पिएलओले उत्पादन क्षमता दुई गुणा बढायो

आइतबार, २६ साउन २०७६, १२ : ४३ शुक्रवार
पिएलओले उत्पादन क्षमता दुई  गुणा बढायो

पूर्वाञ्चल लुब्रिकेन्ट आयल (पिएलओ) ले उत्पादन क्षमता दुई गुणा बढाएको छ। दैनिक ६ हजार लिटर लुब्रिकेन्ट उत्पादन गर्दै आएको पिएलओले क्षमता बढाएर दैनिक तीन हजार लिटर पु-याएको छ।

सवारी साधनमा प्रयोग हुने लुब्रिकेन्टको बजार विस्तार हुँदै गएपछि उत्पादन क्षमता बढाएको पिएलओका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले बताए। करिब १५ करोड रुपैयाँ लगानी थप गरेको निर्देशक दुलालले बताए। ‘बजारमा माग बढ्दै गएपछि उत्पादन क्षमता बढाएका हौं,’ दुलालले भने, ‘भदौ १ गतेदेखि पूर्ण क्षमतामा चौबीसै घण्टा उद्योग चलाउँछौं।’ क्षमता बढाएको भए पनि कर्मचारी नियुक्तिको प्रक्रिया चलिरहेकाले पूर्ण क्षमतामा चल्न अब दुई साता लाग्ने उनले बताए।

२०५८ मा स्थापना भएको उद्योगले गुणस्तरीय लुब्रिकेन्ट उत्पादन गरेकाले बजारमा माग बढ्दै गएको उनले बताए। ‘कुुल बजारको १२ प्रतिशत र नेपाली उत्पादनको ४० प्रतिशत हिस्सा पिएलओको उत्पादनले ओगटेको छ,’ दुलालले भने, ‘स्वदेशी ब्रान्ड प्रयोग गर्नेको संख्या बढ्दै छ।’

पिएलओले वार्षिक करिब एक सय करोड रुपैयाँको कारोबार गर्छ। नेपालमा लुब्रिकेन्टको बजार करिब १६ अर्ब रुपैयाँको रहेको उद्योगी बताउँछन्। लुब्रिकेन्टको कुल बजारमा स्वदेशी उद्योगले २८ प्रतिशत बजार हिस्सा ओगटेका छन् भने बाँकी ७२ प्रतिशत विदेशी कम्पनीले बिक्री गर्दै आएका छन्। त्यसमा अधिकांश भारतीय कम्पनी रहेका छन्।

‘नेपाली हुनुमा गर्व गरौं, नेपाली उत्पादन प्रयोग गरौं’ भन्ने नारासाथ आफ्नो उत्पादनको बजार विस्तार गरेको पिएलओले जनाएको छ। कम्पनीले विदेशसमेत निर्यात गर्ने तयारी गरेको छ। पिएलओले गुणस्तर र व्यवस्थापनमा आइएसओ प्रमाण पत्र पाइसकेको छ। पिएलओसहित स्टार, मेगा ब्रान्डमा लुब्रिकेन्ट उत्पादन गर्छ।

नेपाली बजारमा पूर्वाञ्चल आयलसहित नेपाल ल्युव आयल लिमिटेडले गल्फ आयल , फूजिमा आयल कम्पनी लिमिटेडले कन्ट्रोल, नेपाल पेट्रो ल्युव इन्डष्ट्रिज प्रालिले म्याक्सोल, नेपाल पेट्रो केमिकल केमोलियम्स ब्राण्ड लगायतका विभिन्न ब्रान्डमा लुब्रिकेन्ट उत्पादन गर्दै आएका छन्। कच्चा पदार्थ विदेशबाट ल्याएर विभिन्न उद्योगले लुब्रिकेन्ट तयार गरेर बिक्री गर्छन्।

यहाँ उत्पादन भएका लुब्रिकेन्टको गुणस्तर राम्रो भएकाले कन्फिडेन्टका साथ सबैले प्रयोग गर्ने गरेका छन्। सरकारले उपयुक्त वातावरण सृजना गरे यसको उत्पादन विस्तार हुँदै जाने उद्योगी बताउँछन्। अटोमोबाइलको बजार हरेक वर्ष वृद्धि हुँदै गएकाले लुब्रिकेन्टको माग पनि बढ्दै जाँदा यसका उद्योगको अवसर बढेको छ। यहाँका उद्योगीले क्रुड आयल आयात गरेर लुब्रिकेन्ट, क्रिज बनाएर बिक्री गर्ने गरेका छन्।

स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन दिनुपर्ने उद्योगीको माग छ। सरकारी नीतिमा १० प्रतिशत महँगो भए पनि नेपाली उत्पादन किन्न सकिने व्यवस्था भए पनि सो अनुरुप व्यवहारमा नल्याउँदा कठिनाइ भएको गुनासो छ।

सरकारले कच्चापदार्थलाई तयारी वस्तुमा जस्तै भन्सार नलगाई केही सहुलियत दिने हो भने नेपाली लुब्रिकेन्टको बजार हिस्सा बढ्ने उद्योगीको भनाइ छ।

 

Leave A Comment