तै होला भन्ने लागेको थियो। हैन रहेछ।

वाइकवालाले हेल्मेटले हान्न आयो
म आफ्नो साइडमा कुदाइरहेको थिएँ। एकजना विपरीत दिशाबाट भिआर वाइक हुइँक्याएर आयो। उसको हुइँक्याइले सायद कतै ठोकियो भने कोही बाँच्ने अवस्था नै हुन्थेन होला। मैले विचार गर्दै साइड लाइट बालेर पिङ्गलास्थानको पुलबाट पशुपति जाने बाटोतिर लागेँ । ऊ राइटतिर जान लागेको रहेछ । मैले पशुपति जाने बाटोमा नपु-याउँदै  गलत साइडबाट आयो र आएर ठ्याक्क मेरो ट्याक्सी अगाडि लगेर वाइक रोक्यो।  हेल्मेट हातमा बोकेर हिर्काउन आयो। मेरो गल्ती त थिएन तर पनि मान्छेलाई रमिता देखाउनुभन्दा बाहिर जानु नै वेशजस्तो लाग्यो र ट्याक्सी अगाडि दौडाएँ।

महँगीले पिरलो
अहिले काठमाडाैँमा बसेर ट्याक्सीबाट घर परिवार चलाउँछु भन्ने आँट सायद कमैले गर्लान्। घरभाडा उत्तिकै बढेको छ। स्कुलको फी को त कुरै नगराैँ वर्षैपिच्छे बढिरहेको छ। एक केजी खसीको मासुको भाउ हजार कट्यो। ट्याक्सी चलाएर दिनभरि २ हजार २५ सय कमाएर साहुलाई बुझाउनु कि घर खर्च चलाउनु ? हामी भने उही पुरानै रेटमा ट्याक्सी चलाइरहेका छौँ। सरकारले हाम्रो मर्का बुझ्दैन । अर्को कुरा अपमानित भएर काम कहिलेसम्म गर्नु। यो ट्याक्सी ठग, चोर, फटाहा भन्छन्। एउटाले फटाहा काम ग-यो भने उसलाई कारबाही गर्नु छैन। सबै ट्याक्सी चालकलाई फटाहा भन्छन्।

रातो प्लेटका गाडीले यात्रु ओसार्छन्
कालो नम्बर प्लेट र रातो नम्बर प्लेटमा पछिल्लो समय अन्तर देखिँदैन। तर कर भने कालो प्लेटकोले धेरै तिर्नु परेको छ। पुलिसकै अगाडि रातो नम्बरका गाडीले मान्छे ओसारिरहेका हुन्छन्। तर ट्राफिक प्रहरी नदेखेझैँ गरी बस्छन्। केही दिन मात्रै भएको छ। नयाँ बसपार्कमा रातो नम्बर प्लेटको चालकले यात्रुसँग भाडाको बार्गेनिङ गरेर बसेको बेला साथीले ट्राफिकलाई भन्छुभन्दा ट्याक्सी चालकलाई भक्कु कुटेका छन्। यस विषयमा पुलिस पनि मिलेका छन् कि भन्ने लाग्छ।

अहिले ट्याक्सी चढ्ने यात्रु नै घटीसके। टुटल, पठाओले नै एकजना यात्रु भए ओसारी हाल्छन्। १ वर्ष अगाडिसम्म ट्याक्सीमा ठिकै आम्दानी थियो। अहिले टिक्न गाह्रो छ। गेष्टहाउसमा बसेकाहरु  माइक्रोवालाहरुले होटलवालासँग सिधै डिल गरेर कतिजना यात्रु छन् भनेर उठाउन थालेको छ। अब यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ? अनी विदेश नगए कता जानु ?
प्रस्तुति : भोला अधिकारी

 

Leave A Comment