एक सय ३३ मुलुकसँग व्यापार घाटा

आइतबार, २६ साउन २०७६, ०१ : २२ दिलीप पौडेल
एक सय ३३ मुलुकसँग व्यापार घाटा वीरगञ्ज भन्सार नाका। तस्बिरः शुक्रवार

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसक्दा एक सय ३५ मुलुकसँग नेपालको व्यापार घाटा भएको छ। विश्वका एक सय ५८ मुलुकसँग कारोबार गर्दै आएकोमा २३ वटा मुलुकसँग मात्र व्यापार नाफा रहेको छ।

भन्सार विभागका अनुसार गत वर्षसम्म एक सय २८ मुलुकसँग व्यापार घाटा रहेकोमा यो वर्ष थप सात  देशसँग व्यापार घाटा बढेको हो। नेपालसँग व्यापार नाफा रहेका मुलुकमा इस्टोनिया, आइसल्यान्ड, सेन्ट्रल अफ्रिकन रिपब्लिका, सुडान, माल्दिभ्स, रुआण्डा, पानमालगायतका रहेका छन्।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिकमा व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। यो मुलुकको कुल बजेटभन्दा पनि धेरै हो। गत आर्थिक वर्ष ०७५/७६ मा मुलुकको कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ थियो। गत वर्षको तुलनामा आयात १३.९३ प्रतिशतले बढेको छ भने व्यापार घाटा १३.५५ प्रतिशतले बढेको छ।

भारतसँग मात्र व्यापार घाटा आठ खर्ब ५५ अर्ब रुपैयाँ छ। गत वर्ष भारतबाट नौ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको सामान आयात भएको थियो भने ६२ अर्ब रुपैयाँको मात्र सामान निर्यात। त्यसैगरी, अर्को छिमेकी चीनसँग पनि दुई खर्ब तीन अर्ब रुपैयाँको व्यापार घाटा छ। चीनबाट नेपालमा दुई खर्ब पाँच अर्ब ५१ करोड रुपैयाँको सामान आयात भएको छ भने दुई अर्ब १० करोड रुपैयाँको मात्र सामान निर्यात भएको छ।

सरकारले मुलुकमा औद्योगीकरण गरेर उत्पादन बढाउने बताइरहँदा मुलुकको व्यापार घाटा भयावह बन्दै गएको छ। स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात गर्दा व्यापार घाटा ह्वात्तै बढेको छ। उद्योगधन्दाका लागि कच्चा पदार्थ, पेट्रोलियम पदार्थलगायतका सामग्री आयात हुन स्वाभाविक भए पनि यहाँ किसानले फलाउन सक्ने तरकारी, फलफूल, खाद्यान्नलगायतका वस्तुमा पनि विदेशीको भर पर्नुपर्ने अवस्था छ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका अनुसार स्वदेशी उद्योग फस्टाउन नसक्दा विदेशबाट सामान आयात बढेको छ। ‘मुलुकमा औद्योगिकीकरण नहुँदासम्म व्यापार घाटाको खाडल बढेको हो,’ राणाले भनिन्, ‘सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गरेर उत्पादन बढाउनु पर्छ।’ सरकारले स्वदेशी उद्योगीलाई संरक्षण गर्ने बताए पनि औद्योगिक क्षेत्रमा अपेक्षित रुपमा लगानी बढ्न सकेको छैन। स्वदेशी तथा विदेशी लगानी भएको छैन।

एक वर्षमा करिब डेढ खर्ब रुपैयाँ बढी कृषि तथा पशुजन्य वस्तु आयात भएको छ। यसमा खाद्यान्न, तरकारी, फलफूल, खसी, बोका, चिया, कफी, मसलाको हिस्सा ठूलो छ। यी वस्तु स्वदेशमै उत्पादन गर्न सकिन्छ। यहाँका युवा रोजगारको खोजीमा विदेश भौंतारिरहेको अवस्थामा कृषि उत्पादन गर्न नसक्नु मुलुकको अक्षमता भएको पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन्। ‘कृषिजन्य उत्पादन बढाउन सकिने प्रशस्त सम्भावना छ,’ खनालले भने, ‘सबै सामानमा विदेशीको भर पर्नुपर्दा व्यापार घाटा बढ्यो।’

सरकारले कृषिजन्य र वनजन्य वस्तुको उत्पादन बढाउने बताउँदै आए पनि गत वर्षभन्दा चालु आवमा धेरैको सामान आयात भएको छ। यसले सरकारको भनाइ र गराईमा अन्तर देखिएको छ। अहिलेको वैदेशिक व्यापारमा आयात  ९३.७ प्रतिशत र निर्यात ६.३ प्रतिशत रहेको छ। व्यापार घाटा न्यूनीकरण गर्नका लागि सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। उत्पादन बढाउनका लागि आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा स्वदेशमा उत्पादन हुने वस्तुलाई आयातमा कडाइ गरेको मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए।

स्वदेशी उद्योगको संरक्षण गर्न यहाँ उत्पादन भएका वस्तुको प्रयोग अनिवार्य गराउने प्रयास गरेको छ। मुलुक आत्मनिर्भर भएका चिया, कफी, दुग्ध पदार्थ, घ्यू, कुखुराको मासु, केराउ, बदाम, आलु चिप्स, बिस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनरल वाटर, चिनी तथा सक्खर चकलेट, चुइङगम, पास्ता, जस्तापाता, जुत्ता चप्पल, धागो र त्रिपाललगायत कृषिजन्य तथा औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न त्यस्ता वस्तुको आयातमा भन्सार दर बढाएको छ। निर्माण सामग्री प्रयोग गर्दा सिमेन्ट, काठ, छड, रङलगायत स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति छ।

Leave A Comment