चन्द्रविन्दुको घनचक्कर

बिहिबार, ०२ साउन २०७६, ०४ : ३२ शुक्रवार
चन्द्रविन्दुको घनचक्कर

फिल्मको नाम ‘गाँजाबाजा’ राखेकै कारण फिल्म निर्देशक गणेशदेव पाण्डेले दुःख पाए । ‘गा’को माथि चन्द्रबिन्दु राख्दा उनलाई समाज बिगार्न आएको आरोप लगाइयो । चलचित्र विकास बोर्डले फिल्मको दर्ता अनुमति नै दिएन । दर्ता पाउन अदालतसम्म धाए तर केही लागेन । पछि चन्द्रबिन्दुलाई थोरै माथि सारेर उनले फिल्म रिलिज गरे । व्यावसायिक रुपमा फिल्म फ्लप भयो तर समीक्षकले तारिफ गरे । आर्थिक रुपमा टाट पल्टिएपछि अहिले उनी ‘चियावाला’ भएका छन् । पाण्डेकै चियापसलमा अनिल यादव रीना मोक्तानलाई नामकै कारण पाएको दुःख उनले यसरी सुनाएः 

तीन वर्षअघि फिल्म बनाउने सोचमा थिएँ । स्क्रिप्ट तयार थियो । नाम राखेको थिएँ, ‘पारि बुटवल’ । लगानी गर्ने निर्माताको खोजीमा थिएँ । एउटा टिमसँग मिटिङ बस्यो । फिल्म बनाउन अनुमानित बजेट १ करोड २५ लाख निस्कियो । लगानीमा कुरा मिल्यो । 

कुरा अघि बढेको हप्तापछि निर्माताको कुरा फेरिँदै जान थाल्यो । स्क्रिप्टमा परिवर्तनका सुझाव आउन थाले । फिल्म निर्देशनका लागि चाहिने फ्रिडम नपाएको महसुस भयो । रचनात्मक मतभिन्नता देखिएपछि त्यो टिमसँग काम नगर्ने निर्णय सुनाएँ । 

ममा फिल्म बनाउने उत्कट चाहना थियो । कन्सेप्ट पनि थियो । एउटै कुरा थिएन, पैसा । अठोट गरेँ, ‘कम बजेटको फिल्म बनाउँछु ।’ 

आफैँ स्क्रिप्ट लेखेँ, आफैँ निर्देशन गर्ने भएँ, एक्टरहरुलाई पनि मसँग पैसा छैन भनेर कन्भिन्स गराएर खेलाउने भएँ । संयोगले मलाई नारायण पाण्डे (‘मालतीको भट्टी’का निर्माता) दाइले १० लाख दिन्छु, पछि १४ लाख रिटर्न दे भन्नुभयो । उहाँ मेरो फिल्ममा आबद्ध हुन चाहनुहुन्थ्यो । मसँग आबद्ध नहुनुस्, मलाई डिस्टर्ब गर्नुहुन्छ, बरु मलाई पैसा दिनु म रिटर्न गर्छु भनेँ । उहाँले दिनुभयो ।

जब फिल्म दर्ता गर्न पुगेँ... 

फिल्मको नाम राखियो, ‘गाँजाबाजा’ । रजिस्ट्रेसन प्रोसेसमा पुग्यौं । प्रोसेसमा जाँदा चलचित्र बिकास बोर्डले करको कागज माग्यो । कर तिरेर बोर्ड गयौँ । अध्यावधिक बनाउनुपर्छ भन्नुभयो । ढिलो गरेको भएर अध्यावधिकको फाइन लाग्ने रहेछ,  १ लाख ७० हजार सरकारलाई फाइन ति¥यौँ । 

बोर्डले फर्म एसेप्ट ग¥यो । दर्ता नम्बर दिइयो । इटालीबाट सिनेमेटोग्राफर आउनुभयो । हामीले फिल्मको लोकेसन गुरिल्ला शैलीमा जहाँ जाँदा जे भेटिन्छ, त्यहीँ सुट गर्ने तयारी गरेका थियौँ । 

हामीसँग फिल्मका लागि धेरै समय थिएन । क्यामेराम्यान एक महिनाका लागि मात्र आउनु भएको थियो । छोटो अवधिमा फिल्म बुझाएर लोकेसन देखाएर सुटिङ सक्नु पर्ने अवस्था थियो । आर्थिक कुरा मिलाउनु थियो, लोकेसन हेर्नु थियो, एक्टरसँग बस्नुपर्ने पनि थियो । 

बोर्डले दर्ता सर्टिफिकेट दिएको थिएन । ‘दर्ता भयो, सर्टिफिकेट लिन पर्सी आउनू’ भनेका थिए । यता काम सुरु भइसकेको थियो । सुटिङमा जानु एक दिनअघि बोर्ड जाँदा ‘तपाईंहरुको काम भा’ छैन’ भन्ने खबर आयो । भइहाल्ला नि भनेर, काम अघि बढाउन थाल्यौँ । एक दिन संयोगले बोर्ड पुगेँ । पुग्दा त तीनछक्क ! भनियो, ‘तपाईंको फिल्मको रजिस्ट्रेसन रोकिएको छ ।’ 
किन रोकिएको भनेर सोध्दा जवाफ आयो, ‘नाम भएन ।’
छक्क पर्नु स्वाभाविक थियो, सोधेँ, ‘नाम भयो कि भएन त रचनाकारले पो भन्छ । तपाईंहरु को हो मेरो फिल्मको नाम भएन भन्ने ? त्यसोभए के नाम राख्ने त ?’
कर्मचारीको जवाफ आयो, ‘त्यो त हामीलाई थाहा छैन ।’ 

मैले फेरि सोधेँ, ‘भएन भन्न सक्नेले किन भएन जवाफ दिनसक्नुप¥यो नि ! कानुनले नदिएको हो कि के हो ? कारण त खुलाइदिनुपर्यो ।’ 
जवाफ आयो, ‘नाम भएन रे, अध्यक्षबाटै कुरा आएको हो ।’ 
त्यसपछि तत्कालीन बोर्ड अध्यक्ष राजकुमार राईको कक्षमा पुगेँ । सोधेँ, ‘दाइ मैले के गल्ती गरेँ र मेरो फिल्मको नाम भएन ? तपाईंले रोक्नु भएको भन्ने कुरा आयो !’ 

उहाँले भन्नुभयो, ‘तिमीजस्तो पढेको मान्छेले यस्तो ‘गाँजासाँजा’ शब्द राखेर फिल्म बनाउने ?’ 
भनेँ, ‘दाइ, गाँजासाँजा होइन गाँजाबाजा हो ।’

फिल्मको नामलाई त सम्मानपूर्वक लिइदिनुप¥यो नि ! मेरो रचना गर्ने अधिकारलाई त अस्वीकार गर्न पाइएन नि ! 
फेरि सोधेँ, ‘त्यसोभए भन्दिनुस् न त, ‘गाँजा’ शब्द राख्दा के कारण रोकिनुपर्ने हो ?’ 

एकछिनपछि झर्केर भन्नुभयो, ‘सूचना तथा सञ्चार मन्त्रालयले परिपत्र गरेको छ, सुर्तिजन्य वस्तुको प्रचारप्रसार र प्रवद्र्धन गर्न पाइन्न, त्यही कारणले ।’

फेरि सोधेँ, ‘मैले त गाँजा खाऊ पनि भनिनँ, नखाऊ पनि भनिनँ । गाँजा बेच पनि भनिनँ, गाँजा राम्रो पनि भनिनँ, नराम्रो पनि भनिनँ । अनि सुर्तीजन्य वस्तुको प्रचार कहाँबाट भयो ?’ 

त्यसपछि उहाँ झन् झर्किनुभयो र सिधैँ भन्नुभयो, ‘ल, तिमी धेरै बढी कुरा नगर, जे गर्नु छ गर ।’ 
यस्तो जवाफ सुनेपछि म भाउन्न भएर निस्केँ र सिधैँ घर आएँ । 

घरमा आएर संविधान पल्टाएर हेरेँ । वकिलसँग सल्लाह गरेँ । अन्य निकायसँग बुझेँ । नाम रोक्नुपर्ने कुनै कारण देखिनँ । कुनै त्यस्तो नियम बनेको पनि थाहा पाइनँ । लाग्यो, म त एउटा मान्छेले हचुवाको तालमा गरेको निर्णयले रोक्किएँ !

नाम जे सुकै भए पनि केही फरक पर्ने थिएन । मलाई लाग्यो, यो त मेरो सिर्जनामाथि सरासर हस्तक्षेप हो । आज म चुप लागेँ भने भोलि बोर्डले अरु जे सुकैमा पनि भएन भनिदिएला !

साह्रै हेपेको महसुस भयो । अधिकारबाट वञ्चित भएको महसुस भयो । अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार भइरहेको महसुस भयो । 

बोर्डलाई पत्र नै लेखेँ, ‘यो मेरो अभिव्यक्ति स्वतन्त्रता हो । मौलिक अधिकार हो । मैले यो नाम राखेर समाज बिगार्न आएको होइन, त्यसैले मलाई यो नाम राखेर फिल्म बनाउन देऊ ।’ 

त्यसपछि अदालत गएँ...
मेरोे निवेदनलाई बेवास्ता गरियो । त्यसपछि म अदालत गएँ । अदालतमा पनि एक दिन, दुई दिन गर्दै लामो समय लाग्न थाल्यो । अदालतदेखि पनि रिस उठ्यो । लाग्यो, अदालतले पनि मलाई अपमान गरिरहेको छ । 
डेढ वर्षसम्म केही भएन । साह्रै नमीठो महसुस हुन थाल्यो । 

हद भएपछि ‘मेरो मुद्दा कहिले फैसला हुन्छ’ भनेर सोध्न सिधैँ अदालतको रजिष्ट्रारको कक्षमा गएँ । रजिष्ट्रारसँग भनेँ, ‘म न्याय पाउँछु भनेर दिनभरि कुरेर बस्छु । म मुद्दा नै लड्नु नपर्ने विषयमा लडिरहेछु । कि त मलाई निश्चित समय तोकेर यो बेला आउनु भन्दिनुस् या त मुद्दा नै फैसला हुँदैन भन्दिनुस् ।’

उहाँको जवाफ थियो, ‘यहाँ १६ वर्ष अघिका पुराना र २२ हजार मुद्दा छन् । ९ जना न्यायाधीश हुनुहुन्छ । समस्या छ ।’ 
फेरि सोधेँ, ‘त्यो मेरो समस्या हो ? किन ९ जना न्यायाधीशलाई १२ बनाउनु भएन ? अदालतको समस्या मैले बुझिदिने होइन नि !’

‘मैले तपाईंको कुरा बुझेको छु तर यसरी पहिला कोही आएको थिएन, बरु हामी तपाईंलाई अग्रअधिकारमा राख्छौँ,’ रजिष्ट्रारले भन्नुभयो । 

एकचोटी अग्रअधिकारमा राखियो पनि । त्यतिबेला बोर्डका तर्फबाट कोही पनि आइदिएन, बिरामी कारण देखाएर । त्यसपछि फेरि म रोक्किएँ । 

मन्त्रीले हाँसेरै टारे
त्यसपछि तत्कालीन सूचना तथा सञ्चारमन्त्री राम कार्कीसम्म पुगेँ । ‘मसँग गलत भयो,’ मन्त्रीलाई भनेँ, ‘मलाई मुद्दा लड्नु छैन । म मानसिक रुपले पनि कमजोर भइसकेँ ।’

उहाँले हाँसेर सामान्यीकरण गरिदिनुभयो । मैले फेरि भनेँ, ‘हिजो राजाको पालामा तपाईंहरुले बोल्न पाउनुपर्छ भनेरै बन्दुक बोक्नुभयो, मलाई विश्वास छ, तपाईंले मेरो पीडा पक्कै बुझ्नुहुन्छ ।’
उहाँले म बुझ्छु त भन्नुभयो तर कहिल्यै बुझ्नुभएन । त्यसपछि कयौँ पटक सम्पर्क गर्न खोज्दा, सम्पर्कमै आउनु भएन ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी आएर मिटिङ गर्नुभयो । चलचित्र निर्देशक समाजका तत्कालीन अध्यक्ष पनि यो तिमीसँग गलत भयो भन्नुहुन्थ्यो तर एउटा विज्ञप्ति निकाल्ने हिम्मत पनि गर्नुभएन । 

अदालतमा खेल 
दर्ता सर्टिफिकेटबिनै फिल्मको काम गरिरहेको थिएँ । त्यही कारण दुईपल्ट सुटिङ रोकियो । प्रहरीले सोधपुछ ग¥यो । त्यहीबेला मसँग ठूलो गेम खेलियो । 

बीचमा केही निर्माता भगवान् जसरी आउनु भयो । १० लाख लोन थियो । कति ठाउँमा तिर्नुपर्ने थियो । आफ्नै जीविकोपार्जनका लागि पैसाको खडेरी थियो । त्यही बेला निर्माता गोमा विष्ट र दीपेन्द्र रेग्मीले फिल्ममा लगानी गर्ने भन्नुभयो । 

एकदमै खुशी लाग्यो, कोही त आउनुभयो ! उहाँहरु फिल्म बनाइरहेको, स्टक भइसकेको र अदालतमा मुद्दा पुगिसकेको टाइममा आउनु भएको थियो । मैले उहाँहरुलाई त्यतिखेर भनेको पनि थिएँ, ‘अदालतमा मुद्दा छ, फैसला कहिले हुन्छ थाह छैन । मसँग पैसा पनि छैन । फिल्म कसरी तयार हुन्छ त्यो’नि थाहा छैन । तपाईंहरुले पैसा दिनु भयो भने फिल्म तयार गर्ने हो ।’ उहाँहरु मेरो कुरामा सहमत भएर निर्माता बन्न तयार हुनुभयो । 

तर फिल्म रिलिजको समयमा आएर उहाँहरु ‘हाम्रो पैसा फँस्यो, हामीसँग पैसा छैन । अब कति दिनसम्म यस्तो ?’ भन्न थाल्नुभयो । उहाँहरुको मनमा तेरै जिद्दीले फिल्म रोकिरहेको छ भन्ने भइसकेको थियो । 

एक दिन सञ्चार मन्त्रालयबाट फोन आयो, ‘तपाईंको फिल्म रोक्किएर अप्ठेरो पर्ने या भोलि गएर तपाईंको फिल्मको हार्ड डिस्क उठाइदिने काम भयो भने गाह्रो हुन्छ । त्यसैले अहिले फिल्ममा नाममा चन्द्रबिन्दु हटाएर एउटा कागज गर्नु, भोलि मुद्दा फैसला भयो भने त्यही नामले फिल्म रिलिज गर्नु, फैसला भएन भने हाम्रो यही सम्झौताको आधारमा फिल्म रिलिज गर्नुस् ।’

मन्त्रालयका सहसचिवले भन्नुभएको थियो, ‘मुद्दा इज अ डिफ्रेन्ट केस । तपाईं एकदमै सही हुनुहुन्छ । मुद्दा लड्नू, भोलि अरुका लागि पनि बाटो खुल्छ ।’

एउटा चन्द्रबिन्दुले के बिगारेको थियो ! भोलि फेरि तेरो दारी भएन भन्लान्, त्यतिबेला पनि हेपिनु ! कम्तीमा आज लडेँ भने भोलि अरुका लागि पनि काम लाग्ला !’ म गइनँ ।

म नभएका बेला दुई निर्माताहरुले सहसचिवको आग्रह जसरी नै सम्झौता गर्नुभएछ । 
सम्झौता भएको केही दिनभित्रै अदालतमा पेशी पर्यो । अदालतमा त्यही सम्झौता पत्र पेश भयो जहाँ ‘गाँजा’को चन्द्रबिन्दु हटाउने सम्झौता थियो । त्यसकै आधारमा अदालतले उनीहरुको पक्षमा फैसला ग¥यो । डेढ वर्षको संघर्षपछि पनि मसँग ठूलो खेल भयो, मैले हेरिरहनुसिवाय केही गर्न सकिनँ । 

वितरकको दोहोरो खेल 
वितरक नरेन्द्र महर्जन मलाई फिल्म रिलिज गर्न प्रोत्साहित गर्थे । उनीहरुले फागुन २५ गते फिल्म रिलिज गर्ने भनेर डेट दिए । म ढुक्क थिएँ । एकदिन अचानक निर्माता संघमा बोलाएर निर्माता र वितरकको ठूलो समूहबीच घेरेर भन्नुभयो, ‘फागुन २५ मा ‘मंगलम्’ चलेन भने छवि ओझाले आत्महत्या गर्ने भयो । फिल्मको मिति सार्नुप¥यो ।’ 
डेट सार्न नसक्ने हो भने एफडी कम्पनीसँग सहकार्य नै तोड्नुपर्ने सर्तसमेत राखे । चलचित्र संघमा राखिएको छलफलमा पनि त्यस्तै दबाब दिइयो । त्यहाँबाट उठेरै हिँडिदिएँ । 

पछि सहकार्य तोड्नु भन्ने चलचित्र संघका अध्यक्ष प्रदीप उदय नै ‘म तेरो फिल्म रिलिज गर्दिन्छु’ भन्दै आइपुग्नुभयो । वितरकहरुको खेल मलाई बुझ्नै गाह्रो भयो । यत्ति हो, मलाई त जसरी पनि फिल्म हलमा रिलिज गर्नुथियो, दर्शकसम्म पुर्याउनु थियो । त्यही मितिमा रिलिज गरेरै छाडेँ । 

के भयो त चन्द्रबिन्दु ? 
सबैलाई ‘गा’को माथि ‘चन्द्रबिन्दु’ भएको टेन्सन थियो । मैले त्यो चन्द्रबिन्दु नामबाट हटाइनँ, चतु¥याइँपूर्वक अलिकति माथि सारिदिएँ । खासमा यो सिस्टमलाई मेरो चन्द्रबिन्दुदेखि समस्या थिएन, फिल्मकर्मीहरुमा हाम्रो कुरा नसुन्दा योसम्म हुन्छ भनेर डर सिर्जना गर्नु थियो । 

गाँजा समर्थकको सपोर्ट 
फिल्मको नामका लागि संघर्ष गरिरहेका बेला मसँग भेट्न अनेक मान्छे आए । कोही आर्थिक सहयोग गर्थे, कोही मोरल सपोर्ट । त्यहीबीच यस्तो समूह पनि आए, जो गाँजाका व्यापारी पनि थिए । उनीहरु गाँजालाई लिगलाइज गर्नुपर्छ भन्ने ध्येयले मेरो समर्थनमा आएका थिए । मैले खासै चासो नदिएपछि टाढिए ।  

म गाँजाको समर्थन या विरोध गरिरहेको थिइनँ, त्यसैले मलाई उनीहरुसँगको संगत ठीक लागेन । फिल्म गाँजाको विषयमा बनेको पनि थिएन । यो त दुई गाँजा खाने केटाहरुको कथामा आधारित थियो ।

जब फिल्म रिलिज भयो...
फिल्म रिलिज भएको दिन म एकदमै खुसी भएँ । लामो संघर्षपछि त्यो दिनसम्म आइपुगेको थिएँ । म सही छु भन्ने कुराले मलाई डेढ वर्षसम्म यो सिस्टमसँग लड्न प्रेरित गरेको थियो । 

फिल्म रिलिजपछि नसोचेको प्रतिक्रिया आयो । त्यसले खुसी नै बनायो तर व्यापार सोचेजस्तो भएन । फिल्म रिलिजसम्म आइपुग्दा आर्थिक रुपले टाँट भइसकेको थियो । मानसिक रुपले विक्षिप्त भइसकेको थिएँ । 
मलाई आज पनि लाग्छ, मैले त्यो नामको तनाव नखेपेको भए अझै स्वतन्त्र भएर काम गर्न पाउँथे र अझै राम्रो फिल्म बनाउन सक्थेँ कि !

Leave A Comment