रिसानी माफ

शुक्रबार, ३१ साउन २०७६, ११ : १० शुक्रवार
रिसानी माफ

यो वर्षको दशैंमा निकै चर्चामा आयो शीतल निवास। चर्चा राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइदिएको दशैंको टीकाको थियो। गणतन्त्र नेपालकी राष्ट्रपतिले राजाकै शैलीमा टीका लगाइदिइन्। कसैले घुँडा टेकेर टीका लगाए, कसैले आधा झुकेर। उनी भने राजसी शैलीमा सिंहासनमा बसेकी थिइन्। पूर्व प्रधान न्यायाधीशदेखि पूर्व उपप्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख, महानगरपालिकाका प्रमुखले कुर्सीमा विराजमान राष्ट्रपतिसामु घुँडै टेकेर शिर निहु-याए। धन्न प्रधानमन्त्री, मन्त्रीलगायतले भने कुर्सीमै बसेर टीका लाए।

राष्ट्रपति भण्डारीले भ्रमणको समयमा हुने सवारी जामको सास्तीले राजाभन्दा बढी तानाशाहको उपमा पाउनु सामान्य भइसक्यो। समवेदना लेख्नुपर्नेमा श्रद्धाञ्जलि लेखिएको पत्र पठाएर जग हसाइँ गर्नु राष्ट्रपति कार्यालयको पहिचानै भइसक्यो।  परराष्ट्र मन्त्रालयबाट इन्डोनेसियाका समकक्षीलाई भण्डारीले पठाएको पत्रमा समवेदना हुनुपर्ने ठाउँमा बधाई लेखिएको थियो।

बेलाबखत उनले दिने अभिव्यक्तिले समेत उनैलाई विवादमा ल्याउँछ। राष्ट्रपति कार्यालय क्षेत्रमै हेलिप्याड बनाउन लगाइएको भन्ने विषयमा समेत उनी विवादमा परिन्। राष्ट्रपति कार्यालयसँगै रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय भण्डारीकै चाहनामा भएको भन्दै आलोचित बनिन्। उनका लागि खरिद हुने महँगो तथा विलासी गाडीको पाटो छँदै छ। विदेश जाने मोह पनि उस्तै हो उनको।

गणतन्त्रपछिको दोस्रो तथा पहिलो महिला राष्ट्राध्यक्ष हुन् उनी। सम्मान त प्रचुर छ उनीमाथि। तर के गर्ने कहिले उनकै बानी, कहिले सरकारको पारा त कहिले सहयोगीका कारण विवादमा आइहाल्छिन् उनी। आफ्ना अभिभावक यसरी चिप्लिएको कसरी सहनु। जो सँग आशा हुन्छ, उसैको त हो आलोचना गर्ने। त्यसैले हल्का आलोचना गरियो। रिसानी माफ होस् है।

Leave A Comment