बागबजारको शीतल भेटघाट दोहोरीसाँझमा डान्सर तथा गायकका रुपमा काम गरिरहेका दीपक घर्ती मगरसँग भोला अधिकारीले गरेको रात्रिकालीन कुराकानी:
दोहोरीसाँझमा नाचिरहनुभएको छ ? कहिलेदेखि नाच्न थाल्नुभएको हो।
दोहोरीसाँझमा नाच्न गाउन थालेको धेरै भएको छैन। यो भन्दाअगाडि डान्सबारमा काम गर्थेँ। डान्सबार छोडेर अहिले यहाँ काम गरिरहेको छु।
तपाईंंले डान्सबार छोडेर दोहोरीमा आएँ भन्नुभयो ? किन आउनुभयो दोहोरीसाँझमा ?
कामको सिलसिलामा दोहोरीसाँझमा आएको हुँ। मैले गाउने, नाच्ने र मादल, अटोप्याटलगायत सबै बजाउने भएका कारण एकजना दाइले यता बोलाउनुभयो र म यहाँ आएँ। अहिले राम्रै छ।
डान्सबारमा नि नाचे भन्नु भयो ? डान्सबारमा कसरी जानुभयो ?
काठमाडौंको बिजुली बजारमा मेरो अंकलको बसोबास थियो। बिजुली बजारमै अंकलको गीत मञ्जरी डिजिटल रेकर्डिङ स्टुडियो थियो त्यहीँ बसेर रेकर्डिङको अभ्यास गरिरहेको थिएँ। आम्दानी खासै थिएन। अंकल आन्टीकोमा बसेर खाइरहन आफैँलाई अफ्ठ्यारो लाग्न थालिसकेको थियो। त्यसकारण मैले के गर्ने भनेर कामको खोजिमा भौतारिइरहेको थिएँ।
त्यही सन्दर्भमा मेरो एउटा चिनजानको साथी थियो सन्दीप क्षेत्री भन्ने। उसले कलङ्कीको एटमस्ट डान्सबारमा काम गर्दो रहेछ। उसले मलाई डान्स गर्ने हो भनेर फेसबुकबाट भिडियो लाइभ देखायो। आइज तैले राम्रो डान्स गर्छस् भन्यो। मलाई डान्समा स्टेप त्यति क्लियर नआउने तर एक्प्रेसन भने मिठो दिन्थेँ। मेरो डान्स देखेर साहुले मलाई डान्सबारमा नाच्नका लागि राख्यो र त्यसपछि म उसले काम गर्ने एटमस्ट डान्सबारमा काम गर्न थालेँ। काम गर्दागर्दै म बिरामी भएँ। उपचार गर्नका लागि पैसा पनि भएन र घर तिर गएँ।
डान्सबारबाट पहिलो तलब कति थापियो ?
त्यहाँ मैले ३/४ महिना काम गरेँ तर तलब सुक्को पाइनँ । मलाई ८ हजार दिन्छु भनेर राखेको थियो। तर अरु लेडिज साथीहरुले पैसा मागिरहेको देख्थेँ तर तेरो ज्यान प्यारो छ कि पैसा भनेर साहुले थर्काउँथे। त्यहाँ काम गर्ने कसैले पनि तलब पाएको मलाई थाहा छैन। मैले त टिप्सका भरमा ४ महिना कटाएँ। तर त्यहाँका डान्सरहरुले त कति महिनाको पैसा नै पाएका थिएनन् मैले छोड्दासम्म।
अब गेष्टसँग खाएर उठाएको बिलको कमिसनसमेत दिँदैन थिए। पैसा पाउन छोडेपछि कोठाभाडा तिर्ने पैसा नहुँदा त्यसैको टेन्सनमा लेडिज कलाकारहरुले वाइन, वियर सक्दो खान्थे।
तलब माग्दा ज्यान मारिदिने धम्की आएपछि उनीहरु साहुसँग डराउँथे। तलब माग्दा पनि १ हजार,२ हजार दिन्थे। त्यस कारण पनि डान्सबारमा टिक्न धेरै मुस्किल थियो। मैले पनि ४ महिनाको तलब माया मारेर निस्केको हुँ। जति कमाइयो टिप्स नै कमाइयो यसैमा चित्त बुझाइयो।
लेडिज कलाकारलाई त गाह्रो रहेछ है ?
अरुकोमा के छ थाहा छैन। मैले काम गरेकोमा धेरै गाह्रो थियो। गेष्टहरु खराब नियत लिएर आएका हुन्थे। लेडिज कलाकार नाचिरहेको ठाउँमा गएर सँगै नाच्थे। ननाचुम भने काठमाडौंमा टिक्न गाह्रो छ। नाचुम् भने खराब मान्छेको घेरामा परिन्छ। डान्सबारमा केटालाई भन्दा लेडिज कलाकारलाई गाह्रो देखेँ।
सबै अविवाहिता थिए लेडिज कलाकार ?
होइन। धेरै त विवाहिता कलाकारहरु नै थिए।
साहुले पैसा नदिनुको कारण पनि त होला ?
साहुको पुरानो ऋण धेरै रहेछ। त्यसैले कलाकारहरुलाई नदिएर आफ्नो ऋण तिरिरहेको भन्ने सुनेको थिएँ। बाँकी कुरा के हो थाहा छैन।
डान्सबारमा कस्तो खालको डान्स गर्नुहुन्थ्यो ?
सबै खाले गीतमा डान्स गरिन्थ्यो। कुन खालको डान्स हो त्यही खालको पहिरनमा नाच्ने हो । म डान्सर त छँदै थिएँ बिस्तारै डिजेमा पनि काम गर्न थालेँ। यो गीतमा यो ड्रेस, यो गीतमा यो ड्रेस भनेर भनिदिन्थेँ। उनीहरु त्यही अनुरुप नाच्थे। डान्सबार चल्ने भनेकै लेडिज डान्सरबाट नै त हो। हामी त सहयोगी मात्रै हो। डान्सबारमा काम गर्दा आफ्नै सम्झेर काम गर्थे। त्यस कारण मलाई साहुले नराम्रो व्यवहार पनि गरेनन्।
अहिले दोहोरीसाँझमा आउनुभएछ ? यहाँ पनि तपाईं डान्स गर्ने हो ?
होइन। म सबै कुरामा अलि ट्यालेन्ट छु। मलाई मादल बजाउन, गीत गाउन पनि आउँछ। मलाई असाध्यै सपोर्ट गर्ने बुद्धिप्रसाद पराजुली। उहाँले बागबजारमा एउटा ४० लाख हाराहारीमा दोहोरीसाँझ खोल्नुभएको छ। उहाँको न्युरोडमा पनि होलसेल जुत्ता पसल छ। म दिउँसो न्युरोडमा काम गर्छु। रातिमा दोहोरीसाँझमा गाउने, नाच्ने, मादल बजाउने काम गर्छु।
दिनरात किन काम गर्नुभएको नि ?
खासमा मलाई घरबाट आर्थिक सहयोग छैन। एउटा नेटवर्किङमा पैसा आउँछ भनेर साथीहरुको लहै लहैमा लागेँ। पैसा आउनु त के उल्टै घरको २ अढाई लाख डुबाइदिएँ। केही गर्छु भनेर लागेको थिएँ तर ठगको व्यापार रहेछ। म त्यसैमा ठगिएँ।
त्यस्तो भएपछि घरमा मप्रतिको विश्वास उडेको भएर कमाएर घर परिवारलाई देखाउनु छ। मेरो नाममा आएको अढाई लाख ऋण तिर्नुछ। त्यस कारण मैले नाइट डे नै खटेर काम गरेको हुँ।
Leave A Comment