बाल प्रतिभा आयुष पुरस्कृत

बिहिबार, ०२ साउन २०७६, ०४ : ५१ शुक्रवार
बाल प्रतिभा आयुष पुरस्कृत

भारतको गायन रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा चौथौ भएका आयुष केसीलाई ‘बासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार २०७६’ प्रदान गरिएको छ । स्व. बासुदेव कोइराला मुनालको ७०औं जन्मजयन्तीको अवसरमा उनलाई २१ हजार नगदसहित पुरस्कार दिइएको हो ।

कार्यक्रमलाई बासुदेव कोइराला मुनाल स्मृति फाउन्डेसनले आयोजना गरेको हो । वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको २०७४ असोज १४ गते निधन भएको थियो । उदयपुरको चौदण्डीगढीमा २००६ सालमा जन्मिएका उनको क्यान्सरका कारण निधन भएको थियो । 

छोरा मोहित मुनालले पितालाई सम्झिँदै कार्यक्रममा भने, 'बुबाले धेरै सपनाहरु देख्नु भएको थियो । 'मुनाल साँझ' गर्ने, कृतिहरु प्रकाशन गर्ने र सबैभन्दा ठूलो सपना आफ्नो नाममा पुरस्कार प्रदान गर्ने थियो । उहाँको त्यो सपनामध्ये एउटा सपना पूरा गरेका छौं । आउने पुस्ताले बासुदेव कोइराला 'मुनाल' सम्झन हामीले अरु कार्यक्रमहरु पनि गर्नेछौं ।' 

स्वर्गीय गायक मुनालका ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’ लगायत १५० वटा आधुनिक गीत, १०० वटा बालगीत, १२० वटा लोकगीत र ११ वटा राष्ट्रिय गीत गाएका छन् । स्व. मुनालले 'हाम्रा शत्रु (बाल चित्रकथा संग्रह)', 'पि पि गर्छ बाजा (बालगीत संग्रह)', 'घैँटोमा घाम (बालनाटक संग्रह)', 'हराएको हात (बालकथा संग्रह)' लगायतका बाल साहित्य पनि प्रकाशित गरेका थिए ।

 

Leave A Comment