साहुले घुम्न जाऊँ भनेसी छोडिदिएँ

सोमबार, २३ असार २०७६, ११ : ०९ शुक्रवार
साहुले घुम्न जाऊँ भनेसी छोडिदिएँ

दरबारमार्गमा रहेको क्वीन दोहोरीसाँझमा नृत्य गरिरहेकी कलाकार प्रीति तामाङसँग भोला अधिकारीले गरेको रात्रिकालीन कुराकानी।

ख्याल ख्यालमा डान्समा आएँ
मेरो सानैदेखि डान्स गर्ने इच्छा थियो। सिक्न भने पाएकी थिइनँ। मैले घरमै अरुको हेरेर अलिअलि डान्स गर्न सिकेकी हुँ। काठमाडाैंमा आफन्तहरु त हुनुहुन्थ्यो उहाँहरुबाट मैले कहिल्यै सपोर्ट पाइनँ। मेरो ममी म तीन वर्षको हुँदै अर्कोसँग जानुभएको थियो। ममी अन्तै गएपछि भाइ र म घरमा थियौँ। फूपूले भाइलाई काठमाडौं ल्याएर पढाउन थाल्नुभयो। मलाई काठमाडौं पहिलादेखि नै मन पर्दैन थियो, अहिले पनि मन पर्दैन। करैले काठमाडौमा बसेकी छु। ममी बाबा घरमा हुँदा नि मलाई  खासै माया गर्नु हुन्नथ्यो। अन्तै गएपछि त झन् माया गर्ने के कुरा नै भयो र।

ममी अर्कोसँग जाँदा बाबा विदेशमा हुनुहुन्थ्यो। नेपाल आएपछि कान्छी ममी ल्याउनुभयो। अहिले कान्छीममी पट्टि एकजना बैनी छ। मेरो बाबाको दिदी बैनी पाँचजना हुनुहुन्छ। तर पनि खासै कसैले मलाई पढाउन पर्छ, खेलाउन पर्छ भन्ने सोच नै राख्नुभएन। बिस्तारै जान्ने बुझ्ने भएपछि काठमाडौं आएँ। सुरुमा फूपूकोमा बसेँ तर सोचेजस्तो थिएन। फेसबुकमा भेटेको एकजना साथीलाई काम खोजिदेऊन भनेँ। उनले दरबारमार्गमा वेटरमा काम गर्दि रहिछन्। उनलाई मैले कहिल्यै भेटेकी थिइनँ। केही  त गर्नु प-यो भनी दरबारमार्गमा रहेको दरबारमार्ग दोहोरीघरमा वेटरको काम गरेँ। त्यहाँ सबैभन्दा सानी केटी म थिएँ। त्यहाँ दुई महिना जति वेटर काम गर्दा रात्रिकालीन व्यवसायमा के–के हुँदो रहेछ भन्ने कुरा सिकिसकेकी थिएँ। त्यसपछि म रेलिमाइ रोधिघरमा नाच्न थालेँ। अहिले क्वीनमा नाचिरहेकी छु। कसैले कुनै दुव्र्यवहार गर्दैनन्। को साहु, को काम गर्ने थाहा हुँदैन, सबैजना मिलेर काम गर्नुहुन्छ।

तलब थोरै भए पनि एकजना दिदीसँग मिलेर कोठाभाडा आधा आधा गरेर तिरेर बस्न थालेँ। अहिले भने आफैँले रुम लिएर बसेकी छु।

नयाँ मान्छेलाई गाह्रो
नयाँ मान्छेलाई जहाँ पनि गाह्रो हुने रहेछ। सुरुवातको समयमा मलाई दरबारमार्ग दोहोरीसाँझमा साह्रै हेप्थे। मलाई मात्र होइन जो नयाँ स्टाफ आउँछ उसलाई पुराना स्टाफले साह्रै हेप्दा रहेछन्। दुई महिनासम्म काम गरिसकेपछि अर्को ठाउँबाट अफर आयो र म त्यहाँ काम गर्न थालेँ। सुरुमा काम गरेको भन्दा अलिक सहज भयो। तलब पनि ठिकै थियो। यहाँ नाच्नका लागि भनेर सरेँ। अनि अहिले क्वीन दोहोरीसाँझ दरबारमार्गमै नाच्न थालेको एक वर्षभन्दा बढी भयो। यहाँ भने सबैजना सहयोगी हुनुहुन्छ। यसरी नाच्दानाच्दै मैले लोक आधुनिक गरेर २० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेँ। धेरै जसो म काठे गीतमा नाचेकी छु।

साहुले हेर्ने दृष्टिकोण
पहिला त साहुको हेर्ने दृष्टिकोण नै नकारात्मक थियो। त्यसले गर्दा नै मैले पहिलो जब छोडेकी हुँ। सुरुमा त केही भनेको थिएन। स्टाफहरुले मात्रै काम गर्दा अलिक पेलाउने गर्थे। सानी मान्छे भएर पनि होला सायद। मैले दोहोरी छोड्न लागेँ भन्ने सुनेर होला साहुले फोन गरेर यति पैसा दिन्छु घुम्न जाऊँ भन्न थाल्यो। मलाई पैसाको लोभ लालच देखाउन थाल्यो। साहुलाई मैले ‘म अरु जस्तो पैसामा बिक्ने केटी होइन। पैसा सबथोक होइन।’ मेरो तलब दे, म काम गर्दिन भनेर निस्किएँ। म मेरो भविष्य खोजिरहेकी थिएँ। काठमाडौंमा टिक्नका लागि कामको खोजिका भौतारिरहेका बेला पहिलोपटकको जागिरमा यस्तो खालको कुरा आयो। भन्न त केही साथीहरुले त्यहाँ ठिक छैन भनेका थिए। त्यस कारण म पहिलादेखि नै सजग भई बसेकी थिएँ।

मेरो सिधा सिधा कुरा गर्ने बानी छ। गेष्टहरुलाई के ल्याउ भन्नु त पहिहाल्यो, आफू वेटर भएपछि। सबैको बानी एकै किसिमको भने हुँदैन। पैसाको लोभमा घुम्न पनि गएका होलान्। कतिपय साहुले जागिरबाट निकालि देलान् कि भन्ने डरले पनि घुम्न जान बाध्य छन्। 

जुन ठाउँमा काम गरिहेकी छु म। यहाँ कसैले केही भन्दैनन्। नयाँ होस् या पुरानो कुनै स्टाफलाई भेदभाव छैन। कुनै कुनै गेष्टहरु अलिक अर्कै नजरले हेर्छन् कुरा गर्न खोज्छन्। साहुँले नै सजग गराउनुहुन्छ। काम गरेका ठाउँमध्ये यहाँ मलाई सहज छ।

मेरो तलब ठिकै छ। कोठाभाडा तिरेर खान लाउन पुगेको छ। टिप्सको कुरा गर्ने हो भने कहिले २५ सय, ३ हजार हुन्छ कहिले ४, ५ सय पनि हुन्छ। बैनी तिम्रो डान्स धेरै राम्रो छ भनेर राम्रै टिप्स पाएकै छु।

डान्सबार गइन भन्न मिलेन एकपटक क्वीनकै दिदीले माथि डान्सबारमा जाऊँ न हेरुम भन्नुभयो र गइयो। भित्र पस्दा कस्तो अँध्यारो हुने रहेछ। नाच्ने मान्छे पनि कतै देखिन। त्यही नै हो पहिलोपटक गएको अरु ठाउँमा गएकी छैन।

Leave A Comment