‘म पनि पास भएँ’

सोमबार, २३ असार २०७६, ०१ : ४९ उपेन्द्र खड्का
‘म पनि पास भएँ’

३८ वर्षीया शान्ता चौधरीले एसइईमा २.६५ जिपिए ल्याइन्। सेन्टर मावि तुल्सीपुर, दाङबाट परीक्षा दिएकी चौधरीले महेन्द्र मावि तुल्सीपुरमा खुला विद्यालयमा कक्षा दसमा भर्ना गरेकी थिइन्। उनी अहिले नेकपाको संसदीय दलको सचेतक छिन्। पार्टीमा केन्द्रीय सदस्य रहेकी उनी छोरीसँगै एसइई दिएर सफल भएकामा खुसी छिन्। उनको एसइई अनुभवः

आठ वर्षकै कलिलो उमेरबाट मैले कम्लरी जीवन जिउनुप-यो। गरिब परिवारमा जन्मिएका कारण जमिन्दारको घरमा कम्लरी हुनु पर्दा पढाइ–लेखाइ सम्भव भएन। स्कुल जाने रहर हुँदाहुँदै पनि ती रहरलाई मारेर बस्नुप-यो।

झ्यालबाट चिहाउँथेँ
सानो उमेरदेखि नै मेरो पढ्ने इच्छा तीव्र थियो। म सँगैका साथीहरु स्कुल ब्याग बोकेर स्कुल गएको देख्दा स्कुल जान मन लाग्थ्यो। स्कुल जान नपाउँदा एक्लै रोएर बस्थेँ। घर जाँदा कहिलेकाहीँ म पढ्छु भनेर बुबा–आमासँग असाध्यै जिद्दी गर्थेँ। जसरी भए पनि मलाई पढाउनु भन्थेँ।

कहिलेकाहीँ जमिन्दारको घरबाट भागेर स्कुलको चौरसम्म पुग्थेँ। स्कुलका केटाकेटी खेलेको हेर्थेँ। रहरले कहिलेकाहीँ स्कुलको झ्यालसम्म पुगेर झ्यालबाट चियाएर केटाकेटीले पढेको हेरेर चित्त बुझाएर फर्कन्थेँ। तर स्कुल गएर पढ्ने अवसर पाइनँ।

औँठाछापे भने
सांसद हुँला भनेर सोचिएकै थिएन तर भइयो। सांसद भएपछि पढाइ खड्क्यो। एक त मलाई सानैदेखि पढ्ने रहर। नपढेको हुनाले अलिअलि हीनताबोध पनि भयो। आफैँलाई कम्फर्टेबल फिल भएन। कानुन बनाउनु पर्ने, देशको संविधान, इन्टरनेसनल राजनीति सबै सबै बुझ्नुपर्ने रहेछ। मलाई असहज भयो। शैक्षिक योग्यता नहुँदा अरुले हेप्ने कुरा त छँदै छ, नपढेको सांसद भनेपछि आम पब्लिकको हेराई पनि फरक खालको हुँदोरहेछ। औँठा छापे सांसद पनि भने कतिपयले त।

पढ्न–लेख्न नजानेका सांसदलाई गर्ने व्यवहार नै फरक भएको मैले फिल गरेपछि पढ्नुपर्ने रहेछ भन्ने लाग्यो। केही समय घरमा बच्चाहरुसँगै स्वअध्ययन गरेँ। पहिला बच्चाका किताब पढेँ। अब पढेँ भने अझै राम्रै गर्न सक्छु भन्ने लाग्यो।

हरेक क्षेत्रमा शैक्षिक योग्यता र सर्टिफिकेट चाहिने, राजनीतिमा  किन शैक्षिक योग्यता नचाहिने भन्ने प्रश्न बारम्बार उठिरहेका छन्। भोलि राजनीतिमा पनि शैक्षिक योग्यता चाहिन सक्छ भन्ने लाग्यो। अरुको नजरमा म किन कम हुने ? मसँग हरेक क्षमता हुँदाहुँदै किन शैक्षिक प्रमाणपत्रको अभावका कारण अरुको हेपाई खानु भनेर ०७३ सालमा आठ कक्षामा भर्ना भएँ।

नियमित स्कुल
०७३ मा दाङको डाँडागाउँ मावि गोल्गी घोराहीमा आठ कक्षामा भर्ना भएँ। पहिलो दिन स्कुटरमा कुर्था सुरुवाल लगाएर अगाडि ब्याग भिरेर स्कुल पुगेँ। कक्षामा प्रवेश गरेँ। धेरै विद्यार्थीलाई म विद्यार्थी भन्ने थाहा भएन। धेरैलाई नयाँ म्याडम भन्ने भयो। त्यसैले सुरुमा विद्यार्थीले नमस्ते म्याडम भने। मैले उनीहरुलाई म पनि तिमीहरुजस्तै विद्यार्थी हो। म पनि तिमीहरुकै साथी हो भनेँ। कक्षामा सबैभन्दा लास्ट बेन्चमा गएर बसेँ। सर कक्षा कोठामा पढाउन आउनुभयो। उहाँले मलाई पढाउन अप्ठेरो मानेजस्तो गर्नु भयो। त्यसपछि मैले सरलाई भनेँ, ‘सर क्लासभित्र विद्यार्थीलाई जुन रुपमा हेर्नु हुन्छ, मलाई पनि त्यही रुपमा हेर्नुहोस्। विद्यार्थीलाई जस्तो व्यवहार गर्नुहुन्छ, मलाई त्यस्तै व्यवहार गर्नुहोस्।’

साना–साना बच्चासँग बसेर पढ्दा सुरुमा त म आफैँलाई पनि अप्ठेरो फिल भयो। बच्चाहरु नयाँ मेडम आउनुभएछ भन्ने, झ्यालमा झुम्मिएर हेर्ने गर्थे तर बिस्तारै सामान्य हुन थाल्यो। स्कुलमा बच्चाहरुसँग छिटै घुलमिल भएँ। सरले पढाएर गएपछि नजानेको बच्चाहरुलाई सोध्थेँ। बच्चाले राम्रोसँग सिकाउँथे। सरहरुले पढाएको भन्दा बच्चाले पढाएको म छिटो बुझ्थेँ। टिफिन टाइममा बच्चाहरु मसँग झुम्मिन्थेँ। बाँडिचुँडी खाइन्थ्यो। यही बेला राजनीतिक विषयका बारेमा सोध्थे। मैले पनि सकेजति बताउँथेँ।

कक्षामा सजाय
एक दिन मैले नभ्याएर होमवर्क लगेकी थिइनँ। गणितमा कमजोर विद्यार्थी पनि हो। कक्षामा होमवर्क नलगेका विद्यार्थीलाई सरले उभ्याउँदै आउनु भयो। सर होमवर्क चेक गर्दै म भएको ठाउँमा आइपुगेर सरले भन्नुभयो, ‘म्याडम होमवर्क ल्याउनु भएको छ ?’

‘सर, मैले पनि ल्याएकी छैन’ भनेँ। त्यसपछि सरले उभिनुप-यो भन्नु भयो। १५ मिनेट जति उभिएँ। पढ्ने क्रममा सजाय पनि पाएँ। आठ कक्षमा भर्ना भएपछि नियमित स्कुल गएँ। ६५ प्रतिशत ल्याएर आठ कक्षा पास भएँ।

नौ कक्षामा भने संसद्मा हाजिरी गर्नुपर्ने कारण स्कुल जान भ्याइनँ। एक वर्ष ग्याप गरेर एकैचोटी दश कक्षामा भर्ना गरेँ। कक्षा १० मा खुला विश्वविद्यालयमा भर्ना भएँ। दाङको तुल्सीपुरस्थित महेन्द्र माविमा भर्ना भएँ। खुला विश्वविद्यालयमा भने हाजिरको समस्या भएन। दोस्रो संविधान सभाको चुनाव हारेपछि त्यो समय पढ्न सदुपयोग गरेँ।

एसइईको खुसी
पोखराबाट काठमाडौँ गाडीमा आउँदैथेँ। छोराले फोन गरेर ममी एसइईको रिजल्ट आयो भन्यो। बिनुको (छोरी) ‘बी’ प्लस (गे्रड) आयो। हजुरको ‘बी’ (गे्रड) आयो भन्यो। सुरुमा ‘बी’ (गे्रड) नआउनु पथ्र्यो भन्ने लाग्यो तर छोराले तपाईंका लागि ‘बी’ भनेको ‘ए’ प्लस ल्याएजत्तिकै हो भनेपछि खुसी भएँ।

त्यस्तो खुसी साट्ने खास मान्छे मेरो कोही पनि छैन, छोरा–छोरी नै हुन्। आमा हुनुहुन्छ। एसइईमा सफल भएपछि उहाँलाई म पास भएँ भनेर सुनाएँ। आमाको खुसी देख्दा मनै रमायो। यति धेरै बधाई आयो कि मेरो लाइफमा त्यति धेरै बधाई सायदै आएको थियो होला। फोन उठाउन भ्याइनभ्याई भयो। फोन उठाउँदाउठाउँदै म त बिरामी नै भएँ।

म गाडीमा काठमाडौँँ आउँदैथेँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै फोन गरेर बधाई दिनुभयो। ‘राम्रो गर्नुभयो। सधैँभरि तपाईंलाई सफलतै सफलता मिलोस्। उदाहरणीय काम गर्नु भएको छ। यसलार्ई निरन्तरता दिनुहोला,’ भन्नु हुँदा म असाध्यै खुसी भएँ। त्यतिबेला क्याबिनेटको बैठक बसिरहेको रहेछ। ‘ल मैले क्याबिनेटमा मिठाई बाँडे है त’ भन्नुभयो। मैले, ‘हस्, धन्यवाद’ भनेँ।
उहाँ मात्र होइन, मन्त्री, नेता, शुभचिन्तक धेरैले फोन गर्नु भयो।

पढाइ निरन्तर
पढाइलाई निरन्तरता दिन्छु। राजनीतिशास्त्र र कानुनमा रुचि छ तर कानुनमा बढी समय निकाल्नु पर्ने भएकाले त्यतातिर जान्नँ होला। बरु मानविकीमा पोलिटिकल साइन्स पढ्छु होला।

Leave A Comment