के पढे काम पाइन्छ ?

मङ्गलबार, २४ असार २०७६, १२ : ४० उपेन्द्र खड्का
के पढे काम पाइन्छ ?

विश्व निकेतन माविबाट यस वर्ष एसइईमा ४.० जिपिए ल्याएका भेषराज उपाध्यायको विज्ञान विषय पढ्ने लक्ष्य छ। उनले प्लस टुमा बायोलोजी पढ्ने बताए। उनको विज्ञान पढेपछि डाक्टर बन्ने रहर छ।

एसएलसीमा राम्रो प्रतिशत ल्याउने विद्यार्थीले विज्ञान पढ्ने रहर गर्नु नौलो हैन। सेकेण्ड डिभिजन ल्याउने व्यवस्थापनतिर लाग्छन्, थर्ड डिभिजन ल्याउने मानविकी र शिक्षातिर अल्झिन्थे। नाम फेरिएर एसएलसीबाट एसइई भइसक्यो तर मानसिकता उस्तै छ। राम्रो जिपिए ल्याउने अधिकांशले साइन्स नै रोज्छन्।

मध्यम स्तरको नतिजा आउने प्रायः विद्यार्थीले व्यावस्थापन रोज्ने गरेको शिक्षा क्षेत्रका विज्ञ बताउँछन्। प्लस टुतर्फ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुनजस्ता विषय पढाइ हुन्छ। नेपालमा प्लस टुतर्फ करिब एक सय विषय पढ्न पाइन्छ।

एसइईको नतिजा लगायतका कारण विज्ञान पढ्न रहर गर्ने विद्यार्थीले बाध्यताले व्यवस्थापन छनोट गर्ने गरेको विश्व निकेतन माविका सहायक प्रधानाध्यापक केदारप्रसाद दाहालले सुनाए। ‘मनविकी, शिक्षा, कानुन कमजोर विद्यार्थीले रोज्छन्,’ दाहालले भने, ‘रहरले यस्ता विषय पढ्ने विद्यार्थी कमै हुन्छन्।’

विश्व निकेतनकै शैक्षिक प्रशासन शाखा प्रमुख गंगा थापाले पनि अधिकांश कम जिपिए ल्याउने विद्यार्थी मात्रै मानविकी र शिक्षा संकायमा भर्ना हुने गरेको अनुभव सुनाइन्।

विज्ञान र व्यवस्थापनको तुलनामा मानविकी, शिक्षाजस्ता संकायमा विद्यार्थी अब्बल नभई नबिक्ने कारण पनि विद्यार्थीको पहिलो रोजाइमा विज्ञान र व्यवस्थापन पर्ने गरेको दाहालको अनुभव छ।

प्लस टुमा विज्ञान पढेर बायोलोजी पढेका विद्यार्थीले मेडिकल क्षेत्र (एमबिबिएस) पढ्न नसकेको खण्डमा विकल्पका रुपमा कृषि, भेटनरी, वन विज्ञानतर्फ जाने बाटो खुला हुन्छ।

स्वदेशमा मात्रै हैन विदेशमा समेत कृषि विषय पढ्ने विद्यार्थीको माग छ। कृषि पढेका विद्यार्थीले इजरायल, जापान, भारतजस्ता मुलुकमा सहजै रोजगार पाउँछन्।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्मा विद्यार्थीको एसइई पछिको पहिलो रोजाई विज्ञान नै हुने गरेको बताउँछन्। शर्माका अनुसार, पछिल्लो समय कम्प्युटर साइन्समा विद्यार्थीको आकर्षण बढिरहेको छ। त्यसैगरी व्यस्थापनतर्फ अकाउन्ट, बिजनेस स्टडी, होटल मेनेजमेन्ट जस्ता विषयमा आकर्षण छ। पछिल्लो समय मानविकीतर्फ ग्रामीण विकासमा विद्यार्थीको आकर्षण छ।

शिक्षा महत्वपूर्ण विषय हो तर आर्थिक अवस्था कमजोर भएको, कम जिपिए आएको र पढ्न त्यत्ति नभ्याउने विद्यार्थीले शिक्षा संकाय रोज्छन्। विशेषगरी ग्रामीण क्षेत्रमा बसेर पढ्ने विद्यार्थीले शिक्षा संकाय रोज्ने गरेको नियन्त्रक शर्माले बताए। शिक्षा संकायमा छोरी– बुहारीले पढ्ने गरेको उनको तर्क छ। शर्माले भने, ‘शिक्षा संकाय छोरी–बुहारी संकाय जस्तै भएको छ।’

विज्ञानमा छैनन् शिक्षक
विज्ञान पढ्नेको पहिलो लक्ष्य विदेश जाने नै देखिन्छ। यो विषयमा विद्यार्थीको आकर्षण भए पनि शिक्षकको अभाव छ। विशेषगरी प्लस टुतर्फ शिक्षकको अभाव देखिन्छ। विज्ञान विषयमा स्नातकोत्तर विषय अध्ययन गरिसक्दासम्म अधिकांश विद्यार्थी विदेशिइसक्छन्। फिजिक्स, केमेस्ट्री, गणित, होटल म्यानेजमेन्ट र ट्राभलजस्ता विषय अध्ययन गरेका विद्यार्थीले विदेशमा राम्रो अवसर पाउने गरेको शर्माले बताए।

विषय छनोट गर्ने आधार
एसइईमा न्यूनतम २ जिपिए ल्याए विज्ञान विषय पढ्न पाइन्छ। विज्ञान र गणितमा सी प्लस ग्रेड ल्याउनै पर्छ। अंग्रेजी, नेपाली र सामाजिकमा भने डि प्लस ल्याए कक्षा ११ (प्लस टु)मा विज्ञान संकायमा भर्ना हुन पाउने व्यवस्था छ।

गणित, भूगोल, एकाउन्ट, अर्थशास्त्र, फाइनान्सजस्ता विषय पढ्न १.६ जिपिए ल्याउनु पर्छ। त्यस्तै अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक विषयमा डि प्लस ग्रेड ल्याउनु पर्छ।

त्यसैगरी टुरिजम, होटल म्यानेजमेन्ट पढ्न अंग्रेजी, नेपाली, गणित, सामाजिक विषयमा डि प्लस ग्रेड ल्याउनु पर्छ। अंग्रेजी वा टिचिङ अंग्रेजी पढ्न अंग्रेजी, नेपाली, सामाजिकजस्ता विषयमा डि प्लस ल्याउनु पर्छ। नेपाली पढ्न अंगे्रजी वा नेपाली, सामाजिकजस्ता विषयमा डि प्लस ल्याउनु पर्ने प्रावधान छ।

समाजशास्त्र, ग्रामीण अर्थशास्त्र, राजनीतिक शास्त्रजस्ता विषय अध्ययनका लागि अंग्रेजी, नेपाली, सामाजिक विषयमा डि प्लस ग्रेड आवश्यक हुन्छ।

त्यसैगरी प्लस टुमा पत्रकारिता, ह्युमन भ्यालु एजुकेसन, कानुनजस्ता विषय अध्ययनका लागि अंग्रेजी, नेपाली, सामाजिक विषयमा डि प्लस ल्याउनु पर्छ। पछिल्लो समय पत्रकारितातर्फ पनि विद्यार्थीको राम्रो आकर्षण रहेका शर्माले बताए। रोजगारीका हिसाबले पनि पत्रकारिता राम्रै मानिन्छ।

आकर्षणको विषय
राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क हेर्दा प्लस टुमा विद्यार्थीले व्यवस्थापन तर्फका विषय नै बढी रोेजेको देखिन्छ। संकायअनुसार छुट्याएर भने तथ्याङ्क राखिएको छैन।

विज्ञानतर्फ फिजिक्स, केमेस्ट्री बढी रोजेको देखिन्छ। ०७६ को कक्षा ११ को परीक्षामा ६४ हजार दुई सय ८२ विद्यार्थीले फिजिक्स र सोही अनुपातमा केमेस्ट्रीको परीक्षा दिएका थिए।

होटल म्यानेजमेन्ट, एकाउन्ट, बिजनेस स्टडी, गणित, अर्थशास्त्र, स्वास्थ्य तथा शारीरिक शिक्षा, पेडागोजी, शिक्षाको परिचय, समाजशास्त्र, ग्रामीण विकास, वातावरण, जनसंख्या, कम्प्युटर, आमसञ्चार (पत्रकारिता)जस्ता विषयमा विद्यार्थीको चाप देखिन्छ।

एकाउन्ट, अर्थशास्त्र, स्वास्थ्य तथा शारीरिक शिक्षा, पेडागोजी, शिक्षाको परिचयजस्ता बिषयको ०७६ को ११ कक्षाको परीक्षामा अन्य विषयको तुलनामा सबैभन्दा बढी विद्यार्थीले परीक्षा दिए।

यी विषयमा विद्यार्थीको उच्च आकर्षण देखिन्छ। एकाउन्टमा एक लाख ५० हजार बढी विद्यार्थीले परीक्षा दिएका थिए। शिक्षा विषयमा एक लाख ५० हजार बढीले परीक्षा दिए। पेडागोजी पढ्ने एक लाख ४० हजार बढी थिए। स्वास्थ्यमा एक लाख बढीले परीक्षा दिए भने अर्थशास्त्रतर्फ परीक्षा दिनेमा एक लाख ३९ हजारको सहभागी भएको तथ्याङ्क छ।

अनिवार्य विषय त पढ्नै प-यो। मेजर नेपाली र मेजर अंग्रेजीमा पनि विद्यार्थीको राम्रै आकर्षण देखिएको छ। भाषागत विषयमा अब्बल हुन सके प्रमुख रुपमा शिक्षकको लागि राम्रो पनि अवसर देखिन्छ।

बुम, ओएमएसपी, होम साइन्सजस्ता विषयमा विद्यार्थीको त्यत्ति आकर्षण देखिँदैन। मैथिली, हिन्दी, नेवारीजस्ता स्थानीय भाषा र फ्रेन्च, जापनिज, जर्मनजस्ता विदेशी भाषा पढ्न पाइने भए पनि यस्ता विषयमा विद्यार्थीको त्यति चाख देखिँदैन। बिएसडब्लु पढ्ने विद्यार्थीको संख्यासमेत घटेको शिक्षाविद् बताउँछन्।

प्राविधिकमा राम्रो अवसर
साधारण र प्राविधिक गरी पढाइका दुई धार छन्। साधारणतर्फ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन पर्छन् भने प्राविधिकतर्फ कृषि, आइसिटी, वनविज्ञानजस्ता विषय पर्छन्।

प्राविधिकतर्फ एनिमल साइन्स, प्लान्ट साइन्स, कम्युटर साइन्सजस्ता विषयमा विद्यार्थीको आकर्षण रहेको परीक्षा नियन्त्रक शर्माले बताए। यी विषय पढेपछि रोजगारी पनि राम्रो हुने  उनको तर्क छ। थोरै जिपिए ल्याउने विद्यार्थीले पनि प्राविधिक तर्फका कतिपय रोजगारमूलक विषय पढ्न पाइने विज्ञहरु बताउँछन्।

कक्षा ९ र १० पढेका विद्यार्थीले पनि प्राविधिक (भोकेसनल) विषय पढ्न पाउँछन्। त्यस्ता विद्यार्थीले ९, १०, ११ र १२ मा प्रयोगात्मक रुपमा अन द जब ट्रेनिङ गर्नुपर्ने हुन्छ। ट्रेनिङ गरेपछिको योग्यता प्लस टु तहसरह मानिन्छ। यस्ता प्राविधिक विषयमा होटल म्यानेजमेन्ट, ट्राभल, टुरिजमजस्ता विषय पढेका विद्यार्थीले रोजगारको राम्रो अवसर पाउँछन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आँकडाअनुसार आर्थिक वर्ष २०७४/०७५ सम्ममा परिषद्ले डिप्लोमा तहका ५९ हजार ८६ जना जनशक्ति उत्पादन गरेको छ। प्राविधिक एसएलसीतर्फ एक लाख ९७ हजार सात सय जनशक्ति उत्पादन गरेको छ।

आर्थिक वर्ष ०७४/०७५ मा प्राविधिक एसएलसीतर्फ २७ हजार विद्यार्थी भर्ना भए। जसमा काठमार्डौं उपत्यकामा चार हजार तीन सय ४५, मध्यक्षेत्रमा सात हजार ६ सय ३१, पश्चिम क्षेत्रमा दश हजार सात सय चार र पूर्वमा पाँच हजार एक सय ६९ जना विद्यार्थी भर्ना भएका थिए।

परिषद्को तथ्यांकअनुसार स्वास्थ्यमा विद्यार्थीको बढी चाप देखियो। स्वास्थ्य तर्फका कार्यक्रममा कोटाअनुसारै विद्यार्थी भर्ना भएको देखिन्छ। स्वास्थ्य कार्यक्रमअन्तर्गत कम्युनिटी मेडिकल एसिस्टेन्ट, नर्स, ल्याबोरोटरी असिस्टेन्ट, आयुर्वेदजस्ता विषयमा आकर्षण राम्रै देखिएको भए पनि अहिले राष्ट्रिय स्वास्थ्य शिक्षा ऐन आएसँगै स्वास्थ्यका यी कार्यक्रम  बन्द भएका छन्।

इन्जिनियरिङ, कृषि, हस्पिटालिटी लगायतका विषयमा प्राविधिक एसएलसी तहमा पढाइ हुन्छ। इन्जिनियरिङतर्फ विद्यार्थीको राम्रो आकर्षण रहेको परिषद्का सूचना अधिकारी अनिल वज्राचार्यले बताए।

इन्जिनियरिङ तर्फका कार्यक्रममा छात्राको आकर्षण न्यून देखिन्छ। छात्रको संख्या भने धेरै छ। सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक, मेकानिकल, कम्प्युटर, इलेक्ट्रोनिक्सजस्ता विषय पढ्ने विद्यार्थीले रोजगारको राम्रो अवसर पाउने गरेका छन्। मेकानिकल सब ओभरसियर पढ्ने विद्यार्थीको बजारमा राम्रो माग छ।

‘यस्ता विषय पढ्ने विद्यार्थीले पढिसकेपछि एक वर्ष काम गर्ने हो भने ५० हजारमाथि कमाउन सक्छन्,’ वज्राचार्यले भने। प्राविधिक एसएलसी तहको कृषि तर्फको कार्यक्रममा एनिमल साइन्स, पशु विज्ञान तथा पशु स्वास्थ्य, बाली विज्ञान, वन, फुड टेक्नोलोजीतर्फ विद्यार्थीको आकर्षण देखिन्छ।

यी स्वरोजगारसमेत हुन सक्ने विषय हुन्। एनिमल साइन्समा छात्रको आकर्षण बढी देखिन्छ भने एग्रिकल्चर साइन्स (बाली विज्ञान)मा छात्रा। यो तहमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि पनि राम्रो अवसर रहेको वज्राचार्यले बताए।

कसले के पढ्न पाउँछन् ?
डिप्लोमा वा प्रमाणपत्र तहमा भर्नाका लागि केही आधार छन्। डिप्लोमा इन्जिनियरिङ तर्फका कार्यक्रमका लागि एसइईमा विद्यार्थीले विज्ञान र गणित विषयमा न्यूनतम सि ग्रेड र अंग्रेजीमा डि प्लस ग्रेड ल्याउनुपर्छ।

डिप्लोमा तहकै कृषि, फुड, फरेस्ट्री अध्ययनका लागि अंग्रेजी, गणित र विज्ञान कुनै दुई विषयमा न्यूनतम सि र कुनै एक विषयमा डि प्लस ग्रेड ल्याउनु पर्छ। होटल मेनेजमेन्टतर्फ भने अंग्रेजी, गणित र विज्ञानमा डि प्लस ल्याउनु पर्छ।

प्राविधिक एसएलसी तहको यो कार्यक्रम १८ महिने पाठ्यक्रम हो। टेस्ट पास गरेकाले पनि पढ्न पाउँछन्। यो सबओभरसियर तह हो। डिप्लोमा तह भन्नाले प्रमाणपत्र (ओभरसियर) तह सरह हो।

Leave A Comment