जब छोड्यो देश, बिकिनीमा प्रवेश

सोमबार, ३० असार २०७६, ११ : ११ रीना माेक्तान
जब छोड्यो देश, बिकिनीमा प्रवेश केकी, रिमा र बिनिशा समुन्द्री तटमा।

‘नाईं नभन्नु ल २’ फिल्मबाट डेब्यु गर्दा नायिका वर्षा सिवाकोटीको छवि इनोसेन्ट लेडीको थियो। पहिलो फिल्मबाट उनी त्यत्ति नोटिस हुन सकिनन्। दोस्रो फिल्म ‘पशुपतिप्रसाद’मा सोलो रोलमा देखिएपछि धेरैले उनलाई मन पराए। इनोसेन्ट स्कुल गर्लको भूमिकामा फिट देखिएकी थिइन् उनी।

पर्दामा जस्तो देखिन्थिन् उनी वास्तविक जीवनमा पनि उस्तै थिइन्, इनोसेन्ट। फिल्म क्षेत्रमा ग्ल्यामर पनि चाहिन्छ नै तर न रिलमा उनी ग्ल्यामर छविमा देखिइन् न सार्वजनिक कार्यक्रमहरुमै।

एकाएक फेसबुकमा उनको एउटा तस्बिर सार्वजनिक भयो, जसले उनको पब्लिक इमेज नै परिर्वतन गरिदियो, इनोसेन्ट गर्लबाट ग्ल्यामर गर्ल।

उनी कालो पातलो स्ट्र्यापी सन ड्रेसमा देखिएकी थिइन्, क्रोएसियाको समुद्र किनारमा। स्वदेशमा भने उनका त्यस्ता तस्बिर सार्वजनिक भएनन्। ब्लोअपहरुमै समेत उनी ड्रेसमा निकै कन्सस देखिइरहिन्।

उनी त पातलो गाउनमा न देखिएकी हुन्, अधिकांश नेपाली नायिकाहरु स्वदेशमा ड्रेसमा निकै नखरा गर्छन् तर विदेशी भूमिमा टेकेलगत्तै खै के हुन्छ कुन्नी, उनीहरुलाई भटाभट बिकिनीमा निर्धक्क देखिन्छन्। तस्बिर खिचाउँछन् अनि आफैँ सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्छन्।

विदेशी भूमिमा मन सम्हाल्न नसक्ने अभिनेत्रीमै पर्छिन्, अभिनेत्री स्वस्तिमा खड्का पनि। हालै अस्ट्रेलिया पुगेकी उनी समुद्र किनारमा पुगेर स्विम ड्रेसमा तस्बिर खिचाइन् र आफैँले सेयर गरिन्। नेपालमा रहँदा उनका यस्ता तस्बिर देखिएको थिएन।

रातो क्रपटप र सेतो स्कर्टमा खिचिएको उनको सेक्सी फोटो सामाजिक सञ्जालमा भाइरल भइहाल्यो। उफ्रँदै गरेको, घोप्टो परेर आराम गर्दै गरेका पोज पोजका तस्बिर सार्वजनिक भए। तस्बिरकै कारण केही समय उनी मिडियामा छाइन् पनि। धेरैले उनको त्यो बोल्ड अवतारको प्रशंसा गरे।

सामाजिक सञ्जालतिर समुद्रमा गएर खुलेकी सेलेब्रेटी खोज्दै जाँदा सुरुमै आँखा प-यो अभिनेत्री प्रियंका कार्कीमा। प्रियंकाले समुद्री तटमा प्रशस्तै तस्बिर खिचाएकी छन्। पौडिन रुचाउने प्रियंका पानी भन्नासाथ हुरुक्कै हुन्छिन्। शुक्रवारसँगको कुराकानीमा उनले आफूलाई ‘वाटर बेबी’ बताएकी थिइन्। त्यसैले त यी ‘वाटर बेबी’का समुद्रको किनार होस् या स्विमिङ पुल, त्यहाँ पुग्नेबित्तिकै ‘पौडिहाल्छिन्’।

उनी अन्य अभिनेत्री भन्दा अलि भिन्न छिन्। बिकिनीमा सजिनका लागि उनलाई विदेशी समुद्र किनारै आवश्यक पर्दैन। यतै स्वदेशमा पनि मज्जाले तस्बिर खिचिरहेकी हुन्छिन् उनी। कहिले आउटरसहित त कहिले आउटरबिना नै।

हालै उनले कालो रङको टु पिसमा रुस्लान् क्यालेन्डरका लागि फोटोसुट गराएकी थिइन्। उनले इन्डोनेसियाको बालीमा खिचेका तस्बिरले एक समय यताको मार्केट खुबै तताएको थियो। अझ, इन्गेजमेन्ट भएका अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठसँग खिचाएको अन्तरंग दृश्यले त तहल्कै पिट्यो। कतिले बिहेअगावै हनिमुन भनेर पनि तस्बिरको टिप्पणी गरे। तर, प्रियंकालाई यस्ता कुराले छुँदैन। बाल मतलब दिन्छिन् उनी।

‘अरुको ध्यान आफूतिर तान्न प्रायः अभिनेत्रीहरु यस्तो गर्छन्। कति कलाकार विदेश जानासाथ गसिप बन्नका लागि समेत यस्तो चर्तिकला गर्छन्।’
– फिल्म समीक्षक दीपेन्द्र लामा

नेपालमा रहँदा सोझी देखिने अन्य अभिनेत्रीहरु भने जब विदेशी भूमिमा टेक्छन्, किन एकाएक उन्मत्त हुन्छन् ? फिल्म समीक्षक दीपेन्द्र लामाको विश्लेषणमा अरुको ध्यान आफूतिर तान्न प्रायः अभिनेत्रीहरु यस्तो गर्छन्। कति कलाकार विदेश जानासाथ गसिप बन्नका लागि समेत यस्तो चर्तिकला गर्ने गरेको उनको बुझाई छ।

‘अरुको ध्यान आफूतिर केन्द्रित गर्न पनि त्यस्तो गरेको हुनसक्छ,’ लामाले भने, ‘सायद मानसिक तनावबाट मुक्त हुन, अलिकति खुलेर आफूलाई अभिव्यक्त गरेको पनि हुनसक्छ।’

मनोविद् गोपाल ढकालको मतानुसार व्यक्तिले स्वतन्त्रताको अनुभव गरेलगत्तै मनभित्र दबेर बसेको इच्छा पूरा गर्न चाहन्छ। विदेश पुगेलगत्तै नेपाली नायिकाहरु बिकिनी अवतारमा देखिनुको कारण दमित इच्छा अभिव्यक्त गरेको कोणबाट उनले यसलाई विश्लेषण गरे।

‘व्यक्तिले स्वतन्त्रताको अनुभव गरेलगत्तै मनभित्र दबेर बसेको इच्छा पूरा गर्न चाहन्छ। विदेश पुगेलगत्तै नेपाली नायिकाहरु बिकिनी अवतारमा देखिनुको कारण दमित इच्छा अभिव्यक्त गरेको पनि हुनसक्छ।’
–मनोविद् गोपाल ढकाल

‘जहाँ गयो त्यहीँको माहोल अनुसारको व्यवहार गरेको पनि हुनसक्छ,’ ढकालले भने, ‘नेपालमा पनि बिकिनीमा तस्बिर खिचाउन नसकिने हैन तर यता खिचाउँदा बहाना नपाइने र सो अनुसारको वातावरण पनि नमिलेको कारण पनि हुनसक्छ।’

नेपालमा सोझी देखिने अभिनेत्रीहरु विदेश पुगेलगत्तै किन वाइल्ड देखिन्छन् भन्ने जिज्ञासामा अधिकांशको रेडिमेड उत्तर हुन्छ, ‘समुद्रमा पनि सारी लगाएर जानु त ?’

तर समुद्रमा मात्रै हैन, सारी लगाएर सहभागी हुँदा पनि फरक नपर्ने कार्यक्रममा पनि केही अभिनेत्रीले आफ्नो ‘हलिउड अवतार’ देखाउने गरेका छन्। अभिनेत्री वर्षा राउतको केही महिना अगाडि सार्वजनिक तस्बिर किम कार्दसियनको भन्दा कम थिएन।

बबिप्रिन्ट गाउनमा रहेकी उनले आफ्नो वक्षस्थललाई किमकै शैलीमा स्वतन्त्र छाडिदिएकी थिइन्। त्यत्ति मात्रै हो र ? उनले जिब्रो देखाउँदै तस्बिरसमेत खिचाइन्। हिजोआज खुबै चल्तीमा रहेको सो ‘एक्ट’को सन्देश भने ‘स्यास्सी’ मानिन्छ। जसको अर्थ हो, सेक्सुअल प्रोभोकेसन।

बर्षा सिवाकाेटी

उनको सो तस्बिर खुबै ट्रोल भयो। सामाजिक सञ्जालमा पक्षविपक्षमा तातो बहससमेत निम्त्यायो। उनले दुःख व्यक्त गरिन्। तस्बिरले ल्याएको विवादले आफू डिप्रेसनमा परेको दाबीसमेत गरिन्। उनका नवविवाहित श्रीमान् सञ्जोग कोइराला उनको पक्षमा उभिए।

उनको तस्बिर भाइरल हुनुको कारण त्यसअघि नेपालमा ‘त्यस्ता’ पोशाकमा खासै खुल्दिन थिइन्। सार्वजनिक हुन् या निजी कार्यक्रम हुन्, उनले पहिरिने पोशाकले हलिउडको झल्को दिँदैनथ्यो। अस्ट्रेलिया पुग्नेबित्तिकै एक्कासि उन्मक्तताको छनक दिँदा छक्क परेकाहरु कोही समर्थनमा उभिए भने कोही विपक्षमा।

फिल्म ‘कृ’मा अभिनेता अनमोल केसीसँग अभिनय गरेकी अदिति बुढाथोकी बलिउडमा संघर्षरत छिन्। फिल्म अवधिभर नेपालमा बस्दा उनको बोल्ड अवतार देखिएन। फिल्म चलेन। उनी संघर्ष गर्न मुम्बई नै फकिईन्। त्यसपछि सार्वजनिक हुन थाले उनका आइटम आइटमका बिकिनी तस्बिर। उनका केही तस्बिर समुद्र किनार, स्विमिङ पुलका छन्। केही बन्द कोठाकै।

अब, समुद्रमा खुल्ने अभिनेत्रीहरुको भीडमा शुष्मा कार्कीको नाम कसरी छुटाउनु ? उनी यतैतिर पनि पनि हट तस्बिर खिचाउन माहिर नै हुन्। उनी यतै खुल्न हिच्किचाउँदिनन् भने विदेशी भूमिको समुद्रमा नखुल्ने त कुरै भएन। उनले भनिन्, ‘मलाई समुद्रमा जान मनपर्छ।’

अभिनेत्री पूजा शर्माले थाइल्याण्डको समुद्री किनारमा खिचाएको तस्बिरले एक समय फिल्म क्षेत्रमा सन्सनी मच्चाएको थियो। उनको बिकिनी अवतारको लामै समय चर्चा भएको थियो। खै किन हो, उनले आउटर भने छाडेकी थिइनन् है !

बेनिशा हमाल, केकी अधिकारी, रीमा विश्वकर्मा थाइल्याण्ड पुगेर बिकिनी अवतारमा देखिएका थिए। प्रायः यताको ककटेल पार्टीमा खान्न भन्दै छड्कने उनीहरुले समुद्र किनारमा वाइनको चुस्की लिएको तस्बिर सामाजिक सञ्जालमा पोस्टिन धक मानेनन्। 

विदेश जाँदा समुद्री किनारमा बिकिनी अवतारमा देखिइरहने अभिनेत्री बेनिशा हमाल समुद्रमा गएर बिकिनी लगाउनु सामान्य नै भएको बताउँछिन्।

‘अब नेपालमा समुद्र पनि छैन,’ उनले स्पष्टीकरण दिँदै भनिन्, ‘अब हाम्रो समाज पनि त कन्जरभेटिभ छ। त्यसैले कलाकार विदेश गएको बेलामा समुद्रमा खुलिरहेका हुन्छन्।’

वर्षा सिवाकोटी विदेशमा नेपाली कलाकार भनेर कसैले नचिन्ने भएकाले स्वतन्त्र भएर प्रस्तुत हुने गरेको बताइन्।

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह पनि विदेश पुग्दा समुद्र जान छुटाउँदिनन्। त्यस्तै अभिनेत्री मरिष्का पोख्रेल पनि विदेशी समुद्रमै गएर खुलिन्।

मनोविद् ढकाल स्वदेशमा एउटा छवि विदेश पुगेलगत्तै अलग्गै देखिनु कुण्ठासमेत कारण हुने बताउँछन्। ‘नेपालमा रहँदा खुल्न नपाउँदा त्यो कुण्ठा समुद्री किनारमा पोखेको पनि हुनसक्छ,’ उनले भने, ‘त्यहाँको समाज र वातावरणले प्रोत्साहित गरेको पनि हुनसक्छ।’

कुण्ठा मेट्न या रहरले तस्बिर खिचाए। ल ठीकै छ तर आफैँ सामाजिक सञ्जालबाट किन सेयर गर्छन् त ?

मनोविद् ढकाल यसलाई भने चर्चामा आउने सजिलो माध्यमको रुपमा अथ्र्याउँछन्। तस्बिर खिचाएर लुकाएर राख्दा के नै हुन्छ र ? सार्वजनिक ग-यो भने चर्चा हुन्छ भनेर पनि यस्तो गर्ने प्रवृत्ति देखिने उनले बताए।

‘यस्तो अवस्थामा चर्चामा आउने उनीहरुको मनोविज्ञानले काम गरिरहेको हुन्छ। आफ्नो सुन्दरता देखाउने माध्यम पनि हो त्यो,’ उनले भने। 

‘यता खुल्नै पाइदैन’
वर्षा सिवाकोटी

नेपालमा त त्यस्तो ओपन हुन पाइँदैन। यहाँ अर्कै किसिमले हेरिदिन्छन्। यहाँ त कस्तो लुगा लगाउने त्यो पनि सोच्नुपर्ने हुन्छ। तर, विदेशमा हामी स्वतन्त्र हुन्छौं। नेपालमा त कसैले चिन्ला भनेर मास्क लगाउनुपर्छ। विदेशमा कसैले चिन्दैन पनि।

स्वतन्त्र भएर मन लागेको लुगा लगाउन पाउँछौँ। अब त्यही कुराको नकारात्मक टिप्पणी हुन्छ जस्तो मलाई लाग्दैन। म सकारात्मक भएर नै हेर्छु त्यो विषयलाई। अब समुद्रमा पौडिन साडी लगाएर जानु भएन नि त ! ठाउँ अनुसारको पहिरन  लगाउनै प-यो।


Leave A Comment