‘मेरो जमानामा फिल्म पढ्न पाएको भए म फिल्म पढिहाल्थेँ नि ! मेरो पालामा फिल्म कलेज नै थिएन,’ वरिष्ठ कलाकार नीर शाह नोस्टाल्जिक भावमा सुनाउँछन्।
उनको समयमा फिल्म पढ्न विदेशिनुको अर्को विकल्प थिएन। सक्ने युरोप, अमेरिकातिरै लाग्थे। नसक्ने छिमेकी मुलुक भारत जान्थे। सकेसम्म छात्रवृत्ति खोज्थे।
त्यतिबेला अभिनयको अवसर पनि राम्रो थिएन। औंलाले गन्न सकिने मात्रामा फिल्म बन्थे। त्यसैले फिल्मका कोर्स पढ्ने चाहनेले सकेसम्म आफ्नै खर्चमा पढ्ने हिम्मत गर्दैनथे। किनभने अभिभावक राजी नै हुँदैनथे। त्यसैले छात्रवृत्तिमा मात्र कसैले फिल्म पढ्ने आँट गर्थे।
कोही रसियन राजदुतावासको छात्रवृतिमा ‘मस्को फिल्म कलेज’मा पढ्न जान्थे। कोही भने इन्डियन राजदूतावासको छात्रवृतिमा ‘पुणे फिल्म इन्स्च्यिुट’मा फिल्म पढ्न जान्थे। कोही कोलम्बो प्लानको छात्रवृत्तिअन्तर्गत पनि फिल्म पढ्न बाहिर जान्थे। तर, अहिले समय बद्लियो। नेपालमा बन्ने फिल्मको संख्या पनि बढ्यो, रंगमञ्च त्यत्तिकै सक्रिय छन्। निजी टेलिभिजनको संख्या बढेसँगै अभिनय कलाका प्रतिभाशालीहरु बेरोजगारै बस्नुपर्ने अवस्था छैन। अवसर बढेपछि नेपालमै फिल्मसम्बन्धी कलेजसमेत खुल्न थाले। अहिले फिल्मसँग सम्बन्धित कोर्स पढाइ हुने कलेजको संख्या नै आधा दर्जन हाराहारी छन्।
एक वर्ष भयो, सन्देश कार्कीले ‘एभरेस्ट फिल्म एकेडेमी’मा पढ्न थालेको। उनी त्यहाँ ‘डिरेक्सन’ विषयमा १ वर्षे कोर्स गर्दैछन्। उनको कोर्ष पूरा हुने अवस्थामा छ। १२ सकिना साथ उनले फिल्म अध्ययन गर्ने निर्णय लिएका थिए। सन्देशको एक साथीको बुबा सिनेमेटोग्राफर थिए। उनलाई भेटेपछि फिल्म पढ्ने रहर जागेको उनी बताउँछन्।
‘अस्कर मैले सुरु गरेँ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिनका लागि लामो संघर्ष गर्नुप-यो। कोर्स बुकहरु बनायौँ। तीन वर्षको लामो समयपछि त्यो कलेज स्थापना भयो।’ –नीर शाह
‘मलाई पनि अलिअलि रहर थियो फिल्ममा,’ उनले भने, ‘आफूले बनाएको भिडियोबाट कसैको इमोसन कन्ट्रोल गर्न सकिन्छ, हँसाउन सकिन्छ, चर्चा पनि पाइन्छ भन्ने सोचेँ। त्यसपछि फिल्म पढ्ने निर्णय गरेँ। एक वर्षे कोर्समा ‘डिरेक्सन’ पढ्दैछु। कोर्स लगभग पूरा नै भइसकेको छ। यसपछि अर्को विषयमा स्नातक गर्छु।’
प्रायः अभिभावक आफ्ना छोराछोरीलाई फिल्म पढाउन मान्दैनन्। तर १९ वर्षीय सन्देशले आफ्नो परिवारलाई मनाए।
किन मान्दैनन् त परिवार ?
सन्देशले भने, ‘यहाँ धेरै स्ट्रगल गर्नुपर्छ। फिल्म पढ्ने विद्यार्थी धेरै छन् तर नेपालमा प्रोडक्सन कम हुन्छ। त्यसैले पनि परिवारले यता भविष्य देख्दैनन्।’
नेपालको पहिलो महिला सिनेमेटोग्राफर सबनम मुखियालाई पनि सुरुमा त परिवारले फिल्म पढ्न हौसला दिएन तर फिल्ममै आफ्नो भविष्य सोचिसकेकी थिइन्। सबनमले भनिन्, ‘मलाई दाइले पढ्नको लागि प्रोत्साहन गर्नुहुन्थ्यो। तर, श्रीमान् अनि श्रीमानको परिवारबाट, फिल्म नपढ् नै भन्नु हुन्थ्यो। फिल्ममा काम नगरोस्, फिल्म नपढिदिओस् भन्नु हुन्थ्यो। मेरै जिद्दीले नै पढेँ।’ अहिले उनी फिल्म निर्देशनमा सक्रिय छिन्। परिवारले बिस्तारै बुझ्न थालेको उनी बताउँछिन्।
कसले पढाउँछन् ?
सन्देश पढ्ने संस्था ‘एभरेस्ट फिल्म एकेडेमी’को प्रमुख हुन् अभिनेता सुनिल थापा (राते काइँला)। सुनिल, ज्योत्सल राजभण्डारी (सह–संस्थापक) र विशाल श्रेष्ठ (संस्थापक) को टिमले २०७३ मा यो संस्था सुरु गरेका थिए। यहाँ अभिनय, निर्देशन, स्क्रिप्ट राइटिङ, फोटोग्राफी, सिनेमेटोग्राफी अनि भिएफएक्स भिडियो एडिटिङ लगायतका विषयमा एक वर्षे कोर्स पढाइन्छ। यो एकेडेमीबाट अहिलेसम्म ७३ जना विद्यार्थीले दीक्षा लिइसकेका छन्।
संस्थापक विशालका अनुसार तीन महिनाको अन्तरालमा एभरेष्टका विद्यार्थीको प्रयोगात्मक क्रियाकलाप हुनेगर्छ। प्रयोगात्मक काम प्रत्येक विद्यार्थीका लागि अनिवार्य हुने गरेको उनी बताउँछन्।
‘हाम्रोमा ७० प्रतिशत त हाम्रो फ्याकल्टी नै हुन्छ,’ उनले भने, ‘३० प्रतिशत थ्योरी अध्ययन हुन्छ। पुराना निर्देशक लक्ष्मीनाथ शर्माले निर्देशन, एक्टिङमा हरिहर शर्मा, सिनेमेटोग्राफीमा गौरीशंकर धुजु, प्रवीण स्याङ्गबोले इडिटिङ पढाउनुहुन्छ।’
२०/२२ वर्षको उमेर समूह फिल्म पढ्न आकर्षित देखिएको विशालको अनुभव छ। एभरेस्टबाट दीक्षित विद्यार्थीहरु कोही निर्देशनमा, कोही टेलिभिजनको टेक्निकल डिपार्टमा सक्रिय रहेको उनले बताए।
सुरुका ब्याचमा विद्यार्थीका परिवार फिल्म पढाइलाई लिएर त्यति सकारात्मक देखिदैनथे। अहिले विद्यार्थीका अभिभावकमा पनि परिवर्तन आएको विशाल बताउँछन्।
हाल अस्कर नामले प्रचलित ‘अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिज’का नामले ०६१ मा स्थापना भएको थियो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको एकमात्र फिल्म कलेज हो यो। वरिष्ठ कलाकार नीर शाहले ‘कलेज अफ फिल्म स्टडिज’को नाममा यसको स्थापना गरेका थिए।
उनले पढाएका पहिलो ब्याचका विद्यार्थी विनोद पौडेलले अहिले ‘अस्कर इन्टरनेसनल कलेज’को नाममा यो कलेज सञ्चालनमा ल्याइरहेका छन्। कलेजमा ३ वर्षे स्नातक पढाइन्छ। कलेजले निर्देशक, कलाकार, स्क्रिप्ट राइटर, सिनेमेटोग्राफर, एडिटर र साउन्ड प्रोफेसनलहरु निर्माण गर्दै आइरहेका छन्।
अस्कर, साउथ एसियामै फिल्म अध्यापन गराउने कम कलेजमध्येको एक रहेको नीरको दाबी छ। फिल्म निर्माण बढेसँगै कलेजको आवश्यकता महसुस गरेर कलेजको स्थापनाबारे सोचेको नीरले बताए।
तर, कलेज स्थापना गर्न त्यति सजिलो थिएन। यसको स्थापना गर्न निकै कठिन भएको नीरको अनुभव छ।
‘एकदमै प्राथमिकतापूर्वक फिल्म कलेज खोल्नुपर्छ भनेर लाग्यौं,’ उनले सुनाए, ‘अस्कर मैले सुरु गरेँ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिनका लागि लामो संघर्ष गर्नुप-यो। कोर्स बुकहरु बनायौँ। तीन वर्षको लामो समयपछि त्यो कलेज स्थापना भयो।’
त्यो कलेज स्थापना गर्दा नेपालको फिल्म क्षेत्रबाट त्यति धेरै उत्साहप्रद सहयोग भने थिएन।
नीरको टिमले आवश्यक कुराहरु बटुल्दै अगाडि बढ्यो। सिनेमा मेकिङलाई अन्य विषयसँगै कोर्स संरचना गरेर त्यसको मूलरुप दिन निकै कठिन थियो तर पनि अन्ततः टिम सफल भयो।
अस्करले धेरै प्रडक्ट नेपाली फिल्म क्षेत्रलाई उपहार दिएको छ। कलाकार निश्चल बस्नेत, मुकुन भुषाल, निर्देशक नरेश कुमार केसी अस्करका प्रोडक्टहरु हुन् जो अहिले फिल्म बजारमा चलेका छन्। सिनेमेटोग्राफर सुशन प्रजापति, रामराजा दहाल यही कलेजबाट दीक्षित विद्यार्थी हुन्।
निर्माता छवि ओझा अध्यक्ष रहेको अर्को फिल्मसम्बन्धी अध्यापन गराइने संस्था हो, कान्तिपुर फिल्म एकेडेमी। ०७४ देखि यो सञ्चालनमा छ।
ओझासहित प्रकाश पुरी, विमल सुवेदी, नरेशकुमार केसी, दयाराम घिमिरे, पृथ्वीराज प्रसाईं यसमा संलग्न छन्। यहाँ डिरेक्सन, एक्टिङ, सिनेमेटोग्राफी, एडिटिङ र भिएफएक्स, सर्ट टर्म वर्कसपमा डिप्लोमा अध्यापन गराइन्छ। यसमा पनि एक वर्षे कोर्स मात्र पढाइ हुन्छ।
स्नातकोत्तर तहको पढाइ छैन
नेपालमा फिल्मको स्नातक तहको पढाइ मात्र भइरहेको छ। कति संस्थाले एक वर्षको डिप्लोमा त, कतिले छ महिनाको कोर्स मात्र अध्यापन गराइरहेका छन्। तर, स्नातक सकेका विद्यार्थी स्नातकोत्तर पढ्न विदेश नै जानु पर्ने अवस्था छ। अझै पनि नेपालमा फिल्मको स्नातकोत्तर तहको पढाइ हुन सकिरहेको छैन। अब कलेजले स्नातकोत्तर तहको पढाइलाई पनि साथमा लिएर जानुपर्ने देखिएको नीर बताउँछन्।
‘फिल्म कलेज अरु पनि खुल्नुपर्छ,’ उनले भने, ‘कलेज मात्र होइन, क्रियटिभ आर्ट्सको त युनिभर्सिटी नै हुनुपर्छ भन्ने पक्षको मान्छे म त। खोल्ने भनेर सटर जस्तो हजार, लाख वटा खुलेर पनि काम छैन। त्यसका लागि पढाउने जनशक्ति पनि पाउन गाह्रो हुन्छ।’
‘अस्कर’ पहिलो ब्याचकी विद्यार्थी सबनम फिल्म पढाइमा स्नातकोत्तर आवश्यक ठान्दिनन्। भन्छिन्, ‘मास्टर पढ्नु त राम्रै कुरा हो। कतिले विदेश गएर पनि पढेर आएका छन्। फिल्म कलेजमा पढाउनलाई नै मास्टर्स गर्ने मन भए गर्दा हुन्छ तर प्रोफेसनल्ली काम गर्न ब्याचलरको पढाइले नै सहयोग गर्छ जस्तो लाग्छ।’
उता अस्कर सञ्चालक बिनोद भने दक्ष जनशक्ति शिक्षकको अभावका कारण स्नातकोत्तर तह बढाउन नसकिरहेको बताउँछन्।
‘स्नातक सकेका विद्यार्थीबाट मास्टर्सको डिमान्ड पनि आइरहेको छ तर हामीसँग पर्याप्त जनशक्ति छैन,’ उनले भने, ‘मास्टर्स पढाउन पिएचडी गरेको शिक्षक आवश्यक छ। यहाँ मास्टर्स गरेकै शिक्षक त कम भेटिन्छन्। मास्टर्स तह थप्न गाह्रो छैन तर क्वालिटी त घट्छ। विश्वविद्यालयले पनि दक्ष शिक्षक/शिक्षिका नै त खोज्छन्।’
फिल्म कलेजहरु बढेसँगै फिल्मप्रति हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको दाबी नीर शाहको छ। उनले शुक्रवारसँग भने, ‘फिल्मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन कसरी आयो त ? हिजो किन आएन ? आज कसरी आयो त ? आएको परिवर्तन यति छिट्टै समाजमा कसरी स्थापित भयो ? त्यसको पछाडि केही न केही कुराले महत्वपूर्ण योगदान गरेकै होला। ती महत्वपूर्ण योगदानमध्ये प्रमुख फिल्म कलेज र त्यहाँ पढेका विद्यार्थीको भूमिकालाई पनि मान्नुपर्छ।’
उनी फिल्म पढ्ने मोह बढेको देख्दा खुशी हुन्छन्। ‘हिजो फिल्म पढ्न गाह्रो थियो,’ उनले भने, ‘त्यो त साह्रै खुशीलाग्दो विषय हो। फिल्म क्षेत्रभित्र शिक्षित समूह बढ्दै जाओस् भन्ने परिकाल्पनाका हिसाबले नै कलेज प्रारम्भ गरेको हो। त्यसले मूर्त रुप लिएको छ र सकारात्मक परिवर्तनका संकेतहरु पनि देखाएको छ।’
अस्कर सञ्चालक विनोद विद्यार्थीमा फिल्म पढ्ने मोह बढेसँगै परिवार पनि सकारात्मक हुन थालेको बताउँछन्। सुनाए, ‘पहिला बच्चाहरुले फिल्म पढ्छु भन्दा परिवारले अनुमति दिन्थेन। अहिले फिल्म विषयमा परिवार पनि सकारात्मक भएका छन्। अहिले त फिल्ममा काम गर्न पढेर जाऊ भन्ने परिवार बढेका छन्।’
Leave A Comment