अम्पाएरले स्विकारे गल्ती

शनिबार, ११ साउन २०७६, ०२ : ४८ शुक्रवार
अम्पाएरले स्विकारे गल्ती

इङ्ग्ल्यान्डले कप उचालेलगत्तै क्रिकेट विश्वकप सकियो। तर फाइनलमा भएको निर्णयका कारण रेफ्री र बराबरी भएको अवस्थामा बाउन्ड्रीको संख्याको आधारमा विजेता घोषणा गर्ने नियमको आलोचना भइरह्यो।

फिल्डरले फालेको बल ब्याट्सम्यानलाई लागेर मैदान बाहिर पुग्दा अम्पाएर कुमार धर्मसेनाले ६ रन दिनु गल्ती भएको भन्दै आलोचनासमेत भएको थियो। एक रन लिएको अवस्थामा कसरी ६ रन भयो प्रश्न आए। यदि पाँच रन मात्र दिएको भए खेल सुपर ओभरमा समेत पुग्दैनथ्यो र ट्रफी इङ्ल्यान्डको पोल्टामा समेत पुग्दैनथ्यो। विजेता न्युजिल्यान्ड हुन्थ्यो।

विवाद बढ्दै गएपछि फाइनल खेल खेलाउने अम्पाएर आफैँले फाइनल खेलको अन्तिम ओभरको चौथो बलमा इंग्ल्याण्डले ओभर थ्रोका कारण ६ रन दिनु गल्ती भएको स्विकार गरेपछि विवादले नयाँ मोड लिएको छ।

उनको गल्तीले एक रन बढी दिँदा ५० ओभरमा स्कोर बराबरी हुँदा खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभर पनि बराबरी भएपछि बाउन्ड्रीको संख्याको आधारमा इङ्ग्ल्याण्ड च्याम्पियन बनेको थियो।

अम्पाएर धर्मसेना श्रीलंकाका पूर्व क्रिकेटरसमेत हुन्। उनले आफूबाट गल्ती हुनुको कारण आफू मैदानमा रहेका कारण रिप्लेमा ब्याट्सम्यान क्रस गरेको वा नगरेको हेर्ने सुविधा नहुँदा त्रुटि भएको बताए।

टिभीमा रिप्ले हेर्दा अम्पाएरको गल्ती भएको देखिएर सो गल्ती स्वीकार गर्ने उनले बताए। उक्त खेलमा धर्मसेनाले दक्षिण अफ्रिकी अम्पाएर मारिस इरास्मससँगै अम्पाएरिङ गरेका थिए।

धर्मसेनाले आफूले म्याच अफिसियलसँग छलफल गरेर रन दिएकाले पछुतो भने नभएको बताए। जबकि उनकै गल्तीले प्रतियोगिताको वितेजा नै बदलियो। जो विजेता हुनुपर्ने हो ऊ फस्ट रनरअप मात्र भयो।

 

Leave A Comment