सवारीको आयु लम्ब्याउने उपाय

सोमबार, ०६ साउन २०७६, १२ : २१ शुक्रवार
सवारीको आयु लम्ब्याउने उपाय

प्रेमप्रसाद कोइराला,प्रोपाइटर,विशाल मोटरसाइकल वर्कशप,गोकर्णेश्वर–१२, नयाँ बस्ती

सवारी साधन किनेर मात्र हुन्न, यसको उचित हेरचाह नगर्ने हो भने सवारीसाधनको आयु छोटिँदै जान्छ। सवारीसाधनको हेरचाह भनेको व्यक्ति बेलाबखत चिकित्सककोमा पुगेर स्वास्थ्य परीक्षण गराएजस्तै हो सवारी साधन सर्भिस सेन्टरमा लगेर परीक्षण गराउनु।

कार होस् या मोटरसाइकल दुवैमा यही नियम लागू हुन्छ। बेलाबखत सर्भिस सेन्टरमा सवारीसाधन लैजाँदा बढी क्षति हुनु अगाडी नै यान्त्रिक समस्या पहिचान गरेर समाधान गर्न सकिन्छ।

सवारीसाधन ठीक कण्डिसनमा राख्ने विभिन्न उपाय छन्। पहिलो त सवारी चलाउनु अगाडी इन्धन पर्याप्त छ छैन हेर्नुपर्छ। इन्धनले केवल सवारीसाधन चलाउने मात्रै हैन यसको आयु लम्ब्याउन समेत सहयोग गर्छ। त्यसैले इन्धन सधैँ सही लेभलमा राख्नुपर्छ। सधैँ रिजर्भमा गएपछि मात्रै इन्धन भर्ने बानी राम्रो हैन।

दोस्रो नियमित रुपमा टायरको अवस्था हेर्नुपर्छ। हावा चेक गर्नुपर्छ। हावा कम वा बढी भएको खण्डमा सवारीसाधन हल्लिने, उफ्रिने हुनसक्छ। यसले दुर्घटना समेत निम्त्याउन सक्छ।

लाइट, साइडलाइट, हर्नजस्ता यन्त्र ठीक नभएको खण्डमा दुर्घटना हुन सक्छ। त्यसैले सवारीसाधन लिएर निस्कनु अगाडी यी सबैको अवस्था हेर्नुपर्छ। स्टार्ट गरेलगत्तै सवारीसाधन चलाउने बानी राम्रो हैन। इन्जिन तातेपछि मात्रै गियर लगाएर गुडाउन सुरु गर्नुपर्छ। इन्जिन नताति चलाउँदा बाटोमा धोका दिन सक्छ।

ब्याट्रीको अवस्थासमेत बेलाबखत हेरिरहनु पर्छ। सकेसम्म फुल चार्ज गराएर चलाउने बानी बसाल्नुपर्छ। सवारीसाधन चलाउँदा आवश्यकता भन्दा बढी स्पिडमा कुदाउँदा दुर्घटनाको जोखिम त हुन्छ नै यसले सवारीसाधनको आयु समेत घटाउँछ।

इन्जिन सवारीसाधनको मुटु हो। समय–समयमा सर्भिसिङ गरी इन्जिन सफा राख्नु पर्छ। इन्जिन बिग्रिएको अवस्थामा सवारीसाधन बेकामे हुन्छ। नियमित रुपमा लुब्रिकेसन हाल्नुपर्छ।

बाइकको हकमा एक हजार किलोमिटर बाइक गुडेपछि सर्भिसिङ गर्नुपर्छ। मोबिल फेर्र्नु पर्छ। सर्भिसिङ गर्दा अवस्थाअनुसार फिल्टर फेर्न सकिन्छ। फिल्टर ठिकठाक भए सफा मात्रै गरे पुग्छ। मोटरसाइकल एक हजार किलोमिटर गुडेपछि मोबिल फेर्दा राम्रो।

मोबिल ढिलो फेर्दा मोबिलमा हुने चिप्लोपना सकिएर खस्रो हुन्छ। जसले विशेषगरी रिंग पिस्टोल बिग्रिन्छ। बेरिङमा पनि असर पर्छ। मोबिलले इन्जिनका पार्ट–पूर्जा चिल्याएर सहज रुपमा पार्ट–पूर्जा चल्छन्। चिप्लोपनाले पार्ट–पूर्जा रगडिन दिँदैन। जसले मोटरसाइकलको आयु लम्बिन्छ।

मोटरसाइकलमा एक्सिलेटर, क्लज, तारको अवस्था हेरिन्छ । चक्का, वेयरिङ, ब्रेक सु को अवस्था कस्तो अवस्थामा छ भन्ने हेर्नुपर्छ। यी यन्त्र सधैँ ठिक हुनुपर्छ। सफा गरिरहनु पर्छ। मोटरसाइकलको बे्रक लुज वा टाइट भएको खण्डमा दुर्घटनामा पर्ने जोखिम हुनाले यसको अवस्था सही हुन आवश्यक छ। जुन चेक गरेर मात्रै चलाउनुपर्छ। क्लज सही अवस्थामा राख्नु पर्छ।

प्लग सफा गर्ने ब्याट्री, एसिड, चार्जको अवस्था हेर्नुपर्छ। चेन चेक गर्नुपर्छ। सर्भिसिङ गर्दा चेन सफा गरिन्छ। ग्रिज लगाइन्छ। ग्रिज लगाउँदा गुडाउन हल्का त हुन्छ नै  चेनमा समस्या हुन पाउँदैन। बेला–बेलामा वास दल्न सकिन्छ। एयर फिल्टर जहिल्यै सफा हुनुपर्छ। एयर फिल्टरले मोटरसाइकललाई सही अवस्थामा राख्न सहयोग गर्छ। घरैमा आफैँले फिल्टर हेर्न  सकिन्छ।

बेला–बेलामा स्याम्पु, सर्फ वा साबुनले धोएर मोटरसाइकल सफा राख्न सकिन्छ। जसले मोटरसाइकलको आयु बढाउँछ। धोएर खियाबाट बचाउन सकिन्छ। घरैमा आफैँले कम्तीमा हप्तामा एकपटक मोटरसाइकल धुन सकिन्छ। धुँदा फिल्टरमा पानी भने पार्नु हुन्न। फिल्टरमा पानी पसेको खण्डमा मोटरसाइकल स्टार्ट हुँदैन। घामपानीले कलर उड्ने भएकाले सवारीसाधन छोप्नु राम्रो।

चार पाङ्ग्रे सवारीको हकमा पनि सचेत हुने विषय उस्तै हुन्। केही पाटा मात्र भिन्दै हुन्छ। गाडी कम्तीमा प्रत्येक आठ हजार किलोमिटर गुडेपछि सर्भिसिङ गरिन्छ। गाडीको सर्भिसिङ गर्दा पनि मोबिल, फिल्टर जाँच गरी अवस्थाअनुसार फेर्नुपर्ने भए फेरिन्छ।

अगाडी–पछाडिका चक्काको जाँच गरिन्छ। ग्रिज हेरिन्छ। एकपटक प्राइभेट कार सर्भिसिङ गर्दा करिब चार हजार खर्च हुन्छ। यति खर्च गर्दा गाडीको आयु बढाउन सकिन्छ।

गाडी कुदाउँदा कस्तो आवाज आउँदैछ भनेर पनि गाडी कण्डिसनमा भए वा नभएको थाहा पाउन सकिन्छ। फरक आवाज आए सजग हुनुपर्छ। गाडीको बे्रक, बेल्ट र ब्याट्रि सँधै ठिक राख्नु पर्छ। गुड्दागुड्दै ब्रेक फेल भएको अवस्थामा दुर्घटना भई गाडी तथा कारको त आयु छोटिने जोखिम हुन्छ नै व्यक्तिको पनि ज्यान जान सक्छ। ब्रेक लगायतमा प्रत्येक हप्ता ग्रिज (फ्लुड) चेक जाँज गरी हाल्नु पर्छ। हेड, साइडलाइड सधैँ ठीक अवस्थामा राख्नु पर्छ।

नियमित रुपमा कार वा गाडी धुनुपर्छ। साबुन, सर्फ पानीले घरमै धुन सकिन्छ। धुने ठाउँमै लानु पर्छ भन्ने छैन। जसले गाडीको आयु लम्ब्याउन सकिन्छ।

गाडीको बाहिरी यन्त्र तथा सामान मात्रै हैन भित्री यन्त्र पनि सधैँ सफा हुनुपर्छ। गाडीको बाहिरी भाग सफा गर्दा मानिसले नुहाएजस्तै हुन्छ भने भित्री भाग सफा गर्नु भनेको मानिसको भित्री अंग सफा तथा स्वस्थ भएजस्तै हो।

त्यसैले बेला–बेलामा सर्भिस सेन्टर लगी गाडीका भित्री पार्ट–पूर्जा सफा राख्नु पर्छ। गाडीका टायरमा हावा सही भए नभएको त चेक गर्नै प-यो। हावा कम  वा बढी भएको अवस्थामा टायर पड्किने सम्भावना हुनुका साथै दुर्घटनाको जोखिम हुन्छ।

जहिले पनि गाडी तथा कारको झ्याल, सीसा र लाइट सफा हुनुपर्छ। टुट–फुट भएको हुनु हुँदैन। जसले दुर्घटना हुनबाट बच्न त सकिन्छ नै गाडीको आयु समेत लम्ब्याउन सकिन्छ।

गाडीको म्यानुअल पनि चेक गर्नुपर्छ। वाइपर ठीक हुनुपर्छ। इन्जिन तथा एयर फिल्टर परिवर्तन गर्न सकिन्छ। यी सही हुनु पर्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

 

Leave A Comment