फोन गरेर केटी मिलाइदेऊ भने

मङ्गलबार, २१ साउन २०७६, १० : २४ शुक्रवार
फोन गरेर केटी मिलाइदेऊ भने

राजन सिन्जाली मगर, नाइट ट्याक्सी चालक, बा१ज ७८८९

ट्याक्सी चलाउन थालेको ३/४ महिना मात्रै भयो। योभन्दा अगाडि विदेश गएको थिएँ। विदेशमा ३,४ वर्ष जति दुःख गरेर नेपाल आएको हुँ। नेपाल आएपछि यतै केही गरौं भन्ने लाग्यो र आफैँले ट्याक्सी किनेर चलाउन थालेँ।

मेरो बसाइ कोटेश्वर हो। एकजना यात्रुलाई तिलगंगा पु-याएर त्यहीँ ट्रिप लागिहाल्छ कि भनेर बसेँ। त्यही समयमा एकजना अधबैँशे मान्छे आएर सिनामंगल जान्छु भने। मैले हुन्छ भनेर ट्याक्सीमा चढाएँ। उनी नचढुञ्जेल पिएको जस्तो लागेको थिएन। ट्याक्सी चढेपछि ह्वास्सै सास गन्हायो। कहाँसम्म हो भनी सोध्दा सिनामंगलको पीपल रुखको छेउमा हो भने।  त्यहीँ त हो के पैसाको कुरा गर्नु। सय, डेढ सय दिइहाल्छ भन्ने मनमा लागेको थियो। सिनामंगल पुगेपछि तपाईंको कता पट्टिको घर हो भनेको बताउनै सकेनन्। अलि तल हो भने। अलि तल पुगेपछि कता भन्दाभन्दै भन्नै सकेनन्। मैले पिपलबोट ३ पटक घुमाइसकेँ तर पनि उनले घर पत्ता नलगाएपछि मैले पैसा नलिई त्यहीँ छोडिदिएँ।

तीनजनाले हिर्काउन थाले
अर्को दिनको घटना हो। रातको ९ बजेको थियो।  न्युरोडबाट एकजना यात्रु छोडेर अर्को कन्ट्याकको यात्रु लिनका लागि कोटेश्वर जाँदै थिएँ। कोटेश्वर महादेव स्थाननजिकै हामी जस्तै अल्लारे तीनजना केटाले मेरो ट्याक्सी रोके। उनीहरुलाई मैले ट्याक्सी खाली छैन भनेँ। उनीहरु पिएर थामिनसक्नु  अवस्थामा थिए। उनीहरुले प्रहरीलाई फोन गर्छु भने। मैले हुन्छ फोन गर्नुस् भनेँ। यसो भन्दा मेरो ट्याक्सीमा लात्ती लात्तीले हान्न थाले। म ट्याक्सीबाट ओर्लिन खोजेको थिएँ। त्यहीँको बासिन्दा एकजना दाइले भाइ तपाई नओर्लिनु। यिनीहरुले खाएका छन्। तपाई हिँडिहाल्नुस् भने। उनीहरुले ट्याक्सी कुच्याउन आँटीसकेपछि  मैले हत्त न पत्त ट्याक्सी दौडाएर कन्ट्याकमा भएका यात्रु लिन गएँ। रातिमा ट्याक्सी चलाउन रिक्स मोल्नु पर्छ।

लभ म्यारिज  
मेरो र मेरी श्रीमतीको ९ कक्षामा पढ्दादेखि लभ सुरु भएको थियो। उनको र मेरो पढ्ने स्कुल भने फरक हो। ९ कक्षा पास गरेर १० कक्षामा पुगेपछि उनको हामी दुइको राम्रोसँग बोलचाल हुँदै गयो। हाम्रो लभ परेको ६ महिना जति भएको थियो। उनको घरमा बिहेका लागि माग्न आउन थालेछन्। उनले मलाई मेरो घरमा बिहेको कुरा आइरहेको छ। के गर्ने भन्न थालिन्। मैले तिमीलाई जे गर्न इच्चा छ त्यही गर भनेँ। घरमा माग्न आएकालाई बिहे नगर्ने भनेर फर्काएपछि उनको र मेरो लभ परेको चर्चा गाउँमा व्यापक भयो। हामीले  ३ महिना भित्रमा एसएलसी नदिइकनै बिहे ग-यौँ।  

केटी मिलाउने दलाल होइनँ।  
केही दिन अगाडिकै कुरा हो। एकजनाले बेलुका ७ बजेतिर फोनमार्फत केटी मिलाइदिने कुरा गरे। म ट्याक्सी चलाउने दाइ हो तर केटी मिलाउने दलाल होइन भनेँ।

Leave A Comment