नेकपाको हेडसर को ?

आइतबार, १९ साउन २०७६, ०२ : ०९ शुक्रवार
नेकपाको हेडसर को ?

डबल नेकपालाई संकटले पनि कहिल्यै नछाड्ने भयो। एउटा मिलाए अर्को, अर्को मिलायो झन् अर्को। क्या फसाद ! नामै डबल नेकपा, संकट पनि डबल ! नेकपा र एकीकृत माओवादीबीच टाउको जोडिएपछि दुई टाउके नेतृत्व भएको पार्टीलाई शल्यक्रिया गरेर एक बनाउन कम्ता मिहिनेत भइरहेको छैन ! तर नतिजा आउँदै नआउने।

बल्लतल्ल तलतिर कुरा मिलाउँदै केन्द्रमा आइपुगेका थिए, अब हेडसर को त ? कसले कार्यकर्तालाई पढाउने भनेर रडाको मच्चियो। स्कुल विभागको हेडसर हुन ईश्वर पोखरेल अघि सरे, नारायकाजी श्रेष्ठले पाखुरा सुर्किए। घनश्याम भुषालले मास्टरी पाराले दाबी प्रस्तुत गरे। दिए खाइदिन्छु भन्ने लाइन ल्याए, झलनाथ खनालले।

पूर्व एमालेवालाहरु नारायणकाजी हुन्न भन्ने। किन भनेको त उनले माओवाद पठाउँछन् रे ! जनताको बहुदलीय जनवादलाई कुहाइदिन्छन् रे ! अनि पूर्व माओवादीहरु पोखरेल नमान्ने तर्क के थियो भने– उनले जनताको बहुदलीय जनवाद पढाएर दिमाग भुटिदिन्छन् रे, कार्यकर्ताहरुको। हैट्, यत्रो शंकैशंकाले भरिएको पो रैछ डबल नेकपा।

एक पार्टीका दुई टाउके नेताझैँ समर्थक र कार्यकता त झन् कति टाउके टाउके। सामाजिक सञ्जालमा सिफारिसको भेलै बग्न थाल्यो– यस कारण घनश्याम कम्रेड ठीक, यो कारणले नारायणकाजी अब्बल, ईश्वर पोखरेल चैँ किन नहुने ?

कार्यकर्ता सोध्यासोध्यै छन्, हाम्लाई पढाउने हेडसर को ? सिफारिसबाट शुरु भएको सञ्जाले बहस पाखुरा सुर्कासुर्कीमा पुग्ने नै भयो। पुगिसक्यो। दुई टाउके अध्यक्षलाई बालै मतलब छैन, जे सुकै होस्। दुवै ढुक्कले बसिदिएका छन्, सुन्या नसुन्यै गरी। कार्यकर्ता भिडून् कि खुस्किउन् !

हेडसरको दाबेदारी पेश गरेकाहरुलाई भने टेन्सन। आज पो यसो केही होला कि भनेर कार्यकर्ता उफ्रिदिएका छन् सञ्जालमा। रात रहे अग्राख पलाए भनेझैँ जति दिन ढल्कियो, त्यत्ति थाक्छन् विचरा कार्यकर्ता। अब पढाउने पर्ने कार्यकर्ता अहिल्यै थाके भने भोलि पढाउन जाने हेडसरलाई कसरी मान्लान् ? उनीहरु माहौल तताउन कस्सिएका छन्। तर ताप्केको बिँड तातेर के नै हुन्छ र ? पिँध तातेको छैन।

 

Leave A Comment