'सगोलको सम्पत्ति हस्तान्तरणमा सहमति चाहिन्छ'

सोमबार, ३० असार २०७६, ०१ : २६ शुक्रवार
'सगोलको सम्पत्ति हस्तान्तरणमा सहमति चाहिन्छ'

स्विकृती बराल, अधिवक्ता

म मेरो सम्पूर्ण सम्पत्ति सामाजिक कामका लागि दिन चाहन्छु। मलाई आफ्नो इच्छाअनुसार आफ्नो सारा सम्पत्ति अरुको नाममा हक हस्तान्तरण गर्न कानुनले अधिकार दिएको छ वा छैन ? यसका लागि के गर्नुपर्छ ?
कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति अन्य व्यक्तिलाई  बिक्री, दान, बकस वा अन्य कुनै तवरले हस्तान्तरण गरी दिएमा त्यस्तो सम्पत्ति पाउने व्यक्तिको नाममा त्यस्तो सम्पत्ति हस्तान्तरण भएको मानिन्छ।

करार गर्न अक्षम व्यक्तिबाहेक अन्य जुनसुकै व्यक्तिले ऐनको अधिनमा रही आफ्नो हक र स्वामित्वको सम्पत्ति हस्तान्तरण गर्न सक्नेछ। कुन–कुन अवस्थामा सम्पत्ति हस्तान्तरण गर्न मिल्छ र कुन अवस्थामा मिल्दैन भन्ने कुरा मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद ११ मा उल्लेख छ। सम्पत्ति हस्तान्तरण गर्दा तत्काल वा शेषपछि  हक हुने गरी हस्तान्तरण गर्न सकिन्छ।

सम्पत्ति हस्तान्तरण गर्दा कानुनको रीत पु-याई लिखत गर्नुपर्छ। एक लाख रुपैयाँसम्मको नगद वा कुनै चल सम्पत्ति दान वा बकस गर्दा लिखत गर्नु पर्दैन।

मुलुकी देवानी संहिता, २०७४ को दफा ४१७ अनुसार कुनै व्यक्तिले आफ्नो निजी सम्पत्ति कसैको मन्जुरी नलिई अरुलाई हस्तान्तरण गर्न सक्छ तर सगोलको सम्पत्ति हो भने सगोलको अंशियारको लिखित मन्जुरी नलिई हस्तान्तरण गर्न पाउँदैन। तर सगोलको अंशियार लिखतमा साक्षी बसेको भए निजको मन्जुरी लिएको मानिन्छ।

सगोलको सम्पत्तिमा परिवारका प्रत्येक सदस्यको हक लाग्ने हुन्छ। आफूलाई इच्छा लाग्यो भन्दैमा अरु अंशियारलाई नसोधी उनीहरुको हक मर्ने गरी सम्पत्तिको  हस्तान्तरण गर्न पाइँदैन। कसैले सगोलको सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो सम्पत्तिमा हस्तान्तरण गरेको व्यक्तिको सम्पत्तिमा जे जति हक वा हिस्सा छ त्यति मात्र हक हस्तान्तरण भएको मानिन्छ ।

इच्छाअनुसार हस्तान्तरण गर्नका लागि हस्तान्तरण गर्ने सम्पत्तिमा उसको मात्र हक लाग्ने हुनुपर्छ। जस्तै उसको परिवारमा अरु पनि सोही सम्पत्तिको अंशियार हुन् भने आफ्नो खुसीले मात्र सम्पत्तिको हक हस्तान्तरण गर्न पाउनु हुन्न तर संयुक्त सम्पत्ति हस्तान्तरण गर्दा सबै स्वामित्ववालाहरुले मन्जुरी दिए हस्तान्तरण गर्न मिल्छ। मुलुकी देवानी संहिताको दफा ४२१ ले अर्काको सम्पत्ति हस्तान्तरण गर्न नहुने कुरा स्पष्ट रुपमा उल्लेख गरेको छ। अरुको हकको सम्पत्तिविपरीत कसैले अरुलाई हस्तान्तरण गरेमा त्यस्तो लिखत वा कारोबार बदर हुन्छ।

घर व्यवहार चलाउनैका लागि सम्पत्ति बेचबिखन वा हस्तान्तरण गर्नु परेको अवस्थामा हो भने घरको मुख्य व्यक्तिलाई घर व्यवहारका लागि चल सम्पत्तिमा सबै र अचल सम्पत्तिमा आधासम्म कसैको मन्जुरी नलिइकन सगोलको सम्पत्ति बिक्री गर्न कानुनले अधिकार दिएको छ।

यदि कसैले आफ्नो हक नलाग्ने सम्पत्ति हस्तान्तरण गरेमा वास्तविक हक लाग्ने दाबी गरेमा सम्पत्ति  प्राप्त गर्ने व्यक्तिले त्यस्तो सम्पत्ति सम्बन्धित स्वामित्ववालालाई फिर्ता दिनुपर्ने हुन्छ। हराएको वा चोरी भएको सम्पत्ति कसैले फेला पारेको भए त्यस्तो सम्पत्तिको स्वामित्ववालाले आफ्नो सामान हराएको वा चोरी भएको तीन वर्षभित्र त्यस्तो सम्पत्तिमा आफ्नो स्वामित्व रहेको सबुतसहित दाबी गर्न पाउँछ।  हक हस्तान्तरणसम्बन्धी केही उजुरी गर्नु परेमा यस्तो काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले ५ महिनाभित्र नालिस गर्नु पर्दछ।

Leave A Comment