भाइरल बनेको जिन्दगीका ३८ सत्य वचन

सोमबार, ०६ साउन २०७६, ११ : ५० शुक्रवार
भाइरल बनेको जिन्दगीका ३८ सत्य वचन

जन्मदिन कसरी मनाउने त्यो मान्छेपिच्छे फरक धारणा हुन्छ। बेलायतमा ट्वीटरका जागिरे डिक्लन कासिन ३८ वर्ष पुगेपछि केही सोच्न बाध्य भए। उनले जीवनभर सिकेका ३८ महत्वपूर्ण शिक्षा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। यतिबेला उनका ३८ शिक्षा निकै भाइरल भइरहेका छन्। विभिन्न सञ्चारमाध्यमले पनि भाइरल शीर्षकमा उनको जीवन पाठलाई उद्धृत गरेर प्रकाशनसमेत गरेका छन्।

उनको सो पोस्टलाई १७ हजारभन्दा बढीले लाइक गरेका छन् भने २ हजारभन्दा बढीले सेयर गरेका छन्। उनले लेखेका छन्, ‘म आज ३८ वर्षको भएँ। आजको यो अवसरमा मैले तपाईंको रमाइलो/ठट्टा/ट्रोल/चिन्तन सबैसबैका लागि यो पोस्ट गरेको छु। मैले यहाँ एक दुई तीन नम्बरमा कुराहरु राखेको भए पनि यसलाई सोही क्रमअनुसार नबुझिदिनु होला किनभने मैले यो सोचेर राखेको होइन। सोच्दै जाँदा यो क्रम बनेको हो। मैले अहिलेसम्म बुझेका कुराहरु क्रमबद्ध मात्र गरेको हुँ।’

उनको सो टिप्पणी केही सुझावात्मक छन् भने कुनै तीतो सत्य। जस्तो उनले लेखेका छन्, ‘तपाईं साह्रै तनाव भयो भने थेरापिस्टलाई भेट्नुस्।’ कतै उनले, ‘जीवनभरका लागि कुनै जागिर हुन्छ भन्ने भ्रम त्याग्नुस्’ भन्नेसम्मका टिप्पणी गरेका छन्।

आफ्ना कुराप्रति साह्रै इमान्दार भएर लेखेको भन्दै कयौँले उनलाई धन्यवाद पनि दिएका छन्। एक जनाले त लेखेका छन्, ‘म यतिबेला ६६ वर्षको भएँ बाबु, तर छोराजस्तो उमेरका तिम्रा यी कुरामा ठ्याक्कै सहमत छु।’

अर्का एक जनाले लेखेका छन्, ‘तपाईंको सूचीमा रहेका सबै पढेँ र सबै रुचाएँ। यीमध्ये कुनै पनि खोट लगाउने किसिमको पाइनँ।’

तेस्रो व्यक्तिले लेखेका छन्, ‘यो सूची मलाई चित्त बुझ्यो। हुन त यो सूचीमध्ये केही काम नलाग्ने पनि छन् तर केही त साँच्चिकै मन छुने किसिमका छन्। हाम्रा समस्या छन्, हाम्रा केही कुलत छन्, दुई बजे अचानक ब्युँझाउने गरी केहीले तर्साउँछन्, हाम्रा सन्तान त कहिलेकाहीँ हाम्रै शत्रुझैँ देखिन्छन्, हाम्रो एक्लोपना र हाम्रो विरानोपनको त कुरै छाडौँ तर पनि यी सारा अनुभव हाम्रालागि प्रिय हुन्छन्। यही हो जीवन। यसलाई अँगाल्न सके यो रोचक पनि छ, छक्क पार्ने किसिमको पनि छ र जिउन योग्य पनि छ।’

अर्को एक जनाले थपेका छन्, ‘यी सूची पढ्दा साँच्चिकै मलाई त जिन्दगी खुबसुरत नै लाग्यो।’

उसो भए त्यो सूचीमा के छ त ? पूरै सूची पढौँ।
१. मैले जाँड पिउन बन्द गरेँ। गएको वर्षको जनवरीदेखि मैले रक्सीसँगको नाता तोडेँ। त्यसो त पूरै यसलाई छाडेको पनि होइन तर नियमित रुपमा यसको खपत छैन। जो ३० पार भइसक्यो, उसले नियमित रुपमा रक्सी पिउने कुरा त्याग्नेबारे सोच्नै पर्छ। तपाईंमध्ये धेरैलाई रक्सी पिउन छाड्ने कुरा वाहियात पनि लाग्न सक्छ तर मेरालागि भने यसले धेरै पैसा र समयको वचत गराइदिएको छ।

२. थेरापिस्टलाई भेटिहाल्नुस्। यो त हरेक मानिसले एक पटक थेरापिस्टलाई भेट्नै पर्छ। खासगरी मलाई के भा’छ र भन्ने सोच्नेले त थेरापिस्टलाई भेट्न ढिला भइसकेको हुनसक्छ।

‘म आज ३८ वर्षको भएँ। आजको यो अवसरमा मैले तपाईंको रमाइलो/ठट्टा/ट्रोल/चिन्तन सबैसबैका लागि यो पोस्ट गरेको छु। मैले यहाँ एक दुई तीन नम्बरमा कुराहरु राखेको भए पनि यसलाई सोही क्रमअनुसार नबुझिदिनु होला किनभने मैले यो सोचेर राखेको होइन। सोच्दै जाँदा यो क्रम बनेको हो। मैले अहिलेसम्म बुझेका कुराहरु क्रमबद्ध मात्र गरेको हुँ।’

३. सन्तान भएका तपाईंका नजिकका साथीहरुलाई तपाईंको सहयोग आवश्यक छ। खासगरी जब तपाईंका साथीहरुले सबै कुरा ठीक छ भन्न थाल्छन्, उनीहरुलाई तपाईंको खाँचो परेको हुनसक्छ। उनीहरुलाई एक दिनका लागि भए पनि ‘बेबी सिट’ गरिदिनुस्। म त यसमा बहुतै जोड दिन्छु।

४. तपाईंले किताब पढ्न छाड्नु भएको छ, झ्याउ लाग्छ भने फेरि एक पटक पढ्न शुरु गर्नुस्। तपाईंले धेरै कुरा छुटाइरहनु भएको हुनसक्छ।

५. किरोप्राक्टर (नेपालमा हात देखाउने)कहाँ भविष्य देखाउन जानुहोस्। तपाईंलाई त्यसको बिल्कुलै आवश्यकता छैन भने पनि एक पटक पुगेर हेर्नुस्। खासगरी तपाईंलाई त्यसको कुनै आवश्यकता छैन भन्ने लाग्यो भने पनि गएर हात देखाइहाल्नुस्।

६. दन्त चिकित्सककहाँ जानबाट रोकिनु भइरहेको छ भने त्यो गतिलो कुरा होइन भन्ने बुझ्नुस्।

७. मेरा पिताजी यो वर्ष बित्नुभयो। मलाई बेस्कन रुन मन लागेको थियो। म पूरै अव्यवस्थित भएको थिएँ। धन्न, मेरा आँखामा आँशु आए। हिजोआज पनि जब पिताजीलाई सम्झन्छु, आँखा रसाउन खोज्छन्। ठीक छ, यस्तो हुनु स्वाभाविक हो भनेर मलाई सम्झाइरहेको छु।

८. जीवनमा राम्रो काम भन्ने केही छैन। करियर भन्ने चिज छैन। तपाईंको मनले जुन ठीक र उचित ठह-यायो, त्यही हो राम्रो काम। तर जीवनभर त्यसैमा अडिन्छु भनेर चाहिँ नसोच्नुस्।

९. कसैले नयाँ कामको प्रस्ताव राख्यो भने अझ बढी पैसा पाइन्छ कि पाइँदैन भनेर सोध्नुस्। सधैँ सोध्नुस्। किनभने मागेपछि मात्र पाइन्छ भन्ने कुरा तपाईंले बुझ्नुहुन्छ।

१०. जीवनमा आफैँले सबै काम गर्नु कति महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्न लुगा धुने, भाँडा माझ्ने गर्नुस्।

११. म कहिलेकाहीँ रेस्टुराँ गएर खाने कुरामा साह्रै अल्छी मान्छु तर त्यस्तो गर्नु हुँदैन। बाहिर गएर खाने कुरामा पनि उत्तिकै चासो राख्नुपर्छ। खासगरी ठाउँ फेरिफेरि रेस्टुराँमा खान जानुस्।

१२. कहिलेकाहीँ यौनका बारेमा पनि सोच्नुस्। संसारमा मानिसहरुको रुचि यसमा घट्दो छ। तपाई अझ बढाउनुस्।

१३. कहिलेकाहीँ अरुको प्रशंसा गर्न तपाईंलाई ईष्र्या लाग्ने भए पनि प्रशंसा गरिदिनुस्।

१४. अरुसँग तुलना गर्नु भनेको आफ्नै स्वास्थ्य खराब गर्नु हो। म अझै पनि तुलना गरेर स्वास्थ्य बिगार्ने गर्छु तर मैले यसमा नियन्त्रण गर्न थालेको छु।

१५. यत्रो लाठे भइसक्दा पनि मैले मेरो आफ्नै घर किन्ने बारे सोचेको छैन। म सोच्न पनि चाहन्न किनभने मलाई यसैमा हाई सञ्चो छ तर पक्कै सोच्छु। किनभने, भविष्यमा म मात्रै हुन्न, अरु पनि मेरो जीवनमा जोडिन्छन् र उनीहरुलाई म दुःखी बनाउन चाहन्नँ।

१६. असल ‘बोस’को कामलाई प्रशंसा गर्नुस्। उनीहरु असल छन् भनेर मुखेञ्जी भनिदिनुस्। किनभने राम्रो कुराले नै राम्रो कुरालाई अघि बढाउँछ।

१७. ऋण लिनु भनेको आत्मा ध्वस्त बनाउनु हो। यसले तपाईंलाई पूर्ण रुपमा जीवन बाँच्नबाट रोक्छ। मैले जीवनको एक दशक यसैको चिन्तामा बिताएको थिएँ। झन् क्रेडिट कार्डको ऋण त हड्डी चिस्याउने खालकै हुन्छ। छोटो अवधिको शून्य प्रतिशत ब्याजदरको ऋण चलाउन भने समस्या नहोला।

१८. तपाईंको परिवारमा कसैले क्रेडिट कार्ड चलाएर ऋणमा फँसिरहेको छ, उसलाई बारम्बार के छ, कसो छ भनी ऋणको बारेमा सोधिरहनुस्। यसो गर्नुभयो भने तपाईं ऋणको पासोमा पर्नबाट जोगिनु हुन्छ।

१९. म यतिबेला ३८ वर्षको भएँ। मैले कहिल्यै गम्भीर भएर बिहेका बारेमा सोच्न सकिनँ। मैले त २–३ महिनाभन्दा कसैसँग पनि लामो जीवन बिताइएला भनेर सोच्न सकिनँ। कसैलाई देख्दा पनि मेरो मुटु मुस्कुराउन सकेन। मलाई त डेटिङमा जानसमेत समस्या हुन्छ। यस्तो समस्या भएको व्यक्ति म मात्र त होइन होला। अरुलाई त यस्तो समस्या हुन्छ होला नि ! त्यसैले मैले चिन्ता लिन छाडिसकेँ।

२०. नयाँ वर्षको अघिल्लो दिन मेरा लागि सधैँ सकसपूर्ण हुन्छ। तपाईंलाई पनि त्यस्तै हुन्छ भने त्यो दिनभर तपाईं सुतिरहनुस्।

२१. हरेक नयाँ वर्षपछिको महिनामा आनन्दले छुट्टि मनाउन जानुस्। त्यसलाई भरसक रोचक बनाउने प्रयास गर्नुस्।

२२. पढ्छु भनेर किन्नु भएका वा हेर्छु भनेर छुट्याउनु भएका फिल्महरुमा रमाइलो मान्न सक्नु भएन भने त्यसलाई छाडिदिनुस्। कहिलेकाहीँ कुनै कुरा त्यत्तिकै छाडिदिँदा पनि हुन्छ। गर्नैपर्छ भन्ने छैन।

२३. तपाईंलाई कुकुर वा बिरालो पाल्न मन छ भने पालिहाल्नुस्, अरुले के भन्लान् या छिमेकले पाले भने पालूँला भनेर नकुर्नुस्।

२४. मैले ३४ वर्षको उमेरमा मात्र खाना पकाउन सिकेको हुँ। मलाई यतिञ्जेल पनि बाइक चलाउन वा गाडी कुदाउन आउँदैन। म पौडीमा पनि अनाडी नै छु। यी सबै कुरा सिक्छु वा जान्दछु भनेर प्रयास गरिरहेको हुन्छु। कहिले साँच्चिकै गम्भीर हुन्छु, कहिले दिक्क लागेर छाडिदिन्छु। आफूलाई जबरजस्ती गर्दिनँ।

२५. किताब लेख्छु भनेर सोचेको निकै वर्ष भयो। किताब लेख्नु साँच्चिकै खतरनाक काम रहेछ। कसैले किताब लेखेको छ र झूरै लेखेको छ भने पनि उसको मिहिनेतको कदर गर्नुस् किनभने यो साँच्चिकै कडा काम हो।

२६. उमेर ढल्किसकेको चाल त्यतिबेला पाउनुहुन्छ, जब तपाईंका भाञ्जाभाञ्जी वा भतिजा–भतिजी हलक्क बढेर आफू जत्रै भएको जनाउ दिन्छन्। यस्तो बेलामा उनीहरुलाई बच्चै भनेर व्यवहार गर्ने कि वयस्कलाई झैँ व्यवहार गर्ने भनेर दोधारमा परेका बेला पनि बच्चाझैँ व्यवहार गर्नु उचित हुन्छ। झन् उनीहरु झ्याउलो मानेको देखेर तपाईं रमाउन थाल्नुहुन्छ। रमाउनुस्।

२७. कसरत गर्न झ्याउ लाग्दा आफूभन्दा बूढाको संगत गर्नुस्। उनीहरुको संगतले निरन्तरता दिन मन लागिहाल्छ।

२८. जुन चिजमा रुचि छैन, त्यसलाई रुचि छैन भनिहाल्नुस्। रुचि नभएको चिजलाई पनि छ भनेर बेकारमा टाउको किन दुखाउने ? तर जब मेराअघिल्तिर महत्वपूर्ण व्यक्ति छन्, तिनलाई क्रिकेटमा रुचि छ भन्न थाले भने त्यसबारे महत्वपूर्ण जानकारी बटुलिहाल्नुस्।

२९. जति बूढो हुँदै जान्छु, चिजबिजलाई उति प्रशंसित नजरले हेर्न थाल्छु। खासगरी मेरा नातेदारप्रति यस्तो नजरिया परिवर्तन भएको पाएको छु। तपाईंले पनि त्यो महसुस गर्नुस्।

३०. केही चिज मैले जीवनभर रुचि उत्पन्न गराउन खोजेर पनि भएनन्। खासगरी आर्ट ग्यालरीमा छिरेर घोरिएर चित्रकला हेर्नु त यातना नै थियो र छ पनि। मैले त्यसबारे रुचि जगाउन सकिनँ। २८ नं. फेरि एक पटक हेर्नुस्।

३१. मित्रताका लागि बल लगाउनुस् किनभने मित्रता जत्तिको रमाइलो कुरा यो संसारमा अरु छैन।

३२. आफैँलाई म यो कामका लागि उति असल मानिस होइन, म क्षमतावान् छैन भनेर होच्याउन छाडिदिनुस्। तपाईंको वरिपरि नजर दौडाएर हेर्नुस् त, तिनीहरुमा पनि त क्षमता छैन र पनि कत्ति मिहिनेत गरिरहेका छन् ! मलाई विश्वास गर्नुस्, तपाईं गज्जबको प्रतिभाशाली हुनुहुन्छ, क्षमतावान् हुनुहुन्छ। मात्र प्रयास कम गर्नुहुन्छ। आफ्नो प्रयास बढाउनुस्।

३३. जीवनमा कम अपेक्षा गर्नुस्, यस्तो हुँदा कहिल्यै दुःखी हुनुपर्दैन भन्ने सिद्धान्तमा म बाँचिरहेको छु। विश्वास गर्नुस्, त्यसो गर्नु आफैँलाई धोका दिनु हो। यसले तपाईंलाई हरेक क्षेत्रमा सुरक्षित बनाइरहेको त होला तर तपाईंको क्षमता सदुपयोग भने भएको छैन।

३४. मैले निराशाका बखतमा खाने गरेको औषधि छाडेको पाँच वर्ष भयो। अहिले खाएँ भने त्यसले काम गर्छ कि गर्दैन, म भन्न सक्तिनँ तर तुलनात्मक रुपमा स्वस्थ हुनका लागि मैले सक्दो प्रयास भने गरिरहेको छु।

३५. सबै काम समयमै सक्न सक्दो प्रयास गर्नुस्, यसो गर्दा तपाईंले लज्जित भइरहनु पर्दैन।

३६. व्यस्त समयमा तपाईंको ढाडमा ब्याग राख्नु भएको छ भने त्यो ब्यागलाई सुस्ताउन दिनुस्। हेर्दा यो सानो कुरा लाग्छ तर त्यसले तपाईंको तनाव बढाउन भूमिका खेलिरहेको हुन्छ।

३७. गाडीमा वा कतै सुस्ताउने मौकामा झपक्क आँखा चिम्लने बानी बसाल्नुस्। यसले तपाईंलाई गज्जबको स्फूर्ति दिन्छ।

३८. कहिलेकाहीँ आफ्नै कुरामा प्रतिवाद गर्नुस्। प्रतिवादको तह घृणासम्मै भने नपु-याउनुस्।

Leave A Comment