झण्डै दिउँसै लुटेथे

मङ्गलबार, ०७ साउन २०७६, ११ : ०९ शुक्रवार
झण्डै दिउँसै लुटेथे

गोमान जर्गा मगर, नाइट ट्याक्सी चालक,

ट्याक्सी लाइनमा कसरी आउनुभयो ?
मेरो घर रामेछाप हो। खासमा म पढ्नका लागि काठमाडौं आएको थिएँ। काठमाडाैं आएर आर आर क्याम्पसमा भर्ना भएँ। ब्याचलर पढ्दापढ्दै जागिरको सिलसिलामा के गर्ने भन्ने सोच मनमा आइरहेको थियो। यसै सिलसिलामा व्यावसायिक महासंघमा जागिर खाएँ। तलब थोरै भएपछि पढ्न त के खानलाउन नै धौँ धौँ भो।

यसो हेर्दा ट्याक्सी चलाउन सजिलो होला भनेर ट्याक्सी लाइनमा आएँ। यता आएपछि त पढाइ पनि छुट्न थाल्यो। बिहे गरेपछि पढ्न भन्दा पनि भविष्य कसरी चलाउने भन्ने सोच हुन थाल्यो। जागिर खाने खोच थियो तर समय भनौं कि बाध्यता ट्याक्सी लाइनमा आइयो।

भनेपछि ट्याक्सीमा आम्दानी राम्रै छ ?
पहिले ट्याक्सी पनि थोरै थिए। पहिले टुटल, पठाओ र निजी सवारी साधनले यात्रु बोक्दैनथे। महँगी पनि कम थियो। अहिले त सबै चिजमा महँगी बढेर आकाश छुन लागिसक्यो तर ट्याक्सीको भाडा भने ज्युँका त्युँ छ। वैज्ञानिक भाडादर लागू नभएसम्म ट्याक्सीको आम्दानीले टिक्न मुस्किल छ। ट्याक्सीभन्दा पनि अहिले टुटल पठाओले मान्छे ओर्सान थालेपछि ट्याक्सीमा यात्रु कम चढ्ने गरेका छन्। जसकारण अहिले ट्याक्सी मारमा परेका छन्। साहुलाई हजार पन्ध्र सय बुझाएर, तेल हालेर, खाजा भात खाएर, कोठाभाडा र स्कुललगायतको फी गर्दा ट्याक्सीको हरिबिजोग भएको छ।

कत्तिको सुरक्षित भइन्छ ?
हाम्रो त सामाजिक सुरक्षा नै छैन। तपाईंहरुले पढिरहनुभएको छ ट्याक्सी चालकहरु कुटिएको कुरा, लुटिएको कुरा, कति त मारेका समाचार नआएका पनि होइनन्। तर सरकार र सम्बन्धित निकायले हाम्रो आवाज सुन्दैन।

नेपाल सरकारले हामीलाई यो राष्ट्रको नागरिक नै हैन जस्तो व्यवहार देखाइरहेको छ। हरेक कामका लागि खटिने भनेको ट्याक्सी नै हो। राज्यसँग हाम्रो माग भनेको सामाजिक सुरक्षा, वैज्ञानिक भाडादर नै हो। तर यस विषयमा सरकारले ठाडो कान लगाइदिएको छैन। नाइट डे जे चलाउन पाए पनि आनन्दले चलाउन पाइयोस् भन्ने मेरो भनाइ हो।

नाइट ट्यान्सीमा कस्ता यात्रु भेट्नुभयो ?
रातिको समयमा धेरै जसो धनाढ्य र पैसावालका छोराछोरी नै भेटेँ। जोसँग धेरै पैसा छ उनीहरु डिस्को जाने रमाइलो गर्ने गर्छन्। पैसा नहुने कमै भेटेको छु। भएजतिको पैसा डिस्को, डान्सबारमा सकाएर फर्किने पनि भेटिन्छन्।

एक हप्ता जति भो पुल्चोकमा एकजनाले मलाई दिउँसै लुट्न खोजेको थियो। बानेश्वरबाट मेरो ट्याक्सीमा एकजना यात्रु चढ्नुभयो। उहाँले पुल्चोक जाऊँ भनेर भन्नुभयो र मैले हुन्छ भनेर चढाएँ। पुल्चोक पुग्न लागेपछि मेरो एटिएमबाट पैसा निस्किएन। मलाई तीन हजार दिनुस् म एकछिनमा फिर्ता गर्दिन्छु भन्नुभयो। मसँग भएर पनि दिइनँ। उहाँले एकछिन वेटिङमा बस्दै गर्नु म ऊ त्यहाँभित्र गएर आउँछु भनेर गएको मान्छे डेढ घण्टासम्म पनि आएन। उसको  व्यवहार थाहा पाएर म त्यहाँबाट फर्किहालेँ। प्रस्तुति : भोला अधिकारी     

 

Leave A Comment