आदेश हैन, वातावरण तयार गरौँ

सोमबार, ३० असार २०७६, ११ : ४२ शुक्रवार
आदेश हैन, वातावरण तयार गरौँ

रश्मिला कासुला, सहायकप्राध्यापक (बालमनोविद्)

भर्खरै माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल प्रकाशन भयो। पास फेल नहुने भए पनि कुन ग्रेड ल्याएकाले के पढ्ने, के नपढ्ने भनेर छुट्ट्याइएको छ। त्यसैको आधारमा विषय छनोट गरिन्छ। पहिले एसएलसीलाई ‘फलामे ढोका’ मानिन्थ्यो। अभिभावक, विद्यार्थी, शिक्षक र राज्यको बढी ध्यान अन्य तहको पढाइमा भन्दा १० पछिको नतिजालाई जान्थ्यो। अहिले १२ सम्मको पढाइलाई माध्यमिक तह माने पनि एसइईको नतिजाको महत्व घटेको छैन। विषय छुट्ट्याएर कुन विषय पढ्ने भन्ने निधो गर्ने बेला पनि यही हो।

कक्षा ११  मा अध्ययन गर्ने बहुसंख्यक विद्यार्थीहरूको उमेर १५/१६ वर्षका हुन्छन्। मनोविज्ञानअनुसार यस उमेर समूहलाई किशोरावस्था वा बोलीचालीको भाषामा टिन एज पनि भन्ने चलन छ। स्वाभाविक रूपमा यो उमेरमा हरेक व्यक्तिको शारीरिकसँगै मनोभावनामा निकै उथलपुथल र संवेगहरू तरंगित हुने गर्छ।

शारीरिक पक्षमा देखिने परिर्वतन
शरीरभित्र पियुषग्रन्थि (पिट्युटरी ग्लान्ड) र यौन उत्तेजनात्मक ग्रन्थि (गोनाडोट्रपपिक हार्मोन) उत्पादन शुरु हुने कारण पनि विशेष संवेगात्मक (सोचाइ, बुझाइ, दृष्टिकोण) मा परिवर्तन आउँदा हरेक पाइलामा भ्रमित, असुरक्षित र अप्ठेरो अनुभव गर्छन्।  झर्कोफर्को गर्ने, रिसाउने, चिडचिडाहट आउने तथा परिवार र समाजका अन्य आवश्यकता, व्यक्तिका मूल्यमान्यता र नीतिनियमलाई ख्याल राख्न मन नपराउने हुन्छन्।  उही उमेरका साथीसंगी (पियर ग्रुप)बाट विशेष प्रभावित हुन्छन्।

मानसिक अवस्थामा देखिने परिर्वतन
शारीरिकसँगै मनस्थिति पनि उमेरअनुसार परिर्वतन हुँदै जान्छ। यो उमेर समूहका किशोरकिशोरी आफू ठूलो भइसकेको अनुभव गर्छन्। आफ्नो विषयमा आफैँ निर्णय लिन खोज्छन् तर सक्दैनन्। उमेरकै कारण उनीहरुको मनस्थितिमा पनि हलचल उत्पन्न हुन्छ।

कहिलेकाहीँ एकदमै धेरै आत्मविश्वास महसुस गर्ने र कहिलेकाहीँ एकदमै कमजोर  महसुस गर्ने गर्छन्। वास्तवमा परिपक्व र दूरदर्शी निर्णय लिन सक्दैनन् पनि। उनीहरुको  मनस्थिति अस्थिर हुन्छ। वयस्क उमेरमा प्रवेश गर्ने संक्रमणकालीन उमेर भएकाले अधिकांश बानी, व्यवहार र धारणाले नयाँ स्वरूप ग्रहण गर्न सुरु गरेको हुन्छ।

सही मार्ग निर्देशन र सहयोगले जो कोही विद्यार्थीले मन र मस्तिष्कलाई एउटै विन्दुमा राखी सृजनात्मक र सीपमूलक अध्ययन गर्नमा सफल हुन्छन्। विद्यार्थीको लक्ष्यलाई समेटेर प्रतिभा र कार्यदक्षतालाई पुनर्बल प्रदान गर्न सक्नु शिक्षकको सफलताको पहिचान हो। यो कुरा शिक्षकले बुझाउन जरुरी छ। 

कल्पना शक्ति अधिक विकास भई इच्छा आकांक्षाहरू उच्चबिन्दुमा पुगेको हुन्छ। यस्ता स्वभाव मनोविज्ञानको दृष्टिकोणले स्वाभाविक हो। यो उमेरमा सम्मानित पेसा अपनाउने चाहना हुन्छ। आफ्नो समाजमा प्रचलित मान्यताअनुसार उच्च तहका पेशामा जस्तै डाक्टर, वैज्ञानिक, इञ्जिनियर, कलाकार, साहित्यकार, व्यापारी बन्ने आकांक्षाले दिन–रात छट्पटिरहेको हुन्छ। सोही अनुरूपको वातावरण प्राप्त गर्न नसक्दा व्यग्रता, अन्योल, निराशापन, उदासिनता,  तनाव र भयभित अवस्थामा पुगेको देखिन्छ।

उमेरगत रुपमा यस्तो परिर्वतन देखा पर्नु स्वाभाविक हो। केही किशोरकिशोरीका अभिभावकले यो कुरा राम्ररी बुझेका हुन्छन्। उनीहरु हतासिएको अवस्थामा सम्झाउने बुझाउने गर्छन् तर धेरैजसो अभिभावकले उनीहरुको मनोभावना बुझेको देखिँदैन। जसले गर्दा यो उमेरमा कुलतमा फँस्ने,  लागूऔषध सेवन गर्ने, आपराधिक गतिविधिमा संलग्न हुने, कसैकसैले त आत्महत्याको निर्णय लिनेसम्म गर्छन्।

अभिभावक र शिक्षकको कस्तो भूमिका हुने ?
हाम्रो समाजमा हरेक बुबाआमाका लागि आफ्ना छोराछोरी आकांक्षा र अपेक्षाको केन्द्र हुन्। आफ्ना छोराछोरीको ज्ञान र प्रतिभा विकास गराउन उनीहरुको पूर्ण प्रयास रहन्छ। आफ्ना सन्तानलाई आफूभन्दा योग्य, प्रतिष्ठित, प्रभावशाली, सम्पन्न र प्रतिभावान् बनाउन चाहन्छन्।

आफ्नो बुढेसकालको सहारा सम्झी त्यहीअनुरूपको लायक पनि बनाउन चाहन्छन्। तर अफसोसः हाम्रो समाजमा बुबाआमाले सन्तान हुर्काउने र पालनपोषण तथा शिक्षा दिने मामिलामा सहयोगी भई दिशाबोध गराउनेभन्दा आदेशले हुर्काउने चलन छ। हरेक सन्तान जन्मसिद्ध अन्तर्निहित विशिष्ट प्रतिभा र क्षमता लिएर जन्मेका हुन्छन् भनी मनोविज्ञानले प्रमाणित गरिसकेको छ। अभिभावकले आफ्ना सन्तानको प्रतिभालाई बुझ्न र अगाडि बढाउन चुकिरहेकै देखिएको छ।

+११ कक्षामा अध्ययनका लागि विषय र कलेज छनोट गर्न अभिभावकले आफ्ना छोराछोरीलाई आफ्नो पारिवारिक क्षमता, आर्थिक हैसियतको आधारमा लक्ष्य निर्धारण गर्न दिशाबोध र आत्मबोध गराउनुपर्छ। आफ्ना छोराछोरीको इच्छा, चाहना, अभिरुचि, क्षमता र सिक्नका लागि तत्परतालाई पहिचान गरी हरेक परिस्थितिलाई समायोजन गर्न सक्ने साहस र उत्प्रेरणा दिनुपर्छ।

अभिभावकले नियन्त्रणभन्दा बढी निगरानी राख्नुपर्छ। परिवारले अध्ययनको लागि दबाब, आदेश भन्दा वातावरण र परिवेश तयार गरिदिनुपर्छ।

आभिभावकले नियन्त्रणभन्दा बढी निगरानी राख्नुपर्छ। परिवारले अध्ययनका लागि दबाब, आदेश भन्दा वातावरण र परिवेश तयार गरिदिनुपर्छ। अध्ययन, अनुभव र अभ्यासले सिकिएका जुनसुकै विषयमा सिकिएका सैद्धान्तिक कुरालाई विशिष्टीकरण, आधुनिकीकरण र वैज्ञानिकीकरणमा परिणत गर्न सक्नु नै मुख्य सफलता हो। आजको विश्व जगतमा हरेक पेशाको महत्व उत्तिकै उच्च छ। चिकित्सकदेखि कुचीकारसम्मको महत्व उत्तिकै छ। कुनै पनि पेशामा आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न सक्ने सीप र कला चाहिन्छ।

हिजोको समाजमा तल्लो जातले गर्ने काम भनेर हेयको दृष्टिले हेर्ने सिलाइ पेशालाई आधुनिकीकरण गर्दा बुटिक र फेशन डिजाइनर तथा गार्मेन्ट्री मास्टर भनी कति इज्जतदार र नाफामूलक पेशामा परिणत गरिसकेका छन्। हिजोको समाजमा मासुको व्यापार गर्नेलाई ‘कसाही’ भनेर तल्लो स्तरमा राखिन्थ्यो भने आज आधुनिकीकरण र वैज्ञानिकीकरणले हाइजिनिक मिट मार्ट भनी शान झल्काउन सक्षम भएका छन्।

स विषयलाई अझै प्रस्ट पार्न बीसौं शताब्दीका वरिष्ठ मनोवैज्ञानिक इरिक एच. इरिक्सनको पहिचानमा संकटको सिद्धान्तको मर्म/आशय सान्दर्भिक हुन्छ। इरिक्सनको यो सिद्धान्तअनुसार यो उमेरमा किशोरकिशोरीले आफ्नो पहिचान, चिनारी, जीवनको अर्थको बारेमा चिन्तन र मनन् गरेका हुन्छन्। ‘म को हुँ ?’, ‘म कसरी टिक्न सक्छु ?’ ‘मेरो जीवन कता गइरहेको छ ?’ जस्ता आफ्नो बारेमा प्रश्न र प्रतिप्रश्नको प्रहारले आफ्नो व्यक्तित्वले एवं व्यावसायिक अस्तित्व र पहिचान कायम गर्न कोसिस गरेको हुन्छ। उक्त मनोवैज्ञानिकको सिद्धान्तअनुसार यदि बुबा–आमाले आफ्ना सन्तानलाई आफैँ अनुसन्धान गर्न दिएमा आफ्नै निर्णायक पहिचान कायम गर्न सक्छन्। आमाबुबाको इच्छा र चाहनाअनुरूप धक्का वा दबाब दिएमा छोराछोरीहरू मनोवैज्ञानिक संकटमा पर्छन्। जीवनभरका लागि आफ्नो चिनारीप्रति हीनताबोध र आत्मग्लानिले अन्योलमा पर्छन्।

बीच बाटोमा आँटिएर वा संकटमा परी एउटा संकायबाट अर्को संकायमा पढ्न जाने र कलेज नै फेर्न खोज्छन्। परिस्थिति अनुरूप आफ्नो कार्यक्षमता र दक्षतालाई संयमता कायम गर्न नसक्दा उदासिनताको सिकार बन्न पुग्छन्। व्यक्तित्वमा विचलन, आघात जस्ता मनोवैज्ञानिक समस्या (मनोरोग) लाग्न सक्छ।

वयस्क उमेरमा पुगि सक्दा पनि कुनै किसिमका पेशामा टिक्न नसक्ने मात्र नभई असल र कुशल अभिभावकको भूमिका पनि निभाउन नसक्ने असामान्य व्यक्तित्व देखा पर्छ।  जसलाई इरिक एच. इरिक्सनले आइडेन्टी भर्सेज रोल कन्फ्युजन भनी नामकरण गरेका छन्।

अभिभावक तथा शिक्षकले उनीहरुको मनस्थितिलाई ध्यान पु-याउँदै व्यवहार गरे, यो उमेरमा परेको प्रभाव पछिसम्म परिरहन्छ।

हरेक कलेजले कुनै पनि विद्यार्थीलाई विषय छनोट गर्न हरेक संकायको विशेषता र अध्ययन पछिको कार्यक्षेत्र अनिवार्य दक्षताको आधारहरूलाई प्रस्ट मार्ग निर्देशन दिनु महत्वपूर्ण पक्ष हो। कुनै पनि विषयको विद्यार्थीलाई सैद्धान्तिक ज्ञानलाई कसरी पेशामा र व्यवहारमा लागू गर्ने, पेशागत रूपमा विशिष्टीकरण र आधुनिकीकरण गर्ने भन्ने बारेमा ध्यान पु-याउनु पर्ने देखिन्छ। 

सही मार्ग निर्देशन र सहयोगले जो कोही विद्यार्थीले मन र मस्तिष्कलाई एउटै विन्दुमा राखी सृजनात्मक र सीपमूलक अध्ययन गर्नमा सफल हुन्छन्। विद्यार्थीको लक्ष्यलाई समेटेर प्रतिभा र कार्यदक्षतालाई पुनर्बल प्रदान गर्न सक्नु शिक्षकको सफलताको पहिचान हो। यो कुरा शिक्षकले बुझाउन जरुरी छ। 

अन्योल र अन्तरद्वन्द्वात्मक मनस्थितिका विद्यार्थीलाई यथार्थपरक दिशाबोधले आकर्षक सोच, प्रभावकारी आवरण सान्दर्भिक ‘स्मार्ट थिंकिङ गुड लुकिङ एन्ड दि लेटेस्ट लुकिङ’ हुन सहयोग र प्रेरणा दिनु जरुरी हुन्छ। व्यक्तित्व विकाससम्बन्धी साक्षात्कार र प्रशिक्षण कलाले विद्यार्थीको सपनालाई साकार गर्न मद्दत पुग्छ।

Leave A Comment