नक्कलमै रमाउँदै केकी

शनिबार, २८ असार २०७६, ०१ : ३६ भोला अधिकारी
नक्कलमै रमाउँदै केकी

अन्तर्राष्ट्रिय फम्र्याटका रियालिटी सो लोकप्रिय हुन थालेपछि फ्रेज्चाइजी किनेर प्रशारण गर्ने होड बढेको छ। भारतीय टेलिभिजनको प्रभावले भारतीय टेलिभिजनमा प्रशारण हुने अन्तर्राष्ट्रिय फ्रेन्चाइजी कार्यक्रमको लोकप्रियता ह्वात्तै बढ्यो। नेपालको लोकप्रियता हेरेर भारतीय कार्यक्रम निर्माताले नेपाली सहभागीलाई समेत प्राथमिकता दिन थाले। त्यसको सिको गर्दै नेपालमा समेत भटाभट अन्तर्राष्ट्रिय फ्रेन्चाइजी भित्रन थाले। रोडिज्, नेपाल आइडल, भ्वाइस अफ नेपाल, को बन्छ करोडपति लगायतका कार्यक्रममध्ये केही जमे भने केही फ्लप भए।

केहीले भने अन्यत्र लोकप्रिय कार्यक्रमको फ्रेन्चाइजी किन्नुको साटो नक्कल गरेर कार्यक्रम प्रशारण गर्ने गरेका छन्। ‘मुद्रेको कमेडी क्लब’ प्रारम्भदेखि नै भारतीय स्ट्यान्डअप कमेडियन कपिल शर्माको पूरै नक्कल रहेको टिप्पणी हुने गरेको छ तर उनले मौलिकको दाबी भने छाडेका छैनन्।

यसैबीच भारतीय टेलिभिजन कार्यक्रमसँग नाम र फम्र्याटसमेत मिल्ने गरी स्ट्यान्डअप कमेडी कार्यक्रम आउने भएको छ, ‘कमेडी च्याम्पियन’। यही नाममा भारतीय टेलिभिजन सहारामा ‘कमेडी च्याम्पियन्स’ प्रशारण हुने गरेको छ।

यसलाई नेपालमा ल्याएको हो ‘३ प्रोडक्सन’ले। कान्तिपुर टेलिभिजनबाट भदौबाट प्रशारण हुने कार्यक्रमका निर्देशक विशाल भण्डारीले बताए। कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यो कुनै विदेशी हास्य कार्यक्रमको फ्रेन्चाइजी नभएको दावी गरेका थिए।

नेपालको लोकप्रियता हेरेर भारतीय कार्यक्रम निर्माताले नेपाली सहभागीलाई समेत प्राथमिकता दिन थाले। त्यसको सिको गर्दै नेपालमा समेत भटाभट अन्तर्राष्ट्रिय फ्रेन्चाइजी भित्रन थाले।

तर, शुक्रवारको खोजमा उनीहरुको दावी झुटो देखियो। मौलिक दावी गरिएको कार्यक्रम भारतीय कार्यक्रमको कपी देखिएकोबारे निर्देशक भण्डारीसँग जिज्ञासा राखेपछि उनले‘ भारतीय कार्यक्रम द ग्रेड इन्डियन लाफ्टर च्यालेन्जसँग अनुमती मागेको’ दावी गरे।

अनुमती लिएको कार्यक्रम कसरी मौलिक भयो भन्नेबारे उनले हास्यास्पद जवाफ दिए‘ कमेडियन त नेपाली हुन्छन् नी।’

कार्यक्रममा निर्णायकका रुपमा वरिष्ठ हाँस्य अभिनेता सन्तोष पन्त, हाँस्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराईको चयन भइसकेको छ।

कार्यक्रम अभिनेत्री रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन्। कार्यक्रमको निर्माता अभिनेत्री केकी अधिकारी,  राज घिमिरे र सृजा थपलिया हुन्।

‘कोहलपुर एक्सप्रेस’ फिल्म नै ‘मुम्बई एक्सप्रेस’बाट नक्कल गरेको आरोप स्वीकारसमेत गरेकी केकीको यो कार्यक्रम पनि चोरीकै निस्कनु उनको लागि पक्कै सुखद् हैन।

कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा भने निर्मात्री अधिकारीले यो नेपालको उच्चस्तरीय स्ट्यान्डअप कमेडी हुने दाबी गरिन्।

यस्तो छ फम्र्याट
निर्देशक भण्डारीका अनुसार यो कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पियनको एप्स डाउनलोड गर्नुपर्ने छ। त्यसपछि नेपालबाट सहभागी हुन चाहनेले सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डअप कमेडी भिडियो क्लिप र विदेशबाट ५ मिनेटको सम्पादन नभएको भिडियो क्लिप पठाउनुपर्ने छ।

यिनै भिडियो क्लिपको आधारमा चयन भएका सहभागी विभिन्न शहरमा हुने अडिसनमा सहभागी हुन सक्ने छन्। अडिसनबाट चयन भएकामध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट तीनलाई फाइनलमा उतार्ने कार्यक्रमको फम्र्याट रहेको उनले बताए।

उत्कृष्ट तीनबाट दर्शकको भोट  र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पियन घोषणा गरिने छ। कमेडी च्याम्पियनको उपाधि विजेताले २५ लाख रुपैयाँ बराबरको कार र २५ लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले बताए।

Leave A Comment