‘अबको शिक्षा माइक्रो लेभलबाट हुनुपर्छ’

मङ्गलबार, २४ असार २०७६, ०१ : ५३ शुक्रवार
‘अबको शिक्षा माइक्रो लेभलबाट हुनुपर्छ’

राजेन्द्र केसी, क्याम्पस प्रमुख,साउथवेस्टर्न स्टेट कलेज, काठमाडौं।

धादिङमा जन्मिएका राजेन्द्र केसीले अमेरिकाको एट्लान्टिक इन्टरनेसनल युनिभर्सिटीबाट पीएचडी गरेका हुन्। पिएचडी गरेर स्वदेश फर्केपछि केसी एक दशकदेखि शैक्षिक क्षेत्रमा क्रियाशील छन्। साउथवेस्टर्न स्टेट कलेज, काठमाडौंका क्याम्पस प्रमुख केसीले नेपालमा निजी विश्वविद्यालय सञ्चालन गर्न सके विदेश जाने विद्यार्थी स्वदेशमै रोकेर अध्यापन गराउन सकिने बताउँछन्। केसीसँग साउथवेस्टर्न स्टेट कलेजले सञ्चालन गरेका शैक्षिक कार्यक्रम, नेपालको शैक्षिक अवस्थालगायतका विषयमा शुक्रवारका लागि गरिएको कुराकानी :

साउथवेस्टर्नमा के कस्ता शैक्षिक कार्यक्रम छन् ?
हामीले १० वर्षदेखि शैक्षिक क्षेत्रमा विभिन्न सेवा दिएका छौं। आइएसओ सर्टिफाइड कलेज हो। नर्सरीदेखि कक्षा १० सम्म करिब हजार विद्यार्थी छन् भने प्लस टुमा १८ सय। स्नातक तहमा बिबीएस, बिबीएम, बिएसडब्लु र स्नातकोत्तरमा एमबिएस प्रोग्राम सञ्चालन गरेका छौँ। बिजनेस कलेज भनेर पूर्वाञ्चल युनिभर्सिटीसँग एफिलिएसन लिएर बिबीए प्रोग्राम पनि चलाएका छौं। हाम्रो आफ्नै रिसर्च इस्टिट्युसन, पिएचडी सेन्टर पनि छ। नेपालमा विभिन्न युनिभर्सिटीमा भर्ना भएकालाई क्लास लिन्छौं। हेल्प डेस्कको रुपमा काम गर्दै आएका छौं। पिएचडी गर्न मन भएर यहाँ भर्ना पाएन भने भारत, मलेसियालगायत विभिन्न देशका १३ युनिभर्सिटीसँग टाइअप गरेर प्रोग्राम चलाएका छौं। प्राइभेट युनिभर्सिटीका लागि रेडी अवस्थामा छौं। यदि ऐन पास गरेर सरकारले निजी विश्वविद्यालय खोल्न दिने हो भने हामीले सबै प्रकारका पूर्वाधार तयार गरेका छौं।

बजारमा निजी शैक्षिक संस्था पर्याप्त छन्। यहाँको कलेजमा विद्यार्थी किन आउने, अरुमा भन्दा के फरक छ ?
हामी अरु कलेजसँत तुलना गर्दैनौं। यस्तो गर्छौं भनेर दाबी गर्ने अवस्थामा छैनौं। पहिलो वर्ष भएको भए यो यो सुविधा दिन्छौं भन्नुहुन्थ्यो। १० वर्ष पूरा गरेर हामी टेष्टेड भैसकेका छौं। हामीले उत्पादन गरेको जनशक्तिले नै हाम्रो अब्बलता प्रमाणित भएको छ। हाम्रो कलेजको उत्पादन संसारभर पुगेका छन्। डाक्टर, सिए, इन्जिनियर, शिक्षक, सिइओ, सरकारी अधिकारी भएका छन्। ग्लोबल स्टान्डर्ड भन्दा पनि हाम्रो आफ्नै स्टान्डर्ड छ। हामी कसैसँग तुलना गर्दैनौं। विदेशी कलेजभन्दा कमी छैन।

म निजी क्षेत्रको विद्यालय सञ्चालन गर्ने भए पनि यसको संरक्षण गर्नु जरुरी छैन। सरकारले सिस्टम बनाउनु प-यो। निजी क्षेत्रलाई यो सिस्टमबाट चल भनेर सिस्टम बनाउनु प-यो ।

बजारमा खपत हुनसक्ने शैक्षिक जनशक्तिमा जोड हो ?
उत्पादित जनशक्ति बजारमा खपत हुने मोडल पुरानो भयो। पहिला पढेर जागिर खानुपर्छ है भन्ने थियो। अब अहिले अरुको जागिर खाने र बजारमा बिक्रीसँग सरोकार राख्दैनौं। यहाँ पढेका विद्यार्थी इन्टरपेनर बनेर विभिन्न ठाउँमा खोलेर रोजगार दिनुपर्छ। धेरै विद्यार्थीले कम्पनी खोलेका पनि छन्। आफ्नो काम गर्नुपर्छ।

यहाँ विदेशी विश्वविद्यालयमा पढ्नु भयो नेपालमा आएर कलेज सञ्चालन गर्नु भएको छ। अहिलेको शैक्षिक प्रणालीको ग्यापलाई कसरी हटाउन सकिन्छ ?
संसारलाई हेर्दा पहिलो लगानी शिक्षामा गर्नुपर्छ। हाम्रो मुलुकमा नीतिगत तहमै समस्या छ। शिक्षामा सरकारी लगानी घटेको छ। यसलाई बढाउनु पर्छ। मुलुकभित्रको शिक्षा राम्रो नहुँदा अर्बौं रुपैयाँ विदेश गएको छ। वार्षिक ७०/८० अर्ब रुपैयाँ अध्ययनका लागि विदेसिन्छ। शिक्षालाई उद्योगको रुपमा विकास गर्नुपर्छ। निजी क्षेत्रका विश्वविद्यालय खोल्नुपर्छ। सरकारले नीति परिवर्तन गर्नुपर्र्छ। अहिले बजारमा निजी कलेज खारेज गर्ने चर्चा पनि सुनिन्छ। सरकारले शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान बुझेन। सरकारमा हिजो पनि कन्फ्युज थियो आज पनि त्यही अवस्था छ। संसारमा नभएको कुरा यहाँ बोलिरहेका छन्। सरकारी विश्वविद्यालय, सरकारी स्कुल, कजेल अब्बल बनाए भैहाल्यो नि। शिक्षा लिने कुरा छनोट विषय हो।

निजी शैक्षिक संस्था धेरै नाफामुखी भए भन्ने आरोप छ। निम्न मध्यम वर्गीय तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पहुँचमा छैन भन्ने पनि छ नि ?
म निजी क्षेत्रको विद्यालय सञ्चालन गर्ने भए पनि यसको संरक्षण गर्नु जरुरी छैन। सरकारले सिस्टम बनाउनु प-यो। निजी क्षेत्रलाई यो सिस्टमबाट चल भनेर सिस्टम बनाउनु प-यो ।  निजी क्षेत्रका विद्यालयले विपन्न, अब्बल विद्यार्थीलाई विभिन्न छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरेका छन्। निजी क्षेत्रले कुल परिणामको कति प्रतिशत धानेको छ भन्ने पनि बुझ्न जरुरी छ। सरकारले काम गर्ने होइन, काम लगाउने हो। निजी क्षेत्रमा सुविधा भएकाले केही महँगो हुनु स्वाभाविक हो। घर खेत बेचेर अध्ययन गर्न विदेशको विश्वविद्यालयमा गएका विद्यार्थीलाई यहीँ रोक्न सके ठूलो उपलब्धि हुन्छ।

नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा वार्षिक करिब ८० करोड रुपैयाँ विदेसिइरहेको छ भन्नुभयो। त्यसलाई रोकेर विदेशी विद्यार्थीलाई पनि ल्याएर यहाँ अध्यापन गराउन सम्भव छ ?
सम्भव छ। सरकारले वातावरण सिर्जना गर्नुपर्छ। सबै क्षेत्रमा खुला छोड्नु पर्छ। पोलिसी गतिलो बनाउनु प-यो। यहाँ धेरै कजेज सक्षम छन्। केही शैक्षिक क्षेत्रका व्यक्तिले निजी विद्यालय बन्द गर्नुपर्छ भन्दै पनि हिँडेका छन्। त्यो कुनै रिसर्च र फाइडिङ्स होइन। व्यक्तिको ओपनियन हो। नागरिक भएर हेर्ने हो भने यो देशमा निजी संस्थाहरु चाहिन्छ। प्रणालीको विकास गरेर नियमन गर्नुपर्छ। सरकारले चाहे तुरुन्त बन्द गर्न सक्छ। त्यसो हो भने सरकारले कानुन पास गरेर जानुप¥यो। विदेश जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ।

नेपालका लागि कस्तो प्रकारको शैक्षिक मोडल चाहिएको हो त ?
शिक्षा कस्तो हुनुपर्छ भन्दा पनि त्यो देशको विकासलाई हेरेर शिक्षाको पाठ्यक्रम तयार गर्नुपर्छ। नागरिक र देशको आवश्यकता के छ भन्ने रिसर्च गरेर पाठ्यक्रम तयार गर्नुपर्छ। यहाँ अमेरिका, युकेको पाठ्यक्रम लागू गरेर हुँदैन। ती मुलुक हामीभन्दा सय वर्ष अघि छन्। हामीसँग हाइड्रो, हर्बल, खोलानाला, पहाड, खानी, हिमाल, कृषिलगायतको क्षेत्रलाई शिक्षामा समेट्नु पर्छ। स्नाकोत्तर गरेर पनि पुग्दो रैनछ। अबको शिक्षा माइक्रो लेवलबाट हुनुपर्छ। विषयगत युनिभर्सिटी हुनुपर्छ, तब मात्र शिक्षामा माथि पुग्छ।

कलेजको भावी योजना के छ ?
भावी योजना हाम्रो हातमा थियो भने विश्वविद्यालय बनाउँथ्यौं। कलेजका लागि पर्याप्त पूर्वाधार तयार गरेका छौं। दक्ष जनशक्ति छ। अब रिसर्चबेसमा गुणस्तर बढाउँछौं। विज्ञ ल्याएर अध्यापन र अनुभव शेयरिङ गराउँछौं। कसरी हुन्छ विद्यार्थीलाई नयाँ विषय दिन तल्लीन छौं।

Leave A Comment