रिसर्च गरेर मात्र विदेश जानुपर्छ

आइतबार, ०५ साउन २०७६, ११ : ४५ शुक्रवार
रिसर्च गरेर मात्र विदेश जानुपर्छ नारायण बजाज, चार्टड एकाउन्टटेन्ट

चार्टड एकाउन्टटेन्ट नारायण बजाज ग्लोबल रिच कन्सल्टेन्सी, काठमाडौंका प्रमुख हुन्। १२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत बजाजले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिँदै आएका छन्। विद्यार्थीको रुचि र छनोटअनुसार भर्ना र भिसा प्रक्रियामा कन्सल्टेन्सीमार्फत सहजीकरण गर्दै आएको ग्लोलब रिचले विश्वका करिब साढे चार सय विश्वविद्यालयको नेपालबाट प्रतिनिधित्व गरेर विद्यार्थीलाई सघाउँदै आएको छ। ग्लोलब रिचले दिने सेवा, विदेश अध्ययन जाने विद्यार्थीको रुचि, शैक्षिक परामर्श व्यवसायलगायतका विषयमा बजाजसँग शुक्रवार साप्ताहिका लागि गरिएको कुराकानी:

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई यहाँको के सुझाव छ ?
अध्ययनका लागि विदेश जाने विद्यार्थी कुन विषय पढ्ने आफैँ निर्णय गर्नुपर्छ। जानु पहिला सहज भएर गुगल सर्च गरेर कुन देशको प्रतिनिधि हो पत्ता लगाएर मात्र विद्यार्थी कन्सल्टेन्सी जानुपर्छ। धेरै विद्यार्थी तथा अभिभावकले सस्तो कलेजलाई प्राथमिकता दिने गरेका छन्। सस्तोलाई मात्र हेर्नु हुँदैन। विद्यार्थीले विश्वविद्यालय र कलेजको गुणस्तरमा ध्यान दिनुपर्छ। विश्वविद्यालय वा कलेजमा अध्ययन गरेको हो भनेर रोजगारदाताले हेर्छ। रोजगारीको सीमितता भएकाले राम्रो विश्वविद्यालयमा अध्ययन गरेकाले स्वतः अवसर पाउँछन्।

यहाँले के कस्ता सेवा दिँदै आउनुभएको छ ?
विद्यार्थीलाई शैक्षिक परामर्श दिन्छौं। विदेशमा पढ्न चाहेको कोर्ष, विद्यार्थीको आर्थिक र शैक्षिक क्षमताअनुसार कुन विश्वविद्यालय उपयुक्त हुन्छ। विश्वविद्यालयको फी, छात्रवृत्ति, भिसा प्रक्रियाको बारेमा सहजीकरण गर्छौं।

विद्यार्थीको रोजाइमा के कस्ता विषय छन् ?
नेपालबाट जाने विद्यार्थी अस्ट्रेलियाको माइग्रेसन पोलिसीका आधारमा जान्छन्। स्नातक तह पढ्ने विद्यार्थी साइन्स, बिजनेस एकाउन्टिङ, आइटी, इन्जिनियरिङ , स्नानाकोत्तर तह अध्ययन गर्ने इआरपी, एमआइएस, ह्युमन रिसर्च, मार्केटिङलगायतका विषयमा पनि अध्ययन गर्न जान्छन्। अमेरिकामा विज्ञान प्रविधि, इन्जिनियरिङ, बिजनेस प्राथमिकतामा छ। देशअनुसार अवसर फरक छ। ग्लोबल रिचले निजी कलेजमा पठाउँदैन। विश्वविद्यालयमा मात्र पठाउँछौं। निजी कलेजले धेरै विद्यार्थी लिएकाले अस्ट्रेलियामा संख्या निकै बढेको छ। निजी कलेजमा फी सस्तो रहेको छ। विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि नभए पनि निजी कलेजमा पढ्न जानेको संख्या ह्वात्तै बढेको छ। यो विषयमा अस्ट्रेलियन सरकारले पनि चासो राखेको छ।  अहिले अस्ट्रेलियाका निजी कलेजमा जाने विद्यार्थीको कडाइ गरेको छ।

कुन–कुन देशका कति विश्वविद्यालयसँग सहकार्य गरेर विद्यार्थीलाई सघाउँदै आउनुभएको छ ?
अस्ट्रेलियाका ४२ विश्वविद्यालय, न्युजिल्यान्डका आठ, युके, आयरल्यान्ड, जर्मनी, फ्रान्स, युएसए, क्यानडा, आयरल्यान्ड, थाइल्यान्ड, सिंगापुरलगायतका अन्य मुलुकमा विश्वविद्यालयसँग पनि काम गर्दै आएका छौं। विश्वका करिब साढे चार सय विश्वविद्यालयका लागि हामीले यहाँबाट प्रतिनिधित्व गर्छौं।

विद्यार्थीको आकर्षण कहाँ छ ?        
मुख्य गरी धेरै लामो समयदेखि  विद्यार्थीको रोजाइको एक नम्बर गन्तव्य नै अमेरिका हो। शैक्षिक रुपमा उत्कृष्ट विद्यार्थीका लागि अमेरिका नै रोजाइमा छ। त्यहाँका प्रायजसो विश्वविद्यालयले केही न केही छात्रवृत्ति दिने भएकाले क्याम्ब्रिज ए लेवल अध्ययन गरेका विद्यार्थीको छनोट अमेरिका परेको हो। त्यसपछि अस्ट्रेलियाले आफ्नो शैक्षिक नीतिमा परिवर्तन ल्याएर केही खुकुलो गरेको छ। अमेरिकाको डलर बलियो हुँदै गएकोले अमेरिकामा ५० प्रतिशत छात्रवृत्ति पाउनु र अस्ट्रेलियामा पूरा फी तिर्दा पनि बराबर हुने भएकाले नेपालीका लागि अस्ट्रेलिया शैक्षिक गन्तव्यको रुपमा विकास भएको छ। त्यहाँका विश्वविद्यालय पनि राम्रा छन्। भर्ना पाउन पनि सजिलो छ। नेपालबाट नजिक, मिल्दोजुल्दो हावापानी, अवसर धेरै भएकाले अस्ट्रेलियामा आकर्षण बढेको हो।

ग्लोबल रिचमा विद्यार्थी किन आउने ?
हामीकहाँ आउने विद्यार्थीलाई कुनै शुल्क लिँदैनौं। सर्भिस फ्रि दिन्छौं। अन्य कन्सल्टेन्सीले केही शुल्क लिने गरेका छन्। हामी कहाँबाट एप्लाई गर्ने विद्यार्थीलाई निःशुल्क आइएलटिएसका कक्षा सञ्चालन गरेका छौं। दक्ष तालिम प्राप्त काउन्सेलरले विद्यार्थीलाई काउन्सिलिङ गर्छन्। अन्यमा जस्तो दुई चारवटा मात्र विश्वविद्यालय होइन हामी विद्यार्थीले चाहेको सिटीका धेरै विश्वविद्यालयबाट रोज्न सक्छन्। विद्यार्थीको शैक्षिक योग्यता, आर्थिक क्षमताका आधारमा सिफारिस गर्छौं। छात्रवृत्तिको अवसर पनि दिन्छौं। सुझाव दिने हो। निर्णय विद्यार्थीले नै गर्छन्।

यहाँहरुले विभिन्न समयमा एजुकेसन फेयर गर्दै आउनु भएको छ नि किन ?
हो एजुकेसन फेयर आयोजना गरेका छौं। अहिले पनि जुलाई २७ मा अन्नपूर्ण होटलमा फेयर आयोजना गरेका छौं। अस्ट्रेलियाका ३५ विश्वविद्यालयका प्रतिनिधि आउँछन्। उच्च शिक्षालाई फोकस गरेर आयोजना गरेको हो। स्नातक, स्नातकोत्तर, विद्यावारिधि गर्न जाने विद्यार्थीका लागि आयोजना गरिएको हो। अस्ट्रेलियाका विश्वविद्यालयले धेरै छात्रवृत्ति दिएका छन्। ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्तिका स्किम छन्। विश्वविद्यालयका प्रतिनिधिसँग सिधै कुरा गर्न सक्छन्।

विद्यार्थीको रेस्पोन्स कस्तो छ ?
हामीकहाँबाट गएका विद्यार्थी सन्तुष्ट छन्। राम्रो सेटल भएका छन्। हामीले विश्वविद्यालयमा मात्र पठाउने भएकाले उनीहरुले सजिलै काम पाउने र पिआर पाउँछन्।

विदेश अध्ययन गर्न गएका कति स्वदेश फर्किएका छन् ?
विदेश अध्ययन गरेर स्वदेश फर्किनेको संख्या निकै कम छ। अस्ट्रेलियाबाट फर्केको खासै देखिँदैन। अमेरिका अध्ययन गरेर फर्किनेको संख्या पनि नगन्य छ। मध्यम वर्गीय परिवारका विद्यार्थी फर्किँदैनन्। व्यापारिक घरानाका विद्यार्थी आफ्नो व्यवसाय गर्नका लागि फर्किने हुन्।

प्रतिस्पर्धा कस्तो छ ?
धेरै ठूलो प्रतिस्पर्धा रहेको छ। काठमाडौंमा मात्रै करिब हजार बढी कन्सल्टेन्सी रहेका छन्। शिक्षा मन्त्रालयले अनुमति दिन्छ। तर, नियमनको पाटो निकै कमजोर रहेको छ। यसमा कडाइ गर्नुपर्छ।

Leave A Comment