स्कुले शिक्षामै विदेशिने प्लान

मङ्गलबार, २४ असार २०७६, १२ : ११ प्रजु पन्त
स्कुले शिक्षामै विदेशिने प्लान

अधिकांश स्कुल अहिले विद्यार्थी तान्नमा व्यस्त छन्। साइन्स, म्यानेज्मेन्ट, ह्युमानिटिज र एजुकेसन फ्याकल्टीमा भर्नाका लागि स्कुल प्राङ्गणमा एसइई पास गरेकाहरुको भिड देखिन्छ।

प्रवेश परीक्षाका लागि केही स्कुलमा फारम भरिरहेका विद्यार्थी र अभिभावकले स्कुल रोज्दा यसभन्दा अघिको ११ र १२ को परीक्षा नतिजालाई हेरेर निर्णय गर्ने गरेको देखियो। कतिपयले भने विदेशमा जान सहज हुन्छ भन्ने भ्रममा नाम चलेका स्कुल छानिरहेका थिए।

मैतीदेवी बस्ने आयुष खत्री न्यु समिट माध्यमिक विद्यालयबाट एसइईमा सहभागी भए। उनले ३.७ जिपिए ल्याए। सोचेजस्तो नतिजा नआएको बताउने खत्रीले सेन्ट जेभियर्समा साइन्स पढ्ने योजनामा रहेछन्। जेभियर्स रोज्नुको कारण विदेश मोह देखियो।

‘विदेशमा रहेको युनिभर्सिटीमा यो कलेजको राम्रो लिंक छ रे,’ खत्रीले भने, ‘पछि फर्दर स्टडीका लागि सहज हुन्छ भनेर रोजेको हो।’ सामीप्य भुषाल पनि पछि विदेश पढ्न जान सजिलो हुने भनेर जेभियर्स पुगेका थिए।

‘अलिकति ब्रान्ड हेरेर कलेज रोज्ने हो,’ एसइईमा ३.८९ ल्याएका भुसालले भने ‘साथीहरुको पनि विदेशै जाने सोच छ, मेरो पनि त्यही हो। यो कलेज पढेपछि भिसा लाग्न सहज हुन्छ रे !’

२०७२ मा आएको नेपालको संविधान अनुसार कक्षा १२ सम्म विद्यालय शिक्षा नै हो। कक्षा ११ र १२ उच्च माध्यमिक शिक्षाको सूचीबाट हटिसक्यो तर शिक्षा मन्त्रालयले ऐन नबनाउँदा पाठ्यक्रम भने पुरानै छ। तापनि व्यावहारिक रुपमा यो स्कुले शिक्षा नै हो। स्कुले शिक्षामै अधिकांश विद्यार्थीले किन विदेशिने योजना बुन्छन् त ? विद्यार्थी सामीप्यले भने, ‘यस्तो हालत छ। यहाँ के नै पढ्न सकिन्छ र ?’ ११ वर्षदेखि ११ र १२ कक्षामा अंग्रेजी विषय पढाउँदै आएका शिक्षक रमेश पन्थी  अधिकांश विद्यार्थीको चाहना नै प्लस–टु सक्ने अनि विदेश जाने रहेको बताए।

‘यो उमेर समूहका विद्यार्थी धेरै लहैलहैमा लाग्छन्,’ पन्थीले भने, ‘७० प्रतिशत विद्यार्थी आफैँले के पढ्ने, के गर्ने भन्ने निक्र्योल गर्न सक्दैनन्। एउटाले विदेश जाने भन्छ, अरु पनि उसकै पछि लाग्छन्।’

पन्थीका अनुसार कक्षा ११ छान्ने विद्यार्थीको तरिका पनि उनीहरुसँगै मिल्ने साथीले भनेअनुसार हुने बताए। अधिकांश विद्यार्थीले अलि बढी स्वतन्त्रता भएको स्कुल रोज्ने गरेको उनको अनुभव छ।

‘मोबाइल लैजान पाइने, बाइक चलाउन पाइने क्यान्टिनमा धेरैथरि खानेकुरा पाइने स्कुल उनीहरुको रोजाइमा पर्छन्,’ पन्थीले भने, ‘सयमा २/४ जना विद्यार्थीबाहेक स्कुलको वातावरण, सेवा, सुविधा धेरैको जिज्ञासा रहँदैन।’

विद्यार्थी मात्र हैन अभिभावक पनि एक पटक ब्रान्ड भएको कलेजमा ट्राई गर न त भन्ने नै धेरै भेटिए। छोरीका लागि सेन्ट जेभियर्समा प्रवेश परीक्षाका लागि फारम भर्दै गरेकी ऋचा चुँडालले रहरका लागि फारम भरेको बताइन्।

‘छोरीले जिपीए ३.९५ ल्याई,’ ऋचाले भनिन्, ‘उसले पनि नाम चलेका विद्यालयमा कोसिस गरौँ भनी। त्यही भएर आएको हो।’

काठमाडौंको मोह उस्तै
कक्षा १२ सम्मको पढाइ काठमाडौं उपत्यका बाहिरसम्म फैलिइसक्यो। ग्रामीण तहका विद्यालयमा पनि कक्षा १२ सम्मको पढाइको सुविधा छ तर कक्षा १० को पढाइ सकेपछि राजधानी नै आउने परम्परा अझै तोडिएको छैन।

जनकपुरका आदित्य शाह एसइईमा ३.४५ जिपिए आएपछि राम्रो पढाइ हुने ठाउँ खोज्दै राजधानी आएको बताए। गाउँकै सिनियरहरुको साथ लागेर आएका उनी युनाइटेड, प्रसादी, सेन्ट जेभियर कलेजमा प्रवेश परीक्षा दिने तयारीमा छन्।

तीनमध्ये एक न एकमा नाम निस्कनेमा ढुक्क देखिएका उनले राजधानी आउनुको प्रमुख कारण पढाइ राम्रो हुन्छ भन्ने सुनेको बताए। उनको रोजाइमा क्लास नियमित हुने, टिचरहरुले राम्रो पढाउने, अनुशासित कलेज छ।

उदयपुरका सोभित खड्का पनि कक्षा ११ मा राम्रो शिक्षाका लागि राजधानी आएको बताए। ३.९५ जिपिए ल्याएका उनले शाहलेझैँ रेगुलर पढाइ हुने र अनुशासित कलेज रोजेको बताए।

आमाको साथ सर्लाहीबाट काठमाडौं आएकी स्मृति चौधरीले ३.६ जिपिए ल्याएकी छन्। ‘पछि डाक्टर पढ्छु भनेकीले त्यसका लागि जहाँ राम्रो हुन्छ त्यही पढाउने सोच छ,’ स्मृतिकी आमा विनिताले भनिन्।

शिक्षाविद् मनप्रसाद वाग्ले एसइईको सरकारी तामझामको आवश्यकता नरहे पनि पुरानै पाठ्यक्रमअनुसार पढाइ भइरहेका कारण विद्यार्थीले आफ्नो रोजाइअनुसारको स्कुल छान्नुपर्ने बाध्यता नहटेको बताए। राजधानीमा गुणस्तरीय शिक्षाका लागि राजधानी आउनुपर्ने बाध्यता नहटे पनि गुणस्तरीय शिक्षा लिएकोमा भने वाग्लेले शंका व्यक्त गरे।

हल्लाको हैन, नतिजा केलाऔँ
भक्तपुर ठिमीकी रोजा श्रेष्ठ विनायक शिक्षा निकेतन इङ्लिस माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइन्। नतिजा उनैले भनेअनुसार आयो। जिपीए ४। रोजाले अरु विद्यार्थीभन्दा केही परिपक्व कुरा गरिन्।

उनले प्लस–टु छान्दा दुई–तीन कुरामा ध्यान दिएको बताइन्। ‘रोजेका स्कुलहरुको यसभन्दा अघि आएका परीक्षाफल हेरेकी छु,’ रोजाले भनिन्, ‘स्कुलको ल्याब, प्रयोगात्मक, कस्ता कस्ता व्यक्ति पढ्छन्देखि शिक्षक कस्ता हुनुहुन्छ भनेर आफूभन्दा सिनियरहरुसँग बुझिरहेकी छु।’ विज्ञानमा रुचि राख्ने रोजाले एसओएस, युनाइटेड, प्रसादी र सेन्ट जेभियर्समा प्रवेश परीक्षा दिने योजना बनाएकी छन्।

एसइईपछि स्कुलको माहोलको रिर्पोटिङको क्रममा भेटिएका केही अभिभावकले पनि विद्यालय छान्दा प्लस–टुको पुरानो नतिजा र अन्य विषयलाई हेरेर स्कुल छान्ने गरेको बताए।

बौद्धकी प्रमिला लिम्बू छोरालाई लिएर केएमसी आइपुगेकी थिइन्। आफूलाई केही थाहा नभएकाले छोराले भनेकै ठाउँमा पढाउन पर्ला भनिन् उनले। ‘उनीहरुले भनेको कलेजमा पढाएन भने नपढ्लान् भन्ने डर,’ उनले भनिन्, ‘बरु उनैले भनेको ठाउँमा भर्ना हालिदियो ढुक्कै।’

केएमसीमै भेटिएका प्रदीपकुमार फुयाँलले बाहिरको हाइफाइ मात्र हेरेर कलेज नछानेको बताए। ‘म विज्ञापनको पछि लागिनँ,’ फुयाँलले भने, ‘अघिल्ला वर्षको नतिजा हेरेँ अनि धेरै विद्यार्थी पढ्ने ठाउँमा छानेँ।’

अभिभावकको रोजाइमा औसत मूल्य अनुशासित र बस्ने ठाउँबाट पायक पर्ने ठाउँमा रहेको प्लस टु रोजाइमा पर्ने गरेको बताए।

अंकमा एसइई
४ लाख ५९ हजार २ सय ७५ विद्यार्थी सहभागी
साधारण शिक्षातर्फ ४ लाख ४९ हजार ६ सय ४२
प्राविधिकतर्फ ९ हजार ६ सय ३३
जिपिए ३.६ देखि ४– ३.८२ प्रतिशत
जिपिए ३.२ देखि ३.६ मुनिसम्म ११.१३
जिपिए २.८ देखि ३.२ मुनि १३.८७
जिपिए २.२ देखि २.८ मुनि १६.६७ प्रतिशत
जिपिए २ देखि जिपीए २.४ मुनि २१.३८ प्रतिशत
जिपिए १.६ देखि २ मुनि २०.७५ प्रतिशत
जिपिए १.२ देखि १.६ मुनि ४८ हजार २ सय

Leave A Comment