दाइजो माग्ने श्रीमानलाई माया हैन जेल

सोमबार, २० साउन २०७६, ०१ : ३३ शुक्रवार
दाइजो माग्ने श्रीमानलाई माया हैन जेल

स्वीकृति बराल,अधिवक्ता

मेरो विवाह भएको केही महिना भयो। विवाह भएको भोलिपल्टबाटै श्रीमान्ले मलाई दाइजो नदिएको  र प्रलोभनका कारण मात्र विवाह गरेको भन्दै अनेक बहाना बनाई मानसिक तथा शारीरिक यातना दिँदै आउनु भएको छ। मैले न्याय पाउन के गर्नुपर्ला ? के दाइजो लेनदेन कानुनी मान्यताप्राप्त अधिकार हो ?

प्रलोभनमा परेर विवाह गर्नु र गराउनु दुवै अपराध हो। मुलुकी फौजदारी संहिता, २०७४ को विवाहसम्बन्धी कसुरको दफा १७४ अनुसार विवाहमा लेनदेन गर्न हुँदैन। कानुनी प्रावधानकै कुरा गर्ने  हो भने दफा १७४ को उपदफा १ अनुसार आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलाहा वा दुलहीको तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्नु वा गराउनु हुँदैन। तपाईँको श्रीमान्ले तपाईँलाई मानसिक र शारीरिक यातना दिएर गैरकानुनी काम गर्दै हुनुहुन्छ। कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिले कुनै किसिमको यातना दिन कानुनले छूट दिएको हुँदैन।

शारीरिक तथा मानसिक यातना दिनु कानुनी अपराध हो। लेनदेन गरेर विवाह गर्नु पनि कानुनी अपराध हो। प्रलोभनमा परेर विवाह गर्नु नै दण्डनीय अपराध हो। अझै मानसिक र शारीरिक यातना दिनु त घरेलु हिंसाअन्तर्गत पनि पर्ने अपराध हो। तपाईँले चाहेको खण्डमा तपाईँको श्रीमान्लाई कानुनले सजाय दिलाउने छ। सहेर र दबेर बस्नु पर्ने आवश्यकता छैन।

शारीरिक तथा मानसिक यातना दिनु कानुनी अपराध हो। लेनदेन गरेर विवाह गर्नु पनि कानुनी अपराध हो। प्रलोभनमा परेर विवाह गर्नु नै दण्डनीय अपराध हो। अझै मानसिक र शारीरिक यातना दिनु त घरेलु हिंसाअन्तर्गत पनि पर्ने अपराध हो।

आफ्नो उजुरी लिएर अदालत जानुहोस्, तपाईँले न्याय पाउनु हुनेछ। कसैले विवाह गरिसकेपछि चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नलिएको कारणले दुलही वा निजको नातेदारलाई कुनै किसिमले हैरान पार्ने, सताउने वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न हुँदैन, गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था कानुनमा छ। दाइजो स्वरुप केही सम्पत्ति लिइसकेको अवस्था छ भने पनि त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्छ। दाइजो लिएकै भए पनि फिर्ता हुने र प्रलोभन मात्र गरेको भए पनि सजाय हुने व्यवस्था कानुनले गरेको छ।

तपाईँले प्रश्नमा विवाह भएको केही महिना भयो भन्नु भएको छ। हरेक मुद्दामा उजुरी गर्ने हदम्याद हुुन्छ। कसैले विवाहमा लेनदेन गरेमा त्यस्तो उजुरी कसूर गरेको थाहा पाएको मितिले तीन महिनाभित्र उजुर दिनुपर्छ। सो अवधि नाघेपछि उजुर लाग्दैन।

त्यसैले प्रारम्भमा श्रीमान्लाई सम्झाउने प्रयास गर्नुस्। नसम्झिए, दाइजोका लागि दबाब दिए कानुनी उपचार खोज्नुस्। सहँदै बस्दा दाइजोको विवादले अप्रिय घटनासमेत घट्ने गरेका छन्। तपाईंको सम्बन्ध जटिल अवस्थामा पुग्नुअगाडि नै समाधान गर्नु उत्तम हुन्छ।

Leave A Comment