राती दरबारमार्गमा चर्तिकला देखिन्छ

मङ्गलबार, ०७ साउन २०७६, १२ : ५० शुक्रवार
राती दरबारमार्गमा चर्तिकला देखिन्छ

दरबार मार्गमा रहेको क्विन रोधिघरमा भेटिएका गायक तथा आर जे अर्जुन कुँवरले शुक्रवारकर्मी भोला अधिकारीसँग साटेको रात्रिकालीन अनुभव :

गुल्मीको रेसुङ्गा रेडियोमा कार्यरत थिएँ। चार वर्षसम्म कमेडी कार्यक्रम चलाएर काठमाडौं आँए। काठमाडौं आउनेजाने त पहिला पनि गरिरहन्थेँ तर अहिले नौ महिना भयो यतै छु।

एकपटक काठमाडाैं आएको बेला केही साथीले दोहोरी साँझ जाने भने। मैले पनि हुन्छ भनेर दरबारमार्गमा रहेको एउटा दोहोरीसाँझमा गएँ। त्यहाँ जाँदा त मैले पूरै अन्धकार देखेँ। यहाँ पनि दोहोरी गाइन्छ र जस्तो लाग्यो। दोहोरी गाउन मन लाग्ने भएका कारण एक दुई महिनादेखि क्विन रोधिघरमा आएर गाउन थालेको छुँ।

दरबारमार्गमा चर्तिकला
कामबाट राति १२, १ बजे निस्कने हो। त्यतिखेर थरिथरिका मान्छे दरबारमार्गको रोडमा देखिन्छन्। पिएर झ्याप भएर निस्केका हुन्छन्। रमाइलोका लागि डिस्को, डान्सबार, दोहोरीसाँझ पसेका हुन्छन्। अलि अलि गर्दै गर्दै ज्यान नै नथामिने गरी पिएर विभिन्न चर्तिकला देखाइरहेका हुन्छन्। प्रायः हरेक दिन यस्तै हुन्छ।

मेरो गेटअप हेर्नु भो भने गजेडी जस्तै लाग्न सक्छ। तर म अल्कोहल पिउँदिन। मैले पिउने भनेको जुस मात्रै हो। अस्तिको दिन राति काम सकाएर १ बजे घर जान रोडमा ओर्लिएँ। रोडमा निस्किएको आमा छोरी नै थिए क्या र। पिउने मामिलामा आमाले अलिक बढी पिएको जस्तो लाग्यो। आमाले छोरीलाई अश्लील शब्दमा मनपरी गाली गरिरहेकी थिइन्।

त्यस्तै अर्को रात काम सकेर तल ओर्लिँदा रोडमा तीनजना लेडिजहरु हुनुहुन्थ्यो। उनीहरुले मलाई भयङ्कर जिस्क्याए। आहा तपाईंको दाह्री त लास्टै मन प-यो। यताउती भनेर मख्ख पारिदिए। उनीहरुले मदिरा पिएका थिए कि थिएनन् थाहा भएन। म धन्यवाद भनी हिँडे।

प्रेम प्रस्ताव आइरहन्छ
नाइटमा काम गर्न थालेको धेरै भएको छैन। पहिलादेखि नै कार्यक्रम गर्दै आएको कारण यस्ता प्रस्ताव धेरै आउँछन्। नढाँटी भन्नुपर्दा दोहोरीसाँझमा गाउन थालेको र आउन थालेको समयमा एकजना दिदीले अर्जुन भाइ मन प-यो। एक किस खाएर जान्छु भनेर क्विनको गेटनेर बस्नुभएको थियो रे।  मलाई यसो कुरा चलाइदेऊ भनेर साथीलाई भन्नुभएको थियो रे।

एकजना साथीमार्फत मेरो कानमा यो खबर आएको हो। सायद धेरैले मलाई अविवाहित जस्तो देखेर  यसो भन्नुभएको हुनुपर्छ। तर मेरो  बिहे भएको निकै वर्ष भइसक्यो। घरमा मेरो छोरी पनि छ।  यो नबुझेर त्यस्तो प्रस्ताव गर्नुभएको जस्तो लाग्छ।

राति प्रहरीले समात्यो
बाइक चलाउँदा बिलबुक सँगै हुन्छ। एक रात भने आफ्नो काम सकेर म रुम फर्कँदै थिएँ। पुतलीसडकमा मलाई प्रहरीले रोक्यो। कहाँ कसले के काम बिगारेको थियो। मलाई साइड लगाएर एकै छिन रोक्नुस् भनेर पुलिसले १ घण्टा जति त्यत्तिकै उभ्यायो। पछि उता कसलाई समातेपछि छोडिदियो।

१० वर्ष लभ अनि बिहे
मेरो घरभन्दा उनको घर त्यस्तै डेढ घण्टा टाढा पर्छ। उनको र मेरो लभ भनेको तम्घास बसेर एक्टिङ सिक्नेक्रममा  भयो। मैले कपाल पालेको थिएँ। त्यहाँ एक्टिङ सिक्नेहरु धेरैले यो लफङ्गो होला भनेर सोच्दा रहेछन्। यसो हेर्दा ट्यापे जस्तो पनि थिएँ। घुलमिल हुँदै जाँदा सबैले यो मान्छे त ठिक रहेछ भन्न थाले। एकजना केटी साथीले उनलाई सुनाइछन्। मेरो एउटा साथी हेर्दा ट्यापेजस्तो, कपाल पनि झ्याम्म पालेको तर धेरै ठिक रहेछ। सोचेको भन्दा पनि फरक भनेर अहिलेकी मेरी श्रीमतीलाई सुनाइछन्।

उनले मेरो नम्बर पत्ता लगाएर फोन गर्ने जिस्कने गर्न थालिन्। बिस्तारै उनले तपाईं रिसाउनु हुन्न भने एउटा कुरा भन्छु भनिन्। उनले साँचो साँचो ठेगाना भन्न थालिन्।

मैले त्यो बेला रेडियोमा  कार्यक्रम चलाउन थालिसकेको थिएँ। उनले मेरो कार्यक्रम पनि सुन्दि रहिछन्। बिस्तारै हाम्रो लभ प-यो। अनि मैले उनको घरमा गएर मागेर नै बिहे गरेँ।

Leave A Comment