शोकको पर्व

बुधबार, २९ साउन २०७६, ११ : ०८ उपेन्द्र खड्का
शोकको पर्व गतबर्ष गाईजात्रा देखाउँदै नेवार समुदाय। फाइल तस्बिरः शुक्रवार

गाईजात्रा हेर्दा जति रमाइलो लाग्छ, यसको भित्री पाटो खुट्याउने हो भने त्यति नै यो दुःखद् पर्व हो। यो पीडालाई भुलाउने पर्व हो। दिवंगत आत्माको शान्तिका लागि मनाइने दुःखद् पर्व हो नै।

गाईजात्रा दिवंगत व्यक्तिको सम्झनामा मनाइने दुःखद् पर्व भएको संस्कृतिविद् ओम धौभडेल बताउँछन्। ‘आफन्तको मृत्यु हुँदा व्यक्ति निरास हुने भएकाले निरासालाई हटाउन नाचगान तथा रमाइलो गर्ने परम्परा हो, गाईजात्रा,’ धौभडेलले भने।

संस्कृतिविद्को तर्कअनुसार विशेषगरी नेवारी समुदायमै यो पर्व मनाउनुको कारण नेवारी समुदाय गाना–बजाना, कलात्मक तथा सांस्कृतिक नाचगानमा धनी हुनु हो। दिवंगत व्यक्तिको सम्झनामा समेत नाचगान गरी दुःख बिर्सिने माध्यमको रुपमा यो पर्व मनाइएको हो।

वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा.वासुदेव खनाल पनि गाईजात्रालाई शोक भुलाउने पर्वका रुपमा लिन्छन्। यो शोक भुलाउने पर्व हो। डा. खनालले भने, ‘व्यक्ति जन्मिएपछि मृत्यु निश्चित छ, मृत्युमा शोक गरेर बस्नु व्यर्थ हो भन्ने सन्देश दिने पर्व हो ‘गाईजात्रा’।’ याज्ञवल्क्य स्मृतिमा ‘जीवन पानीको फोका’जस्तै उल्लेख भएको प्रसंग समेत उनले बताए।

त्यसो त नेवारी समुदायमा धेरै कुरा उत्सवका रुपमा मनाइन्छ। त्यसैले आपसी सझदारी, बन्धुत्वको विकास, सहअस्तित्वको विकासलगायतका लागि यो पर्व नेवारी समुदायमा उत्सवका रुपमा मानिएको डा. खनालको तर्क छ।

यसरी हुन्छ सुरु
भाद्र कृष्ण प्रतिपदाको अघिल्लो दिन अर्थात् श्रावण शुक्ल पूर्णिमाको दिनदेखि आठ रात नौ दिनसम्म गाईजात्रा मनाइने परम्परा रहेको संस्कृतिविद् धौभडेलले बताए। ‘अन्य ठाउँमा नभए पनि भक्तपुरमा भने श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि गाईजात्रा मनाउन सुरु गरिएकाले यही दिनबाट गाईजात्राको सुरुवात भएको मानिन्छ,’ संस्कृतिविद् धौभडेलले भने।  श्रावण शुक्ल पूर्णिमाकै दिन जनैपूर्णिमा पनि पर्छ।

गतबर्ष गाईजात्रा देखाउँदै नेवार समुदाय। फाइल तस्बिरः शुक्रवार

संस्कृतिविद् डा. गोविन्द टण्डन भने भाद्र कृष्ण प्रतिपदाको दिन नै गाईजात्राको विशेष दिन भएको बताउँछन्। यो दिन विशेषरुपमा गाईजात्रा मनाइन्छ। भाद्र कृष्णप्रतिपदादेखि भाद्रकृष्ण जन्माष्टमीसम्म भने विभिन्न जात्रा मनाइने टण्डन बताउँछन्।

गाईजात्रामा विभिन्न किसिमले नाचगान गरिन्छ। निक्कै आकर्षक लयमा लठ्ठी जुधाउने ‘घिन्ताङ घिसि’ नाच नाचिन्छ। भक्तपुरको तलेजु भवानीको मन्दिरबाट श्रावण शुक्ल पूर्णिमाकै साँझमा ‘घिन्ताङ घिसि’ नाच निकालिएपछि त्यो वर्षको गाईजात्राकोे सुरुवात भएको मानिन्छ।

गाईजात्राको पहिलो दिन जनै पूर्णिमा पर्ने भएकाले तागाधारीले जनै फेर्ने परम्परा छ। श्रावण शुक्ल पूर्णिमाकै दिन नौ किसिमका गेडागुडीको क्वाँटी खाइन्छ। यसै दिन कृषकले भ्यागुताको पूजा गर्ने परम्परा छ। बिहानै कृषकहरु खेतमा पुगेर भ्यागुतालाई क्वाँटी तथा रोटी खान दिएर पूजा गर्ने परम्परा छ।  पाटनको कुम्भेश्वर, भक्तपुरको नगरकोट, रसुवाको गोसाइँकुण्डलगायतका ठाउँमा मेला लाग्छ।

के हो ‘सापारु’ ?
गाईजात्रालाई ‘सापारु’ पनि भन्ने गरिन्छ। ‘सा’ भन्नाले गाई र ‘पारु’ को अर्थ प्रतिपदा हो। यसर्थ ‘सापारु’लाई समग्रमा गाई घुमाउने प्रतिपदा भनिन्छ। धौभडेल यही गाई घुमाउने परम्परालाई नै अहिले गाईजात्रा भनिएको बताउँछन्। भाद्र कृष्ण प्रतिपदाका दिन स्वर्गको ढोका खुल्ने भएकाले मृतक आफन्तका नाममा गाईको प्रतिमा बनाई वैतरणी नदी तार्नलाई ‘सापारु’ अर्थात गाईजात्रा पर्व मनाइने धार्मिक विश्वास रहेको छ।

भाद्र कृष्ण प्रतिपदामा वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा गाई वा गाईकै प्रतिमा बनाएर सिंगार–पटार गरी गाउँ तथा नगर परिक्रमा गराउने परम्परा छ। यो दिन बिहानैदेखि गाईलाई सिंगार–पटार गरी विशेषगरी काठमाडौँ, भक्तपुर र ललितपुरमा नगर परिक्रमा गराइन्छ। नेवारी बस्ती भएका अन्य जिल्लामा समेत विशेष महत्वकासाथ गाईजात्रा मनाइन्छ। गाईको स्वरुपमा मानिसलाई सिंगारपटार गरी मृतकको तस्बिर झुण्ड्याएर पनि परिक्रमा गर्ने चलन छ।

गतबर्ष गाईजात्रा देखाउँदै नेवार समुदाय। फाइल तस्बिरः शुक्रवार

विशेषगरी नेवारी समुदायमा व्यक्तिको मृत्यु भएको १३ दिनभित्र साँढे दान गर्ने परम्परा छ। नेवारको पुरोहित ‘राजोपाध्य’लाई साँढे दान दिइन्छ। जसलाई ‘पृथ स्वर्ग’ भनिन्छ। यसरी सबैले साँढे दान गर्न सम्भव हुन्न। खर्चिलो हुन्छ। मृतकको सम्झनामा गाईजात्रामा गाई घुमाउँदा साँढे दान अर्थात ‘पृत्थ स्वर्ग’ गरेजत्तिकै पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको धौभडेलले बताए।

विधिविधान गरी यो पर्व मनाउँदा एक वर्षभित्र मृत्यु भएका आफन्तले वैतरणी नदी सहजै तर्ने पौराणिक मान्यता रहेको डा. टण्डन बताउँछन्। दिवंगत आफन्तको सम्झनामा व्यक्तिलाई सिंगारपटार गरी गाईको चित्र अंकित मुखुण्डो र सिङ लगाएर परिक्रमा गर्ने परमपरा पनि छ। मानिसको मृत्यु भएपछि आफन्तले गनुपर्ने विधान गरे पितृले पाउने विश्वास गरी पितृप्रतिको श्रद्धा भक्तिको पर्वका रुपमा यसलाई लिइन्छ। वसन्तपुर, हनुमान ढोका दरबारमासमेत परिक्रमा गरिन्छ। सह–प्राध्यापक डा. खनाल पनि पितृको सम्झनामा श्रद्धा झक्ति गरी शोकलाई भुल्न मौलिक रुपमा मनाइने पर्वका रुपमा लिन्छन्।

नाचगानको पर्व
गाईजात्रा वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइँदै आएको धार्मिक, साँस्कृतिक मात्रै हैन ऐतिहासिक तथा सामाजिक पर्व भएको संस्कृतिविद् बताउँछन्। यस पर्वमा विभिन्न धार्मिक किसिमका नाटक गरिन्छ।

यस पर्वको लोभलाग्दो सांस्कृतिक पाटो रहेको संस्कृतिविद् बताउँछन्। गाईजात्रा व्यक्तिमा रहेको कला प्रदर्शन गर्ने पर्वका रुपमा समेत रहेको धौभडेलको तर्क छ। धौभडेलले भने,‘गाईजात्रा आफूसँग भएको सीप, कला–कौशलको प्रदर्शन गर्ने माध्यम पनि हो।’ भाद्रकृष्ण जन्माष्टमीमा नगर तथा गाउँ–टोल परिक्रमा गरी गाईजात्रा समापन हुन्छ।

यो पर्व मनाउने तरिका पहिले भन्दा फरक हुनुलाई संस्कृतिविद्ले स्वाभाविकै रुपमा त लिएका छन्। तर मौलिक संस्कृतिको लोप हुनेतर्फ उनीहरुको त्यत्तिकै चिन्ता छ। संस्कृतिविद्का अनुसार यो पर्वमा मनाइने क्रममा अहिले विभिन्न किसिमका नाच तथा परम्परा जोगाउन खर्चिलो र जनशक्तिको अभाव छ। गाईलाई नै सिंगारेर सहर घुमाउन मुस्किल छ। त्यसैले गाईको प्रतिमा बनाएर मृतकको फोटो प्रतिमामा राखेर परिक्रमा गरिन थालिएको धौभडेलको तर्क छ। यसरी गाईकै प्रतिमा बनाएर परिक्रमा गर्दा पनि खर्चिलो र जनशक्तिको अभाव हुन्छ। संस्कृति धान्नका लागि गाई नपाएर गाईको प्रतिमामा चित्त बुझाउनु परेको संस्कृतिविद्ले दुःखेसो पोखे।
‘घिन्ताङ घिसि’ लगायतको परम्परागत नाचगानका लागि त झन् धेरै अभ्यास गर्नुपर्ने भएकाले गाईजात्रामा परम्परागत नाचसमेत कम हुँदै गएकोप्रति धौभडेलले चिन्ता व्यक्त गरे। सरकारले यस्ता मौलिक पर्वको संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।

गतबर्ष गाईजात्रा देखाउँदै नेवार समुदाय। फाइल तस्बिरः शुक्रवार

पहिले–पहिले गाईजात्रा देखाउनेको प्रतिस्पर्धा हुने र हेर्नेको पनि ठूलो चाख हुन्थ्यो। तर अहिले भने गाईजात्रा औपचारिकतामा सीमित हुन थालेको प्रति डा. टण्डनले चिन्ता व्यक्त गरे। व्यक्तिलाई हँसाउने पर्वका रुपमा सुरुवात भएको गाईजात्रा पञ्चायतताका हास्यव्यंगात्मक रुपमा विकास भएको उनी बताउँछन्। अभिव्यक्ति स्वतन्त्रता नभएको समयमा अभिव्यक्तिको माध्यम बनेको थियो। अहिले भने गाईजात्राजस्तो मौलिक पर्वको महत्व कम हुँदै गएको प्रति उनको  चिन्ता छ।

यस्तो छ इतिहास
गाईजात्राको ऐतिहासिक पाटो भने लामो छ। प्रताप मल्लका छोराको अल्पायुमै मृत्यु भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिनका लागि उनले यो पर्वको सुरुवात गरेको मत पनि कम छैन। गाईजात्रा उजागरको श्रेयमा जगतप्रकाश मल्ल, सिद्धिनरसिंह मल्ल, जयस्थिति मल्लको पनि नाम आउँछ।

संस्कृतिविद् धौभडेलका अनुसार गाईजात्राको सुरुवात भने मल्लकालमा नभई लिच्छवि कालबाटै भएको इतिहास पाइएको छ। यो लिच्छविकालबाट सुरु भएको मृत्यु संस्कार हो। ‘वास्तविक रुपमा गोपालराज वंशावलीमै लिखित रुपमा सायात भनि गाईजात्राको बारेमा उल्लेख भएकाले लिच्छविकालबाटै यो पर्वको सुरुवात भएको मानिन्छ,’ धौभडेलले भने, ‘मल्लले यसको विकास गरे तर उनीहरुले सुरुवात गरेको भन्न मिल्दैन।’

इतिहासअनुसार लिच्छविकालबाटैै सुरुवात भएको देखिन्छ। मल्लहरुले गाईजात्राको संरक्षण तथा संबद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको तर्कमा डा. टण्डन पनि सहमत छन्। डा. टण्डनले भने, ‘कहिले सुरुवात भएको हो भन्ने एकिन नभए पनि गाईजात्रा पितृप्रतिको सम्मान र मौलिक परम्परा हो।’

त्यसो त डा. खनाल पनि यो पर्व मनाउन जहिले सुरुवात भएको भए पनि एक वर्ष भरिमा कति व्यक्तिको मृत्यु हुन्छ भन्ने देखाउनका लागि मनाइएको तर्क गर्छन् भने अर्कोतर्फ धर्मशास्त्रीय ग्रन्थअनुसार गाई अत्यन्तै पवित्र गोमाता भएकाले गाईको सम्मानस्वरुप यो पर्व मनाइएको उनको तर्क छ। बाँच्दा त गाईले दिने दूध, दही, घ्यू, गोबरलगायत आवश्यक हुन्छ नै जीवनको अत्यमा पनि गाईको महत्व छ भन्ने मान्यताले गाईको महत्व उजागर गर्ने पर्वका रुपमा गाईजात्रालाई लिइन्छ।

Leave A Comment