होटल साहुलाई पचेन नाइटलाइफ

आइतबार, २६ साउन २०७६, ०२ : १७ मनोज घर्तीमगर
होटल साहुलाई पचेन नाइटलाइफ पोखरा लेकसाइडकाे रात्रिकालीन दृष्य। तस्बिरः उमेश पुन

पर्यटकीय सहर पोखराको लेकसाइडमा कति समयसम्म खुला राख्ने विवाद स्थानीय प्रशासन र होटल तथा लाउन्स सञ्चालकबीच विवाद चल्दै त थियो, यो विवादमा अब होटल सञ्चालकहरु पनि प्रवेश गरेका छन्।

लेकसाइड २४ सै घण्टा खुलाउन रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) सक्रिय भएपछि होटल संघका पदाधिकारी विपक्षमा उभिएपछि विवादले नयाँ मोड लियो।

लेकसाइडका स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्रलगायत होटल व्यवसायी साँझको ९ बजेपछि सञ्चालन हुने डान्स बार, क्याबिन रेष्टुराँ, दोहोरी साँझ, गजल, स्पा, डिस्को क्लब बन्द गराउनुपर्ने मागसहित अदालत पुगेका छन्।

यसको नेतृत्व पश्चिमाञ्चल होटल संघ (हान) का अध्यक्ष विकल तुलाचन, पूर्वअध्यक्ष गोविन्दराज पहारीले गरेका छन्। उनीसहित ४२ जनाले बेलुका अबेलासम्म पब र बारहरु खुला हुँदा स्थानीय र पर्यटकलाई लेकसाइडमा बस्न असहज भएको तर्क गर्दै व्यवसाय ९ बजे नै बन्द गराउन अन्तरिम आदेश माग्दै रिट हाले। रिटमा रातको ९ बजेदेखि बिहान ३–४ बजेसम्म नै रेष्टुराँ र डान्स क्लबमा होहल्ला हुने गरेका कारण स्थानीय बासिन्दा र होटलमा बस्ने पर्यटकलाई प्रत्यक्ष असर परेकाले तत्काल त्यस्तो कार्य बन्द गर्न माग गरिएको छ।

पर्यटकका लागि रात्रिकालीन जीवनको पनि उत्तिकै महत्व छ। दिनभर घुमेर बेलुका सुटुक्क सुत्न मात्र पक्कै पर्यटक पोखरा पुग्दैनन्। पर्यटकीय क्षेत्रको पहिचानै नाइट लाइफ हो तर होटल व्यवसायी स्थानीयलाई आवरण बनाएर लेकसाइडको रात्रिकालीन जीवन नै बन्द गराउन सक्रिय देखिएपछि रेष्टुरेन्ट सञ्चालकहरु रिसाएका छन्।

४२ जनाले बेलुका अबेलासम्म पब र बारहरु खुला हुँदा स्थानीय र पर्यटकलाई लेकसाइडमा बस्न असहज भएको तर्क गर्दै व्यवसाय ९ बजे नै बन्द गराउन अन्तरिम आदेश माग्दै रिट हाले। रिटमा रातको ९ बजेदेखि बिहान ३–४ बजेसम्म नै रेष्टुराँ र डान्स क्लबमा होहल्ला हुने गरेका कारण स्थानीय बासिन्दा र होटलमा बस्ने पर्यटकलाई प्रत्यक्ष असर परेकाले तत्काल त्यस्तो कार्य बन्द गर्न माग गरिएको छ।

हान अध्यक्ष तुलाचन पर्यटन व्यवसायलाई व्यवस्थित गराउन प्रशासनलाई दबाब दिन अदालत पुगेको दाबी गर्छन्।

‘हामीले लेकसाइडको रात्रिकालीन व्यवसायलाई व्यवस्थित गराउन धेरै पहल गरिसक्यौँ,’ उनले भने, ‘जाने ठाउँ जति सबै ठाउँमा पुगे पनि केही लागेन। न्यायका लागि अदालतमा पुगेका छौँ।’

उनले आफू होटल सञ्चालकको रुपमा नभई पीडित स्थानीयबासीको  हैसियतमा अदालत पुगेको दाबी गरे तर ‘शुक्रवार’ले फेला पारेको रिटमा उनले होटल संघको अध्यक्षको हैसियतमा हस्ताक्षर गरेका छन्।

निरन्तर विवाद
लेकसाइडको रात्रिकालीन व्यवसायबारे विवाद उठेको पहिलो पटक हैन। दुई दशकदेखि यसबारे छलफल भए पनि समस्या समाधान हुन सकेको छैन। रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) सुरुदेखि नै २४ सै घण्टा लेकसाइड खुल्नुपर्ने अडानमा छ। उसको भनाइअनुसार लेकसाइडमा आन्तरिक र बाह्य पर्यटक आउने रमाउनकै लागि हो। पश्चिमाञ्चल होटल संघ (हान) २४ सै घण्टा खोल्ने मागको विपक्षमा छ।

होटल संघ र रेबानबीच विवाद बढ्दै जाँदा व्यवसायीबीच आरोप प्रत्यारोप नै भइरहेको छ। दुवै संस्थाका पदाधिकारी पक्ष र विपक्षमा भिन्दाभिन्दै बैठक गरिरहेका छन्। पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले भने दुवै संस्थाबीच समन्वयको प्रयास गरिरहेको छ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) का अध्यक्ष भीमसेन भुजेल २४ सै घण्टा सञ्चालनमा ल्याउनुपर्ने पर्यटन व्यवसाय सम्साँझै बन्द गर्न दबाब दिँदा पर्यटनमा नराम्रो असर पार्ने बताउँछन्।

‘पर्याप्त पूर्वाधार तयार पारेर शान्ति सुरक्षाको ग्यारेन्टी गरेर २४ सै घण्टा खोल्नुपर्ने व्यवसाय राति ९ बजे नै बन्द गर्नुपर्ने माग राख्नु आफैँमा गलत हो,’ भुजेल भन्छन्, ‘राति ९ बजे व्यवसाय बन्द गरेर हामी चल्न सक्दैनौँ।’

राति ९ बजेपछि नै खानपिनका गतिविधि सञ्चालन हुने बेलामा व्यवसाय बन्द गर्नुपर्छ भनेर केही स्वार्थ समूह लागिपरेको उनले बताए। रिटमा रेवानबारे कतै उल्लेख नगरिए पनि त्यहाँ रेष्टुरेन्ट, गजल, दोहारी साँझलगायत रात्रिकालीन व्यवसाय पनि जोडिएकाले यसबारे आवाज उठाएको उनले सुनाए। 

कम्तीमा लेकसाइड रोड, बैदाम वडा प्रहरी कार्यालयदेखि खहरेसम्म पर्यटकीय व्यावसायिक स्थान घोषणा गरी २४ सै घण्टा निर्बाध सांगीतिक कार्यक्रमसहित व्यवसाय सञ्चालन गर्न पर्यटकीय क्षेत्रको मान्यता दिनुपर्ने रेवान पक्षधरको भनाइ छ।

कानुनी रुपमै रात्रिकालीन व्यवसाय गर्ने भनेर अनुमति पाएका व्यावसायिक संस्थालाई तोकेरै यति बजे बन्द हुनुपर्छ भन्नु सरासर गलत भएको आइरिस पपका सञ्चालक नारायण थापा बताउँछन्।

‘हाम्रो व्यवसाय चल्ने भनेकै राति हो,’ थापा भन्छन्, ‘नाइट लाइफ नै १० बजेपछि शुरु हुनाले लेकसाइड एरियामा त्यस्तो निर्णय गर्नु सुहाउने कुरा होइन। त्यो सरासर गलत हो। लेकसाइडमा किराना पसल, ग्रोसरी सबै राति अबेलासम्म खुल्छन्।’

परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले सबै व्यवसायीको एकताले मात्र सरकारी लक्ष्य पूरा हुने भएकाले सहमति गरेर अघि बढ्ने प्रयास भइरहेको बताए।

‘हामी निवेदकजस्ता स्थानीयबासीले आफ्ना घरमा रातका सममयमा पनि शान्तपूर्वक बस्ने, आराम गर्ने, दैनिक जीवन चलाउने, कार्यमा कठिन भएको छ। घरमा अध्ययन गर्नुपर्ने विद्यार्थी छोराछोरी, भाइबहिनीहरुले पठनपाठन गर्न सक्ने अवस्था छैन भने समाचारका लागि टिभीसम्म हेर्न, सुन्न सकिँदैन।’

‘व्यवसाय शान्त हुनुपर्छ, त्यसमा दुईमत छैन,’ उनी भन्छन्, ‘तर, सबैले गल्ती गरे भनेर एकैठाउँमा राख्न पाइँदैन।’ उनले पनि रात्रि व्यवसाय सञ्चालन गर्ने केही डान्स, डिस्कोले समस्या पारेकाले ती व्यवसायीलाई नियमन गर्नु अनिवार्य रहेको बताए।

रिटको चुरो
रिटमा हान अध्यक्ष विकल तुलाचन, पूर्व अध्यक्ष गोविन्दराज पहारी, व्यवसायी मंगल नेपालीसहित ४२ जनाले स्थानीय बासिन्दा र पर्यटकलाई समेत लेकसाइडमा बस्न असहज भएको भन्दै तत्कालका लागि त्यस्तो व्यवसाय बन्द गराउन अन्तरिम आदेश माग्दै रिट दायर गरेका छन्।

रातको ९ बजेपछि बिहान ४ बजेसम्म पनि रेस्टुरेन्ट र डान्स क्लबमा होहल्ला हुने गरेको, जसका कारण स्थानीय बासिन्दा र होटलमा बस्ने पाहुनालाई प्रत्यक्ष असर परेकाले तत्काल त्यस्ता व्यवसाय बन्द गर्न माग गर्दै रिट दायर गरिएको निवेदकमध्येका पम्फा पहारीले जानकारी दिइन्।

पोखरा महानगरपालिका वडा नं. ६ को कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन मात्र नभएर मुख्यमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउँदा पनि समस्या समाधानका लागि पहल नभएका कारण अदालतकै ढोका ढकढक्याउनु परेको उनको भनाइ छ।

‘समस्या समाधानका लागि जानुपर्ने सबै निकायमा जाँदासमेत कुनै निकास नआएपछि न्यायका लागि अदालतसम्म पुगेका हौँ,’ पहारी भन्छिन्।

राति चल्ने जेनेरेटर, डान्सबारबाट आएको चर्को आवाज, रंगीविरंगी बत्तीले जनजीवन अस्तव्यस्त भएको दाबी रिट निवेदनमा गरिएको छ।

‘हामी निवेदकजस्ता स्थानीयबासीले आफ्ना घरमा रातका सममयमा पनि शान्तपूर्वक बस्ने, आराम गर्ने, दैनिक जीवन चलाउने, कार्यमा कठिन भएको छ। घरमा अध्ययन गर्नुपर्ने विद्यार्थी छोराछोरी, भाइबहिनीहरुले पठनपाठन गर्न सक्ने अवस्था छैन भने समाचारका लागि टिभीसम्म हेर्न, सुन्न सकिँदैन।’ रिट निवेदनमा भनिएको छ।

रातको समयमा त्यस्ता रेस्टुरेन्टहरुबाट फर्कने ग्राहकको असहिष्णु र अश्लील व्यवहारबाट जीवन गुजारा जटिल बन्दै गएको निवेदकले उल्लेख गरेका छन्। चर्को आवाज र झिलिमिली बत्तीले वातावरणीय प्रदूषण बढेको र फेवाताल र सीमसारका जीवजन्तुलाई समेत असर पारेको दाबी निवेदकको छ। रात्रिकालीन व्यवसायलाई व्यवस्थित गराउन १० वटा सुझाव दिई सोहीअनुसार आदेश जारी गरिदिन रिट निवेदनमा उल्लेख गरिएको थियो।

कारण देखाऊ आदेश, पछि स-यो पेसी
रात्रिकालीन व्यवसायविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले विपक्षीका नाममा साउन १३ गते सोमबार कारण देखाऊ आदेश जारी ग-योे। मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्नुपर्ने नपर्नेबारे छलफल गर्न दुवै पक्षलाई साउन २० गते सोमबार बोलायो।

अवाञ्छित र गैरकानुनी क्रियाकलाप हुन नदिने लगायत शान्ति सुरक्षाको उचित प्रबन्ध गरी प्रहरीको गस्ती बढाउन अदालतले जिल्ला प्रशासन कार्यालय कास्कीलाई आदेशसमेत ग-यो। लगत्तै लेकसाइड क्षेत्रमा प्रहरीको गस्ती समेत बढेको छ।

रिट निवेदकले गण्डकी प्रदेश मुख्य मन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका जिल्ला प्रहरी कार्यालय, कास्की, वडा प्रहरी कार्यालय बैदामसहित १० वटा निकायलाई विपक्षी बनाएका छन्।

व्यवसायी छलफलमा
उच्च अदालत पोखराले रिट निवेदनमाथि कारण देखाउ आदेश जारी गरेपछि पोखरा पर्यटन परिषद् हान र रेवान लगायत पर्यटनसँग सम्बन्धित सम्पूर्ण संघसंस्थासँग छलफलमा व्यस्त रह्यो। सुरुदेखि नै छलफल गरेको परिषद्को लामो प्रयासपछि सोमबार समेत बृहत् छलफल भयो। परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जिल्ला प्रशासन कार्यालय कास्कीले तयार पारेको ‘रात्रिकालीन व्यवसाय सञ्चालन आचारसंहिता २०७६’ बारे र अहिलेको विवादबारे बृहत् छलफल गरेपछि व्यवासायी बीचको छलफल निष्कर्षतर्फ पुगेको बताए।

‘आचारसंहिताबारे हाम्रा सदस्य सबै संघ संस्थालाई बोलाएर छलफल भएपछि आवश्यक सुझाव पनि दिएका छौँ,’ अध्यक्ष पोखरेलले भने, ‘अझै त्यसमा सुझाव दिन र आफ्ना तर्फबाट अनुमोदन गराएपछि जिल्ला प्रशासन कार्यालयलाई बुझाउँछौँ। त्यसलाई कार्यान्वयन गरेमा सबै पक्षलाई समेट्छ । सबैको माग सम्बोधन गर्न सक्छ भन्ने बारेमा एक मत भइयो।’

आचारसंहितमा व्यवसायीले, सुरक्षा निकायले, सेवाग्राहीलगायतले पालाना गर्नुपर्ने कुरा व्यवस्थित रुपमा लेखिएको छ।

प्रशासनले ‘रात्रिकालीन व्यवसाय सञ्चालन  आचारसंहिता २०७६’ समेत तयार पारी व्यवसायी र सरोकारवालाबिच छलफल गराएको थियो। तर, यसमा खासै सहमति नजुटेकाले परिषद्ले समेत यसै १२ बुँदे आचारसंहितामा केही बुँदा संशोधन गर्नुपर्ने र केही बुँदा थप्नुपर्ने र सोही आचारसंहितामा सुझाव पठाउन आबद्ध सम्पूर्ण सदस्य संस्थालाई पठाएको छ।

रेवानका अध्यक्ष भीमसेन भुजेलले साउन २० गते सोमबार भएको छलफलबाट सरकारले आचारसंहिता बनाएर कानुनकै रुपमा लागू गर्ने र रिट निवेदकले मुद्दा फिर्ता लिने सहमति भएको दाबी गरे। ‘रिटमा रेवान विपक्षी छैन तर रेष्टुरेन्ट पनि उल्लेख गरेकाले हामीले छलफल गरेका हौँ,’ भुजेल भन्छन्, ‘हानले आधिकारिक रुपमै ९ बजे रात्रिकालीन व्यवसाय बन्द गरिनुपर्ने रिट हालेपछि हामी लागेका हौँ।’ पर्यटन परिषद्सँग सम्बन्धित सबै संघसंस्थासँग छलफल भएपछि कानुन बनाएर सरकारले लागु गर्ने र हानले सिडिओकोमा गएर सहमति भइसकेपछि मुद्दा फिर्ता लिने सहमति भएको छ। अब एकदुई दिनमै सहमति हुन्छ।’

Leave A Comment