मानविकी पनि कम छैन

सोमबार, ०६ साउन २०७६, ११ : २० शुक्रवार
मानविकी पनि कम छैन

विद्यानाथ कोइराला,प्राध्यापक

हामी कहिलेकाहीँ आफूले आफूलाई नियालेर हे-यौँ भने केही भिन्न महसुस गर्न सक्छौँ। एउटै मान्छे धेरै प्रकृतिको हुन्छ। उसको बानी, चालचलन हेरेर उसको संस्कार, उसको शिक्षाबारे आँकलन गर्न सकिन्छ। हामीले जे पढ्छौँ, जे भोग्छौँ सोही अनुसारको हाम्रो बुद्धि विकास भएको हुन्छ। हाम्रा दैनिक व्यवहार त्यहीअनुसार चलेको हुन्छ।

स्वतन्त्र रुपमा विषय छानेर पढ्न पाउने हो भने व्यक्तिले आफ्नो स्वभावअनुसार विषय छान्छ। पछिल्लो समय हाम्रा युनिभर्सिटी तथा क्याम्पसमा इतिहास, दर्शन, साहित्यजस्ता विषयमा विद्यार्थी संख्या कतै शून्य नै हुने अवस्था आएको छ भने कुनै विषयमा नाम मात्रका विद्यार्थी छन्। यसको अर्थ विद्यार्थीले के पढे के हुन्छ, के पढे रोजगारी पाइन्छ भन्ने जस्तो तत्कालका फाइदा हेरिरहेका छन्। केही कलेजमा भने यो पढेपछि यसको स्कोप यो यो छ भनेर काउन्सिलिङ गर्ने गरिएको छ। भलै त्यो पूरा होस् कि नहोस्। यस लेखमा मानविकी किन पढ्ने भन्नेबारे उल्लेख गर्न चाहन्छु। 

संवेदनशीलताका लागि
एकैछिन साचौँ त शिक्षा भनेको के हो ? के कुनै कुरा थाहा पाउनु मात्रै शिक्षा हो या व्यवहारतः लागु गर्न सकिने ज्ञान शिक्षा हो ? हामीले जुनसुकै विषय पढे पनि संवेदनशीलता भएन भने के हुन्छ ? हाम्रो शरीरलाई तीन भाग लगाएर हेरौँ। हाम्रो टाउकोले सोच्ने काम गर्छ। कसरी के के गर्ने भनेर आइडियाको खानी हो। अर्काे, हाम्रो मुटु यसले हामीलाई संवेदनशील हुन सिकाउँछ। अर्काे छ, हात जसले काम गरेर सहयोग गर्छ। यी तीन तत्वको सन्तुलन भएको छ भने नै व्यक्तिको जीवन सहज हुन सक्छ। अर्काे शब्दमा भन्ने हो भने यही नै शिक्षा हो। ती तीन तत्वमा एक मात्र कम छ भने त्यो शिक्षित भएको हुँदैन।

वैज्ञानिक जे रोबर्ट ओपनह्यामरले एटम बम बनाए। उक्त बम जापानको हिरोसिमा नागासिकीमा खसालियो। हजारौँ व्यक्ति हताहत भए। जसै बम खसालियो, उनले टाउकोमा हात राखेर भने रे, मैले त ‘ह्युमानिटिज् पढेकै रहेनछु।’

कुनै पनि विषय पढ्ने बित्तिकै काम पाइहाल्ने भन्ने हुँदैन। कामको लागि आफूलाई कसरी तिखार्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।

उनले यो बम खसालेपछि यति मानवबस्ती सखाप हुन्छ भनेर संवेदशील भएको भए त्यत्रा मान्छे हताहत हुने थिएनन्। यसमा दिमागको प्रयोग भयो, दिलको भएन।  उनले यो बम खसाल्दा यति क्षेत्र ध्वस्त गर्न सक्छ त भने तर त्यहाँ पनि मजस्तै मान्छे बस्छन् भन्ने सोचाइ आएको भए घटना अर्कै हुन सक्थ्यो। शायद उनले त्यही भएर ह्युमानिटिज् पढिन छु भनेर चुक्चुकाएका होलान्।

अपनत्वको लागि
मान्छे सामाजिक प्राणी हो। चाहेर वा नचाहेर पनि एकअर्कासँगै हुनैपर्छ। हामी अन्तर्निभर छौँ। ह्युमानिटिज् भएको व्यक्ति छ भने उसमा अपनत्व हुने सम्भावना बढी हुन्छ। एक पटक म मनाङ भ्रमणमा थिएँ। मेरो स्वागतार्थ त्यहाँका स्थानीयले रक्सी ल्याएर दिए। मैले खान्नँ भनेँ। चिया दिए, त्यो पनि खान्नँ भनेँ। त्यसपछि उनीहरु झर्किएर भने, उसो भए किन आएको त ?

यसपछि म झसङ्ग भएँ। उनीहरुले दिएका चिजबिज खान नसक्दा अरु नै विकल्प दिन सक्थेँ। पानी खान्छु भन्न सक्थेँ। यसको अर्थ उनीहरुप्रति अनादर देखाएजस्तो देखियो। एकअर्काको संस्कार तथा चालचलनलाई गहिरो गरी बुझ्न मानविकीको आवश्यकता छ।

कसरी पढाउने ?
संवेदनशीलताका लागि नै मानविकी पढ्न जरुरी छ तर हाम्रोमा विभिन्न बहानामा विद्यार्थी घटिरहेका छन्। विद्यार्थी घट्नुको प्रमुख कारण भनेको पढाउने तरिका र पढेपछि के काम पाइन्छ भन्नेमा जोडिएको पाइन्छ। उदाहरणका लागि, हामीलाई इतिहास पढाउँदा सिधै पृथ्वीनारायण शाहबारे पढाइन्छ। विद्यार्थीलाई आफ्नो परिवार तथा समाजको इतिहासबारे जानकारी भएको हुँदैन, सिधै अरुको बारे पढ्दा अपनत्व महसुस गर्दैन। सन्दर्भ जोड्न नसक्दा विद्यार्थीलाई पढाइमा ध्यान गएको पाइन्न। प्रत्येकलाई उसको परिवार तथा समाजको इतिहाससँग जोडेर पढाउनु पर्छ।

के साँच्चै मानवीकी पढेर काम पाइन्न ?
चाणक्यले भनेका छन्, ‘अक्षर पढेपछि नाश हुँदैन।’ अक्षर जानेकाले यसलाई कसरी बेच्ने आफ्नो जिम्मेवारी के हो भनेर बुझ्न जरुरी छ। हामीलाई लाग्छ, हामीले पढेपछि सरकारले काम दिनुपर्छ। यो सोचाई सर्वथा गलत हो। काम आफैँले गर्ने हो। कसैले दिने होइन। राज्यले जागिर दिने होइन, काम गर्ने वातावरण सिर्जना गर्ने हो।

जापानमा पुग्दा त्यहाँका साथीहरुले भनेका थिए, जापानीहरु रिस्क लिन चाहने कम छन्। जागिर पाए जागिर खाने, नपाए बेरोजगारी भत्ताका लागि लाइनमा बस्ने छन्। पछि हाम्रोमा त्यही स्थिति नआउला भन्न सकिन्न। कुनै पनि विषय पढ्नेबित्तिकै काम पाइहाल्ने भन्ने हुँदैन। कामका लागि आफूलाई कसरी तिखार्न सकिन्छ भन्ने महत्वपूर्ण हुन्छ। जुनसुकै विषय पढे पनि निखार ल्याउन सकियो भने कामकै लागि दुःख हुन्न।

हाम्रोमा सरकारले तिमीले जुनसुकै विषय पढेपनि तिमीलाई काम गर्न वातावरण सिर्जना भएको छ भनेर विश्वस्त बनाउन सक्नुपर्छ। त्यो व्यवहारतः देखिन जरुरी छ।
कुराकानीमा आधारित

Leave A Comment