अधुरो संकल्प

बिहिबार, २६ असार २०७६, ११ : २९ शुक्रवार
अधुरो संकल्प

अभिनेत्री शिल्पा मास्के आफूले खेलेको फिल्म लगातार फ्लप भइरहदा प्रदर्शनको तयारीमा रहेको ‘सानो मन’ कस्तो होला भनेर चिन्तामा छिन्। यसअघि प्रदर्शनमा आएको ‘कागजपत्र’ र ‘द बे्रकअप’ले फिल्म क्षेत्रमा नै झण्डै ब्रेकअप दिएपछि अबको फिल्म के होला भनेर उनमा चिन्ता बढेको हो। अहिले ‘सानो मन’को प्रचारका क्रममा देश दौडाहामा रहेकी शिल्पा निकै हतारिएजस्तो देखिन थालेकी छन्।

नयाँ बानेश्वरस्थित एक प्रेस मिटमा उनले देखाएको हाउभाउले नै तनाव कुन तहमा छ भनी छर्लङ्ग पारेको थियो। तर उनले पत्रकारहरुलाई आश्वस्त पार्न खोज्दै थिइन्। उनको सुँगा रटाई थियो, ‘मैले अहिलेसम्मको राम्रो अभिनय यस फिल्ममा गरेकी छु।’

हाम्रो कामना छ, उनको यो फिल्म चाहिँ चलिदेओस्। फिल्मले राम्रो व्यापार नगरे निर्माता निर्देशकले कसरी पत्याउलान् !

उनलाई एउटै सुझाव छ, कृपया हरेक फिल्मको प्रेस मिटमा लण्डनमा बसेर एक हलिउड फिल्मको अभिनय अनुभव सुनाएर पकाउन छाडिदिऊन्। उनको भनाइ छ, ‘नेपाली फिल्ममा केही गर्ने संकल्प लिएर आएकी हुँ।’ अब पुरानो संकल्पले काम नगरेपछि केही नयाँ संकल्प पो गर्ने हो कि !
 

Leave A Comment