संसद्का स्ट्यान्डअप कमेडियन

शुक्रबार, २४ साउन २०७६, ११ : ५३ शुक्रवार
संसद्का स्ट्यान्डअप कमेडियन

नेकपाका सांसद रामनारायण विडारीका कारण राष्ट्रिय सभाका सम्बोधनमा धेरैले चासो राख्छन्। चासो हुनुको कारण उनको रोचक सम्बोधन शैली नै हो। कानुन व्यवसायी हुँदै संविधान सभा र अहिले राष्ट्रिय सभामा मनोनित उनी झर्रो शब्दको प्रयोग गर्दै ठूल्ठूलो स्वरमा आफ्ना कुरा राख्छन्। टेलिभिजन बहसमा परिआए मुक्कामुक्की नै गर्न पछि नपर्ने  उनी घोचपेच र व्यङ्ग्यमा पारंगत देखिन्छन्। उनको शैली कुनै पोख्त स्ट्यान्डअप कमेडियन भन्दा कम देखिन्न। त्यसैले त उनका धेरै सम्बोधनहरु चर्चित पनि छन्। उनका केही रमाइला सम्बोधनको सम्पादित अंश

मज्जाले रक्सी खान पाइने देश
रक्सी मजाले खान पाइने। जति पनि खान पाइने, जहाँ बसेर पनि खान पाइने, मन्दिरका वरिपरि पनि पाइने, अस्पतालका वरिपरि पनि पाइने। जहाँसुकै पाइने। मज्जैले रक्सी खान पाइने देश कहाँ छ पृथ्वीमा भन्यो भने हाम्रो देशको नाम आउँदो रै’छ।

संसारमा यस्तो छैन। ब्या गर्न २० वर्ष हुनुपर्ने। रक्सी खान ६ वर्ष भए पनि हुने? एउटा सटरमा औषधी पसल, अर्को सटरमा रक्सी पसल। अगाडिपट्टी रक्सी पसल, पछाडिपट्टि औषधी पसल। किन गरेको यो ? भनेको त कर असुल्न, पैसो असुल्न प-यो रे ! रौसीमा कर बढाइदिने अनि पैसा आउँछ, मोटर चढ्ने, के–के गर्ने भनेर नियन्त्रण नगरेको हो?

२२ वर्ष नपुग्याले रक्सी किन्न नपाउने, जँड्याहाहरुको लिस्टै बनाउने वडा वडामा। यो वडामा कुन कुन जँड्याहाले कति कति रक्सी किन्छ ? त्यसको लिस्ट हुने। शराब पिउनेवालाका नाम भनेर इन्डियामा जसरी आउँछ, त्यसरी बनाउने। यो प्रकारको काम हामीले किन नग-या?
(मदिरा बिक्रीसम्बन्धी कानुन संशोधनको माग गर्दै राष्ट्रिय सभामा)

श्रम गर्ने विदेशमा, लतमा फँसेका स्वदेशमा
लाखौं युवा श्रम बेच्न गएका छन् विदेशमा, लाखौं युवाहरु कुलतमा फँसेका छन् स्वदेशमा। श्रम बेच्ने युवा विदेशमा, कुलतमा फँस्ने स्वदेशमा। सरकारलाई यो थाहा छ कि छैन ? यत्रो काल भयो सरकार चलेको यो देशमा। किसिम किसिमका सरकार चले। यत्ति कुरा अहिलेसम्म देखेन, थाहा पाएन।

कुलत के–केबाट हुन्छ? झिंगाको टाउकाको १० भागको एक भाग एक चोटी खाएपछि अर्को चोटी खाउँखाउँ लाग्ने, अनि खान छाड्यो भने ऊ बहुलाउने। अलिअलि खाँदै गयो भने ६ महिनामा मर्ने। यस्तो औषधी अपराधीले पत्ता लाए। केका निम्ति देशमा राजनीति गर्लान् युवाहरुले? देशलाई विकास गर्लान् युवाहरुले भन्ने डरले त्यस्तो हिरोइन, स्म्याक बनाए उनीहरुले। यो सरकार के हेरेर बस्या छ ? नियन्त्रण गर्नु परेन?
(राष्ट्रिय सभामा गरेको सम्बोधनको अंश )

विचरा साइकललाई लेन खै?
त्रिपुरेश्वरबाट थानकेटतिर जाउँ त ! पैदल यात्रु हिँड्ने पेटी चैँ स्यानो, ६–७ इञ्चको बनाइदिन्छ। कसरी हिँड्ने त्यहाँ? त्यसमा पनि पसलेले भ-याङ राखिदिन्छ। त्यसमा पनि पसलेले सिँढी हालिदिन्छ। दोकानका सामान प्रदर्शन गरेर राखिदिन्छ अनि खर्लक्क ओर्लिन्च विचरो बटुवा।

आएर कालो सिसा हालेको गाडीले ड्याम्म हानेर सिध्याइदिन्छ। यस्तो अपराध हुनसक्ने गरी किन बाटो बनाइयो ? संसारका देशमा गएर हेरे होलान् नि ! संसारका देशमा मान्छे हिँड्ने पेटीमा बडो ध्यान दिइन्छ। यो देशमा मोटर चढ्ने कति जना छन् र? यो देशमा साइकल कताबाट हिँड्छ? पैदलयात्रीलाई बाटै बनाइएन। साइकलवाला कहाँबाट हिँड्ने विचरा, त्यसका लागि लेन खै? कहाँबाट हिँड्ने?
(सडक निर्माणको संरचनामा असमति राख्दै)

राम्री युवतीहरु निर्यात गर्ने देश
मन्त्री खै? सदनमा मन्त्री आउनुपर्दैन? बिहानदेखि मन्दिरदेखि ट्वाइलेटसम्मको उद्घाटनमा जाने तर सदनमा नआउने? सदनप्रति मन्त्री उत्तरदायी हुनुपर्दैन। नीतिमा भएको छलफल सुन्नु पर्दैन। त्यही भएर हाम्रो देश बिग्रदै...बिग्रदै...बिग्रदै गयो।

भ्रष्टाचार गर्ने एउटा सूत्र रैछ। त्यो के भने, सय रुपैयाँ पर्नेलाई अनुमानित २ सय बनाइदिने। अब सय रुपैयाँमा काम बन्छ, अनुमानित बजेट २ सयको छ। अनि काम चैँ ५० रुपैयाँको गरिदिने। अनि डेढ सय झ्वाम्म। यो ऊ मन्त्रालय भन्ने कुरै भएन। जम्मैमा यस्तै चल्दै आयो।

हाम्रो देशले के निर्यात गर्छ? राम्री राम्री युवतीहरु निर्यात गर्ने। कस्तो काइदा ! वलिष्ठ युवाहरु निर्यात गर्ने। लोभी पापीबाट कसरी मुक्त हुने? अहिलेको मुख्य समस्या यही हो।

लोभी पापी भएन भने बजेटले काम गरिरहन्छ। लिउँ लिउँ भन्ने प्रेतहरु, दिउँ दिउँ भन्ने देउताहरु। अब असफल पापीलाई लोभी भनिन्छ। सफल लोभीलाई पापी भनिन्छ। लोभी र पापी उस्तै उस्तै हुन्। सफल भयो पापी, असफल भयो लोभी। यी लोभी र पापी दुइटै मालिक प्रेतहरु लामो समय आजका दिनसम्म चल्यो। अलि मान्छेले नबुझोस् भनेर पुँजीगत खर्च र चालु खर्च लेख्छन्। त्यो भन्या के भने पुँजीगत भन्या यो विकास निर्माण गर्ने भयो, चालू खर्च भन्या, तलब भत्ता खाने।

अति कम विकसित देश नेपाल, भ्रष्टाचार अति हुने देश नेपाल। हेर्नुस् त विडम्बना ! दोहोरो घरबार भएका ब्युरोक्र्यास्ट्स् र नेता भएका देश नेपाल। यस्तो प्रकारको बेइमानी कुरा चलाएर नै नेपाल यो अवस्थामा पुगेको हो। अहिले तिनै मान्छेहरु नै हप्कीदप्की गर्छन्।
(राष्ट्रिय सभामा मन्त्रालयबारे हुने छलफलमा मन्त्री नआएपछि)

चक्लेट बाँड्ने लाउरे जस्ता सांसद
मैले कर घटाएको छु, मैले कर बढाएको छु। मैले यस्तो बजेट पेश ग-या छु। अब म यस्तो गर्छु भन्ने पारा हिजोदेखि थ्यो। अहिलेका क्रान्तिकारी अर्थमन्त्रीले पनि त्यही भाषा प्रयोग गर्नु भो। प्रतिपक्षी बोल्दैनन्। कसरी बोलुन्? उनीहरुले पनि हिजो त्यस्तै गर्दै आएका थिए। अहिले हामीले पनि धेरै विरोध गरिरहनुपर्ने आवश्यकता छैन। हो हो भने पुगिहाल्छ।

म सानो–सानो हुँदा गाउँको एउटा कुरा याद आउँछ। लाउरे आउँथ्यो, छड्के छड्के रेडियो भिरेर। रेडियो घन्काउँदै आउँथ्यो अनि हामी बच्चाहरु गजबको मान्छे आयो भनेर पछिपछि लाग्थ्यौं। गोजीबाट किसिम किसिमका चकलेट निकालेर दिन्थ्यो। मजा लाग्थ्यो। अहिले माननीय अर्थमन्त्रीले सांसदहरुलाई गाउँमा जाँदा त्यस्तै बनाइदिनु भाछ।

आयो आयो संसद आयो भनेर पछिपछि लाग्ने गुटुटुटु। मलाई २ लाख, मलाई ४ लाख, मलाई १० लाख भनेर माग्छन् गाउँलेहरु। प्रशंसा गर्नैपर्ने भयो। यस्तै ताल हो भने खर्ब खर्ब माननीयलाई भन्ने दिन आउला !
(सांसदलाई बजेटमा पाँच करोडको छुट्ट्याएको प्रसंगमा)

आयो लाजपूर्जा आयो
जनता र रैती ! जनता भनेको के? रैती भनेको के? स्वतन्त्र भए जनता? पराधीन भए रैती। हाम्रो जनतालाई सरकारले रैती बनाएर राख्यो। कहिले लाजपूर्जा देखाएर अड्काइदिन्छ। दिउँला दिउँला भनेर रैती बनाउँछ। कहिले नागरिकता अड्काएर रैती बनाउँछ। कहिले सिफारिस अड्काइदिन्छ अनि रैती बनाइदिन्छ। यसरी जनतालाई वशमा राख्ने नीति नै बनाएर अहिलेसम्मका सरकार चले।

पूर्वदेखि पश्चिमसम्म, राजमार्गका दायाँबायाँ लालपूर्जा छैन कसैसँग। किन लाजपूर्जा दिइएन? जब चुनाव आउँछ, आयो लालपूर्जा यसपालि आयो भनेर भोटको शिकार गरिन्छ। अनि चुनाव गयो, लालपूर्जा दिइँदैन। यसरी ठगी खाने काम किन गरिराख्या?

कैयौँ देशमा जग्गाको स्वामित्व सरकारसँग हुन्छ, जनता भाडामा बस्छन्। हाम्रो देशमा जग्गाको स्वामित्य जनतामा हुन्छ तर लालपूर्जा छैन। नापी गर्छ, नाटक गर्छ, त्यहाँ लगेर अमिन भिडाउँछ। फिल्ड बुकमा नाम पनि लेखाउँछ। आयो आयो लाजपूर्जा भनेर लोभ्याउँछ। पछिपछि लगाउँछ। भोट लिन्छ अनि छोड्दिन्छ।

वर्षौ बिते आशै आशमा। बाजे मरे, बाउ मरे, छोरो मर्ने बेला भइसक्यो, दिँदैन लालपूर्जा। के भन्छ, चुनाव आउन लाग्यो, भोट मलाई देऊ अनि तिम्रो लालपूर्जा लेऊ। यस्तो प्रकारको बेइमानी काम अबको सरकारले नगरोस्।
(भूमिहीनलाई लालपूर्जाको माग राख्दै राष्ट्रिय सभामा)

Leave A Comment