राजनीतिक प्रहसनको पीडा

शुक्रबार, २४ साउन २०७६, १० : ५३ शुक्रवार
राजनीतिक प्रहसनको पीडा

संयुक्त सरकार नै विकासको बाधक हो ठान्दै मतदाताले एकै दलको सरकार बन्ने म्यान्डेड दिए। निर्वाचनमा होमिएका तत्कालीन एमाले र एकीकृत माओवादी निर्वाचन अगाडिको वचनमा पक्का देखिए र पार्टी एक गर्दै नेकपा बने। झन्डैझन्डै दुई तिहाईको बहुमतका साथ सरकार बन्यो। सात प्रदेशमध्ये ६ प्रदेशमा एकै पार्टीको सरकार बन्यो।

सरकारले उत्साहित हुँदै समृद्ध नेपाल, सुखी नेपाली, शहरमा मोनो रेल सररर, चीनबाट रेल, तराईमा पानी जहाज, चिल्ला सडक, घरघरै सुविधाको अभियान अगाडि बढायो। रेलको टिकट काट्ने मिति तोकियो, काठमाडौंमा रेलको कार्यालय उद्घाटन भयो।

छिमेकी भारतको नाकाबन्दीमा खाना पकाउने ग्यास नपाएर गुइँठा बालेका नेपालीलाई आश्वस्त बनाउँदै प्रधानमन्त्री केपी ओलीले घर–घरमा ग्यासको पाइप ल्याएर जोडिदिने वाचा गरे। मधेसतिर गएर उद्घाटन पनि गरे।

छापामा निरन्तर चिनियाँ रेलका तस्बिर आइरहे। तस्बिर देख्दा लाग्थ्यो, नाकामै आइसक्यो चिनिया रेल अब सुलुलु ओरालो झरेर काठमाडौंमा ट्याक्कै भोलि नै आइपुग्छझैँ माहोल बनेकै थियो। श्रमिकको हितका लागि कोषको घोषणा हुँदा मजदुर सबै मालिक भएझैँ माहोल बन्यो। अब नेपालीका दुःखका दिन गयोझैँ देखियो सरकारको वाचाले।

यत्तिको शक्तिशाली सरकार न हिजो थियो, न भोलि फेरि आउन सक्छ। वचनमा प्रतिबद्ध हुने हो भने नेपालको मुहार फेर्न चमत्कार गर्न पर्दैनथ्यो। आफ्नो वचनमा पक्का भएर इमान्दारीपूर्वक काम गरिदिए तत्काल मुहार नफेरिए पनि मार्गरेखा पक्कै कोरिन सक्थ्यो।

वास्तविकता सरकारले बाँडेको सपनाको थाकझैँ सुखद् थिएन। जे जस्तो माहोल बनाइए, ती गाईजात्रे प्रहसनको तयारी समान थिए। न रेल न तेल। न भान्छैमा ग्यासको पाइप, न चिल्ला सडक। आम नागरिक कहिले बाढीमा बगे, कहिले पहिरोमा पुरिए। उनीसँगै पुरियो सुखी नेपाली र समृद्ध नेपालको सपना।
सरकार हनिमुन पिरियडमा नपुग्दै लड्खडाउन थाल्यो। बोली एकातिर, व्यवहार अर्कातिर हुन थाल्यो। अर्बौंका भ्रष्टाचारका घटना सतहमा आए। प्रधानमन्त्री आफ्नो वचनमा कम, उखान तुक्कामा बढी व्यस्त हुन थाले। मन्त्रीहरु ‘भेडा’झैँ तुक्कामा होमा हो मिलाउन थाले।

समृद्ध नेपाल, सुखी नेपालीको नारा खुइलिदै गयो। नारासँगै सरकारमा रहेकाहरुको अनुहार पनि फिक्का हुनु नै थियो, भयो। ‘दुःखका दिन गयो रे भैया’ भनेर मग्न नेपालीको सपना बीचैमा टुट्यो।

राष्ट्रियता प्रतिको प्रतिबद्धता बर्खामा भारतीय सीमामा थुनिएको बाँधले डुबाइदियो। गणतन्त्र पछिको शक्तिशाली सरकार हरेक साता गाईजात्रे पारा देखाउन थाल्यो। आफ्नै वाचामा लड्खडाउन थाल्यो। गणतान्त्रिक सरकारमा पञ्चायती धङधङी बढी देखियो। वाक तथा प्रेस स्वतन्त्रता विकासको बाधक देख्न थाल्यो सरकार। हरेक ऐन, नियम विवादित बन्यो।

समय अझै घर्किसकेको छैन। अवसर अझै बाँकी छ। सत्ताधारी गाईजात्रे प्रहसनमा मात्र नरमाउने हो भने बाँकी समय समृद्धिको यात्रामा मुलुकलाई हिँडाउन नसके पनि मार्ग रेखासम्म अझै कोर्न सकिन्छ। आवश्यकता छ त आफ्नै वाचा प्रतिको इमान्दारिता, मुलुक बनाउने प्रतिबद्धता।

 

Leave A Comment