‘हाम्रो मिटरको भाउ बढेन’

मङ्गलबार, ३१ असार २०७६, ११ : ०२ शुक्रवार
‘हाम्रो मिटरको भाउ बढेन’ श्रीराम लामा, नाइट ट्याक्सी चालक।

श्रीराम लामा, नाइट ट्याक्सी चालकः बा १ ज २१४४

ट्याक्सी लाइनमा आउनुभएको कतिभयो ?
ट्याक्सी चलाउन थालेको १५/१६ वर्ष भयो तर गाडी लाइनमा आएको निकै भयो। १६ वर्षको उमेरदेखि नै गाडी लाइनमा छिरेको हुँ। सुरुमा मैले साहुको ट्याक्सी चलाउँथे।

यो ट्याक्सी आफ्नै हो कि साहुँको ?
अहिले आफ्नै ट्याक्सी चलाउँछु। दिनको हजार रुपैयाँ ट्याक्सी साहुलाई तिर्नु पथ्र्यो। बिस्तारै बढाएर १५ सय बनाए। मैले कमाएर दैनिक साहुलाई १५ सय तिर्नुभन्दा बरु आफैँ गाडी किन्छु  र साहुलाई दिने पैसा बैंकलाई दिन्छु भन्ने मनमा लाग्यो। त्यसैले लोनमा ट्याक्सी लिएँ। अहिले भने आफ्नै ट्याक्सी बनाएँ ।

१५ वर्ष ट्याक्सी चलाउँदा के–के फरक पाउनुभयो ?
धेरै परिवर्तन भएछ।  हरेक पेशाको एउटा मर्यादा हुन्छ। पेशागत मर्यादा ट्याक्सी चालकको पनि हुन्छ। पहिला चालकले त्यो मर्यादा नाघेका थिएनन्। मर्यादा नाध्दाको दुख अहिले हामी ट्याक्सी चालकले भोगिरहेका छाैँ। पहिला ३/४ सय लाग्ने ठाउँमा २ हजार, २५ सयसम्म उठाए। ट्याक्सीमा त जो पनि चढ्छ। पुलिस चढ्छन्। सरकारी हाकिम चढ्छन्। तिनीहरु  चढेका बेला अत्याधिक मात्रामा ट्याक्सी चालकहरुले पैसा उठाए।  अनि अहिले धेरैले ट्याक्सी चालकलाई लुटेरा, फटाहा भन्ने गरेका छन्। जो जस्ले लुटे तीनले यो पेशा छाडे। कोही व्यापारी बने, केही विदेशतिर गए। अहिले हामीले उनीहरुले गरेको बदमासी भोग्नुपरेको छ।

अहिले पनि कमाई त राम्रै हुन्छ हैन र ? आम्दानीले पुग्दैन र ?
काठमाडौंमा १५ वर्ष अगाडि रुम लिँदा १२, १५ सयमा पाइन्थ्यो भने अहिले तेब्बर भाडा बढाएका छन्। तर ट्याक्सी भाडा न्यून बढ्यो, खान लगाउन नपुग्ने गरी। अहिले दिनभरिमा मुस्किलले २ हजार, २५ सय कमाइ हुन्छ। त्यसमा १५ सय लोनमा, तेलमा र बाँकी ज्याला जति बच्छ त्यति नै हो। सरकारी कर्मचारीको महँगी भत्ता बढ्छ तर हाम्रो मिटरको भाउ बढेन। सबैले लुटेको देख्छ तर समाज सेवा गरेको कसैले देख्दैनन्।

कस्तो समाजसेवा हो ?
पैसा तिरेर ट्याक्सीमा चढ्ने यात्रुलाई गन्तव्यमा पु-याउँदैमा  समाज सेवा भनेको होइन। राति कति मान्छे घरबाट काठमाडौं आएका हुन्छन्। उनीहरु बाटोमा उभिरहेको देख्छु। कता जाने के गर्ने अन्यौलमा हुन्छन्। त्यस्तो बेलामा मैले गेष्टहाउसमा पु-र्याइ दिएर रुमभाडा समेत आफैँले तिरिदिएको समेत छु।

एकपटक रामेछापतिरबाट एकजना दिदी काठमाडौंमा छोरी ज्वाइलाई भेट्न आउनुभएको रहेछ। जडिबुटीमा ओर्लिनुपर्ने तिनकुनेमा गाडीले झार्दिएछ। फोन नम्बर पनि रहेनछ। मैले त्यो दिदीलाई साँझ ५ बजेदेखि देखेको दुई ट्रिप जति मान्छे एयरपोर्ट, कता,कता पु-याएर राति ८ बजेतिर आउँदा पनि त्यही देखेँ। ती दिदी अलपत्र परेको हो कि के हो भनेर सोधेँ। छोरी ज्वाइ आउँछु भन्थे आएनन्, त्यसैले यत्तिकै बसेको भन्नुभयो। कहाँ हो छोरी ज्वाइँ भन्दा जडिबुटी भन्थे भन्नुभयो। अब छोरी ज्वाइँ नआए बिहानै घर जान्छु भन्नुभयो।

मैले कोटेश्वरको एउटा गेष्ट हाउसमा लगिदिएँ। त्यहाँको भाइलाई आमालाई बिहानै पूर्वको गाडी चढाइदिनु भनेर निस्किएँ। मैले ट्याक्सीको पैसा लिइनँ। यस्ता काम धेरै गरेको छु। यसलाई त समाज सेवा नै भन्नुपर्ला नि।
प्रस्तुति : भोला अधिकारी

Leave A Comment