आफ्नो करियर आफैंले बनाउने हो

मङ्गलबार, २८ साउन २०७६, ११ : १८ शुक्रवार
आफ्नो करियर आफैंले बनाउने हो

नाइट लाइफमा रमाइरहेका डिजे हुन् सरोज सुवेदी। उनी  अहिले ठमेलमा रहेको फायर क्लबमा डिजेको रुपमा काम गरिरहेका छन्। उनीसँग भोला अधिकारीले गरेको रात्रिकालीन कुराकानी :

सानैदेखिको चासो
मलाई म्युजिक बजाउन सानैदेखि रुचि थियो। मेरो घर ललितपुरको इमाडोलमा भएकाले सिक्नका लागि त्यति कस्टकर बनेन। राजधानी बाहिरको मान्छे भएको भए अलिक गाह्रो हुन्थ्यो होला। स्कुल तहमै मैले गितार बजाउन सिकिसकेको थिएँ। हरेक मान्छेका फरक–फरक चाहना हुन्छन्। मेरो चाहना डिजे बन्छु या म्युजिक क्षेत्रमै केही गर्छु भन्ने थियो। 

म डिजेका लागि इन्स्टिच्युट गएँ। इन्स्टिच्युटमा गएपछि डिजे पनि सिकेँ। यसरी एउटा बाटो खोजिरहेको बेला मैले एकजना दाइ अहिले फायर क्लबमा  सँगै काम गरिरहेका छौँ। डिजे डेनी भन्ने जो अहिले निकै पपुलर हुनुहुन्छ। उहाँको साथ पाएको थिएँ। उहाँले नै मलाई डिजेको बारेमा धेरै कुरा सिकाउनुभएको थियो। अहिले पनि यसो गर उसो गर भनेर मलाई सिकाइ रहनुहुन्छ। त्यसकारण पनि मलाई डिजे बन्न प्रेरणा मिल्यो। अहिले मैले डिजे काम गर्न थालेको २ वर्षभन्दा धेरै भइसक्यो।

मेरो डिजे बन्दाको सुरुवात     
म ९ कक्षामा पढ्दा केटा साथीहरुको इभेन्ट पार्टी भएको थियो आइ क्लबमा। केटा साथीहरुले भ्यालेन्टाइन डेको दिन पार्टी आयोजना गरेका थिए। मैले पनि त्यो पार्टीमा सहभागी हुने मौका पाएको थिएँ। एउटा डिजेले बजाएको म्युजिकमा धेरै जना नाचेको देखेको थिएँ। मलाई पनि भित्रैबाट ऊर्जा आएको थियो।

मलाई बाटो देखाउने आदरणीय डेनी दाइको सपोर्ट पाएपछि चाँडै यो क्षेत्रमा प्रवेश गरेको डिजे हुँ। मैले अहिलेसम्म ४ वटा नाइट क्लबमा डिजे भएर काम गरिसकेको छु। आफूले सिकेको कुरा कसरी प्रयोग गर्ने भन्ने कुरा हो। यसमा बाहिरी ज्ञान भएर मात्र हुँदैन। अभ्यास पनि उत्तिकै जरुरत पर्छ। किनभने त्यहाँ आएका सयाैँ मान्छेलाई एउटा डिजेले रुझाउन सक्नुपर्छ। जसले राम्ररी रुझाउन सक्यो ऊ राम्रो डिजे हो भन्न सकिन्छ।

आफ्नो करियर आफैँले बनाउने हो
धेरैले भन्छन् मेरो करियर अरुले बनाइदिन्छ। तर मलाई विश्वास लाग्दैन। आफूले सानैदेखि या बुझ्ने भएपछि आफ्नो करियर कता लाने भन्ने कुरामा सोचिसक्नुपर्छ। मैले पनि मलाई चासोको विषय म्युजिक या डिजे बन्ने सोच राखेर मिहिनेत गरेँ। धेरैजना गेष्टलाई उफार्न सकेको छु। जुन दिन धेरै गेष्ट खुसी देख्छु। हाम्रो समय भनेको दिन रात हुन्छ, रात दिन हुन्छ। मैले कलेज पढ्दापढ्दै डिजेमा हात हालेको हुँ। अहिले धेरैले राम्रो बजाउन थालिस् भन्छन्। मलाई लाग्छ यो मैले गरेको मिहिनेतको फल हो।

सुरुमा मैले नाइट क्लबमा काम गर्न थालेको कमलादीमा रहेको ‘छोयो ’ नाइट क्लब भन्ने थियो। यही ‘छोयो’ नाइट क्लबबाटै मेरो रात्रिकालीन जागिर सुरु भएको हो। त्यहाँ झण्डै एक वर्ष काम गरेपछि मलाई अर्कोमा जाऊँ जाऊँ लाग्यो। अनि यो भन्दा अलि चलेको ‘आइ क्लब’ मा गएँ। त्यहाँ मैले धेरै समय काम गरिनँ।

त्यसपछि मलाई  ‘एलोडी’ नाइट क्लबबाट अफर आयो। मान्छेको मन सन्तोष नहुने अलिक बढी पैसा आउने र राम्रो क्लबको खोजीमा लागेँ। ‘एलोडी’ नाइट क्लबमा काम गरिरहेको थिएँ। म अझ राम्रो सिकाउने मान्छेको खोजिमा थिएँ। त्यही समयमा मलाई डेनी दाइले ठमेलको फायर क्लबमा आउ भन्नुभयो।  म अहिले फायर क्लबमै काम गर्न थालेको छु। अहिले ठीकै छ भनेँ।

गेष्टअनुसारको म्युजिक
नाइट क्लब भनेको नाइट लाइफ बुझेको मान्छे आउने ठाउँ हो। हामीले कस्ता खाले गेष्टले कुन गीत मन पराउँछन् भनेर अनुमान लगाउनुपर्छ। मैले उमेरअनुसारको गीत बजाउने गर्छु। २०/२५ वर्षसम्मका गेष्टलाई हिपपप खालका अंग्रेजी गीत बजाइदिनुपर्छ । यसो गर्दा माहोल निकै तातिन्छ।

२५ वर्षभन्दा माथिका गेष्टको बाहुल्यता बढ्यो भने हिन्दी तथा नेपाली आइटम गीतहरु बजाइदिनुपर्छ। यस्ता खालका गीतमा उहाँहरु इन्जोय गर्नुहुन्छ।

ठमेलको दृश्य नै फरक–फरक
नाइट क्लब जम्ने भनेको मध्यरातदेखि नै हो। सबैतिर डान्सबार, दोहोरीसाँझ बन्द भएपछि ठमेलमा मान्छेको चहलपहल बढ्छ। अर्थात्  नाइट क्लबमा मान्छेहरु आउने गर्नुहुन्छ। यो बेला आफूले उहाँहरुलाई तान्ने खालका म्युजिक बजाइदिने गरेको छु। जब उहाँहरुको नशा नशामा म्युजिक घुस्न थाल्छ अनि रक्सीको तालमा जुनसुकै गीत बजाए पनि रमाउन थाल्नुहुन्छ। माहोल नै बेग्लै भइहाल्छ। सबैभन्दा धेरै मज्जा आउने भनेको रातको २/३ बजेतिर नै हो। हामोल तात्तिने बेला। त्यसपछि बिस्तारै सबैजना घर लाग्न थाल्छन्। हाम्रो त सबभन्दा ढिला भनेको बिहानको ७ बज्छ।

ठमेल भनेको यस्तो ठाउँ हो कि रात दिन, दिन रात भएको ठाउँ हो। नाइटमा त धेरै जसो मातेकाहरु नै भेटिने गरेका छन्। कुनै क्लबतिर छिरेर रक्सी बेस्सरी खाएर बाहिर चोकमा साथीसाथी कुटाकुट गरेका पनि देखिन्छन्। यही भन्ने छैन। ठमेलमा रमाइलोका लागि गएका हुन्छन्। रमाउँदारमाउँदै अलिक बढी पिएपछि साथीसाथी हानाहान गरेको दृश्य देखिन्छ। केटीहरुले मातेको सुरमा मनपरि बोल्दै हिँडेको पनि कहिलेकाहीँ देखिन्छ। रक्सी खाएपछि मनमा के–के छ सबै खोल्न थालिहाल्छन्। सबै कुराको बयान गरेर पनि सकिँदैन। आफ्नो काम गर्ने हो। अरुको त्यस्तो चासो पनि राखिँदैन।

Leave A Comment