निराश बनायो क्रिकेटले

शनिबार, १८ साउन २०७६, ०२ : ३४ शुक्रवार
निराश बनायो क्रिकेटले

अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट खेल्ने सपना सहित एसियाली छनोट खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशंसकहरुलाई निराश बनायो।

सन् २०२० मा हुने विश्वकपमा छनोट हुन आफूभन्दा कमजोर टिम मानिएको आयोजक सिंगापुरलाई जित्नै पर्ने थियो। नेपालले छनोट खेलको प्रारम्भ हारबाट गरेकाले सिंगापुरसँग नजिती छनोट हुन सम्भव थिएन। तर नतिजा सोचेजस्तो आउन सकेन। सिंगापुरसँग नेपाली टोली लाजलाग्दो हार व्यहो-यो। सो खेलको नतिजापछि नेपाली क्रिकेट टोलीको क्षमताभन्दा बढी उचालेको भन्ने आरोपसमेत लाग्यो।

छनोट खेलमा सिंगापुरले दिएको १ सय ९२ रन असम्भव भने थिएन। तर नेपालको ब्याट्सम्यानहरु टिक्नै सकेनन्। नेपाल १ सय ९ रनमै समेटियो। ८२ रनको अन्तरले पराजित भएपछि नेपाली प्रशंसकले मन थाम्न सकेनन्। सधैँ नेपाली टोलीको प्रशंसा गर्नेहरुसमेत आलोचनामा उत्रिए।

खेलमा नेपाल कतिसम्म निरीह देखियो भने नेपालका ४ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके। उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ बनाएका थिए। दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे।  कप्तान पारस खड्काले १२ रन बनाए भने सोमपाल कामीले ११ रन बनाएका थिए।

सिंगापुरको स्कोर पच्छ्याउन मैदानमा उत्रिएका नेपाली ब्याट्सम्यानहरुले लामो सट खेल्दा नतिजा सहजै सिंगापुरको पोल्टामा पुगेको थियो। विकेट ढल्न थालेपछि मैदानमा टिकेर पार्टनरसिप गर्नेमा ध्यान दिएनन् नेपाली खेलाडीले। आत्तिएको नेपाली ब्याट्सम्यानको मनोविज्ञान पढ्न सिंगापुरका बलर सफल भए र नेपाललाई हराउँदै छनोट पनि भए।

पहिलो बलिङमा उत्रिएको नेपाली बलरहरु पनि सिंगापुरका ब्याट्सम्यान सामु निरीह नै देखिएका थिए। फिल्डिङमा समेत उस्तै कमजोरी देखियो। यसले खेललाई प्रतिष्पर्धात्मकको मोडमा समेत लैजान सकेन।

प्रतियोगिताको नतिजा यस्तो लज्जाजनक आयो कि दोस्रो स्थानको मेडल पाएको नेपाली खेलाडीले मेडल फुकालेर कतारलाई दिनुप-र्यो। अनाउन्समा नेपाल रनरअप भएकै भनिएको थियो। नेपाली खेलाडीले मेडल पनि लगाए। तर कतारले विरोध गरेपछि हेर्दा रनरेटमा नेपालभन्दा कतार नै अगाडि देखिएपछि लगाएको मेडल फुकाल्नै प-यो।

पहिलो खेलमा नेपाल कतारसँगै पराजित भएको थियो। तर लगालग भएको खेलमा मलेसिया र कुबेतलाई हराएपछि सिंगापुरलाई पनि हराउनेमा नेपाली प्रशंसक ढुक्क थिए। तर नेपाली खेलाडीले आफ्नोस्तरअनुसारको खेल नै देखाउन सकेनन्।

खेलको अन्तिममा क्याप्टेन पारस खड्काले नेपालको स्तर अनुसारको खेल प्रदर्शन गर्न नसकेको स्वीकारे। नस्वीकारेर पनि गर्नु के। खेलको स्तरै त्यस्तै झुर थियो।

Leave A Comment