सेनाको घेरामा चलचित्र पुरस्कार

शनिबार, २८ असार २०७६, ०१ : ०३ शुक्रवार
सेनाको घेरामा चलचित्र पुरस्कार

तीन वर्षमा एक पटक हुन लागेको कार्यक्रम पनि शितल निवासमै। राष्ट्रपतिले पत्याइनन् कलाकारलाई। सम्मानको नाममा अपमान भएको कलाकारको दुखेको।

चलचित्र विकास बोर्डले बल्ल तीन वर्षपछि ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह’ आयोजना गर्ने भएको छ। त्यो पनि सेनाको बाक्लो सुरक्षा घेरामा।

सरकारी तहबाट कलाकारको सम्मानका लागि हुने यो एक मात्र सम्मान कार्यक्रम हो। राष्ट्रिय स्तरको कार्यक्रम भए पनि विकास बोर्डको नेतृत्वको लाचारीपनले वर्षैपिच्छे हुनुपर्ने कार्यक्रम तीन वर्षमा हुन लागेको छ, त्यो पनि सेनाको बाक्लो सुरक्षा घेरा हुने राष्ट्रपति निवास परिसरभित्रै।

सत्ताधारी दल नेकपा निकट केशव भट्टराई बोर्डको नेतृत्वमा आएपछि उनले पुरस्कार वितरणको चाँजोपाँजो त मिलाए तर काम चलाउ। व्यक्तिगत विवाह, ब्रतबन्ध जस्ता कार्यक्रममा समेत सहभागी हुन नहिच्किचाउने राष्ट्रपति विद्या भण्डारीलाई उनले सरकारी निवासबाट बाहिर आएर पुरस्कार वितरणको व्यवस्था मिलाउन सकेनन्।

बोर्डको कार्यक्रमलाई राष्ट्रपतिले नपत्याउँदा शुक्रबार हुने कार्यक्रम राष्ट्रपति निवासमै हुनेछ। कार्यक्रममा २०७३, ०७४ र ०७५ को पुरस्कार वितरण हुँदैछ। बासी कार्यक्रमका कारण कलाकारमा त्यत्ति उत्साह देखिन्न। सरकारी तहबाट वितरण हुने कार्यक्रमको स्तर सम्मान भन्दा पनि बढी अपमान जस्तै भएको धेरै कलाकारबाट टिप्पणी आइरहेका छन्।

सोही कार्यक्रममै दीर्घ साधना सम्मानसमेत दिइने तयारी छ। कलाकारहरुको राज्यको तर्फबाट हुने यो ठूलो सम्मान कार्यक्रम भए पनि बोर्डको कमजोर नेतृत्वका कारण कार्यक्रम कामचलाउ बन्ने गरेको छ। राष्ट्रिय सम्मान कार्यक्रममा २५ हजार रुपैयाँ पुरस्कार दिने तयारी छ। पुरस्कार राशि ठुलै भएझैँ बोर्ड अध्यक्ष भट्टराई प्रचारमा जुटेका छन्।

कार्यक्रमलाई भव्य बनाउने भन्दै बोर्डले विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने तयारी गरेको छ। तर सेनाको कडा सुरक्षा घेराबीच हुने कार्यक्रममा सबै कलाकारहरुको सहज प्रवेश नहुने पक्का छ।

पहिलो पटक कार्यक्रम आयोजना हुँदा तत्कालीन राष्ट्रप्रमुख रहेका ज्ञानेन्द्र शाहले शितल निवासमा कार्यक्रम आयोजना गराएनन्। उनी नयाँ बानेश्वरको सभा हलमा आएर पुरस्कार वितरण गरेका थिए २०६२ मा। २०६२ मा बोर्डका अध्यक्ष रहेका शम्भुजित बास्कोटाले नै राष्ट्रिय चलचित्र पुरस्कारको प्रारम्भ गराएका थिए। बास्कोटापछि जो जो बोर्डका अध्यक्ष भए पनि पुरस्कार नियमित हुन सकेन।

धर्मेन्द्र मरवैताले त चार वर्षको अवार्ड एकै वर्ष बाँडेका थिए २०७१ मा। राजकुमार राईले अवार्ड आयोजना त गरे तर शितल निवासभित्र सेनाकै पहरामा आयोजन गरे, जहाँ सहभागी कलाकारको कोटासमेत तोकिएको थियो।

अर्का अध्यक्ष गणेश भण्डारीले अवार्ड आयोजन गर्न वास्तै देखाएनन्। निकिता पौडेलले गफ मात्रै गरिन् अर्वाड कार्यक्रमको तर आयोजना गर्न सकिनन्। भट्टराईको पालामा अवार्ड कार्यक्रम त हुने भएको छ तर राईकै शैलीमा शितल निवासमा सीमित हुन पुगेको छ।
 

Leave A Comment