बलिउडमा प्रतिभाको कदर हुन्न

मङ्गलबार, २८ साउन २०७६, १२ : ०८ शुक्रवार
बलिउडमा प्रतिभाको कदर हुन्न

तीन पटककी राष्ट्रिय अवार्ड विजेता बलिउड अभिनेत्री कंगना रनौटले यस क्षेत्रमा प्रतिभाको कुनै कदर नहुने बताएकी छिन्। भारतीय संचार माध्यमसँग कुराकानी गर्दै उनले बलिउडमा प्रतिभाको कुनै महत्व नभएको प्रतिक्रिया दिएकी हुन्।

‘म कठोर भएको छु। सुरुवाती दिनमा बलिउडमा प्रवेश गर्दा आफ्नो प्रतिभानै सबै थोक हो जस्तो लाग्थ्यो। मैले आफैंलाई प्रमाणित गर्नु पर्ने थियो। मैले सक्नेसम्मको संघर्ष गरें। मैले फिल्म निर्माण र स्क्रिप्ट लेख्न सिकें। मैले सबै कुरा गरें, प्रतिभानै सबै कुरा हो जस्तो लाग्थ्यो। जब सफलता पाउँदै गए, प्रतिभामात्र भएर नहुने रहेछ भन्ने कुरा बुझ्न पाएँ,’ भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले भनिन्, ‘शक्तिको आधारमा राजनीति गर्ने व्यक्तिहरूको नेटवर्कले सानो माफियाको जालो बुनेका छन्।’

‘ग्याङ्स्टर’ बाट बलिउड फिल्ममा डेब्यु गरेकी अभिनेत्री रनौटले करिव एक दशकको अवधिमा महिला केन्द्रित फिल्महरू ‘क्वीन’, ‘क्रिस थ्री’, ‘तनु वेड्स मनु फ्रेंचाइजी’ र ‘मणिकर्णिका : द क्वीन अफ झन्की’ मा काम गरिसकेकी छिन्।

सन् २०१७ मा फिल्म निर्माता करण जोहरको ‘कफी वीथ करण’ कार्यक्रममा बलिउडमा नातावाद हाबी भएकाले बाहिरबाट भविष्य खोज्दै आउनेहरू टिक्न नसक्ने बताएपछि अभिनेत्री रनौट विवादमा आएकी थिइन्।

‘यसले मलाई दिक्क बनायो। म यसका लागि तयार थिइन्। माफिया कुनैपनि क्षेत्रमा राम्रो हुन्न्,’ उनले भनिन्, ‘माफियाको जालो हटाउन मैले साहस देखाएँ। किनकि म योग्य छु भन्ने महसुस भएको थियो। यसलाई तोड्न मैले आफ्नो रोजाइका साथी संगतको समूह बनाएँ। कारण, मैले पाउनुपर्ने कुरा पाउनुपर्छ जस्तो लाग्थ्यो। ’

केही समयअघि भारतीय सञ्चार माध्यमहरूले उनलाई बहिष्कार गर्ने जनाएका थिए। एकता कपुरको बालाजी मोसन पिक्चर्सको ‘जजमेन्टल है क्या’ फिल्मको प्रमोसन कार्यक्रमको दौरान अभिनेत्री रनौटले भारतीय संचार माध्यमसँग अभद्र व्यवहार गरेकोमा माफी माग्नुपर्ने बताएका थिए। सो कार्यक्रममा प्रश्न उत्तरको क्रममा विवाद बढेपछि निर्मात्री एकता कपुर र अभिनेता राजकुमार रावले स्थितिलाई सहज बनाउनु परेको थियो।

Leave A Comment